फिचर

जाजरकोटका धार्मिक-ऐतिहासिक सम्पदा संकटमा
SHARES

असोज २०, २०७६

    जाजरकोट : जिल्लाका दर्जन बढी धार्मिक तथा ऐतिहासिक सम्पदाको अस्तित्व संकटमा छ। शताव्दी पुराना मठमन्दिर, दरबारलगायत सम्पदा संरक्षण अभावमा संकटमा परेका छन्।

    कुशे गाउँपालिकाको पैंक मष्टामन्दिर, जाजरकोट दरबार, भेरी नगरपालिकाको कालेगाउँस्थित शिवालय मन्दिर र मछाइनास्थित मालिका मन्दिर, तलगाड थल्लुस्थित भगवती मन्दिर, बारेकोट नायकबाडाको राँगाबाँचिला र ठाकुरजी मन्दिर, पजारुको ढुंगेदेवल, जगतीपुरको बायु घट्टलगायत धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणको अभावमा रहेका छन्।

    साडे तीन सयवर्ष पुरानो इतिहास बोकेको जाजरकोट दरबार पनि जीर्ण छ। बाइसे-चौविसे राज्यको अस्तित्व तथा इतिहास बोकेको उक्त दरवार मर्मत संभारको अभावमा जीर्ण बनेको हो। जाजरकोट दरवारको पुनरनिर्माणमा सम्बन्धित पक्षले वेवास्ता गरेको पाइएको छ। दरबारको पुन निर्माणका लागि आवश्यक बजेट छुट्याउन पहल समेत हुन सकेको छैन।

    वि.सं.१४०० मा रजौटा राज्यको अस्तित्वमा आएको जाजरकोट राज्य उक्त दरबारको तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए। जाजरकोट राज्यको स्थापना तत्कालीन राजा जगती सिंहले गरेको भेरी नगरपालिका ३ का राजुराजा सिंहले बताए। उनले यस राज्यको संस्थापक राजा जगती सिंह र अन्तिम राजा स्वयं प्रकाशविक्रम शाह भएको पनि बताए।

    तत्कालीन राजा गजेन्द्रनारायणले ७ तले दरबारको निर्माण गरेका थिए। यस अघि उक्त दरबार हालको भेरी नगरपालिका ११, जगतीपुरमा रहेको थियो। उनले भने, ‘जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डार घर, भारदारी बैठक कक्ष, सिहंद्वार, मयुरद्वार, नारायणथान लगायतको रहेको इतिहासमा उल्लेख छ।' उनले विसं १९९० सालको महाभुकम्पका कारण दरबारको स्वरुप परिवर्तन भएको सिंहले बताए।

    ५८ वर्ष अघि तत्कालीन राजाले सरकारलाई बिक्री गरेपछि दरबारको इतिहास थप मेटिएको उनले बताए। दरबारको संरक्षण नहुँदा पूर्वजको चिनारी र ऐतिहासिक सम्पदा ओझेलमा पर्न गएको सिंहको भनाई छ। उनले भने, 'ऐतिहासिक जगतीपुर दरबारको भग्नावेश समेत भेटिन छाडेको छ। जाजरकोट संरक्षणमा सम्बन्धित निकायको ध्यान गएन।' 

    राजाको कार्यकालमा बडादशैंमा बन्दुक पट्काउने, हर्ष बडाइ गर्ने चलन भएको उनले बताए। ‘तत्कालीन राजाका १ सय थान बन्दुक र ५ दर्जन सिपाई थिए’, उनले भने। दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ। जाजरकोट दरवार कला, संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

    भक्तपुरबाट ल्याएका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार रुकुमको चौरजहारीवाट इँट्टा बोकाएर दरवारको निर्माण भएको जानकार नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। ‘पछिल्लो समय अहिले सरकारी वेवास्ताका कारण यो दरवार जीर्ण वन्दै गएको छ’, शाहले भने। 

    नेपाल एकीकरण अभियानका वेला पश्चिममा निकै शाक्तिशाली राज्यको रुपमा स्थापित राज्यको जाजरकोटे दरवार पुरातत्व विभागमा दर्ता भएको भएको छ। तर यसको रेखदेख र संरक्षणमा सम्बन्धित निकायको चासो चिन्ता नभएको शाहले बताए।

    दक्षिणतिर भेरी नदी तथा चौरजहारीको सुन्दर दृश्य, उत्तरमा कुशे पाटनको मनोरम दृश्य, पूर्वतिर सिस्ने हिमाल तथा होलु जिउला लगायतको दृश्यले भरीपूर्ण खलंगाको टाकुरोमा रहेको दरवारको सुन्दरता कुरुप वन्दै गएको शाहले बताए। 

    दशैंको पर्वमा जाजरकोट राज्यको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्काउने राँगो वली मेला सञ्चालन समेत नहुने गरेको उनले बताए  । जगती सिंह पछिका राजा विजय सिंहको घोडाले मन पराएको खलंगाको पिपलडाँडामा दरवारको निर्माण भएको थियो। दरवारलाई तत्कालीन राजा प्रकाशविक्रम शाहले विसं २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए।

    वि.सं.१९१४ मा ताक्लाकोटको लडाइमा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले विजय गर्दाका छालाको तोप र अन्य हतियारहरू राष्ट्रिय संग्रहालय छाउनीमा रहेको शाहको भनाई छ। विसं १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग मितेरी साइनो लगाउदै गरेको धर्मसन्धिका वेला पाएका केही उपहारहरु तथा दस्तावेज पनि हराएको शाहको शाहले बताए।

    दरवार पुननिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले ३/४ बर्ष २७ करोडको लागत डिजाइन मन्त्रालयमा थन्किएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। कार्यालयले दरवारको ऐतिहासिक पक्ष तथा कलात्मकता नविग्रिने गरीे डिजाइन बनाएको थियो।

    ऐतिहासिक महत्व बोकेको यो दरबारको पुनः निर्माण नहुनु दुर्भाग्य भएको प्रजिअ पन्तले बताए। ४ वर्ष अघिको भुकम्पको कारण दरबार भवन क्षेतविच्छेद भएको उनले बताए। ‘जीर्ण दरवारमा कार्यालय नै सञ्चालन गर्न समस्या छ’, उनले भने। त्यस्तै बाइसे चौविसे राज्य एकीकरण पूर्ब अस्तित्वमा रहेको नलगाड नगरपालिका १३, भगवतीस्थित भगवती मन्दिर संकटमा परेको छ।

    दशैं पर्वको अष्टमी पर्वमा डोल्पा, रुकुम र जाजरकोटका भक्तजनले भब्य रुपमा पुजाआजा गर्दै आए पनि मन्दिरको भौतिक पूर्वाधार नहुदा समस्या भएको रहेको स्थानीय वुद्धिबहादुर बस्नेतलले बताए। भगवती खुशी भएमा रोग, माहामारी हटाउने र बाली सपार्ने विश्वास गरिएको उनको भनाई छ। यस मन्दिरका ३ दर्जन ऐतिहासिक मूर्तिहरु द्वन्द्धकालमा चोरी भएको उनले बताए। त्यस्तै तत्कालीन जाजरकोटी राजा दीपनारायण शाहको पालामा निर्माण भएका  भेरी नगरपालिका कालेगाउँस्थित ३ वटा शिवालय मन्दिर पनि जीर्ण अवस्थामै रहेका छन्।

    मन्दिरका गजुर तथा मूर्तिहरू पनि चोरी भइसकेको स्थानीय पत्रकार सहदेव बस्नेतले बताए। पहिलो जाजरकोटी राजा जगती सिंहका पालामा निर्मित जगतीपुरको शिवजी मन्दिरको नाम निसाना पनि नभएको बस्नेतले बताए। यसैगरी संरक्षण अभावमा बारेकोट गाउँपालिका ४ को ठाकुरजी मन्दिर र राँगाबाँजिला मन्दिर, भेरी नगरपालिकाको ४ स्थित कालिका मन्दिर र वडा नं. ६ स्थित मालिका मन्दिर, जगतीपुर बायुघट्ट, ढुंगे देवल, शिव गुफालगायत जीर्ण छन्।

    छेडागाड नगरपालिका ८, घोगीस्थित ऐतिहासिक देवल पनि ओझलमा परेका छन्। संरक्षणको अभावमा ऐतिहासिक ढुंगे देवल जीर्ण बनेका हुन्। ऐतिहासिक र पुरातात्विक महत्व बोकेका ४ सय वर्ष पुराना यी स्तुपा आकारका देवलको संरक्षण तर्फ कसैको ध्यान पुग्न सकेको छैन। विकट गाउँमा भएकाले पनि सम्बन्धित निकायले देवलको संरक्षणमा वेवास्ता गरेको हो।

    १६ औं शताब्दीतिर भोटे राजाहरूले निर्माण गरेका १३ वटा कलात्मक देवल यतिबेला जीर्ण अवस्थामा रहेको स्थानीय सरस्वती गिरीले बताइन्। भोटेहरूले देवलभित्र सुन,चाँदी लगायतका मूल्यवान वस्तु लुकाएको आशंकामा २० बर्ष अघि स्थानीयले उक्त वस्तु निकाल्ने निहुँमा केही देवल भत्काएको उनले बताइन्। ढुंगै ढुंगाबाट बनेका देवल मर्मत संभार तथा प्रचारप्रसार गर्न सके पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने गिरीको भनाई छ। 

    पजारुको ऐतिहासिक देवललाई स्थानीयले शिवको रुपमा पूजाआजा गर्दै आएका छन्। तर देवलमा भने बौद्ध शैलीमा विपन्न अक्षर कुँदिएका छन्। बौद्धमार्गी भोटे वर्गका मानिसले यी देवलको निर्माण गरेको भनाई छ। देवल भएको आसपासमा ढुंगे भवनको भग्नावशेष, पानी पोखरी, कलात्मक ढुंगेधारा जस्ता ऐहासिक पूर्वाधार पाइएको कथन छ।

    भोटे राजाले बनाएको पोखरीमा पशु चौपाया डुब्न थालेपछि पोखरी माटोले पुर्नु परेको स्थानीयले बताए। तत्कालीन अवस्थामा भोटे राजाका सन्तति भागेपछि अरु समुदायको यहा बसोबास भएको भनाई छ। विभिन्न ऐतिहासिक मन्दिर, गुफा, दरवारलगायत धार्मिक र पर्यटकीय स्थलको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी भएको राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले बताए।

    उनले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणका रुपमा रहेका यी सम्पदाको संरक्षण र सम्बर्द्धन नहुनु दुःखद भएको बताए। यहाँका दर्जन प्राकृतिक सौन्दर्य, पुरातात्विक, ऐतिहासिक,सांस्कृतिक तथा धार्मिकस्थल पर्यटकीय गन्तब्यको सूचीमा समेत परेका छैनन्। पूर्वाधार विकास तथा प्रचार प्रसारको अभावमा ऐतिहासिक, धार्मिकस्थल र प्राकृतिकस्थल ओझेँलमा परेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

हेमन्त केसी

 केसी थाहा खबरका जाजरकोट समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]