फिचर

टेण्डरमा कार्यालयकै सेटिङ, ३० करोड चलखेल गरेको आरोप
SHARES

८१ दिनसम्म पनि ठेकेदार छान्‍नै सकस

भदौ २८, २०७६

    भद्रपुर : झापा र इलामका कालोपत्रे सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको टेण्डर प्रक्रिया स्वीकृत गराउन ठूलो आर्थिक चलखेल भएको प्रदेश सांसद र निर्माण व्यवसायीले आरोप लगाएका छन्।

    प्रदेश-१ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तरगतको पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०७५/७६ जेठ ६ गते झापा र इलामका लागि ६ वटा ठूला प्याकेजमा कालोपत्रे सडक निर्माणको बोलपत्र आह्वान गरिएको थियो।

    जेठ ६ गते बोलपत्र आह्वान गरिए पनि भदौ २७ गतेसम्म ठेकेदार स्वीकृत भएको छैन। झन्डै ८१ दिन बित्न लाग्दासमेत ६ वटा ठूला प्याकेजको कालोपत्रे सडकको ठेक्का स्वीकृत नहुँदा टेण्डर प्रक्रियामार्फत नै ठेक्का स्वीकृत गराउन ठूलै आर्थिक चलखेल भएको प्रदेश सांसद र निर्माण व्यवसायीले आरोप लगाएका हुन्। यतिका दिनसम्म पनि बोलपत्र आह्वान गरिसकेको सडकको ठेक्का कसैलाई नपरेको भन्दै प्रदेश सांसदहरूले सदनमै विरोध जनाएका हुन्।

    इलाम क्षेत्र नम्बर १ का काजीमान कागतेले प्रादेशिक सडक अन्तर्गतका ६ वटा प्याकेजका ठेक्का खोलिए पनि आर्थिक प्रस्ताव निकाल्ने प्रक्रिया  आर्थिक चलखेल गरिएको आरोप लगाए। प्रदेशसभामा बोल्दै सांसद कागतेले भने, ‘ठेक्का स्वीकृत गराउन करोडौंको चलखेलको कुरा बाहिर आएको छ, किन यतिका दिनसम्म ठेक्का कसैलाई परेन।’ ‘प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि हरेक ठेक्कामा यस्तो चलखेल हुने गरेको भन्दै यसको छानविन हुनुपर्छ’, उनले भने।

    यता, पूर्वाधार विकास कार्यालय झापाले पहिलो प्याकेजको सडकअन्तर्गत रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे सडकका लागि ४८ करोड, सुखानी–दानावारी–चिसापानी–राजदुवाली सडक ४० करोड, फिक्कल–जोगमाई–नयाँ बजार–दुधाङ सडक ४८ करोड, भद्रपुर–धुलाबारी–गुजराबस्ती–मागुरबाडी–शान्तिनगर–इरूङटार सडक ४० करोड, भद्रपुर–ज्यामिरगढी–धुलाबारी सडक २३ करोड र गौरदाह–स्कुलचन— गैउरिया सडक १५ करोडबराबर लागत अनुमान तयार पारी ठेक्काको बोलपत्र आह्वान गरेको थियो।

    ठूलै आर्थिक चलखेल भएको व्यवसायीको आरोप

    प्राविधिक प्रस्ताव हालेका बोलपत्रदातारूमध्ये केही बोलपत्रदाताको प्रस्तावमा एकजना कन्ट्रयाक्ट मेनेजर नपुगेको भन्दै आर्थिक प्रस्तावमै असफल बनाएर कार्यालयले आर्थिक चलखेल गरेको निर्माण व्यवसायी स्वयंले आरोप लगाएका छन्। कार्यालयले सूचना जारी गर्दा दुईजना कन्ट्रयाक्ट मेनेजर मागेका थिए। बोलपत्र खोलिने ७ दिनअघि कार्यालयले आर्थिक प्रस्ताव नियमावली संशोधन भएको भन्दै तीनजना कन्ट्रयाक्ट मेनेजर मागे।

    ‘एकजना थप भएको कन्ट्रयाक्ट मेनेजरको विषयमा थाहा थिएन’, नागार्जुन विष्णु जेभीकाका प्रतिनिधि  सन्तोष कटुवालले भने, ‘कन्ट्रयाक्ट मेनेजर थप गर्नु एक दिनअघि नै हामीले प्राविधिक प्रस्ताव हालिसकेका थियौँ, कार्यालयले त्यसको एक दिनपछि सूचना संशोधन गर्दै दुईलाई बढाएर तीनजना कन्ट्रयाक्ट मेनेजर बनाए।’

    ‘सूचना संशोधन भएको बारेमा हाम्रो जेभीलाई थाहा नै भएन, न त कार्यालयले जानकारी नै गराए, हाम्रो जेभीलाई हटाउन ठूलै आर्थिक चलखेल भएको हुनुपर्छ’, उनले आरोप लगाए। कार्यालयले आफूखुसी सूचना संशोधन गर्नु र पछि प्रस्ताव पुगेन भन्दै हटाउनु यो आर्थिक प्रस्ताव नियमावलीविपरीत कार्यालयले काम गरेकोले न्यायका लागि अदालतसम्म पुग्ने उनले आक्रोश पोखे।

    ३० करोड बढी चलखेल गरेको आरोप

    पूर्वाधार विकास कार्यालय झापा कार्यालयले ३० करोड बढी रकमको आर्थिक चलखेल गरेर ठेक्का सम्झौता गर्न लागेको पेसेफिक–ई लाइट जेभीका प्रतिनिधि विजय पौडेलले आरोप लगाए। ६ वटा सडक प्याकेजमध्ये पेसेफिक–ई लाइट जेभीले चारवटा सडकमा प्राविधिक प्रस्ताव हालेका थिए। त्यसमध्ये तीनवटा असफल र एउटा सफल भएको आर्थिक प्रस्तावको सूचनामा उल्लेख छ।

    ‘तीनवटा प्रस्ताव कन्ट्रयाक्ट मेनेजर नपुगेर फालिएको भन्ने मैले बुझेको छु’, उनले भने, ‘झापादेखि केन्द्रसम्मका निर्माण व्यवसायीको सेटिङमै यस्तो चलखेल भएको हुनुपर्छ, सुरुमा दुईवटा कन्ट्रयाक्ट मेनेजर माग्ने सूचना पछि संशोधन गरी तीनवटा माग्नु नै चलखेलको केन्द्रबिन्दु हुनुपर्छ।’

    यता, कार्यालयका इन्जिनियर सुजन ढकालले आर्थिक नियमावली संशोधन भएर आएपछि एकजना कन्ट्रयाक्ट मेनेजर थपिएको बताए। ‘कार्यालयले नियमअनुसार कन्ट्रयाक्ट मेनेजर त्यही सूचनामा थपेका हौँ, र संशोधन गरिएको सूचना बोलपत्र अनलाइन पेजमा प्रकाशन गरेका थियौँ’, उनले भने।

    ‘कम्तीमा सात दिनअघि नै सूचना संशोधन गरिसकिएकोले बोलपत्रदाताहरूले संशोधन सूचना हेरेर बोलपत्र हालेको भए कुनै समस्या नै आउने थिएन’, उनले भने।

    सफल सूचीमा राख्न निर्माण व्यवसायीको माग

    पूर्वाधार विकास कार्यालय झापाले बोलपत्रदाताहरूको प्राविधिक प्रस्ताव मूल्याकंन गरी यही भदौ २० गते आर्थिक प्रस्ताव खोल्ने सूचना प्रकाशन गर्दै सफल र असफल बोलपत्रदाताहरूको नाम सार्वजनिक गरेको छ।

    सूचनामा सार्वजनिक गरिएको बोलपत्रदातामध्ये नागार्जुन–विष्णु जेभी इलामले प्राविधिक प्रस्तावलाई सफल सूचीमा राख्न भन्दै निर्माण व्यवसायी गोकर्णप्रसाद पण्डितले पूर्वाधार विकास कार्यालय झापामा शुक्रवार निवेदन दर्ता गराएका छन्।

    नागार्जुन–विष्णु जेभी इलामले गौरदाह–स्कुलचन—गैउरीया सडक निर्माणका लागि प्राविधिक प्रस्तावसहितको बोलपत्र आह्वान गरेको थियो। तर, कार्यालयले जारी गरेको आर्थिक प्रस्तावको सूचनामा नागार्जुन–विष्णु जेभी इलामको प्राविधिक प्रस्ताव असफल भएको उल्लेख गरिएको छ। सो विषयलाई लिएर नागार्जुन–विष्णु

    जेभीले १७ जुन २०१९ मा बिण्ड प्राविधिक प्रस्ताव गरिसकेको अवस्थामा कार्यालयले १८ जुन २०१९ मा पुनः अर्को सूचना जारी गरी सोही समय अवधिभित्रै सूचना संशोधन गरेको र संशोधन सूचनामा विवरण थप गर्दा म्यादसमेत थप नगर्नु र एक दिनअघि प्रस्ताव हालिसकेको जेभीलाई कार्यालयले जानकारी नगराएको निवेदनमा उल्लेख छ।

    त्यसो नगरेर कार्यालयले एकैचोटि आर्थिक प्रस्तावमा असफल भएको जेभीको नाम उल्लेख गरेर सूचना प्रकाशित गरिदिएको छ। यस जेभीले सो ठेक्का १० करोड ५० लाख हालेकोमा अरू कम्पनीले १३ करोड ५० लाख हालेको भन्दै तुरुन्त ठेक्का फिर्ता लिन भनी अज्ञात समूहले फोनमार्फत धम्कीसमेत दिएको निवेदनमा उल्लेख छ।

    ३ करोड कममा ठेक्का कबुल अंक हालेकालाई योजनाबद्ध तरिकालाई हटाएकोले पुनर्मूल्यांकनका लागि कार्यालयमा निवेदन हालेको नागार्जुन विष्णु जेभीका आधिकारिक प्रतिनिधि पण्डितले जानकारी दिए। यो निवेदनको बोधार्थ मुख्यमन्त्री र अर्थमन्त्री कार्यालयमा समेत पठाएको उनले बताए।

    ठेक्का सम्झौतामा किन भयो ढिलासुस्ती?

    पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०७५/७६ मा दुईवटा ठूला प्याकेजमा झापा र इलामका लागि ६/६ वटा कालोपत्रे सडकको बोलपत्र आह्वान गरेको थियो। पहिलो प्याकेजमा ६ वटा सडकको सूचना जेठ ६ गते प्रकाशित गरिएको थियो, भने अर्को प्याकेजका लागि ६ वटा सडकको सूचना जेठ १० गते प्रकाशित भएको सूचनामा उल्लेख छ।

    तर, कार्यालयले जेठ ६ गते प्रकाशित सूचनालाई प्राथमिकता नदिएर जेठ १० गते आह्वान गरिएको प्याकेजका सडकका ठेक्काहरू गत आर्थिक वर्षको असार मसान्तभित्र नै सम्झौता भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

    त्योभन्दा ४ दिनअघि खोलिएको बोलपत्र आह्वानको टेण्डर सम्झौता प्रक्रियामै रहेको कार्यालयका इञ्जिनियर सुजन दाहालले जानकारी दिए। उनका अनुसार भदौ २० गते आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना प्रकाशित गरिसकेका छौँ। भदौ २९ गते आर्थिक प्रस्ताव खोलेपछि मात्र बोलपत्रदातासँग सम्झौता हुने उनले बताए।

    पहिलो प्याकेजको ठेक्का हालसम्म सम्झौता नहुनु र ढिलो सूचना निकाले पनि दोस्रो प्याकेजको ठेक्का सम्झौता भइसकेको विषयमा थाहाकर्मीले राखेको जिज्ञासामा इन्जिनियर दाहालले भने, ‘पाँच दिन ढिलो सूचना निकालेको दोस्रो प्याकेजको बोलपत्र आह्वानमा सीमित बोलपत्रदाताले ठेक्का हालेको र पहिलो

    प्याकेजको बोलपत्र आह्वानमा धेरै बोलपत्रदाताले ठेक्का हालेकोले पहिलो प्याकेजमा ढिलासुस्ती  भएको हो।' आर्थिक प्रस्ताव नियमावलीमा १२० दिन तोकेको हुँदा सोहीअनुसार नै काम अघि बढाएको उनको भनाइ छ। 

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]