समाज

सदरमुकाममा सहलगानीमा खानेपानी आयोजना
SHARES

भदौ १७, २०७६

    ओखलढुंगा : ओखलढुंगा सदरमुकामको हाल भइरहेको चरम खानेपानी समस्या समाधान गर्न सहलगानी आयोजना अगाडि बढाइएको छ। नेपाल सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा खानेपानी आयोजना थालिएको हो। निर्माण थालिएको आयोजना २०७८ साल असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    सदरमुकामवासीको तीर्खा मेटाउने उद्देश्यले निर्माण थालिएको सहलगानी आयोजना नेपाल सरकारको ७० प्रतिशत, स्थानीय उपभोक्ताको १० प्रतिशत नगद र जनश्रमदान २० प्रतिशत गरी ७ करोड ७८ लाख रुपैयाँमा निर्माण भइरहेको छ। खानेपानी तथा सरसफाई मन्त्रालयमार्फत सञ्चालन भएको यो आयोजना निर्माणको जिम्मा २०७७ साल असारमा तीन वर्षभित्र सक्ने गरेर सगरमाथा घिमिरे निर्माण सेवा प्रालिले लिएको छ।

    पछिल्लो समय २०२६ सालमा निर्माण गरिएको तारेभीर, ह्याकुले तथा पखाले मुहान र २०४० सालमा निर्माण गरिएको भुजापाते मुहानबाट थोपाथोपा पानी संकलन गरेर सदरमुकाम ल्याइएको भए पनि पुरानो आयोजना जीर्ण भएपछि नयाँ आयोजनाको काम थालिएको हो। निर्माणधीन आयोजनाले बढ्दो सहरीकरणका कारण खानेपानीको चरम अभाव झेल्दै आएका सदरमुकामवासीलाई राहत दने खानेपानी तथा सरसफाई उपभोक्ता समिति ओखलढंगाका सचिव रुपेश शाक्यले बताए।

    ओखलढुंगा सदरमुकामभन्दा १२ किलोमिटर टाढा चिशंखुगढी गाउँपालिकाको माम्खास्थित ठोट्ने खोलामा नयाँ मुहान निर्माण गरेर सहलगानी आयोजनाले सदरमुकाममा खानेपानी झार्नका लागि खानेपानी आयोजना निर्माण थालेको हो। अहिले आयोजनाको मुहान क्षेत्रमा कलेक्सन चेम्बर निर्माण र सदरमुकामसम्म पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष पूर्णकुमार श्रेष्ठको भनाइ छ। आयोजनाले फिल्टर ट्यांकी र उपभोक्ता समितिको भवन विस्तारै निर्माण गरेर भए पनि आउँदो असोजभित्रै हाल सञ्चालन भइरहेको खानेपानी ट्यांकीमा पानी झार्ने योजना रहेको उनको भनाई  छ।

    हाल सञ्चालित योजनामा सहलगानी आयोजनाबाट १६० एमएमको पाइपबाट प्रतिसेकेन्ड ८ लिटरका दरले खानेपानी उपलब्ध हुन थालेपछि ओखलढुंगा सदरमुकाममा रहेको चरम  खानेपानी समस्या समाधान हुने भएको छ। आयोजना सम्पन्न भएपछि हाल खानेपानी उपभोग गरिरहेका ८ सय घरधुरीमध्ये सदरमुकाम क्षेत्रमा खानेपानीबाट बञ्चित परिवारलाई समेत खानेपानीको नयाँ धारा वितरण गरिने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]