खेलकुद

पहिलो हाफमा जोर्डनविरूद्ध नेपालको गोलरहित बराबरी
SHARES

विश्वकप छनोट फुटबल

असोज २८, २०७६

    काठमाडौं : विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले बलियो टोली जोर्डनलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सफल भएको छ। 

    घरेलु मैदान अम्मान रंगशालामा भएको खेलमा फाइदा उठाउन नसक्दा जोर्डन पहिलो हाफमा नेपालविरुद्ध गोलरहित बराबरीमा रोकिएको हो।

    जोर्डनले खेलका क्रममा केही राम्रा मुभहरु बनाए पनि गोल गर्न सकेको छैन। पहिलो हाफको खेलमा जोर्डनका खेलाडीहरुले लामो दुरीबाट नेपाली पोष्टमा आक्रमण गरेका थिए। 

    तर गोलरक्षक एवम कप्तान किरण चेम्जोङले बचाउ गर्दै पहिलो हाफमा नेपाललाई गोल खानबाट बचाएका छन्। नेपालले यसअघि जोर्डनसँग २०१४ को विश्वकप छनोटका लागि २०११ मा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि नेपाल अर्को प्रतिष्पर्धाका लागि मंगलबार जोर्डनको घरेलु मैदान अम्मान रंगशालामा प्रतिष्पर्धा गरिरहेको हो। 

    जोर्डनसँग आठवर्ष अघिको विश्वकप छनोटमा असन्तुलित प्रदर्शन गरेको नेपाल यो पटक भने संयमित भएको छ । 

    विश्वकप छनोट अन्तर्गत सन् २०११ जुलाईमा भएको पहिलो खेलमा नेपालले सोही रंगशालामा जोर्डनसँग ९–० को हार ब्यहोरेको थियो। त्यसपछि नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको अर्को खेलमा भने नेपालले अप्रत्यासीत रुपमा पुन जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो।नेपालका लागि एकमात्र गोल भरत खवासले गरेका थिए। 

    जारी छनोट प्रतियोगितामा नेपालको यो चौथो तथा अन्तिम अवे खेलसमेत हो। जोर्डनसंग विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्नका लागि नेपाली टोली अस्टे«लियाबाट शनिबार नै  जोर्डन प्रस्थान गरेको थियो।

    जोर्डनविरुद्व करिब ८ वर्ष अघि नेपाली टिमबाट खेलेका तीन खेलाडीमात्रै अहिले राष्ट्रिय टिममा छन्। गोलरक्षक किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुन दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन्। जसमा सर्वाधिक पाको खेलाडीका रुपमा कप्तान चेम्जोङनै रहेका छन्। 

    उनले ६३ क्याप जितेका छन्। अन्य २० खेलाडीका लागि भने जोर्डन नौलो प्रतिद्धन्दिका रुपमा रहने छ। फिफा वरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो। 

    जोर्डनले समुह चरणको पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो भने कुवेतसँग बराबरी खेलेको थियो। एसियाली छनोट अन्तर्गत समुह डीमा रहेको जोर्डन ४ अंक बटुल्दै तेस्रो स्थानमा छ। 

    नेपाल भने पहिलो खेलमा कुवेतसँग ७–० ले हारेको थियो। लगत्तै चाइनिज ताईपेलाई २–० ले हराएको थियो। गत साता मात्र अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएर अर्को खेलका लागि जोर्डन लागेको हो। अंक तालिकामा तीन अंक जोडेको नेपाल चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]