विश्व

त्यस्तो एउटा गाउँ, जहाँ बुढाबुढी र जनावरमात्रै बस्छन्
SHARES

असोज २९, २०७६

    ‘आफ्नै गाउँलाई चिन्न नसक्दा निकै खिन्न लागेको छ। हामी यहाँ हुर्किँदै गर्दाताकाका कुनै पनि अवशेष बाँकी रहेनछन्। गाउँ मृत हुँदै गएको देख्दा निकै कष्ट हुँदोरहेछ।’

    ‘केही त गर्नैपर्छ, किनकी मान्छेहरु गाउँ छाडेर गइरहेका छन्। बुढाबुढीमात्रै बाँकी छन्, युवा कोही छैनन्। लगभग शून्य!’

    ‘पहिले यहाँ चारैतिर खेती हुन्थ्यो। अब त जंगली घाँसले झपक्कै पार्‍यो। न रोजगारी पाइन्छ, न कतैबाट पैसा आउँछ। कतैबाट केही नपाएपछि युवाहरु के गरुन्? रोजीरोटीको खोजीमा निस्कनै पर्‍यो।’

    ‘यहाँ भालुको संख्या बढेको छ, ब्वाँसोको पनि। तिनले मेरै कतिवटा बाच्छा मारेका छन्। प्रकृतिले हामीलाई निल्दैछ।’

    येर्नेस एण्ड टमेजाका बासिन्दाका अनुभव तपाईं–हाम्रोभन्दा भिन्न छन्। गाउँमा बुढाबुढी र जनावरहरूमात्रै बस्छन्। निर्जन हुने तरखरमा रहेको उक्त गाउँ स्पेनको एस्टुरियस पहाडमा अवस्थित छ।

    यहाँका गल्लीहरुमा कुनै हल्लाखल्ला सुनिँदैन। केटाकेटी खेल्दा पैदा हुने आवाज त दुर्लभ नै बनिसक्यो।

    यो गाउँमा १३५ जना पञ्जीकृत बासिन्दा छन्, जसमा कहिलेकाँही मात्रै गाउँ आउनेको संख्या पनि सामेल छ। दुई तिहाई मानिस ५० कटेका छन्, २० वर्ष ननाघेकाको संख्या ५ प्रतिशतमात्र छ।

    त्यसो त सारा यूरोपमा जन्मदर घट्दो क्रममा छ, अरू केही गाउँको पनि येर्नेस एण्ड टमेजाकै गति हुन्छ कि भन्ने भय छ। येर्नेस स्पेनकै सबैभन्दा कम जन्मदर भएको गाउँ हो, र स्पेन यूरोपकै दोस्रो। यो पहाडी गाउँमा जन्मिएका बच्चा धेरै समय यहाँ टिक्दैनन्, राम्रो सम्भावनाको खोजीमा शहर हान्निन्छन्।

    गल्लीमा कुखुराहरू चारो टिप्दै गरेको भेटिन्छन्, अधिकांश घरहरुमा ताला लागेको देखिन्छ। यस्तो लाग्छ, कैयौं समयदेखि यो गाउँमा कोही आएकै छैन।

    यहीँ जन्मेहुर्केकी चारो गार्सिया पहिलेको गाउँ सम्झँदा भावुक बन्छिन्, ‘पहिले यहाँ कोइला खानी थियो। लहरीहरु आउँथे, खानीमा काम गर्न मजदुरहरु आउँथे। खानी बन्द भएपछि सबथोक बन्द भयो।’

    गाउँका सबैले एकअर्कालाई चिन्दछन्। गार्सिया भन्छिन्, ‘हामी सबै साथीजस्ता छौं। बरु धेरै छैनौं र पो!’

    दुईजना केटाकेटी साइकल चलाउँदैछन्। गाउँका लागि यो दुर्लभजस्तै दृष्य हो। गार्सियाले भनिन्, ‘यो दुनियाँकै चिसोमध्येको ठाउँ हो। जो प्रकृतिलाई प्रेम गर्छन्, ती यहाँ आउनुपर्छ।’

    शहरमा भविष्य छ

    ८४ प्रतिशत स्पेनी भूभाग ग्रामीण क्षेत्रले भरिएको छ। त्यो ८४ प्रतिशत भूभागमा कूल जनसंख्याको १६.५ प्रतिशत मान्छे बस्छन्, बाँकी सबै शहरमा। पूरै स्पेनको कुरा गर्दा, १०० भन्दा कम जनसंख्या भएको गाउँमा अधिकांश बुढाबुढी मात्रै भेटिन्छन्।

    येर्नेस एण्ड टमेजाका बासिन्दा शताब्दियौंदेखि गाईपालनमा संलग्न छन्। केहीलाई आज पनि यो पेशा मन पर्छ, तर उनीहरुलाई बालबालिकाको भविष्यको खोजीमा शहर नपसी धरै छैन। गाउँमा आधारभूत सुविधा पनि नभएकाले अभिभावक आफ्ना बालबच्चालाई गाउँमा राख्न चाहँदैनन्। धेरैलाई लाग्छ, बालबालिकालाई शहरी वातावरणबाट वञ्चित राख्नु तिनको भविष्यका लागि ठीक पनि होइन।

    आफ्नो चार वर्षे छोरोलाई शहरको स्कूलमा भर्ना गरेका एक किसानले भने, ‘म मेरो छोरो पशुपालक नै बनोस् भन्ने चाहन्छु। तर त्यस्तो हुन मुस्किलै छ, किनकी पशुपालन पेशा गाह्रो बन्दै गएको छ।’

    ‘गाउँमा धेरै कुराहरु सिकिन्छ, जुन शहरमा सिक्न पाइन्नँ। जस्तो कि, मान्छेहरुसँग घुलमिल गर्न, पशुपन्छीलाई प्रेम गर्न!,’ अवकाशप्राप्त शिक्षक जोस गेरार्डो अलोन्सो पनि युवाहरुको पलायनबारे चिन्तित छन्। भन्छन्, ‘पलायनका धेरै कारणहरु छन्, एउटैमात्र होइन।’

    उनी ग्रामीण परिवेश, स्वच्छ हावापानी, शान्ति र तनावरहित जीवनलाई प्राथमिकता दिन्छन्। ‘तर हाम्रा संस्थाहरुले यसमा जोड दिँदैनन्, उनीहरु भन्दैनन् कि मान्छेका लागि त्यति हुनु पर्याप्त छ।’

    गाउँमा जंगली जनावर

    गाउँमा मान्छे घट्नुको अर्थ हो, जंगली जनावरको संख्या बढ्नु। गाउँमा ब्वाँसाहरूको झुण्ड र भालुहरू घुम्छन्। तिनीहरुको संख्या उत्पातै बढेको छ। अलोन्सो भन्छन्, ‘घरपालुवा जनावर पाल्न पनि मुस्किल हुन थाल्यो, तिनले खाइदिइहाल्छन्।’

    नगरपालिका गाउँमा धेरैभन्दा धेरै पर्यटक आउन्, र तिनले केही दिन यहाँ बिताउन् भन्ने चाहन्छ। येर्नेसका मेयर मेनेलो टमार्गोले भने, ‘हामीलाई आफ्नो प्रचार गर्नु छ। यहाँको फरकपना देखाउनु छ। यहाँको सुन्दरता देखाउनु छ।’

    साथीलाई डिनरको निम्तो

    जोनाथन केसानोवाले यो गाउँमा एउटा घर किनेका छन्। उनी प्रत्येक सप्ताहन्त गाउँ आउँछन्। भन्छन्, ‘मैले मेरा साथीहरुलाई यहाँ ल्याउन खुब कोशिश गरें, तर डिनरको निम्तो मान्नसमेत आएनन्। मैले बुझ्न सकेको छैन, घर–अफिस गर्ने क्रममा डेढ–दुई घण्टा जाममा फस्नुलाई सामान्य मान्छन्, तर पहाड आउन किन गाह्रो मान्छन्!’

    गाउँको मूल समस्या, यहाँ सेवासुविधाको अभाव छ। डाक्टर महिनामा दुईपटक आउँछन्। वायरलेस इन्टरनेट अझै पुगेको छैन। केसानोवाले भने, ‘मेरो गर्लफ्रेन्डको एउटा सानो कम्पनी छ। पहिले यहीँबाट चलाउँथ्यौं, पछि यहाँबाट सम्भव नै भएन।’

    ५७ वर्ष पुरानो सम्झना

    गार्सियाले ५७ वर्षअघि गाउँ छाडेकी थिइन्। अब साथीभाइ र आफन्तलाई भेट्न कहिलेकाँही मात्रै आउँछिन्। भन्छिन्, ‘यो चोक पहिले पक्की थिएन। त्यतिखेर खेतमा काम गरेर फर्का ठिटाहरु यहाँ फुटबल खेल्थे। हामी केटीहरु चाहिँ नाच्थ्यौं।’

    एक साथीले असाध्यै कर गरेपछि गार्सिया अन्य महिलाहरुसँग घेरा बनाएर नाच्न थालिन्। ‘यहाँ कुनै उद्योग या रोजगारी थिएन, त्यसैले हामीलाई यहाँबाट जानुपर्‍यो। तैपनि यो गाउँ सबैका लागि स्वर्ग थियो।’

    गार्सियाले एविल्स शहरमा ५४ वर्ष बिताइन्, तर उनलाई शहर कहिल्यै आफ्नो जस्तो लागेन। ‘मेरो जरो यहाँ गाउँमा छ। मेरा साथीहरु यही गाउँमै छन्। म यहीँ मर्न चाहन्छु। यहाँ वृद्धाश्रम बनाइयो भने सबैभन्दा पहिले मै बस्न आउँछु। यदि मैले लट्री जित्थेँ भने जितेकै दिन यहीँ बस्ने गरी फर्कन्थें।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]