राजनीति

नेकपाको सर्कुलर : नीति/नेतृत्वविरुद्ध सार्वजनिक रूपमा नबोल्नू, अन्तरपार्टी जनवाद उपभोग गर्नू (पूर्णपाठ)
SHARES

पार्टी र सरकारलाई जनतासँग जोड्न विशेष राष्ट्रिय अभियान संचालन गर्ने

फाइल फोटो
भदौ १३, २०७६

    काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै नेता र कार्यकर्तालाई सार्वजनिक रूपमा पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्ने निर्देशन दिएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टीका नीति र नेतृत्वका बारेमा सार्वजनिक रूपमा आलोचना र विरोध नगर्ने निर्देशन दिएको हो। उक्त निर्देशनमा भनिएको छ, ‘पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ’, जेठ २ गतेदेखि भदौ ५ गतेसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा  जारी गरिएको भनिएको अन्तरपार्टी निर्देशन – २ अगाडि भनिएको छ, ‘पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।‘

    भदौ ९ गते बसेको सचिवालय बैठकले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने नेता र कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो। पार्टीको नीति र नेतृत्वविरुद्ध बोल्ने नेताहरूलाई कारबाही गर्नुपर्ने दबाब नेता/कार्यकर्ताबाट नेकपाको शीर्ष नेतृत्वमा परेपछि यस्तो निर्णय भएको हो।

    नेकपाको उक्त निर्देशनमा पार्टी संगठन एकीकरण हुन बाँकी रहेका जिल्लाहरूको काम सक्न पनि भनिएको छ। ‘जिल्ला कमिटीहरूको एकता–एकीकरणका सम्बन्धमा निर्धारण गरिएको मापदण्ड एवं कार्यविधि विशेष परिपत्र – ४ मार्फत प्रेसित गरिसकिएको छ। तदनुरूप अधिकांश जिल्लाहरूमा एकता–एकीकरणको काम सम्पन्न पनि भइसकेका छन्। एकीकरण सम्पन्न हुन बाँकी जिल्लाहरूको एकता–एकीकरणको कार्य पनि सोही मापदण्ड एवं कार्यविधि अनुरूप अविलम्ब सम्पन्न गर्न निर्देशित गरिन्छ।’

    सोही निर्देशनमा पार्टीको वरियताक्रमबारे पनि मातहतका संगठनहरूलाई जानकारी दिइएको छ। जसमा झलनाथ खनाललाई चौथो वरीयताबाट तेस्रोमा र माधवकुमार नेपाललाई तेस्रोबाट चौथोमा कायम गरिएको भनिएको छ।

    नेकपाले तत्कालीन एमाले र माओवादीबीच एकता भएर बनेको पार्टीको संगठनात्मक एकता टुंगो लगाउन ढिलाइ भएको पनि मातहतका तह र संगठनहरूलाई जानकारी गराएको छ। एकतामा अहिलेसम्म १५ महिना बितिसकेको भन्दै यस्तो हुनुको कारणबारे लेखिएको छ, ‘हामीले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौँ। राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहना समेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकता–एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन। अपेक्षा गरेभन्दा बढी नै समय लिएर तर मूलतः सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको छ।’

    पार्टी एकीकरणका बाँकी काम छिटो सम्पन्न गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने पनि आन्तरिक सर्कुलरमा भनिएको छ। त्यस्तै, पार्टीले विशेष अभियान संचालन गर्नेबारे भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ।‘

    पढ्नुहोस् नेकपाको आन्तरिक सर्कुलरको पूर्णपाठः

जयसिंह महरा

महरा संसदीय मामिला, राजनीति, समाज, कला, साहित्य र संस्कृतिबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]