फिचर : फोटो फिचर

गौराको दोस्रो दिन आज महिलाले यसरी धोए ‘बिरुडा’ (फोटोफिचर)
SHARES

भदौ ४, २०७६

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक महत्वको ‘गौरा पर्व’ यहाँका स्थानीयले घुमधामका साथ मनाइरहेका छन्।

    सुदूरपश्चिमेलीको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ। सुदूरपश्चिममा मनाइने गौरापर्वको दोस्रो दिन बुधबार व्रतालु महिलाले नजिकको धारा, कुवा तथा पानी पधेरोमा ‘बिरुडा’लाई धोएका छन्।

    गौरा पर्वको पहिलो दिन मंगलबार महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएका थिए। पाँच प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ।

    अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ। व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ।

    धान, साउँ, तील, अपामार्ग लगायतका बोटबाट गौराको प्रतिमूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहिआएको छ। नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ।

    दोस्रो दिन नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ। गौराको तेस्रो दिन अमुक्ताभरण र मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो। पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ।

    गौरापर्वमा ब्रतालु तथा श्रद्धालु महिलाद्वारा गौराघरमा गइ गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रुपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिक रुपमा धान, साउँ, तील, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्रयाउँछन्। विविध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्रयाइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ।

    यसपछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक–आस्था र आपसी–सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा इष्ट–कुलदेवता प्रसन्न हुने जनविश्वास छ।

    निख्रिदो झरिसँगै पन्चान्न (पाँच अन्न )को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ। भाद्र शुक्ल अष्टमी भन्दाअघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ। गौरा एकादशी (पुत्रदा एकादशी) बाट नै यो पर्वका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइ सकेको हुन्छ।

    दशैँको जमरा जत्तिकै गौराको बिरुडालाई पनि सौभाग्य सूचक मानिन्छ। कैलाशपतिकी अर्धांगिनि एवं हिमालयकी पुत्री पार्वती यो गौरा पर्वको अवसरमा माइत आउछिन् भन्ने जनविश्वास छ। वास्तवमा हाम्रो देश सीता र पार्वतीको माइती देश पनि हो।

    प्राचीन ह्यैवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ।

    यो गौरा पर्वका अवसरमा आफन्तहरूसँग भेटघाट गर्ने तथा सुदुरपश्चिमेली देउडा गीत गाउदै महिला पुरुष र बालबालिकाले रमाइलो गर्ने गर्दछन्। सुदूरपश्चिममा गौरापर्व ४ दिनदेखि ७ दिनसम्म मनाइए पनि प्रदेश सरकारले भने मुख्य एक दिन भदौ ६ गते सार्वजनिक बिदा दिएको छ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]