फिचर

हराउँदै दशैंमा रौनक थप्‍ने चमच्चा, तौले र रोटे पिङ
SHARES

असोज २०, २०७६

    पर्वत : आजभोलिका दशैं र तिहार भन्दा दशकौँ पहिले दशैं र तिहारमा पिङकै कारण फरक रमाइलो हुन्थ्यो। देशभित्रका फरक ठाउँ वा विदेशमा रहेकाहरू पनि चाड मनाउन घर फर्किएपछि गाउँमा रहेका रोटे, तौले, चमच्चे, लिंगे पिङमा मच्चिन्थे।

    तर, आजभोलि दशैं र तिहार पिङकै कारण सुनसान छन्। पिङमा जम्मा भएर पिङको सर्कासँगै चचहुई भन्दै चिच्याउन न त पिङ नै हालिएका छन्, न त पिङमा चिच्याउने युवा नै छन्।

    पिङमा मच्चिएर चचहुई गर्दै दशैं र तिहार मनाउँदै गरेको रमाइलो देख्न आजभोलि मुस्किल छ। तर, दशकौँ पहिलेसम्म भने गाउँ गाउँमा तौले, रोटे, चमच्चा, लिंगे जस्ता पिङहरू हुन्थे। गाउँ र टोलका नाम नै पिङबाट राखेर तौले डाँडा, चमच्चे, डाँडा, रोटे डाँडा भनिन्थ्यो। तर, जब पिङहरू लोप हुँदै गए पिङकै नामबाट राखिएका गाउँका नाम पनि फेरिएको पर्वतको फलेवास नगरपालिका ३ मुडिकुवाका पूर्व शिक्षक हरि शर्मा सापकोटाले बताए।

    ‘यहाँ पल्तिर विद्यालय छ, त्यो डाँडाको पहिलेको नाम चमच्चाको डाँडा हो, अहिले भने स्कुल भएको डाँडाको नामले चिनिन्छ।’ उनले भने, ‘हाम्रा पालामा चमच्चा पिङ बनाउने गरेको भएर गाउँको नाम पनि पिङबाटै राखिएको थियो। पिङ हराएसँगै पिङकै नामबाट राखिएका गाउँका नामहरू पनि हराएका छन्।’

    २०३० सालतिर आफू पिङमा खेल्दा रमाइलो र डर दुवै भएको सापकोटाले सम्झिए। देशभित्र र बाहिर भएका साथीहरू पनि जम्मा हुँदा साथ पहिले पिङमा जमघट हुने गरेको थियो। दशैं मनाउन गाउँमा आएका लाहुरे पनि घरमा नभएर पिङतिरै भुलेका हुन्थे। ‘३० सालतिरको कुरा हो, चमच्चाको पिङमा काउलोको धूलो हालिदिएछन् साथीहरूले। पिङ बेस्सरी सुईँकियो, सातो जाला जस्तै भयो। पछिपछि भने बानी पर्न थालेपछि डर हरायो।’

    आन्तरिक र बाह्य रोजगारीका कारण गाउँमा युवाहरू छैनन्। पर्दा जन्त जाने र मर्दा मलामी जाने पुरुष जनशक्ति समेत गाउँमा नभएको बेलामा पिङ बनाइदिने मान्छे पाउनु त परैको कुरा हो। अर्को कारण त्यस्ता खालका पिङहरू खेल्नकै लागि पनि जोखिम भएकोले अहिले कसैले पनि जिम्मा लिएर दुर्घटनाको जोखिम मोल्न चाहँदैनन्। गाउँमा कुनै पनि घटना घट्दा आपसमा मिलाउने गरेका कारण समाजमा समीप्यता थियो।

    तर, आजभोलि केही भइहालेमा अर्कोलाई फसाउन प्रयत्न गर्ने गरिएका कारण कसैले पनि पिङ बनाएर जोखिम मोल्न नचाहने फलेवास नगरपालिकाका युवा राजु शर्माले बताए। ‘चमच्चा, तौले, रेटो जस्ता पिङहरू निर्माण गर्न खर्चिलो छ, सीप युक्त जनशक्ति पनि चाहिन्छ। यही कारण यसो कामचलाउ पिङको रूपमा लिंगे पिङ बनाएका छौँ।’ उनले भने, ‘पहिले समुदायका सबै मानिस परिवारकै जस्ता हुन्थे।

    घटना भइहालेमा गाउँमै मिल्थ्यो। परम्परागत पिङहरू बढी उचाइमा जाने र तीव्र गतिमा घुम्छन्। तीनमा पिङ खेल्न जोखिम छ। त्यहाँबाट खसेर केही भइहाल्यो भने गाउँका मान्छेले पिङ बनाउनेलाई दोष लगाउँछन्, फसाउन खोजिन्छ आजभोलि। जोखिम मोलेर संस्कृति धान्न कठिन हुने रहेछ।’

    यो बाहेक युवाहरूको हातमा सीप नभएकोले पनि परम्परागत पिङहरूले निरन्तर,ता पाउन नसकेको पाका पुस्ता बताउँछन्। अहिलेका युवामा पहिलेको जस्तो साथीभाइ भेट भएर रमाइलो गर्ने चलन नरहेको तथा फेसबुकले बिगारेको ७८ वर्षीय नन्दलाल उपाध्यायले बताए। आजभोलिको जमाना र चालचलन नै फेरिँदा धेरै कुरामा परिवर्तन आएजस्तै पिङको हालत पनि उस्तै बनेको उनको भनाई छ।

    ‘पहिलेको जमानामा जस्तो गोरस खाएका बलिया मान्छे छैनन्, रउसी खान्छन् तिनीहरूको ज्यान काम लाग्ने नै छैन।’ नन्दलालले भने, ‘दूध मोही खाने मान्छेले निरल उठाउँथे, अहिलेकाले बाउसो उठाउन सक्दैनन्, अनि यस्ता मान्छेले बनमा काटेका बडेमानका रुख बोकेर के को पिङ हाल्न सकुन्?’

    रेटो, तौले र चमच्चे पिङहरू लोप भइसकेको भए पनि पिङको निशानका रूपमा लिंगे पिङ भने रहेका छन्। कतिपय ठाउँका युवाहरूले जोस चलाएर लिंगे पिङसम्म भए पनि निर्माण गरेका छन्। युवाको बेवास्ताकै कारण पिङ लोप हुँदै गएको बेला केही युवा भने अहिलेको पुस्ताले पनि परम्परागत चलन र संस्कृतिको संरक्षण नगर्ने हो भने नेपालीको मौलिकता नै जोखिममा पर्ने बताउँछन्।

    यही कारण जिल्लाका कतिपय ठाउँहरूमा लिंगे पिङहरू भने बनाउने गरिएको छ। गाउँमा उपलब्ध रहेका बाँस र बाबियोको संकलन गरेर कम खर्चकै लिंगे पिङ निर्माण गर्न सकिने भएकोले पनि यो पिङको अस्तित्व भने कायमै रहेको छ।

    सीपको अभावमा होस वा जोस र जाँगरको अभावमा नै किन नहोस् परम्परागत पिङको संरक्षण हुन नसक्नु, नेपालीको मौलिक चलन पनि लोप हुनु हो। संस्कृतिको जगेर्ना गर्न पुरानो पुस्ताले सीप हस्तान्तर,णमा चासो दिनुपर्छ भने नयाँ पुस्ताले ग्रहण गर्न खोजी गर्नुपर्छ। यसले मात्रै नेपाली संस्कृति, परम्परा र चलनचल्तीलाई अस्तित्वमा राखिरहनेछ।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]