फिचर

डिल्लीबजार ध्रुवको पत्रिका पसल: बुद्धिजिवीको जक्सन
SHARES

भदौ २७, २०७६

    काठमाडौं : डिल्लीबजार-बागबजार चौबाटोबाट सय मिटर जति माथि उकालो। दायाँपट्टिको पसल। हरेक दिन देखिन्छ, मान्छेको भिड। कोही नयाँ व्यक्तिलाई लाग्ने गर्छ, 'ओहो ठूलै घटना घट्यो कि के हो?'

    मान्छेहरूले सोच्ने वास्तविकता फरक छ। नेपालका हरेक क्षेत्रका व्यक्तिहरू ठोक्किने ठाउँमा छ ध्रुव बुक्स एण्ड स्टेसनरी। पत्रिका देश पढ्ने र बुझ्ने उत्कृष्ट माध्यम हो। देश बुझ्न  घुम्नुपर्छ कि पत्रिका पढ्न जरुरी छ।  सूचना भरिएका पत्रिका पढ्नेहरू भिड आफैँमा रोचक र हेर्न लायकको हुन्छ। 

    कलेज पढ्ने विद्यार्थी हुन् या अवकाश लिएका कर्मचारी हुन्, अथवा हुन् रोजगारको खोजीमा निस्किएका युवा जमात। उक्त पसल हरेक मान्छेको लागि साझा चौतारी जस्तै हो।

    पत्रिका बाहिर झुण्याउने। पत्रिका पढ्नेहरूको भिड। यो शिलशिला चलेकै ३० वर्षभन्दा बढी भइसकेको छ। यो ३० वर्षमा उनले पसल तीन ठाउँ  सारे। तर, पत्रिका पढ्नेहरूको लर्कोमा कुनै कमी आएन।

    पसलसँगै माया गर्ने पाठकहरू पनि माया गरेर पछिपछि आए किनभने यो माया एकोहोरो छैन। उनी पनि पसलमा आउनेलाई उसैगरी माया गर्छन्। ध्रुव बुक्स एण्ड स्टेसनरीका मालिक हुन् ध्रुव सापकोटा। उनी भन्छन्, 'पत्रिका पढ्नेहरूको भिड, यो जस्तो रोचक र आनन्ददायी दृश्य केही छैन।'

    पत्रिका पढ्ने र पढाउने चिज रहेछ

    काभ्रेमा जन्मिएका सापकोटा सात कक्षा पढेर काठमाडौं आए। बिहानको पढाइ थियो। दिनभर रसियन लाइब्रेरीमा लाइब्रेरियनको काम गर्थे। त्यहाँ रुसमा पढेर आएका मानिसहरू बढी आउँथे, पढ्थे।

    उनी तिनीहरूलाई हेर्दै सोच्थे 'यो पत्रिका भन्ने चिज चाहिँ पढ्नैपर्ने रहेछ।' लाइब्रेरी पुतलीसडकबाट रसियन कल्‍चरल सेन्टर कमलपोखरीमा सर्‍यो। त्यससँगै उनको लागि लाइब्रेरियनको जागिर पनि सकियो।

    सोभियत संघको विघटन भयो। विश्व इतिहास बदलियो। जसरी विश्व इतिहास बदलियो ध्रुवको जीवन पनि त्यसरी नैं मोडियो।  लाइब्रेरियनको काम गर्दा उनले संकल्प लिए, 'पत्रिका पढ्नुपर्ने चिज हो। मान्छेहरूलाई म पढाउछु पत्रिका।' त्यसपछी उनले सुरू गरे पत्रिका पसल डिल्लीबजारमा।

    नेपालमा छापा मिडियाको तीव्रता आइसकेको थिएन। गोरखापत्र, दृष्टि, मातृभूमि, समीक्षा, समाज, विमर्श र भारतबाट आएका पत्रिकाहरूको दबदबा थियो। उनले तिनै पत्रिका आफ्ना पसलअगाडि झुण्ड्याउने गर्थे। एकदमै कम पत्रिकाहरू रहेकोले मान्छेहरू पालैपालो पढ्थे। भने कहिलेकाहीँ एकजनाले पढ्ने अन्य मान्छेहरू सुन्थे।

    बेला यस्तो पनि थियो। हरेक समाचार पत्रिकाहरू जनताका लागि यथेष्ट सूचनाका माध्यम थिए। जनताहरू ती समाचार पढेर आफ्नो धारणा बनाउँथे। समाचारहरूलाई विश्वास गर्थे। अहिले समाचारप्रति जनताको विश्वास घट्दै गएको छ।  'मेरो  पसलमा एक दिनमा ४५ सय जनासम्म मान्छेले पढ्ने गर्थे' उनी सम्झिन्छन्, 'एसएलसीको नतिजा हेर्न यहाँ लामो लाइन हुन्थ्यो। '

    पत्रिका किन्ने जति आउँथे पसलमा पत्रिका पढ्न आउने पनि कम हुँदैनथे। उनी पत्रिका सित्तैमा पढ्न आउनेलाई पनि रोक्दैनथे, खुसीसाथ दिन्थे।  काठमाडौंमै घर भएकोले उनलाई थोरै पैसाले पनि जीविकोपार्जन गर्नसक्ने अवस्था थियो।

    जक्सन : ध्रुवको पसल

    सुरुको दिनमा उनले आफ्नो पसलको नाम मनसा बुक्स एण्ड स्टेसनरी राखेका थिए। तर, विस्तारै हरेक क्षेत्रका व्यक्तिहरूको लागि यो पसल जक्सन हुन थाल्यो। कोही मान्छेलाई फुर्सद भयो या भेटघाट गर्न मन लागे कहाँ भेट्ने? सबैको एउटै जवाफ आउथ्यो, 'डिल्लीबजारको ध्रुवको पसल।' त्यसपछि पसलको नाम परिवर्तन भयो। 'ध्रुव बुक्स एण्ड स्टेशनरी।'

    स्थापनाकालदेखि ६० को दशकसम्म सापकोटाको पसल राजनीतिककर्मी, कलाकार, पत्रकार, विश्लेषक तथा साहित्यकारहरूको प्रमुख अखडा थियो। कुन लेखकले कुन किताब प्रकाशन गर्दै छ। कुन मिडियाको पत्रकार कहाँ जाँदै छ? कुन कलाकारले कुन विषयमा काम गर्दै छन्।

    सरकारविरोधी आन्दोलनमा कहाँ के हुँदै छ? भन्ने विषयमा बृहत् छलफल त्यही पसलमा हुन्थ्यो। सापकोटा त्यस छलफलको साक्षी हुन्थे। कसैले कहाँ भेट्नेभन्दा भेट गर्ने जक्सन हुन थालेको थियो ध्रुवको पसल। वास्तवमा जुद्धसडक पीपलबोटको अर्को नयाँ संस्करण थियो यो।

    देशमा राजनीतिक परिवर्तन भए। काठमाडौंले आफ्नो स्वरूप बदल्दै गयो। महँगीले आकाश छुँदै गयो। हरेक व्यक्तिहरू जीविकोपार्जनमा तल्लीन हुन थाले। सबैभन्दा प्रमुख कारण त प्रविधिले फड्को मार्‍यो। हरेकको हात हातमा मोबाइल आएपछि ध्रुव दाइको पसलमा जमघट हुने व्यक्तिहरू क्रमश: पातलिए।

    'कुनै बेला यही थलोमा हुन्थ्यो अनेक विचार विमर्श, समसामयिक राजनीतिक बहस। समय उस्तै रहेन। पहिलेभन्दा सुनसान हुँदै गयो। आफूलाई सम्झेर आउनेहरू पातलिए, अचेल अलि बिरानो लाग्छ।'  उनको अनुहारमा निराशाका धर्सा देखिए।

    उनी त्यसबेलाका पत्रकार मदनमणी दीक्षित,गोविन्द वियोगी, बालमुकुन्ददेव पाण्डे, होमनाथ दाहाल, राजेन्द्र दाहाल, तीर्थ कोइराला ,जेपी आनन्द, विश्वजित किराँती, पुरुषोत्तम दाहाल, हरिहर विरही, निरोधराज पाण्डे, पुष्पराज प्रधान, किशोर नेपाल, श्री आचार्यलगायत धेरैलाई सम्झिन्छन् र भन्छन्, 'को को कता पुगेपुगे।' 

    उनको पसलनजिकै बाटुलेघर बनियो र त्यसपछाडि समाज दैनिकको कार्यालय र प्रेस थियो भन्छन्। समाज दैनिकसँगै त्यसका सम्पादक प्रकाशक मणिराज उपाध्यायलाई सम्मानपूर्वक सम्झन्छन्। 

    उनी भन्छन्,'समयक्रममा पसलमा देखिने पत्रिका बदलिए पत्रकार बदलिए प्रविधि बदलियो र मानिसका रुचि पनि फरक भए।' त्यसबेला धेरै बिक्नेमध्येका सामान्यज्ञान र अन्तर्राष्ट्रियमञ्च पत्रिका पनि ध्रुवको स्मृतिमा ताजै छन्। त्यही बाटो तलमाथि गरिरहने पूर्वराजदूत गोविन्द लोहनी, लेखक प्राध्यापक आनन्ददेव भट्टलाई पत्रिकाका चाखलाग्दो पाठकका रूपमा सम्झन्छन्।

    मदन भण्डारीको त्यो अन्तर्वार्ता

    सापकोटा सधैंझै आफ्नो पसलको काममा थिए। बाहिर सयौँ मान्छे पत्रिकामा आएका  समाचार पढ्दै थिए। त्यही बीचमा साइकलमा चढेर छड्के टोपी लगाएर एउटा भलादमी उनको पसलमा पत्रिका किन्न आइपुगे। त्यहाँ रहेका मानिसहरूले समाचारबाट आँखा हटाएर तिनै व्यक्तितिर नजर सोझ्याए। 

    ती व्यक्तिले त्यहाँ पाइने सबै पत्रिका एक/एकप्रति किन्दै उनको हालखबर सोधे। अनि साइकल लिएर सहरमा भिडको अंश बने। पहिलो भेटमै सापकोटा ती व्यक्तिबाट प्रभावित भए। उनले मनमनै सोचे, 'कस्तो मिठो बोली।'

    त्यतिबेलासम्म उनले मदन भण्डारी भन्ने सुनेका थिए। देखेका थिएनन्। पत्रिका पढ्दै गरेको एकजनाले मदन भण्डारी हो भनेर सुनाइदिए। उनी चकित भए। त्यति ठूलो नेता मेरो पसलमा? उनलाई सपना लाग्यो। हरेक दिन भण्डारी पत्रिका किन्न आइरहे। उनको बोलीमा देखिने मधुरता र कामलाई गरेको सम्मानले सापकोटा उनीप्रति आकृष्ट भइरहे।

    त्यस्तै, सन् १९९१ तिरको कुरा हो। भण्डारीको अन्तर्वार्ता 'न्युजविक' म्यागाजिनले 'इन नेपाल कार्ल मार्क्स लाइभ' नाममा लियो। त्यो पत्रिका पनि धुव्रको पसलमा आउने गर्थ्यो। एकदिन भण्डारी साइकलमा चढेर उनको पसलमा आए। आफ्नो अन्तर्वार्ता न्युजविकमा आएको बताए।

    नेपालीहरूको अन्तर्राष्ट्रिय मिडियामा अन्तर्वार्ता आउनु दुर्लभ कुरा थियो। ध्रुव आश्चर्यमा परे। खुशी पनि भए। पाँचप्रति पत्रिका उनलाई दिए। 'त्यतिबेला मलाई अंग्रेजी खासै आउँदैनथ्यो। मलाई उहाँले नै नेपालीमा उल्था गरेर आफ्नो अन्तर्वार्ता सुनाउनु भएको थियो।' उनी आफूलाई भाग्यमानी सम्झिन्छन्। सन्तुष्टिको सास फेर्छन्।

    देशमा पञ्‍चायत विरुद्धको आन्दोलन र प्रजातन्त्र पुनर्वहाली भयो। ०४८ सालमा चुनाव हुने भयो। त्यो पनि दुई महान् नेताबीचको लडाइँ झन् चर्चामा थियो। कांग्रेसबाट कृष्णप्रसाद भट्टराई र मदन भण्डारी। सापकोटा सम्झिन्छन्, 'उसो त म कम्युनिस्ट थिइनँ। तर भण्डारीको व्यवहार बोलीले म उनीप्रति आकर्षित भएको थिएँ। मैले उनैलाई भोट दिएँ। मलाई लाग्छ अहिलेका नेताले जनताको मनलाई कसरी विश्वासमा लिने भन्ने विषयमा उनीबाट सिक्न जरुरी छ।'

    अबको योजना

    उनी बिहानै पसल आइपुग्छन्। हरेक समाचार संस्थानहरूले प्रकाशन पत्रिका पनि आइपुग्छन्। उही दैनिकी सुरु हुन्छ। मान्छेको भिड सुरु हुन्छ। अनि मात्र उनलाई दिनको सुरुवात भए जस्तो लाग्छ। अब उनलाई एउटा पुस्तकालय खोल्ने मन छ।

    उनलाई नयाँ नयाँ विषयमा लेखिएका पुस्तक र पत्रिकाहरू समेट्न मन छ। 'अब सबै कुराले साथ दिए छिट्टै पुस्तकालय स्थापना गर्छु। आखिर जसरी भए पनि सूचना प्राप्त गर्ने न हो।' उनी आफ्नो योजना सुनाउँछन्। मुसुक्क हाँस्छन्।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]