थाहा संवाद

सांसदलाई गाउँ पुग्दा लाहुरे ठान्छन्
SHARES

'जनताले नाङ्लामा कार्टुन बनाएपछि नौ महिनामै टावर बनाएँ'

असोज ५, २०७६

    काठमाडौं : नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तिलबहादुर महत ‘तिलक’ संसदीय अभ्यासमा नयाँ अनुभव संगाल्दै छन्। २०२१ सालमा गुल्मीको मुसिकोटमा जन्मेका महत २०४२ सालमा नवलपरासी बसाइँ सरेका हुन्।

    तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्दै पार्टीको जिल्ला नेतृत्व सम्हालेका महत सांसद बनेको डेढ वर्ष भयो। २०६४ सालमा तत्कालीन नेकपा एमाले नवलपरासी जिल्लामै शून्य सिटमा पुगेपछि २०६५ सालमा जिल्लाको नेतृत्व उनको जिम्मामा आइलाग्यो। कुशल नेतृत्वकै कारण २०६८ सालमा फेरि जिल्ला अध्यक्षको नेतृत्व पाए।

    त्यसपछि महत जिल्लामा मात्रै होइन केन्द्रीय नेतृत्वका लागि पनि लोकप्रिय नेता बने। उनकै नेतृत्वकालमा २०७० को चुनावमा एमाले शून्यबाट माथि उठेर ६ सिटमध्ये तीन सिटमा जित हासिल गर्न सफल भयो।

    २०७१ सालमा वैकल्पिक केन्द्रीय सदस्य भइसकेपछि महतले प्रतिनिधिसभाको चुनाव २०७४ मा वाम गठबन्धनबाट जिते र सांसद बने। उनै तिलबहादुर महत 'तिलक'सँग थाहा खबरका लागि लक्ष्मी पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

    सांसद निर्वाचित भएपछिको अनुभव कस्तो छ?

    सामान्यतयाः नयाँ उत्साह नयाँ जोश र जाँगरका साथ संसद् छिरेको हुँदा नयाँ आशा र प्रतिज्ञा छँदै छन्। निर्वाचित हुनुपुर्व पनि नवलपरासीका दुवैतर्फ जिल्लाको उत्तिकै जिम्मेवारी सम्हालिरहेकै थिएँ।

    संघीयताको कार्यान्वयनसँगै जिल्ला टुक्रिएपछि र नवलपरासी सुस्तापूर्वको क्षेत्र नं २ बाट निर्वाचित भएपछि अलि बढी जिम्मेवारी पूर्वतर्फको छ। संसदमा जनताका सवाललाई उठाउने र उनीहरूका समस्या समाधान गर्न सरकारलाई दबाब दिने मात्र होइन, उचित उपाय सुझाउने पनि गरेको छु। संसदभित्रको अनुभव संगाल्दै छु।

    बाहिर बसेर काम भयो भएन भनेर बोल्नु र भित्र बसेर काम गर्नुमा फरक त अवश्‍य छ। सांसद भएर संसद् छिरेपछि हरेक पटकको बैठकमा जिल्लाका प्रमुख समस्या एजेण्डा र विषयबारे सम्बन्धित क्षेत्रकै नागरिक र अगुवासँग सल्लाह गर्छु र सोहीअनुसार संसदमा भूमिका निर्वाह गरिरहेको छु। अनुभवका हिसाबले जिम्मेवारी थपिएको छ र सँगै आफूलाई अझै अब्बल बनाएर जनतामाझ जाने अवसर पनि सदुपयोग गर्दै छु।

    हाउस जाने बेलामा तयारी गरेर जानुहुन्छ कि त्यत्तिकै?

    म त्यत्तिकै कहिल्यै पनि हाउस जाँदिन। हाउस बस्ने दिन म सम्भव भएसम्म आफ्नो क्षेत्रका राजनीतिक दलका साथीहरूसँग र सरोकारवाला र बुद्धिजीवीसँग पनि सल्लाह गरेर संसदमा विषय उठाउने त्यो पनि जोडदार रूपमा सम्बोधन हुनेगरी सरकारको ध्यानाकर्षण गराउने गरी तयार भएरै जान्छु। मेरो आफ्नै मान्यता छ।

    हाउसमा विनातयारी र मनगढन्ते विषयमा बोलेर आफ्ना मतदाताप्रतिको विश्‍वास घट्न दिनु हुँदैन। जनताले टिभीमा हेर्दा आफूले भोट दिएर जिताएका सांसद, निदाउने र अल्छी गरेर बस्नु शोभनीय हुँदैन।

    सांसद भएपछि मतदाताले कसरी बुझ्दारहेछन् र उनीहरूको विचारलाई कुन रूपमा लिनुभएको छ?

    म हरेकपटक आफ्ना क्षेत्र पुग्दा मतदाताहरूका कुनै न कुनै विषय हुन्छन्, समस्या हुन्छन् र सबैभन्दा धेरै मसँग उहाँहरूका अपेक्षा हुन्छन्। सरकारले सांसदलाई सम्बन्धित क्षेत्रका लागि खर्चन सक्नेगरी जुन बजेट दिएको हुन्छ।

    त्यो बजेटको बाँडफाँड कसरी हुन्छ, कसरी गर्ने भनेर जनता चनाखो हुन्छन्। सांसद गाउँ आयो भनेपछि लाहुरे आएजस्तो ठानिन्छ। पहिलेपहिले गाउँमा लाहुरे आएपछि कसलाई के ल्याइदियो भन्ने हुन्थ्यो। अहिले सांसद गाउँ पुग्दा कहाँ कुन योजना कुन कार्यक्रम कुन कामका लागि कति बजेट कसरी आउँछ भनेर बुझ्न चाहन्छन् मतदाता।

    भाषण गरेर भोट माग्‍दा जस्तै काम गर्न सकेको छु जस्तो लाग्छ तपाईंलाई?

    भाषण र निर्वाचनपछिको कामबारे मेरो अनुभव सुनाउँछु, कावासोतीमा प्रिपेनी भन्ने ठाउँ छ, हाईवेबाट आधा किलोमिटर माथि, त्यहाँ नेपाल टेलिकमको टावर टिप्दैनथ्यो। चुनावको बेला मलाई त्यहाँका वडा अध्यक्ष तथा अरू जनप्रतिनिधिले ‘दाइ बोल्नुस् यो टावर बनाउँछु भनेर भन्दिनुस्’ भनेर भने। चुनावको बेला थियो, मैले भाषण गरिहालेँ, बोलेँ, यो टावर बनाउँछु भनेर। चुनाव जितिसकेपछि अर्कै खालको व्यस्तता बढ्यो। टावरको काम चुनाव जितेको ५/६ महिनासम्म हुन सकेन।

    त्यसपछि एकदिन मलाई सन्देश आयो त्यो सन्देश के थियो भने गाउँलेले काम नगरेको भनेर चामल केलाउने जुन नाङ्लो हुन्छ, त्यो नाङ्लोमा मेरो कार्टुनजस्तो बनाएर ‘सांसद तिलक महतको टेलिफोन टावर’ भनेर ठूलो अक्षरमा लेखेर बाटोमा टाँगेछन्।

    जनता यति सचेत छन्, चुनावमा वाचा गरेको काम पूरा नभएपछि जनता आफैँले त्यसो गरे। जनता सचेत छन्, बोलेका काम कुरा पूरा गर्नैपर्छ। यो कार्टुन बनेको तस्वीर मलाई आएपछि म तत्कालै दूरसञ्चार केन्द्रीय कार्यालय पुगेर टावर राख्ने काम तत्काल अघि बढाएँ, चुनावमा ६ महिनाभित्र गर्छु भनेको काम मैले ९ महिनामा गरें। मैले बिर्सेको काम जनता आफैँ पनि सचेत गराउँछन्। चुनावमा प्रतिबद्धता गरिएको हुन्छ, ती पूरा गर्नैपर्छ भन्ने मेरो मान्यता हो।

    सांसद भएपछिका महत्वपूर्ण काम?

    २० वर्षअगाडि कालिगण्डकी करिडोरको ट्रयाक खोलियो। जसमध्ये नवलपुरमा ८६ किलोमिटर सडक पर्छ। यति लामो सडकमा कहिल्यै पनि ठूलो बजेट परेको थिएन। १० लाख २० लाख र बढीमा डेढ करोड परेको थियो। यसपटक ५ अर्ब ५४ करोडमा भारतीय ठेकेदार कम्पनीले काम थालेको छ। बुटवल नारायणगढ बुटवल सडकखण्डको १८ अर्ब ५४ करोडमा सडक स्तरोन्नति हुँदै छ। ३०/३२ हजार जनता अहिले पनि अँध्यारोमा छन्।

    त्यसका लागि बिजुलीकरणका लागि १ अर्ब ७६ करोड रकममध्ये यसवर्ष ५० करोड जति रकममा काम हुँदै छ। आगामी वर्षभित्रै नवलपुरलाई पूर्णरूपमा उज्यालो बनाउनेछौं। नारायणीमा पानीजहाज चल्दै छ। नारायणी तटबन्धको काम बाँकी नै छ।  त्रिवेणी दुम्किबास सडकको इआइए सकेर अरू काम भइरहेको छ। यो सबैभन्दा महत्वको योजना हो।

    २०१५ सालमा खन्न सुरु गरेको रामपुर–मित्याल–अरुणखोला सडकखण्ड, २०३२ सालमा फेरि खनेको, २०६२ मा फेरि खनेको, यति गरेर पनि पूरा नभएको सडक छ। रामपुरदेखि आर्यभन्ज्याङ ४७ किलोमिटर, आर्यभन्ज्याङबाट वर्थुङ १७ किलोमिटर, बर्थुङ–बुटवल ३२ किलोमिटर, बुटवल–अरुणखोला ६० किलोमिटर जम्माजम्मी १ सय ५९ किलोमिटर सडक गत माघमा ट्रयाक खोलेर हाम्रो नवलपुरको २० किलोमिटर र पाल्पातर्फको २० किलोमिटरका लागि दुवै जिल्ला मिलेर ६ करोड रकम पारेर काम थालियो।

    यो सडक पूरा हुँदा १ सय १९ किलोमिटर पाल्पाको रामपुरबाट काठमाडौं पुग्न सिधा र छोटो बाटो बन्दैछ। यो वर्ष १८ करोडको ठेक्का प्रदेश सरकारले लगाएको छ। यस्ता काममा आफ्नोतर्फबाट मिहिनेत गरेको छु भन्ने लाग्छ। जिल्लाको नामाकरण अझै पनि भएको छैन। नवलपुर नाम प्रस्तावित छ। नवलपरासी बर्दघाट सुस्तापूर्वबाट नवलपुर नाम पारित गराउने प्रयासमा छु।

    जनतासँग गरेको प्रतिबद्धताअनुसार अब आफ्नो कार्यकालमा नै गर्ने काम के के छन्?

    अब मसँग करिबकरिब साढे ३ वर्षको कार्यकाल छ। यो अवधिमा नवलपुरलाई गण्डकी प्रदेशकै नमुना जिल्ला बनाउने मेरो लक्ष्य हो। गण्डकी प्रदेशको वार्षिक राजस्‍व संकलन हेर्ने हो भने जम्माजम्मी २४ अर्ब राजस्‍व उठ्छ, त्यसमध्ये नवलपुरमा मात्रै वार्षिक २२ अर्ब त राजस्‍व नै उठ्छ। गोर्खा ब्रुअरीले १२ अर्ब, सुमी डिस्टीलरीले चौधरी ग्रुपले २ अर्ब तिर्छ, होङसी सिमेन्टबाट पनि राम्रो राजस्‍व संकलन हुनेछ।

    त्यसकारण नवलपुर जिल्ला गण्डकी प्रदेशकै औद्योगिक क्षेत्र हो। होङसी सिमेन्टले अहिले देशको मागको ९० प्रतिशत सिमेन्ट उत्पादन गर्छ। भारतबाट आउने क्लिङकर १७ प्रतिशत बढीले घटिसकेको छ।

    त्यसकारण नवलपुरलाई प्रदेशकै नमुना जिल्ला बनाउने मेरो संकल्प हो र त्यो मेरो कार्यकालमा पूरा हुन्छ नै। नवलपुरमा कृषिलाई केही मात्र व्यवस्थित गर्‍यौं भने पनि प्रदेशका २४ लाख जनताको माग धान्न सक्ने क्षमता नवलपुरसँग छ।

    काम गरेर देखाउन भनेजस्तै सजिलो छ त?

    चुनौती छन् तर समाधान पनि छ। मैले गर्छु भन्ने दृढ इच्छाशक्ति राखेको छु र त्यसैअनुसार काम पनि गरिराखेकै छु। अहिले भर्खरै मात्र धौवादी रुद्रपुरगढी पर्यटकीय क्षेत्रको उद्घाटन भएको छ। पर्यटनमन्त्री योगेश भट्टराई आफैँ गएर उद्घाटन गर्नुभएको छ।

    कृषि, उद्योग र पर्यटनबाट नै नवलपुरलाई नमुना बनाउने हो। त्यसका लागि काम भइराखेका नै छन्। नवलपुरको सदरमुकामलाई नमुना सदरमुकाम बनाउन डिपिआरको काम भएको छ।

    नमुना सदरमुकामको शिलन्यास प्रधानमन्त्री स्वयं गएर गर्नुभएको छ। नमुना सदरमुकामको लागि प्रधानमन्त्रीसमक्ष प्रस्ताव लैजाँदा नै हामी संकल्प बोकेरै गएका थियौं। यस्तै, धौवादी फलामखानी कम्पनी खोलेर सरकारले बजेट छुट्याएको छ।

    कृषिको आधुनीकीकरणसँगै मलखाद्यको व्यवस्थापन गर्नुछ। नवलपुरको पहाडी क्षेत्रमा गतवर्षबाट नै सुन्तला पकेट क्षेत्र घोषणा गरेर स्थानीयलाई व्यावसायिक खेती र बजारका लागि काम भएको छ। प्रधानमन्त्री कृषि आधुनीकीकरणको कार्यक्रमलाई चरणचरणमा लागू गरिएको छ। यो वर्ष हुस्सेकोट र मध्यविन्दुका केही वडामा तरकारी पकेट क्षेत्र भनेर काम थालिएको छ।

    आगामी वर्ष दुम्किवासमा बाख्रापालनको योजना छ। नवलपुरमा प्याज र लसुनबाहेक तरकारी, दूध पर्याप्त छ। माछा, अण्डा, मासुमा हामी ८० प्रतिशत आत्मनिर्भर छौं। अब हामी जिल्लाबाहिर निर्यात गर्नेगरी काम गर्दै छौँ। हामी पर्यटकीय क्षेत्रमा पनि धनी छौं। चितवन राष्ट्रिय निकुञ्‍ज क्षेत्र, छिमेकमा सौराहा, कालिगण्डकी र नारायणीले घेरेको हुँदा धार्मिक रूपमा पनि शालीग्राम पाइने ठाउँ हो। गैँडा हेर्न आउने पर्यटक सौराहा पुग्नभन्दा हामीकहाँ आउन सजिलो छ।

    निजी क्षेत्रकै भए पनि शाश्वत धाम छ, जहाँ एकैपटकमा ५० हजार बढी पर्यटक आउँछन्। नवलपुर निजगढ अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थललाई जोड्ने मध्यमार्ग हो।

    यसैगरी, पश्चिममा तीनवटा र पुर्वमा तीनवटा प्रदेश, देशकै मध्यभाग, नवलपरासीबाट मुख्य पर्यटकीय क्षेत्र पोखरा जोड्ने १ सय ५ किलोमिटरको छोटो बाटो हुनेछ। डिपिआरको काम हुँदैछ। उच्च पहाड र भित्रि मधेस मात्र होइन भारतको बिहारसँग पनि व्यापारिक सम्बन्ध भएको जिल्ला भएको हुँदा यिनै सम्भावनाभित्र रहेर काम भइरहेको छ।

    भ्रमण वर्ष २०२० का लागि १०० वटा गन्तव्‍यमध्ये, अमलटारी होमस्टे, वाल्मीकि आश्रम, त्रिवेणी, दाउन्नेदेवी मन्दिर, मौलाकाली मन्दिरका लागि बजेट विनियोजन गरेर काम अगाडि बढेको छ। छोटी भन्सार त्रिवेणीको दुई महिनाअघि उद्घाटन गरेर काम थालिएको छ। यसलाई उच्चस्तरको भन्सार बनाइनेछ।

    आफ्नो क्षेत्रको सबैभन्दा ठूलो समस्या कुन लाग्‍छ?

    आफ्नो क्षेत्रको मात्र होइन नवलपुरकै सबैभन्दा ठूलो समस्या भूमिको हो। यो भूमि आयोग आउला र समस्या समाधान होला। मुख्य कुरा सदरमुकामको छ। हुलाकी राजमार्गको कुरा छ, त्रिवेणी दुम्किवास सडक र उत्तर दक्षिण ट्रयाकको काम छ।

    कहिलेकाँही के लाग्छ भने, जब कुनै महत्वपूर्ण र प्राथमिकताको काम लिएर मन्त्री, प्रधानमन्त्रीकहाँ पुग्छु उहाहाँहरूको निम्ति ती काम कम प्राथमिकतामा पर्छन्। त्यतिबेला निराश हुन्छु, तर म हार्दिनँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]