विचार

नेपालको कानुन र गाई
SHARES

असोज ६, २०७६

    नेपालमा गाई बेलाबखत चर्चाको विषय बनिरहने जनावर हो। कहिले राजनीतिक कारण, कहिले धर्मका कारण त कहिले कानुनका कारण नेपालमा गाई सधैँ छलफलको जनावर बनेकै छ।

    यसपालि भने फरक कारण गाई चर्चामा रह्यो। केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन भनि ८ वटा ट्रकमा राखी पठाइएका गाई सुर्खेतको जंगलमा केही मृत केही यसै अलपत्र छोडिएको पाइएपछि अहिले सर्वत्र यसको विरोध भइरहेको छ।

    अलपत्र छोडी र हत्या गरेको आशंकामा स्थानीय प्रशासनले ट्रक चालकहरु पक्राउ गरी  आवश्यक अनुसन्धान गरिरहेको छ। के नियतले घटना घट्यो कसले घटायो वा अरू कुनै प्राविधिक त्रुटिले यो भयो अनुसन्धानबाट खुल्ला नै। यहाँ उठाउन खोजिएको विषयवस्तु भने गाई र नेपालको सम्बन्धबारे हो। यो घटनाले एकपटक फेरि नेपालमा  गाईको विषयमा किन यति धेरै चासो लिइन्छ भन्ने  छलफललाई फेरि उठान भने पक्कै गरिदिएको छ।

    धार्मिक र सांस्कृतिक पृष्ठभूमि

    नेपालमा गाईलाई विशेष महत्व दिनुको पछाडिको चुरो कारण गाई इतिहास, धर्म  र संस्कृतिसँग जोडिएको जनावर हो भन्ने कुरामा दुईमत नहोला। हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको देश नेपाल र भारतमा गाईलाई विशेषत धर्मसँग जोडी भगवान् र माताको रुपमा पुजिने गरिन्छ। कुनै पवित्र कार्य होस् वा शेषपछिका अन्य कर्म काण्ड होस् गाई दुध घ्यूमात्र हैन, गाईका गोबर, मूत्रलाई समेत उत्तिकै महत्वका साथ हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने गर्दछन्। 

    गाईलाई  हिन्दू बाहुल्यता भएकाको ठाउँमा महत्वको जनावर हो भनी स्वीकार गरेको पाइन्छ। विदेशमै पनि नेपाली र भारतीहरु उल्लेख्य सहभागी हुने कुनै कार्यक्रम आयोजना हुँदा खानाको मेनुमा बिफ नहुने भए पनि जानकारी राम्ररी गराइने गरेको पाइन्छ।

    घरमा पूजा होस्, कसैको काजकिरियापछि चोखिने प्रकृया होस्, नाग टाँस गर्न होस् या अन्य कुनै धार्मिक कार्य होस् गाईको आवश्यकता पर्छ नै। अझ हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारमा एक दिन गोरु र अर्को दिन गाईलाई पूजा गरिने हुँदा यमपञ्‍चकका दुई दिन एक दिन गोरु तिहार र एकदिन गाई तिहार भनी पुजाआजा गर्ने चलन नै छ।

    नेपाल मात्र होइन धर्मनिरपेक्ष देश भए पनि भारतमा हालै आसाममा बाढी आउँदा गाईको पनि उद्दार गरिएको अनि केही समय पहिले भारतको मध्य प्रदेशको चुनावमा भारतीय जनता पार्टीको चुनावी एजेण्डामा गाई मन्त्रालय बनाईने कुरा प्राथमिकतामा पर्नु समेतले के देखाउँछ भने हिन्दू धर्म मान्नेको बाहुल्यता भएकाको देशमा गाईको आफ्नै महत्व रहन्छ र छ पनि।

    केही वर्ष पहिले बेलायतको एक हिन्दू मन्दिरमा  एक बिमार  साढेलाई त्यहाँबाट हटाउन बेलायती अधिकारीलाई ठूलै हम्मे परेको घटनाले समेत हिन्दूको आस्थासँग जोडिएको विषय हुँदा गाईलाई  हिन्दू बाहुल्यता भएकाको ठाउँमा महत्वको जनावर हो भनी स्वीकार गरेको पाइन्छ। विदेशमै पनि नेपाली र भारतीहरु उल्लेख्य सहभागी हुने कुनै कार्यक्रम आयोजना हुँदा खानाको मेनुमा बिफ नहुने भए पनि जानकारी राम्ररी गराइने गरेको पाइन्छ।

    विश्वभरका हिन्दूहरुले अत्यन्त महत्व दिने पशुपतिनाथको इतिहास नै गाईले दूध त्यहाँ दिने गरेको र उत्खनन गर्दा लिंग भेटिएपछि मन्दिर बनाई पुजा गर्न थालिएको भन्ने किम्बदन्तीबाहेक सो मन्दिरको अरू कुनै इतिहास भेटिन्न। यसले समेत गाईको नेपाली हिन्दूसँग विशेष आत्मीयता रहेको कुरा नकार्न सकिन्छ।

    संवैधानिक र कानुनी पाटो

    संविधानले देश धर्म निरपेक्ष मानेता पनि गाईलाई राष्ट्रिय जनावर स्वीकार गरेको छ। नेपालको संविधानको धारा ९(३)ले गाईलाई राष्ट्रिय जनावर स्विकारी सकेको छ। धार्मिक त छँदै छ राष्ट्रिय जनावर भएको कारण पनि गाईलाई यो धर्म त्यो धर्म भन्नुभन्दा पनि हामी सबैको राष्ट्रिय जनावर भनेरसमेत संवर्द्धन र माया गरिनुपर्छ।

     

    ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ। सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक  गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनत: दण्डनीय बनाएको छ।

    उसो त कतिपय देशमा राष्ट्रिय जनावर भए पनि मार्ने चलन छ। अस्ट्रेलियामा बर्षेनी हजारौं कंगारु मारिने गरिन्छ। जापान, इन्डोनेसिया आइसल्याण्ड अईभरीकोस्ट लगायतका दर्जनौ  देशहरुमा अहिले पनि   राष्ट्रिय जनावर मारिने गर्दछन्।  या कानुन तह नै मार्न छुट छ। तर उनीहरुको नेपालको भन्दा के फरक छ भने न त्यी जनावरको त्यहाँ सामाजिक महत्व छ न कुनै त्यहाँको बहुसंख्यकहरुको धार्मिक आस्थासँग तिनीहरु जोडिन्छन्।

    अर्को कुरा फौजदारी कानुनले कुनै कुरा निषेध गर्छ भने त्यो गर्नु अपराध हो। पहिलाको मुलुकी ऐन र अहिले लागू रहेको  मुलुकी अपराध (संहिता) ऐन २०७४ ले गौहत्यालाई फौजदारी अपराध स्विकारी दण्डनीय बनाएको छ।

    सो ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ। सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक  गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनत: दण्डनीय बनाएको छ। सोही दफाले गाई वा गोरुलाई कुटपिट अंगभंग पार्नेलाई ६ महिनासम्म कैद र अरू चोट पुर्‍याउनेलाई ५० हजारसम्म जरिवाना हुने सजाय समेत हेर्दा गाई गोरुलाई फौजदारी कानुनले समेत विशेष दर्जा दिएको पाइन्छ।               

    सोही ऐनको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २२७ ले पशुकरणी गर्न नहुने भन्ने व्यवस्थासमेत यहाँ उल्लेख गर्न आवश्यक छ। सो दफाले गाई करणी गरे वा गराएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म  जरिवानाको व्यवस्था गरि अन्य पशुकरणीको हकमा १ बर्ष मात्र कैद र १०  हजार जरिवाना भनि व्यवस्था गरेको अवस्थासमेत विवेचना गर्दा नेपालको फौजदारी कानुनले गाईलाई छुट्टै दर्जा दिएको स्पष्ट हुन्छ।

     भारतमा समेत गाई हत्यालाई संविधानद्वारा नै राज्यले आवश्यक उपाय अवलम्बन गरी रोक्नु  भनी भारतको संविधान १९५० को धारा ४८ मा व्यवस्था तथा हरेक राज्यले प्रदेशीय कानुनबाट नै गौ हत्या अपराधीकरण गरेको देखिन्छ। सनातन कालदेखि पुजिँदै आएको र गाईलाई पुज्नेको बाहुल्यता भएकाको देशमा तसर्थ धर्म निरपेक्षताको नाममा गाईमाथि राजनीति गर्नु हुँदैन किनकि त्यी देशहरुले कानुनत नै गाईलाई विशेष महत्वको जनावरको कोटिमा राखेका छन्।

    अब धर्मनिरपेक्ष देशमा यस्तो कानुन भएन भन्ने तर्क होला। नेपाल धर्मनिरपेक्ष हुँदैमा बहुसंख्यक हिन्दूको आस्थामा ठेस पुर्‍याउन हुन्न। धर्म निरपेक्षताको मर्म सबै राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु भन्ने हो कसैको धार्मिक आस्थामा खलल पुर्‍याउनु भन्ने पक्कै हैन। हिन्दूको मात्र हैन विश्वकै पहिलो र ठूलो धर्म निरपेक्ष देश मानिने संयुक्त राज्य अमेरिकामा अझै पनि राष्ट्रपतिले शपथ भगवानकै नाममा खाने गरेकै छन्।

    सनातन कालदेखि पुजिँदै आएको र गाईलाई पुज्नेको बाहुल्यता भएकाको देशमा तसर्थ धर्म निरपेक्षताको नाममा गाईमाथि राजनीति गर्नु हुँदैन। विधायिकाले कुन मनस्थितिमा सो कानुन बनाए त्यो यहाँ छलफलको विषय रहेन। कानुनले दण्डनीय बनाएपछि सो कार्य गरिनु सजायको भागिदार हुनु भन्ने फौजदारी कानुनको सर्वमान्य सिद्दान्त पनि हो। माथि विवेचना गरिएबाहेक गाईलाई विशेष दर्जा दिनुपर्ने अन्य कुनै कारण पनि देखिन्न।

    प्रचलित नेपालको कानुनबमोजिम गाई र गोरुलाई हानि नोक्सानी, चोटपटक वा हत्या गरिनु दण्डनीय छ। फौजदारी अपराध भनेर राज्यले कानुन बनाएपछि कानुन लागू रहेसम्म  सो कार्य गर्नेले सजाय पाउनु पनि पर्छ। तसर्थ छाडा छोड्ने अनि राज्यकै निकायले व्यवस्थापनको नाममा  जथाभावी गरिनु  कानुनी र सामाजिक दुवै रुपले गलत हो। बरु  गाईको सम्वर्द्धन गर्न राज्यले नै उचित व्यवस्था गर्नु पर्दछ।

    अन्त्यमा गाईलाई नेपाली समाज, नेपालको संबिधान र प्रचलित फौजदारी कानुनले समेत विशेष जनवार मानेको तथ्यलाई  स्वीकार गरी गाई सम्बन्धमा स्पष्ट नीति निर्माण गरी गाईको व्यवस्थापन स्थानीय तहले गर्नेगरी कानुन बनाउन ढिला गर्नु हुँदैन।

सुजन पन्त

पन्त कानुनका उपप्राध्यापक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]