समाज

माग बढेपछि उदयपुरका किसान कोदो खेतीतर्फ आकर्षित
SHARES

असोज १, २०७६

    उदयपुर : तीन दशक यता ग्रामीण क्षेत्रमा चालमको मात्र भात खानुपर्छ धारणा विकसित हुँदै गएपछि लोप हुँदै गएको कोदो खेती पछिल्लो समय बढ्दै छ। सिँचाइको व्यवस्था नभएको सुक्खा क्षेत्रमा हुने कोदो खेती गर्ने किसानहरु बढ्दै गएका छन्।

    खाद्य संस्कृतिमा चामलको भातले व्यापकता पाएको छ। अन्य खाद्यान्न बालीलाई हेला गर्ने, त्यस्ता बालीको खेती नगर्ने, खेती गर्नेले पनि मादक पदार्थ बनाउन वा नगदेबालीको रूपमा त्यसको उपयोग गर्न कोदो खेती गरिन्थ्यो। तर, पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै गएको छ। सहरमा कोदोमा माग बढ्दै गएपछि किसानले पनि मूल्य राम्रै पाउन थालेका छन्। 

    ‘पहिला पहिला कोदोबाट बनेका परिकार खानेहरु गरिब हुन्छन् भन्ने मान्यता थियो, कोदो खेती गर्नेहरु पनि मादक पदार्थ बनाउनेलाई मात्र बिक्री गर्दथ्ये,’ उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोदो रोप्न हलो जोत्दै गरेका यादव राईले भने, ‘अहिले त कोदो किन्न सहरका ठूला व्यापारीहरु पनि आउने गर्दछन्। राम्रो पैसा दिएर पनि खरिद गरेर लाने गरेका छन्।’

    सरकारले पनि खाद्यान्न अपुग हुने स्थानमा राहतका लागि चामलबाहेक अन्य बालीको खाद्यान्न पठाउँदैन। नियमितरूपमा खाद्य संकट उत्पन्न हुने स्थानका बासिन्दाहरू पनि आफ्नो स्थानमा उब्जनी हुने खाद्यान्न बालीहरूको खेती नगरी सधैं सरकारले पठाउने चामलको बाटो हेरेर बस्थ्ये। 

    कोदोलाई कुअन्न भन्ने चलन छ। नेपालको तराई वा सिंचाइ पुगेको सीमित क्षेत्रमा मात्र उब्जनी हुने धानकै चामललाई मात्र खाद्यान्न भनिन्छ। त्यसैले कोदो खेती हराउँदै गएको थियो। तर, अन्य खाद्यान्नभन्दा कोदोमा धेरै गुण भएको थाहा पाएपछि यसको माग बढ्दै गएको छ। जसको कारण कोदो खेती पनि बढ्दै गएको छ। अन्य बालीभन्दा कोदीमा बढी पौष्टिक तत्व पाइन्छ। कोदोमा पाइने पौष्टिक पदार्थ र यसका औषधीय गुणहरूको प्रचारप्रसार भएपछि कोदोको खेती बढेको मयाँखुका शिक्षक तोकबहादुर श्रेष्ठ बताउँछन्। 

    कोदोको फाइदा

    कोदोलाई खाद्यतत्व र पोषणको आधारमा अन्य अन्न बालीको तुलनामा उच्च स्थानमा पर्दछ। कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८.७३ गुणा बढी क्यालसियम हुन्छ। कोदोमा चामलभन्दा २.३ गुणा, गहुँभन्दा १.५ गुणा र मकैभन्दा ३.७ गुणा बढी फलामको मात्रा पाइन्छ। 

    बालबालिका र गर्भवती माहिला मात्र होइन, मधुमेह र उच्च रक्तचापका बिरामीलाई समेत कोदोले फाइदा पुग्ने चिकित्सकहरुको भनाइ छ। कोदोको उपयोगले रगतमा बोसो र कोलस्टेरोल घटाउने, फलाम प्रचुर मात्रामा हुने हुँदा रक्तअल्पता हुनबाट बचाउने जानकारहरु बताउँछन्। क्यालसियम बढी पाइने हुँदा बालबालिकाहरूमा हाड र दाँतको विकासमा मद्दत गर्ने, कोदोमा पाइने प्रोटिनमा दुधमा जस्तै मिथियोनिन र सल्फरयुक्त एमिनो एसिडजस्ता सन्तुलित एमिनो एसिडहरू पाइन्छन्।

    कोदोमा प्रसस्त मात्रामा पाइने रेसा पदार्थले कब्जियतको समस्या निदान गरेर पेट सफा राख्न मद्दत गर्ने, रूघाखोकी र चिसो लागेको बेला घरेलु उपचारको रूपमा कोदोको सुप वा खोले प्रयोग गर्दा फाइदा पुग्ने चिकित्सकहरु बताउँछन्। विश्व स्वास्थ्य संगठनले कोदोलाई बालबालिकाहरुको उत्कृष्ठ ठोस खानाको रूपमा सिफारिस गरेको छ।

    यसरी बर्सेनि बढ्दै छ कोदो खेती

    उदयपुरमा आर्थिक वर्ष आर्थिक वर्ष २०६५÷०६६ मा दुई हजार ७७५ हेक्टरमा कोदो खेती गरिएको थियो। जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीका अनुसार आथिर्क वर्ष २०७४÷०७५ मा आइपुग्दा तीन हजार ५५५ हेक्टरमा खेती गरिएको छ।

    प्रमुख अधिकारीका अनुसार उदयपुरमा बर्सेनि ५० देखि १०० हेक्टरको दरले कादोखेती बढ्दै गएकोछ। ‘कोदोको परिकार खाँदा स्वास्थ्यमा फाइदा पु¥याउने थाहा पाएपछि यसको खेतीले व्यापकता पायो,’ उनले भने, ‘बजार माग पनि बढ्दयो, त्यसकारण कोदो खेती गर्ने किसानको संख्या बढ्दै गयो, क्षेत्रफल पनि विस्तार हुने क्रममा छ।

विदुर कटुवाल

कटुवाल थाहा खबरका उदयपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]