विचार

प्रविधिको आवश्यकता, लगानी र प्रोत्साहन पहिलो प्राथमिकता
SHARES

असोज १, २०७६

    अहिलेको युगलाई विज्ञान र प्रविधिको युग भनिन्छ। विज्ञान र प्रविधिलाई चाहिने खास गरेर प्राकृतिक स्रोत, मानव संशाधन तथा स्रोतहरूका दृष्टिकोणबाट नेपाल गरिब छैन। तथापि‚  विज्ञान प्रविधिमा भइरहेको अनुसन्धान, प्रगति र भौतिक सुविधाका पक्षमा भन्ने हो भने हामी निकै पछाडि छौं।

    उदाहरणका लागि विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि अहिले विश्वमै औसत आफ्नो कुल गार्हस्थ उत्पादनको कम्तीमा पनि दुई प्रतिशत खर्च भइरहेको छ। त्यसमा नेपालको खर्च अथवा लगानी शून्य दशमलव ३७ प्रतिशत मात्रै छ। यसको अर्थ विश्वमा विज्ञान र प्रविधिको अनुसन्धान र विकासका लागि गरिएको खर्च र लगानीमा नेपालको सहभागिता न्यून देखिन्छ।

    नेपालमा अहिले पनि झण्डै एक लाखको हाराहारीमा विज्ञान र प्रविधिसँग सम्बन्धित जनशक्ति छ। जसको आधाजसो इञ्‍जिनियर, एक चौथाइ मेडिकल डाक्टर र बाँकी विभिन्न विषयका वैज्ञानिक र प्रविधि विषयका स्नातक र स्नातकोत्तरवालाहरू पर्न आउँछन्।

    संख्याका हिसाबले यो त्यति निम्सरो होइन र हामीसँग योग्य जनशक्ति छ भन्ने प्रस्‍ट छ। तथापि‚ तिनको सहभागिता, खासगरी वैज्ञानिक चिन्तन, प्रविधि विकास र अनुसन्धान भने असाध्यै कम छ।

    अनाकर्षणको कारण

    लगानीबिना भौतिक पूर्वाधार बन्न सक्दैन। वैज्ञानिक अनुसन्धान, प्रविधि विकास गर्नका लागि चाहिने भौतिक पूर्वाधार, त्यसमा लगानी नहुनु  मुख्य कारण हो। त्यसमा संलग्न हुनेहरूका लागि न्यूनतम सुविधा नहुनु अर्को कारण हो। लगानीबाहेक अभिरुचि, त्यसप्रति प्रतिवद्धता पनि निकै कमजोर छ। सरकारकै प्रतिबद्धता पनि कमजोर छ।

    सरकारको प्राथमिकतामा विज्ञान प्रविधि

    वैज्ञानिक र प्राविधिक क्षेत्रमा सरकारको प्रतिवद्धता देखिँदैन। एक प्रकारले बेवास्ता नै गरिएको छ। नेपालको संविधानको निर्देशक सिद्धान्तको एउटा वाक्यांशमै लेखिएको छ, ‘वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक प्राविधिक वौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने।’ तर‚ यो कुरा व्यवहारमा लागू भएको छैन। लागू गर्ने विधि र प्रक्रिया पनि छैन।

    विज्ञान प्रविधि मन्त्रालयमै पनि आकर्षण कम देखिन्छ। मन्त्रालय भागबण्डाका क्रममै यो प्रस्‍ट हुन्छ। अझ विज्ञान मन्त्रालयको पनि रुचिपूर्ण कथा छ। प्रारम्भ हुँदा पनि भागबण्डा नपुगेर बढाइएको मन्त्रालय गठन भएको ३० वर्ष हुन लागिसक्यो।

    यो सन् १९९० को दशकमा भएको थियो। यस बीचमा कम्तीमा ४० जना विज्ञानमन्त्री भइसके। एकजना मन्त्री एक वर्ष पनि नटिक्ने देखियो। यो मन्त्रालयमा जाने मन्त्रीको कुरा छाडौं‚ त्यहाँ सचिव भएर जाने पनि एक वर्षको हाराहारीमा मात्र बस्छन्, टिक्छन्। 

    यसबाट पनि यो मन्त्रालयप्रति कति अनाकर्षण छ भन्ने प्रस्‍ट हुन्छ। यो अनाकर्षण, विकर्षणको मन्त्रालय भयो। जबरजस्ती लादिएको जस्तो। विज्ञान मन्त्रालय कुनै समयमा एउटा छुट्टै निकायको रूपमा आइसकेको थियो तर अहिले फेरि  शिक्षासँग गाभिएको छ। शिक्षामा दुईजना सचिव छन्।

    एउटाले शिक्षा हेर्ने अर्काले विज्ञान र प्रविधि। यस मन्त्रालयमा छुट्याइएको बजेट, त्यसको संरचना हेर्दा विज्ञान र प्रविधिको पाटो निक्कै निम्छरो र असाध्यै सानो देखिन्छ। यसले पनि सरकारको प्रतिबद्धता पुगेको छैन भन्ने प्रस्‍ट हुन्छ।

    समृद्ध नेपाल, सुखी नेपाली : विज्ञान प्रविधिको महत्त्व

    संविधानको मौलिक हकअन्तर्गत कतिपय विषयहरू उठाइएका छन्। जस्तैः स्वच्छ र स्वस्थ वातावरणको हक भनिएको छ। खानेपानी तथा सरसफाइ, खाद्यको हक, आवासको हक, सञ्चारको हकजस्ता थुप्रै हकहरू उल्लेख गरिएका छन्।

    यी कुनै पनि हक विज्ञानको प्रयोगबिना, प्रविधिको उपयोगबिना प्राप्त गर्न सम्भव छैन। पहिलो कुरा नेपालको समृद्धिको सपना जुन हामीले देखिरहेका छौं‚ त्यसलाई बुझ्न आवश्यक छ। समृद्धि आर्थिक विकासबाट हासिल हुन्छ।

    उदाहरणका लागि आजभन्दा २०० वर्ष अगाडिसम्म विश्वका प्रत्येक मानिसको कुल गार्हस्थ उत्पादन प्रतिव्यक्ति ६०० डलरभन्दा कम थियो। अहिले त्यो ६ हजार नाघेको छ। यो २०० वर्षमा के चमत्कार भयो? के जादु भयो?

    २००७ सालमा नेपालीको सरदर आयु ३२/३३ वर्ष थियो। अहिले हामीले ७२ वर्षमा पुर्‍यायौं। त्यो कसरी सम्भव भयो त? त्यो पनि विज्ञानले सम्भव गराएको हो। अहिले संसारकै पनि औसत आयु हेर्दा ७० वर्ष नाघ्यो, नेपालीको त अझै ७२ वर्ष छ। कुनै कुनै राष्ट्रको ८५ वर्ष छ। त्यो सुख‚ समृद्धि, सुखसयल विज्ञानको प्रयोगले भएको हो। 

    विज्ञानका क्षेत्रमा पनि नेपालले गर्न सक्ने सम्भावनाहरू प्रशस्तै छन्। मंगलग्रहमा पानी छ भनेर पत्ता लगाउने पनि नेपाली वैज्ञानिक नै थिए, तर उनी अमेरिकामा बसेर काम गरिरहेका छन्। नेपालले त्यो आँक्न नसक्ने भन्ने कुरा छैन। सानो र एउटा परीक्षणकै रूपमा भए पनि पहिलो स्याटलाइट नेपालीले नै बनाएका हुन्। त्यसमा नेपाली नै संलग्न थिए।

    सुखको पनि एउटा मापन हुन्छ। सुखी हुनका लागि मान्छेको जीवन स्वस्थ हुनुपर्छ। राम्रो  शिक्षा उपलब्ध हुनुपर्छ र राम्रो खाना, पोषणयुक्त आहार प्राप्त हुनैपर्छ। उसको बसाई स्वच्छ वातावरण, स्वच्छ पानी, बस्ने आवास भूकम्पले नढल्ने हुनुपर्छ। यो सबै प्रविधिले दिन्छ। यसकारण भौतिक सुख सुविधा विज्ञान र प्रविधिले प्राप्त हुने भएकाले यसलाई नजोडी, आधार नबनाइ न समृद्धि हासिल हुन्छ न सुख।

    प्राथमिकता र दिगो विकास

    अहिले नेपालले पनि अंगीकार गरेका १७ वटा दिगो विकासका लक्ष्य नै प्राथमिकता हुन्। १७ वटा दिगो विकास लक्ष्य एक प्रकारले अन्तर्राष्ट्रिय विकासको रोडम्याप अर्थात् मार्गचित्र बनेको छ। त्यसमा पहिलो नम्बरमा ‘सबै प्रकारको जुन गरिबीको निर्मूल गर्ने’ भनिएको छ।

    दोस्रो, भोकलाई निमिट्यान्न पार्ने, त्यसपछि स्वास्थ्य छ, शिक्षा छ, स्वच्छ पानी, वनजंगल र जलवायु परिवर्तनको कुरा आउँछ। त्यो १७ वटा कुराहरू नै हाम्रा प्राथमिकता  हुन्। विज्ञान‚ प्रविधि र वैज्ञानिक र प्राविधिकहरूले पनि तिनै लक्ष्यहरूलाई प्राथमिकतापूर्वक हासिल गर्नका लागि आफ्नो समय र श्रम खर्च गर्नुपर्छ।

    नीति प्रविधि कम्पनीहरूको योगदान र लगानी

    नीति क्षेत्र र सार्वजनिक कुरा गर्दा सबैभन्दा राम्रो उदाहरण चीनको हुनसक्छ। विज्ञान र प्रविधिको विकासमा दुईथरी हुन्छ। आधारभूत विज्ञानको विकास र व्यावहारिक विज्ञानको विकास।

    आधारभूत विज्ञान अर्थात् बेसिक साइन्स अनुसन्धानमुखी  हुन्छ। त्यसले तुरुन्त प्रतिफल  दिँदैन। जस्तो थोमस अल्बा एडिसनले बिजुलीको आविष्कार गरे। पछि चिमको आविष्कार गरे।

    चिमको भित्र पहिले मसिनो धागो प्रयोग गरिन्थ्यो जसलाई टंग्सटिन भनिन्छ। त्यो टंग्सटिनको विकास गर्न उनलाई सयौं परीक्षण गर्नुपरेको थियो। सयौंवटा परीक्षण गरिसकेपछि बल्ल एउटामा सफलता मिल्यो। त्यसलाई हामी आधारभूत विज्ञान भन्छौं। सयौं परीक्षणको लागि खर्च गरेपछि बल्ल एउटा प्राप्ति हुने हो।

    यसकारण यस्तो प्रकारको विज्ञानको अनुसन्धान अनिवार्य छ। त्यो प्रविधिबिना विकास हुँदैन। तर‚ तत्काल त्यसबाट नाफा नहुने भएकाले त्यसमा निजी क्षेत्र आकर्षित हुँदैनन्। यसकारण सरकारले राज्यले लगानी गर्नुपर्छ। जिम्मेवारी लिनुपर्छ। यस्तो व्यवस्था चीनमा छ।

    त्याहाँ निजी क्षेत्र, उद्योगको सहभागिता अनिवार्य छ। बजारमा अहिले देखिएका प्रविधिको विकास, त्यसको विविध उत्पादन, प्रविधिहरू हाम्रो हातमा आउनुको पछाडि निजी क्षेत्रकै छ। यसलाई हामी व्यावहारिक विज्ञान भन्छौं। त्यो विज्ञानमा निजी क्षेत्रको भूमिका रहन्छ।

    अर्को उदाहरण दक्षिण कोरिया  पनि हो। त्यहाँको सरकारले मात्र नभई निजी उद्योगहरूलाई पनि आधारभूत विज्ञानको अनुसन्धानमा प्रोत्साहन दिइन्छ। त्यो प्रोत्साहनबापत उद्योगहरूले कर छुट, विशेष सुविधा पाउँछन्। 

    सेलाएको राष्ट्रिय आविष्कार केन्द्र

    राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा महावीर पुनले १० वर्ष अगाडि ल्याएका हुन्। तत्कालीन प्रधानमन्त्रीले यसलाई निकै महत्त्व दिएर अगाडि बढाउने भने। महावीर पुन करिब ८ वर्षसम्म एउटा मन्त्रालयबाट अर्को मन्त्रालय, मन्त्रालय भित्रको एउटा कोठाबाट अर्को कोठा निकै धाएको खबर आयो। तर‚ सफलता हात लागेन।

    ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म लाग्ने पाँचदेखि १० मेगावाटको जलविद्युत आयोजना सञ्चालन गर्ने राष्ट्रिय  आविष्कार केन्द्रको परिकल्पना गरिएको थियो। तर, त्यो रकम जुटाउन सकिएन। महावीर पुनले आधा रकम सरकारले र आधार निजी क्षेत्र, चन्दादाता सबैबाट जम्मा गरेर हाल्ने योजना बनाएका थिए। तर‚ त्यो ८ वर्षसम्म पनि पूरा गर्न नसकेपछि महावीर पुन थाक्नुभयो । 

    विज्ञान र प्रविधिको विकासमा जनस्तरको भूमिका

    जनस्तरबाट विज्ञानको विकास गर्न अलि गाह्रो छ। सबै मानिसलाई विज्ञानको विकास, प्रविधिको अनुसन्धानमा अभिरुचि नहुन सक्छ। विज्ञानमा आज लगानी गरेर भोलि  प्रतिफल प्राप्त हुँदैन। निकै समय  कुर्नुपर्छ। यो जुवा खेल्ने जस्तै हो। जसमा हार्ने सम्भावना धेरै हुन्छ।

    नेपाली अर्थतन्त्र पनि खासै ठूलो छैन। आधा प्रतिशत जनसंख्याको एक प्रतिशत हुनेखाने होलान्‚ बाँकी सबै हुँदा खाने छन्। उनीहरूले कति सहयोग गर्न सक्छन्? यसकारण नेपाली अर्थतन्त्रको हिसाबले पनि जनस्तरबाट हामीले कल्पना गरेको जस्तो विज्ञानको विकास हुन सम्भव देखिँदैन। विज्ञानको विकास त्यहाँको सरकारले नै अभिरुचि लिएपछि मात्रै भएको विश्वका उदाहरण छन्।

    भारतले भर्खरै चन्द्रयान पठाएको छ। त्यो सरकारले लिएर नै सम्भव भयो। त्यसमा अर्बौं रुपैयाँभन्दा बढी खर्च भएको छ। त्योभन्दा अगाडि पनि भारतले मगंलयान पठायो, सफल भयो। तर जनताले ‘त्यसबाट मलाई के प्राप्त भयो त’ भन्ने खोज्छ। यसको उत्तर विज्ञानसँग हुँदैन। वैज्ञानिकसँग हुँदैन। त्यसकारण त्यो उत्तर दिन नसकिने कुरामा जनताले लगानी गर्दैनन्। यसो भएकाले जनस्तरबाट यसलाई नैतिक समर्थन मिल्छ तर भौतिक र आर्थिक समर्थन गर्न गाह्रो हुन्छ।

    विज्ञान प्रविधिमा नेपालको सम्भावना 

    विज्ञानका क्षेत्रमा पनि नेपालले गर्न सक्ने सम्भावनाहरू प्रशस्तै छन्। मंगलग्रहमा पानी छ भनेर पत्ता लगाउने पनि नेपाली वैज्ञानिक नै थिए, तर उनी अमेरिकामा बसेर काम गरिरहेका छन्। नेपालले त्यो आँक्न नसक्ने भन्ने कुरा छैन। सानो र एउटा परीक्षणकै रूपमा भए पनि पहिलो स्याटलाइट नेपालीले नै बनाएका हुन्। त्यसमा नेपाली नै संलग्न थिए।

    हामीसँग केही प्रभाव देखिने गरी भएका उदाहरण पनि छन्। महावीर पुनजस्तै म्यागासेसे पुरस्कार पाउने चिकित्सक डा. सन्दुक रुइतले आइओएल इन्ट्रा ओक्ला लेन्स बनाएर देखाउनुभयो, त्यो त संसारकै लागि उदाहरण हो।

    आज नेपालमा बनेको आँखामा लगाइने त्यो लेन्स ४० भन्दा बढी देशमा निर्यात हुन्छ। त्यो सामान्यभन्दा सामान्य नागरिकले पनि किनेर लगाउन सक्छन्। त्यो कसले बनाइदियो त? नेपालीले बनाइदियो, सन्दुक रुइतले बनाइदिए।

    यस्तैगरी अर्को उदाहरण अकलमान नकर्मी। उहाँले माइक्रो हाइड्रो अर्थात् साना जलविद्युतको लागि आवश्यक पर्ने टर्वाइनको नेपालमा विकास गर्नुभएको थियो। त्यो टर्वाइन कुनै समय अफ्रिकामा निर्यात हुन्थ्यो। दक्षिण एसियामा निर्यात हुन्थ्यो। चीनमा निर्यात हुन्थ्यो।

    यो एउटा राम्रो उदाहरण हामीसँग छ। त्यसकारण हुँदै नभएको होइन तर त्यसको स्तरबृद्धि गरेको गुणस्तरीय र संख्यात्मक हिसाबले उठाउन सकेनौं भन्ने हो। राज्यले त्यसलाई ग्रहण गरेर अहिलेको भाषामा भन्दा मार्केटिङ गर्न सकेन।

    कमजोर पाटो

    नेपाली जनताको विज्ञानप्रतिको तटस्थभाव पनि कमजोरी हो। त्यस्तो प्रकारको वैज्ञानिक अनुसन्धान र प्रविधि विकास गर्नका लागि नेपालमा पूर्वाधार छैन। हामीसँग भएको नीति नियम अपुग छन्। विज्ञान र प्रविधिमा लगानी गर्ने उद्योग अत्यन्तै न्यून छन्। हाम्रा उद्योगहरू वैज्ञानिक अनुसन्धान र विकासमा लागेका छैनन्। हामी बाहिरबाट सामान ल्याएर जोडजाड गर्ने काममा मात्र सीमित छौं।

    युवा वैज्ञानिकहरूको पुस्ता छ। उनीहरूका १० देखि १२ वटा संस्था दर्ता भएका छन् र ती सबै सिडियो कार्यालयमा गैरसरकारी संस्थाका रूपमा दर्ता भएका छन्। र उनीहरूले त्यसको कुनै पनि काम गर्न समाज कल्याण परिषदबाट अनुमति लिनुपर्छ।

    हाम्रा बैंकहरूबाट एटिएमबाट करोडौं रुपैयाँ चोरी हुनु ठूलो संकट हो। यो एउटा ठूलो भूकम्प आउनु अगाडिको सानो संकेत मात्र हो। विज्ञान र प्रविधिलाई यसको जिम्मा नदिएसम्म सुरक्षा असम्भव छ। त्यसकारण बैंकहरूले पनि वैज्ञानिक, प्राविधिकलाई पन्छाएर आफ्नो सुरक्षा हुन्छ भन्ने ठान्नु गलत हो। बैंकहरूले, नेपाल सरकार, राष्ट्रबैंकले पनि त्यहाँ वैज्ञानिकको, प्राविधिकको अति खाँचो छ

    अब वैज्ञानिकले पनि त्यही गएर आफ्ना कुरा राखेर स्वीकृति लिनुपर्ने गर्दा यो निकै लामो प्रक्रिया छ। नत सबै सिडियोले यसको महत्त्व बुझ्छन् न समाज कल्याण परिषदमा कुनै बुझ्ने मान्छे पुग्छन्।
    जसबाट युवा वैज्ञानिकहरू थाकेका छन्। त्यसकारण वैज्ञानिकहरूलाई वैज्ञानिक अनुसन्धान गर्ने जुन संस्थागत संरचना हो त्यसलाई छुट्टै किसिमको निकाय नबनाई यो अगाडि बढ्न सम्भव छैन।

    युवा वैज्ञानिकहरूको समूहले कुनै एउटा दाताबाट त्यो उपकरण ल्याउने प्रयास गरे। ती ठूलाठूला विश्वविद्यालयमा पढेका युवा वैज्ञानिकहरू छन्। उनीहरूको त्यहाँका विश्वविद्यालयका प्राध्यापक, गुरु, गुरुमाहरूसँग राम्रो सम्बन्ध छ। उनीहरूले ती उपकरणहरू दान दिएका हुन्।

    तर त्यो उपकरण भित्र्याउने हामीसँग प्रावधान छैन। त्यसरी सहयोगका रूपमा आएको उपकरण ल्याउन त्यसको मूल्यभन्दा दुईगुणा बढी कर तिर्नुपर्छ। यो कुरामा सरकारको हाम्रो नीतिनियमको ध्यान पुग्न सकेको छैन। समस्या यस्तै-यस्तै छन्।

    प्रविधिको प्रयोग गोपनीयता र डाटाको सुरक्षा

    विज्ञान र प्रविधिको आवश्यकता अर्को एउटा गोपनीयता र सुरक्षाका लागि हो। हालै सरकारका शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा राष्ट्रिय विज्ञान प्रविधि र नवप्रवर्तन नीति तर्जुमा भएको छ। त्यो नीतिको पहिलो बुँदामै राष्ट्रिय सुरक्षाका लागि विज्ञान र प्रविधि आवश्यक छ भनिएको छ। जुन कुरालाई हामीले अहिलेसम्म ध्यान दिन सकेका छैनौं।

    उदाहरणका लागि पछिल्लो घटना हाम्रा बैंकहरूबाट एटिएमबाट करोडौं रुपैयाँ चोरी हुनु ठूलो संकट हो। यो एउटा ठूलो भूकम्प आउनु अगाडिको सानो संकेत मात्र हो। विज्ञान र प्रविधिलाई यसको जिम्मा नदिएसम्म सुरक्षा असम्भव छ।

    त्यसकारण बैंकहरूले पनि वैज्ञानिक, प्राविधिकलाई पन्छाएर आफ्नो सुरक्षा हुन्छ भन्ने ठान्नु गलत हो। बैंकहरूले, नेपाल सरकार, राष्ट्रबैंकले पनि त्यहाँ वैज्ञानिकको, प्राविधिकको अति खाँचो छ भन्ने बुझ्नुपर्‍यो। त्यो खाँचो पूरा गर्न लगानी गर्नुपर्‍यो।

    एकजना वैज्ञानिक कार्स सेगनको भनाइ थियो ‘हाम्रो समाज, समग्र मानव समाज, वैज्ञानिक आविष्कार र प्रविधिमा यति धेरै निर्भर हुँदै गएको छ कि, यदि वैज्ञानिक चेतना नहुने र प्रविधिसँग ज्ञान नहुने तर निर्भरता मात्रै भयो भने त्यो समाज आत्मघाती हुन्न।’

    प्रविधिमा नेपाली समाजको विद्यमान निर्भरता र चेतना

    नेपाली समाजमा अहिले भित्रिरहेका विसंगति, चोरीहरू त्यो सबै विज्ञान, प्रविधिप्रति अन्धो निर्भरताका कारण हो। त्यो चेतना र ज्ञान छैन। त्यसकारण अब पनि यसबाट पाठ नसिक्ने हो भने भविष्यमा ठूलो आपत् आइलाग्छ। भोलि नेपालको सुरक्षासम्बन्धी कागजात, तथ्यांकहरू चोरी हुनसक्छ।

     व्यक्तिगत सूचनाहरू अहिले जसरी अपचलन भइरहेको छ। त्यो बढेर जानसक्छ। जुन प्रकारको विसंगतिहरू समाजमा देखिएको छ। त्यो झन् भयावह हुँदै जान्छ।

    व्यक्तिको विज्ञानप्रति आस्था, विश्वास बढ्नुपर्‍यो, वैज्ञानिक चेतनाबाट ओतप्रोत हुनुपर्‍यो, स्कुलदेखि पढ्दै आएको विज्ञानलाई व्यावहारिक रूपमा बुझ्न र व्यवहारमा लागू गर्न आवश्यक छ।

    समग्रमा भन्नुपर्दा आर्थिक समुन्नति अथवा समृद्धिका लागि र समाजको सुखका लागि विज्ञान प्रविधि आवश्यक छ। एउटा व्यक्तिको जीवनमा भौतिक सुख सुविधाबाट विज्ञानले प्रभाव पार्छ।

    दोस्रो चिन्तनबाट उसलाई प्रभाव पार्छ। विज्ञान उसले बुझेपछि उसमा एकप्रकारको चेतना अभ्यूदय हुन्छ। हिजोसम्म प्रस्‍ट नभएका कुराहरू  प्रस्‍टिन थाल्छन्। उदाहरणका लागि पानी कसरी पर्छ? हिजोसम्म उसलाई थाहा थिएन। अब उसले थाहा पायो। पानीको चक्र हुन्छ जलचक्र भनेर थाहा भयो।

    वि.सं. १९९० को भूकम्प नआउँदासम्म नेपालीहरूलाई भूकम्प कसरी आउँछ भन्ने थाहा थिएन। तर, २०७२ को भूकम्प आउँदासम्म अधिकांश नेपालीले भूकम्प आउनुको कारण बुझे। त्यसको कारण विज्ञान हो।

    अहिले पनि चट्याङ पर्छ, कसरी पर्छ, प्यास कसरी लाग्छ, सफा पानी किन खानुपर्छ? यो सबै प्रश्नको जवाफ विज्ञानले दिन्छ। विज्ञानकै कारण मानिसको चेतना, दार्शनिक धरातलमाथि उठेर जान्छ। विज्ञानले मान्छेको अवचेतना, बौद्धिक धरातललाई निकै माथि पुर्‍याइदिएको छ। जुन अरू कुनै पनि दर्शनले पुर्‍याइदिन सकेको छैन।

    अध्यात्म र विज्ञान

    विज्ञानका मूलतः तीनवटा धरातल छन् र तीनवटै धरातल, आधारहरू भौतिक अवस्थामा आधारित छन्। विज्ञानले भौतिक ब्रह्माण्डको अस्तित्वलाई स्वीकार्छ ।

    विज्ञानले त्यो भौतिक ब्रह्माण्डमा एक प्रकारको नियम हुन्छ भन्ने कुरालाई अंगीकार गर्छ। विज्ञानले कुनै पनि विषय निश्चित हुन्छ भन्दैन र अनिश्चित पनि होइन भन्दै त्यसमा अवसर र सम्भावना खोज्छ। विज्ञानले चाहे आध्यात्मिक, भौतिक, धार्मिक वा अधार्मिक जे होस् प्रश्न गर्छ। विज्ञानले धर्ममाथि विश्वास गर्ने वा अविश्वास गर्ने भन्ने हुँदैन। विज्ञानले धर्ममाथि प्रश्न गर्छ।

    विज्ञान दिवस र नेपाल सन्दर्भ

    हरेक देशले आ-आफ्नो परिवेश र ध्येयअनुसार राष्ट्रिय विज्ञान दिवस मनाउँछन्। चीनले मे ३० का दिनलाई राष्ट्रिय विज्ञान तथा प्रविधि मजदुर दिवसका रूपमा मनाउँछ। रुसमा फेब्रुअरी ८, क्युबामा १५, थाइल्याण्डमा फेब्रुअरी २८, भियतनाममा मे २८, स्विटजरल्याण्डमा मे २६ मा मनाइन्छ। त्यसैगरी भारतले फेब्रुअरी २८ मा राष्ट्रिय विज्ञान दिवस मनाउँछ।

    असोज १ त्यही दिन हो, जुन दिन नेपालमा जनस्तरमा पहिलो विज्ञान शिक्षाको पादुर्भाव भएको थियो। त्यो पादुर्भाव पब्लिक साइन्स कलेजको स्थापनाबाट भएको थियो। जुन कलेजलाई आजको घडीमा अमृत साइन्स कलेज भनिन्छ। त्यसको पहिलो प्राचार्य नेपालका पहिलो भौतिक विज्ञानका प्राध्यापक फणिन्द्रप्रसाद लोहनी हुनुहुन्थ्यो।

    त्यसका पछाडि  विभिन्न ऐतिहासिक कारणहरू छन्। फेब्रुवरी २८ का दिन नै भारतका वैज्ञानिक चन्द्रशेखरा वेङकटारमन (सिभी रमन) ले इन्द्रेणीमा किन रंग देखिन्छ भन्ने कुरा पत्ता लगाएका थिए।

    जसका लागि उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै‚ थाइल्याण्डमा त्यहाँका राजाले फेब्रुअरी २८ का दिन खग्रास सूर्यग्रहण लाग्छ भन्ने कुरा गणित गरेर निकाले। र त्यसलाई मानेर त्यो दिन रोजिएको छ।

    यसरी मनाउनेहरूमा नेपाल पनि पर्न आएको छ। असोज १ त्यही दिन हो, जुन दिन नेपालमा जनस्तरमा पहिलो विज्ञान शिक्षाको पादुर्भाव भएको थियो। त्यो पादुर्भाव पब्लिक साइन्स कलेजको स्थापनाबाट भएको थियो।

     जुन कलेजलाई आजको घडीमा अमृत साइन्स कलेज भनिन्छ। त्यसको पहिलो प्राचार्य नेपालका पहिलो भौतिक विज्ञानका प्राध्यापक फणिन्द्रप्रसाद लोहनी हुनुहुन्थ्यो। त्रिचन्द्र कलेजको प्रांगणमा सुरु भएर लैनचौरमा आफ्नै भवनमा सरेपछि फडिन्द्रप्रसाद लोहनीले आफू बिदा भएर युवापुस्तालाई अगाडि सार्नुभयो। असोज १ गते त्यसको स्मृति गरिन्छ। र त्यही हिसाबले असोज १ लाई मानिएको हो। 

    उहाँपछि अर्का प्राध्यापक अमृत प्रधान त्यहाँको प्राचार्य हुनुभयो। उहाँ रसायन विज्ञानका प्राध्यापक हुनुहुन्थ्यो। उहाँको २०२२ सालमा युरोपको आर्ट्स माउन्टेनमा हवाई दुर्घटनामा निधन भयो। त्यो दुर्घटनामा उहाँसँगै विश्वका अरू पनि होनहार वैज्ञानिकहरूको पनि निधन भयो। जसमा भारतका वैज्ञानिक होमी भाभा पनि थिए। उनलाई फादर अफ इन्डियन न्यूक्लिएर प्रोग्रामका पिता भनेर पनि चिनिन्थ्यो।

    अमृत प्रधानको स्मृतिमा पब्लिक साइन्स कलेजलाई अमृत साइन्स कलेज भनी नामाकरण गरियो। तत्कालीन वैज्ञानिक, विज्ञानका प्राध्यापकहरूले जनस्तरबाट जनताको होस्टे र हैंसेबाट लगानी गरेर बनेको विश्वविद्यालय, अमृत साइन्स कलेजको स्थापना पनि त्यसरी भएको हो। त्यसकारण त्यो साह्रै उपयुक्त हुन्छ भनेर २०६९ सालमा तत्कालीन मन्त्रिपरिषदले त्यही दिनलाई मानौं भनेर निर्णय गर्‍यो र मानेका हौं।

    राष्ट्रिय विज्ञान दिवसलाई एक दिन मात्र नभई नेपाली समाजलाई वैज्ञानिकीकरण गर्ने, प्राविधिकरण गर्ने, वैज्ञानिक चेतनालाई ओतप्रोत समाजको रूपमा एक्काइसौं शताब्दीको नेपालको रूपमा अगाडि बढाउन काम गर्नुपर्छ।

    यसले नेपाली समाजलाई विज्ञानमा लगानी गर्ने, अनुसन्धान गर्ने प्रेरणा लिनुपर्छ। खासगरी अहिलेको घडीमा नेपाली समाजमा अन्धविश्वास, सामाजिक कुरीतिहरू छन्। त्यसलाई पनि निर्मूल पार्न विज्ञान दिवसको भूमिका खेल्नुपर्छ।

    नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान नाष्टका प्रा. डा. दिनेशराज भुजुसँग सरस्वती अधिकारीले विज्ञान प्रविधिका विषयमा गरेको कुराकानीमा आधारित।

सरस्वती अधिकारी

पत्रकार अधिकारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]