समाज

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै
SHARES

असोज १, २०७६

    बैतडी :  विजय उत्सवको रुपमा मनाइने बुढी पोल्ने पर्व बैतडीलगायत सुदूरपश्चिमभर आज  धुमधामसँग मनाईदैछ। 

    विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ। परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित दयाकृष्ण पन्तले बताए ।

    द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको पण्डित पन्तको  भनाइ रहेको छ।

    सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ।  ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्।

    गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ । यसो गरेमा पशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ ।

    ओल्के संक्रान्तिका दिन गाउ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ।

    पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन्।

    त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]