विश्व

एक पादरी : जसलाई बम-बारुद बनाउन बाध्य पारियो
SHARES

'हवाई आक्रमणको विगतले अहिले पनि पिरोल्छ'

भदौ २१, २०७६

    क्याथोलिक चर्चमा नियुक्त एक मन्त्री, जसलाई संस्कार सिकाउने र संस्कार स्थापित गर्ने अधिकार दिइएको हुन्छ। फादर चिटो भने त्यस्ता पादरी हुन्, जसलाई चर्चभन्दा पर बन्दी बनाएर बम बारुद बनाउन बाध्य पारियो अनि विनाशकारी आक्रमणको भागिदार बनाइयो।

    फिलिपिन्सको दक्षिणी शहर मारावी जुन निक्कै सुन्दर थियो। गगनचुम्बी ठूला ठूला घरहरु र सुशोभित मस्जिदहरुले सजिएको थियो। फिलिपिन्सको दक्षिणी द्वीप मिन्डानाओमा अवस्थित मुसलमान बाहुल्य यो शहर एउटा अत्यधिक क्याथोलिक राज्यका रुपमा चित्रित थियो।

    तर यो सुन्दर शहर सन् २०१७ को पाँच महिना इस्लामिक स्टेटमा आबद्ध आतंकवादीहरुको घेराबन्दीमा परेपछि कुरुप बनेको छ। त्यहाँ बन्दी बनाइएकामध्ये एक थिए, क्याथोलिक पुजारी फादर चिटो। जसलाई डर धम्की देखाउनुका साथै यातना दिएर बम बनाउन बाध्य पारिन्थ्यो। त्यो अनुभवले उनको मन अहिले पनि कुँडिन्छ।

    बाटो मस्कोमा डिनरको समय थियो। जहाँ २० जना मानिस (बन्दीसहीत) एउटा लामो टेबलमा भेला भएका थिए। उनीहरु खाना खान मेचमा शान्त भएर बसिरहेका  थिए। टेबलको एक छेउमा १५ जना जिहादी र अर्कोतर्फ क्याथोलिक पादरी फादर चिटो अन्य केही इशाईहरुको साथमा थिए।

    त्यो शान्तिपूर्ण पर्खाई अकस्मात गोली चलेका आवाजहरुले भंग भयो। र, त्यहाँ भएका सबै एकाएक भिडन्तमा हामफाले। फादर चिटोको खुट्टामा पनि बन्दुक पुर्‍याइयो। तर उनले टेबलतर्फ रहेका एक जिहादीतर्फ फालिदिए। ती जिहादीले तत्काल बन्दुक समातेर मस्जिदको प्रवेशद्वारमा सुरक्षा कवच बनेर लड्न तयार भए। 

    केही मिनेटपछि गोलीबारीको समय बित्यो र उनीहरु फेरि मेचको चारैतिर बस्‍न थाले। यो त एक रातको कुरा थियो, फादर चिटोका लागि भने यो परिचित दैनिकी बनिसकेको थियो।

    उनी बन्दी बनेको दुई महिना बितिसकेको थियो। उनी आफ्नो बन्धनलाई मन पराउँछु भन्‍न त कहाँ सक्थे र? तर उनी आफूसँगै रहेकाहरुसँग मानवीय आत्मीयता विकास गर्दै थिए। त्यो एउटा सानो समुदाय थियो, जो सँगै भोजन गर्थे, सँगै काम गर्थे।

    फादर चिटोलाई  सन् २०१७ मे २३ मा मारावी शहरलाई इस्लामिक स्टेटमा आवद्ध आतंकवादीहरुले घेराबन्दी गरेसँगै बन्धक बनाइएको थियो।

    इस्लाम तेह्रौ शताब्दीमा मध्यपूर्व, मले र इन्डोनेशियन द्वीपी समूहको व्यापारीहरुको माध्यमबाट पहिलो पटक फिलिपिन्सको दक्षिणमा पुगेको थियो।धर्मको प्रचार गर्ने व्यक्ति  र मस्जिदहरुलाई पछ्याउन थालियो।

    धर्मान्तरण गर्ने मोरो जातिका रुपमा चिनिन थाले। १६ औं शताब्दीमा जब स्पेनले फिलिपिन्सलाई आफ्नो उपनिवेशमा राख्यो तब क्याथोलिक धर्म भित्रीयो र उनीहरु मोरोलाई जित्‍न असफल भए। त्यही बेलादेखि दक्षिणमा केही मुसलमानहरुले आफूलाई सीमान्तकृत महसुस गर्न थाले। यो क्षेत्र मुलुकको सबैभन्दा गरिब क्षेत्र हो।

    इसाई र मुसलमानहरुवीच एउटा अन्तर-धार्मिक संवाद गारउने उदेश्यसहित २३ वर्षअघि, फादर चिटोलाई मारावी पठाइएको थियो। शहरका धेरै मानिसले उनी र उनका सहयोगीहरुको स्वागत गरेका थिए। तर घेराबन्दीअघिका केही महिनामै उनले त्यहाँ निक्कै असहज महसुस गरे।

    सन् २०१६ को सुरुमा म्यूच जनजातिका दुई दाजुभाइ मध्यपूर्वमा अध्ययन सकेर गृहनगर मरावीको दक्षिण बुटिगमा फर्किए। उनीहरुले इस्लामको एउटा उग्रवादी संस्करणको प्रचार गर्न थाले। र, झण्डै २ सय अनुयायीहरुको समूह बनाएर सरकारी बलमाथि आक्रमण गर्न थाले।

    सन् २०१७ मा मरावी आक्रमणतर्फ झन् धकेलियो। २०१७ मे को अन्त्यमा एउटा अर्को आईएससम्बद्ध समूह अबू सेयाफ अथवा तलवारका वाहक शहरमा देखा पर्यो।

    मध्यदिन थियो, फादर चिटो गोलीहरुको आवाजले ब्यूँझिए। उनको ट्याबलेट, कम्प्युटर र मोबाइल फोन बज्‍न थाले। उनका मुसलमान र क्याथोलिक साथीहरुले मरावीबाट भागिहाल भनिरहेका थिए।

    तर उनले आफूलाई दृढ बनाए 'म सबै कुरामा भगवानको विश्वास गर्दछु, त्यसैले म भाग्ने छैन।'

    साँझ साढे ५ बजेको थियो, शहर शान्त भयो। सडकहरु खाली भए, घरका सबै झ्याल बन्द भए, बत्ती निभे। आतंककारीहरुले अस्पतालमा इस्लामिक स्टेको कालो झण्डा ठड्याइदिए, अनि प्रहरी चौकी जलाइदिए। 

    फेरि जिहादीहरु गिर्जाघरको मुलगेटमा पुगे। फादर चिटो पनि गेटनजिक पुगे। दुई मानिसले बन्दुक उठाए। जसका पछाडी फादर चिटोले एक सय भन्दा धेरै सशस्त्र लडाकु देखे।

    आफ्ना पाँच सहयोगीको साथमा उनलाई एउटा भ्यानमा कोचियो, रातभर त्यसभित्र राखेर उग्रवादीहरुले इस्लामको गुनगान सुनाए।

    उनीहरुले फादर चिटोलाई प्रेरित गरिरहे। मरावीलाई इस्लामिक शहर भन्दै उनीहरुले 'यहाँ ड्रग्स, भ्रष्टाचार, मदिराले दुर्गन्ध फैलिएको छ, यसलाई हामी हटाउँछौ, यहाँ आफ्नो नेतृत्व स्थापना गर्न आएका हौं' भनिरहेका थिए।

    शहरमा हजारौँ नागरिकहरु जो इस्लामिक स्टेटका सहयोगीद्वारा सञ्चालित हुन चाहदैँनथे। ती सबै सशस्त्र लडाकुका कब्जामा परे। मानिसहरु आ आफ्नो घरमा हतियार र क्रस फायरबीचमा फसेका थिए, भाग्न चाहन्थे तर डराउँथे।

    टँग पासाकम अर्को पात्र, जो बाढी र प्रकोपबारेमा प्रतिक्रिया दिने काम गर्थे। शहरमा द्वन्द्व सुरु भएलगत्तै उनको फोन बज्‍न थाल्यो।

    उनी आफ्नो ज्यान जोखिमा राखेर भएपनि संघर्षक्षेत्रमा सवयमसेवकको एउटा दल लिएर उद्दारकार्यमा खटिएका थिए। तर फादर चिटो र उनीसँगै रहेका अन्य एक सयजना बन्धकहरु, टोंगको स्वयम्सेवक दलको पहुँच भन्दा निक्कै पर थियो।

    फादर चिटोहरुलाई सहयोग नगरे कारबाही गर्ने धम्की दिइएको थियो। उनलाई यो अत्याचार हो भन्‍ने थाहा थियो। तर डरले केही प्रतिक्रिया जनाउन सक्दैनथे। उनले उग्रवादीहरुका लागि खाना बनाउने, सफाई गर्ने मात्रै नभई आफ्नो, मन गह्रौ पारेर भएपनि बम बनाउने सम्मको काम गर्नुपर्यो।

    हवाई आक्रमण फादर चिटोको दैनिकी बनिसकेको थियो। हरेक दिन दुई विमान हुन्थे, प्रत्येकमा चारवटा बम विस्फोटका लागि तयार पारिन्थ्यो, उनी त्यसको भागिदार बनिरहे।

    उनले ४ महिना लामो बन्धनमा चाहेर वा नचाहेर गरिएका एक सय भन्दा धेरै हवाई आक्रमणको अनुभव बटुले। पटक-पटक उनी बमले मलाई लागोस् भनेर प्रभुसँग प्राथना गर्थे। 'तर फेरि सोच बदल्थे। अनि भन्थे, 'होइन भगवान, मलाई बमले नहान, म मारिन चाहन्‍नँ” उनी अगाडि भन्छन्, 'मैले के पाप गरेको छु र यो दिन देख्नुपर्यो, प्रभु तपाईं मलाई सजाय दिइरहनुभएको छ भने पनि यो धेरै भयो, जुन मेरा लागि उपयुक्त छैन,' यसो भन्दै उनी प्रभुसँग गुनासो पनि गर्थे।

    सेप्टेम्बर १७ मा फिलिपिनो सेना मस्जिद नजिक पुग्यो। फादर चिटो उनीहरुको आदेश सुन्‍न सक्थे। एकरात, अध्यारो भएपछि उनी र अर्का एक बन्दी मस्जिदको पछाडिबाट लुकेर भागे।

    दुईवटा गल्लीबीचमा बन्दुक बोकिरहेको पुरुषको एउटा समूहले उनीहरुलाई बधाई दिँदै सुरक्षित रुपमा पर लग्यो, त्यो सेनाको टोली थियो।

    त्यसको एक महिनापछि फिलिपिन्सका रक्षा सचिवले देशको सबैभन्दा लामो घेराबन्दीको घोषणा गरे। म्युच दाजुभाई उमर र अब्दुल्ला तथा अबू सेयाफका नेता इसनिलोन ह्यापिलोन कारवाहीमा मारिएका र तिनका बाँकी लडाकु भागेको रक्षा सचिवको घोषणा थियो। पाँच महिनाको घेराबन्दीमा एक हजार भन्दा धेरै मानिसले ज्यान गुमाए।

    उक्त शहर करिब दुई वर्षदेखि खण्डहर बनेको छ। विस्थापित एक लाख मानिस अहिले पनि शिविर र केही आफन्तको शरणमा बसिरहेका छन्।

    शहरको मध्यभागमा रहेको एक वर्ग माइल सडक सबैभन्दा प्रभावित र ग्राउन्ड जिरो भनेर चिनिन्छ। मरावीको विनाश सिरियाको रक्का, एलेप्पो र मोसुलजस्तै बनेको छ। सबै भवन क्षतिग्रस्त अवस्थामा छन्।

    फादर चिटो चर्च नजिक पुगेर 'यो हाम्रो चर्च हो' भन्दै चिच्याउँछन्, अनि  सुस्ताउँछन्। गिर्जाघर खण्डहरमा भएको छ। चर्च पुरै ध्वस्त छ। यशुको प्रतिमामा गोलीको चिन्ह छ, उसको हात काटिएको छ, टाउकोमा प्वाँखको मुकुट झुण्डिएको छ। फादर चिटो चुपचाप हातमा हात राखेर खम्बामा उभिरहन्छन् अनि भर्जिन मरियमको टुक्रिएको आकृतिमा प्लास्टर उचालेर रुन्छन्।

    फादर चिटो अब धेरै मरावीमा बस्‍न चाहँदैनन। 'यो निक्कै खतरनाक छ', उनी भन्छन्। तर उनी व्यायमशालामा रहेको अस्थायी चर्चमा, विश्वविद्यालयमा जान्छन्, जहाँ ठुलो संख्याको नेतृत्व गर्छन्। उनी भन्छन्, 'यो शहरको एकमात्र स्थान हो, जहाँ क्याथोलिकहरु ठूलो संख्यामा भेला हुन सक्छन् र सुरक्षित महसुस गर्न सक्छन्।'

    उनी एक स्थानीय हस्ती बनिसकेका छन्। र विद्यार्थीहरु उनीसँग सेल्फी लिन लाइन लाग्छन्। त्यसबेला उनी निक्कै उत्साहित हुन्छन्। तर विडम्बना उनीसँग सबैभन्दा हैरान गर्ने खालका अनुभवहरुले उनलाई झस्काइरहन्छ।

    यद्यपि हाँस्नु जीवनलाई सरल र हल्का बनाउने उपकरण हो भन्दै फादर चिटो अत्यधिक तनावमा नजान, चिन्ता र मर्माहत बनाउने अनुभवलाई विफल बनाउन सन्तुलन कायम राख्‍ने प्रयास गरिरहन्छन्।

    फादर चिटोको अहिले पनि उपचार चलिरहेको छ। 'मैले पहिले आफ्नो मानसिक सन्तुलन गुमाएको थिएँ, म बर्बाद भएको थिएँ', उनले भने, 'यद्यपि म शारीरिक रुपमा बाँचे भन्‍नेमा खुसी छु। एक दिन सबै ठीक हुन्छ, त्यसैले हामी समयलाई पर्खन्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]