विचार

नवरात्रमा पुजिने देवीहरू

असोज १४, २०७६

    शारदीय नवरात्रभरि महाकाली–महालक्ष्मी–महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरी जमरा राखिएको दशैंघर वा शक्तिपीठहरूमा यस प्रकारका पूजा आराधना चल्छ। नवरात्रमा विशेषगरी भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना हुन्छ। 

    को हुन् नवदुर्गा ?

    पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। सज्जनको रक्षा र दुष्टको विनासका लागि देवीले बेलाबखत विभिन्न रूप लिएकी थिइन्। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्। 

    आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको आराधना गरिन्छ। यसैगरी नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ।

    नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्री हो। शैलराज हिमालयकी पुत्री भएकीले यिनको नाम शैलपुत्री रहेको हो। सतीले यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरी यिनले पहिले यही रूप लिएकी थिइन्। यिनलाई शिवकी शक्ति मानिन्छ। वृषमाथि बसेकी यिनले दायाँ हातमा त्रिशुल र बायाँ हातमा कमल लिएकी छिन्। शैलपुत्रीकोे उपासनाले मनोरथ पूरा हुने विश्वास गरिन्छ।

    सज्जनको रक्षा र दुष्टको विनासका लागि देवीले बेलाबखत विभिन्न रूप लिएकी थिइन्। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्। 

    तपको आचरण गर्ने हुनाले दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ। यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्यता र शान्तिप्राप्तिका लागि यिनको आराधना गरिन्छ।

    स्वर्ण वर्ण, शान्त र सौम्य चन्द्रघण्टाको स्वरूप छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा  भनिएको हो। सिंहमाथि बसेकी यिनको दशवटा हातमा खड्ग, तरवार, गदा, ढाल, चक्र, धनुष आदि शस्त्रअस्त्र रहेका छन्। यिनको आराधना भयनाश, दुष्टको नाश, आध्यात्मिक तथा आत्मिक शान्तिका लागि गरिन्छ। यिनको विधिपूर्वक आराधना गर्नाले सम्पूर्ण बाधा हट्ने पनि विश्वास गरिन्छ।

    नवदुर्गाको चौथो स्वरूप हो, कुष्माण्डा। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, बाण, कमल, चक्र, गदा आदि लिएकी छिन्। यिनको आराधनाबाट रोग शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ।

    स्कन्दकुमारकी आमा भएकीले दुर्गाको पाँचौँ स्वरूपलाई स्कन्दमाता भनिन्छ। शुभ्र वर्ण, चार भुजायुक्त यिनको काखमा ६ मुख भएका स्कन्दकुमार रहेका छन्। यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ।

    कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। 

    सिंहबाहिनी कात्यायनीले महिषसुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमलपुष्प लिएकी र दुई हातले अभय र वरदमुद्रा प्रदर्शन गरेकी छिन् । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

    नवरात्रको आठौ (दिन) रात्र पुजिने देवी कालरात्रिको स्वरूप भयङ्करको छ। कालो वर्ण र केश फिँजाएकी र गलामा विद्युतजस्तै चम्किने माला लगाएकी छिन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन् र त्यसबाट अग्निका ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी गरेकी छिन्। स्वरूप डरलाग्दो भएपनि कालरात्रिले आफ्ना भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने भनाइ छ।

    कालरात्रिको स्वरूपविपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। वृषमा बसेकी यिनले एक हातमा त्रिशुल अर्को हातमा डमरु लिएकी छिन्। यिनले दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।

    दुर्गाकौ नवौं शक्तिको नाम हो, सिद्धिदात्री। नामैले प्रष्ट हुन्छ, यिनको पूजा आराधनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख कमल पुष्प लिएकी कमलको आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास रहेको छ। 

    भगवतीका अन्य रूप

    यसैगरी प्रमुख देवताका अर्धाङ्गिनीहरूको पनि नवरात्रमा पूजा आराधना गरिन्छ। दुर्गाकवचमा उल्लेख भएअनुसार प्रेतमा चढेकी वाराही हात्तीमा चढेकी इन्द्राणी, भँैसीमा चढेकी वाराही, गरुडमा चढेकी वैष्णवी, साँढेमा चढेकी माहेश्वरी, मयुरमा चढेकी कौमारी, कमलको फूल लिई फूलैमाथि बसेकी लक्ष्मी, श्वेतवर्ण भएकी साँढे बाहन भएकी इश्वरी र हाँसमा चढेकी गहना लगाएकी ब्राम्ही देवीको पनि पूजाआराधना गरिन्छ। 

    पुराणमा बताइएका देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। विशेषगरी शक्तिप्राप्तिका लागि यिनको आराधना गरिन्छ। बडादशैँको अष्टमीका दिन महाकालीको विशेष आराधना गरिन्छ। यसैगरी समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। यिनको आराधना नवमीका दिन गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गर्ने परम्परा छ।

    पुराणमा बताइएका देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। विशेषगरी शक्तिप्राप्तिका लागि यिनको आराधना गरिन्छ। बडादशैँको अष्टमीका दिन महाकालीको विशेष आराधना गरिन्छ। यसैगरी समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। यिनको आराधना नवमीका दिन गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासन ागर्ने परम्परा छ। बडादशैंमा महासप्तमीका दिन यिनको विशेष पूजा हुन्छ। यसैगरी भद्रकालीलगायतका देवीको पनि पूजा हुन्छ।

    दुर्गा सप्तशती पाठ

    बडादशै अन्तर्गत नवरात्रमा मातृशक्तिको आराधना गरिने भएकोले यस अवधिभर दुर्गा सप्तशती चण्डी पाठ गर्ने परम्परा छ। मार्कण्डेय पुराण अन्तर्गतको देवीमाहत्म्यलाई चण्डी भनिन्छ। चण्डीमा सातसय श्लोक भएकोले नै सप्तशती भनिएको हो। सप्तशती चण्डी ‘म’ बाट शुरु भई ‘न’ मा पुगेर टुंगिएको छ। दुर्गासप्तशती मार्कण्डेय ऋषिले भगवती दुर्गाको महिमाबारे बताएका श्लोकहरूको संग्रह हो, यो तेह्र अध्यायमा विभाजित छ। 

    चण्डीको पहिलो अध्यायलाई ब्रहमा ऋषि, महाकाली देवता र ऋग्वेद स्वरुप मानिएको छ। यसैगरी दोस्रोदेखि चौथो अध्यायसम्मलाई मध्यमचरित्र विष्णु ऋषि, महालक्ष्मीदेवता यजुर्वेद स्वरूप र पाँचौंदेखि १३ अध्यायसम्म उत्तरचरित्र रुद्र ऋषि सरस्वती देवता सामवेदस्वरुप मानिएको छ। यसरी महाकाली, महालक्ष्मी र महासरस्वतीलाई चण्डीका आराध्यदेवीको रूपमा लिइएको छ। मार्कण्डेय उवाचबाट सावर्णिर्भविता मनुः मा समापन भएको हुनाले म र नु (मनु) भित्रको पाठ नै चण्डी हो। 

    शक्तिपीठको दर्शन 

    बडादशैंका अवसरमा नवदुर्गा र महाकाली, महालक्ष्मी र महासरस्वतीका स्वरूप मानिने शक्तिपीठहरूमा दर्शन गर्ने चलन छ। काठमाडौंमा गुह्येश्वरी, शोभाभगवती, नक्साल भगवती, नरदेवी, रक्तकाली, मैतीदेवी, कालिकास्थान, संकटा प्रमुख शक्तिपीठ मानिन्छन्। भक्तपुरमा इन्द्रायणी, नवदुर्गा, ललितपुरमा बज्रबाराही र रुद्रायणी शक्तिपीठ विशेष मानिन्छन्। 

    उपत्यकाबाहिर काभ्रेमा पलाञ्चोक भगवती, सिन्धुपाल्चोकमा पाल्चोक भगवती गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी बाग्लुङमा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती पोखरामा बिन्ध्यवासिनी, बारामा गढीमाई आदि शक्तिपीठहरूमा विशेष पूजाअर्चना गर्ने परम्परा छ। अझ काठमाडौंस्थित तलेजुको मन्दिर वर्षमा एकपल्ट अर्थात् दशैँको नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। शक्तिपीठको दर्शनबाट सुख, शान्ति र आध्यात्मिक शक्ति प्राप्त हुन्छ। 

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]