फिचर

सीमाको सास्ती : लालपुर्जा छ हातमा, जग्गा छैन साथमा

कात्तिक २५, २०७६

    धनगढी : खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ। तर, उनीसँग जग्गा भने छैन। उनको हातमा भएको लापुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन्। 

    दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय पक्षले खेती लगाइरहेका हुन्। उनको १५ कट्ठा खेतीयोग्य जमिन २४ वर्षदेखि भारतीय पक्षले कब्जा गरेको हो। २०२८ सालदेखि उनीहरूले त्यो जग्गाको भोगचलन गर्दै आएका थिए। तर, २०५२ सालपछि उक्त क्षेत्र भारतमा पर्ने भन्दै भारतीय पक्षले जग्गा कब्जा गरे। आफूहरूले भोग चलन गर्दै आएको जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरू समस्यामा परेका हुन्। 

    झन्डै ५ दशक पहिलेदेखि बस्दै आएको उक्त ठाउँमा नेपाल सरकारले जग्गा नापेर उनीहरूलाई लालपुर्जा दिएको थियो। उनको हातमा अहिले पनि लालपुर्जा त छ। तर, जग्गा छैन। लालपुर्जा भएको आफ्नो भूमिलाई भारतीयले कब्जा गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको उनको गुनासो छ। 

    ‘सरोकार निकायलाई पटक-पटक मौखिक र लिखित रूपमा जानकारी गराएको थिएँ’ उनले गुनासो पोख्दै भने, 'कसैले कुनै पहल नभएपछि अब त जग्गा पाउने आस पनि मर्न थालेको छ।’ उपल्लो निकायसम्म आफूहरूको समस्या पुर्‍याइदिने कोही नभएकाले यस्तो भएको उनको गुनासो छ। आफ्नो जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरूको विचल्ली भएको छ। 

    आफ्नो जग्गा भारत पक्षले कब्जा गरेर भोग चलन गर्न थालेपछि उनीहरूले अर्काको जमिन अधियाँ गरी परिवार पाल्न बाध्य भएका छन्। 'अहिले अरूकै जग्गामा अधियाँ खेती गर्दै आइरहेको छौँ। त्यो खेतबाट उब्जनी भएको अन्न आधा जग्गा मालिकलाई दिन्छौँ र आधा मात्र हामी राख्छौँ’ उनले भने, 'अहिले  उत्पादन कम हुँदै गएको छ झन् समस्या बढिहरेको छ।’

    सरोकारवाला निकायले आफ्नो लालपुर्जा भएको जमिन फिर्ता गराइ दिनुपर्ने उनको माग छ। 

    सधैँ बल्झन्छ विवाद 

    झण्डै तीन वर्ष पुग्न थाल्यो, फागुन २६ गते कञ्चनपुरको पुनर्वास ४ आनन्द बजारमा भारतीय पक्षको गोली लागि स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो।

    नेपाली भूमिमा रहेको कल्भर्टको मर्मत गर्दा भारतीय पक्षले अवरोध सिर्जना गरेका थिए। त्यो बेला विवाद यतिसम्म चुलियो कि भारतीय पक्षले गोली प्रहार गर्‍यो र गौतमको मृत्यु भयो। उनको हत्याको तीन वर्ष पुग्नै लाग्दा पनि सो क्षेत्रमा सीमा अझै शान्त बन्न सकेको छैन।

    यो अवधिमा दर्जनौं पटक भारतीय पक्षबाट नेपाली प्रताडित भएका छन्। ‘फरकफरक बहानामा नेपाल र नेपालीमाथि प्रहार भइरहेको छ’ सीमा क्षेत्रका स्थानीय प्रेम थापाले भने, 'हामी त निरीह जस्तै भएका छौँ।’

    आनन्द बजारमा आफ्नै भूमिमा कल्भर्टको सुधार गर्दा अवरोध गरेको भारतीय पक्षले सीमा क्षेत्रमा नेपाली पक्षलाई कुनै पनि गतिविधि गर्न नदिने गरेको स्थानीयको भनाइ छ। सीमा क्षेत्रमा जंगली जनावरबाट समेत प्रताडित भएका नागरिकले बाली जोगाउन आफ्नै भूमिमा विद्युतीय तरबार लगाउँदा समेत भारतीय पक्षले अवरोध सिर्जना गरेको थियो। 

    'गतवर्ष वैशाख १२ गते पुनर्वास नगरपालिका ९ बीचफाटामा सर्वसाधारणले तार लगाउँदा उनीहरूले अवरोध मात्रै गरेनन्। तरबार नै भत्काइदिए। हामीले हाम्रो खेतको बीचबाट तार लगाउँदा पनि उनीहरूले धम्काए। भत्काए’ स्थानीय दलबहादुर विष्ट भने,‘पटक-पटक हाम्रो भूमिमै पुगेर निर्माणाधीन संरचनाहरूमा अवरोध गर्दा पनि सरकारले चासो दिँदैन।’  

    बीचफाटामा नेपाली भूमिमा नेपालीले तरबार लगाउँदा अवरोध सिर्जना गरेको भारतीय पक्षले पुनर्वास नगरपालिका ११ डोके बजारमा भने एकलौटी ढंगले तरबार हाल्ने र ट्रेन्च खन्ने काम गरेको थियो। सीमा क्षेत्रमा नेपाली पक्षसँग समन्वय नगरेर ट्रेन्च निर्माण गर्दा त्यस क्षेत्रका नागरिक डुबानको समस्यामा पर्ने भन्दै निर्माण कार्यमा रोक लगाउन अपिल गरेका थिए।

    स्थानीय र प्रशासनको ठूलो दबाबपछि त्यो काम रोकिएको थियो। पटक-पटक भारतीय पक्षबाट हुने ज्यादतीले यो क्षेत्रका नागरिक हैरान छन्। नेपाली भूमिमै पुगेर नेपाली नागरिकलाई सास्ती दिने गरेको उनीहरू बताउँछन्। 

    सीमा स्पष्ट नहुँदा समस्या

    नेपाल-भारत सीमा क्षेत्रमा सीमा स्तम्भहरू स्पष्ट छैनन्। कैलालीको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा सबैभन्दा बढी सीमा विवाद छ। धनगढीको फूलबारीमा रहेको ७४२ र भजनी नगरपालिकाको ७०७ र ७०८ सीमा स्तम्भ भारतीय पक्षले एकलौटी रूपमा स्थापना गरेको त्यस क्षेत्रका स्थानीयको आरोप छ।

    नेपाली सीमा सर्वे टोलीको उदासीनताका कारण भारतीय पक्षको हस्तक्षेप बढेको उनीहरूको भनाइ छ। कैलालीका यी क्षेत्रमा विगत लामो समयदेखि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको आरोप छ। अतिक्रमण गरेका केही सीमास्तम्भ २०६६ सालमा विभिन्न विद्यार्थी संगठनहरूको टोलीले भत्काएपछि थप समस्या बल्झिएको हो।

    नदी कटानले नेपाली भूमि भारतमा पुर्‍याउँदा विवाद झन् बढेको भजनी नगरपालिका-३ का वडा अध्यक्ष विक्रम चौधरीले बताए। ‘हामीले वर्षौंदेखि उपभोग गर्दै आएको र हामीसँग जग्गा धनी प्रमाण पत्र रहेको जग्गा अहिले भारतमा परेको छ’ वडाध्यक्ष चौधरीले भने,‘नदीले धार परिवर्तन गर्छ। कटानी बढाउँछ अनि नेपालीले भूमि गुमाउनुपर्ने बाध्यता रहेको  छ।’

    कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा रहेका सीमा पिलरहरू हराइरहेका छन्। कञ्चनपुरको १९४ देखि  १९५ सम्म मात्रै १४ वटा सहायक पिलर भेटिएका छैनन्। भेटिएकामध्ये अधिकांश जीर्ण र काम नलाग्ने अवस्थामा रहेका छन्। सीमा स्पष्ट नभएका कारण पटक-पटक भारतीय पक्षले सीमा अतिक्रमण गर्ने गरेको स्थानीयले हरि जोशीले बताए। 

    ‘९५ नम्मरको पिलर ढलेको छ। त्यो अहिले पारि भारतमा पर्छ। त्यहाँसम्म कोही गएका छैनन्। ९६ नम्मरको पिलर पनि कहाँ छ। कसैलाई थाहा छैन। त्यहाँ हाम्रो जग्गा छ। उनीहरूले कहिले खेती लगाउन दिँदैनन्। कहिले खेती काट्न दिँदैनन्’ जोशीले गुनासो पोखे। 

    गुम्दै प्यारा ताल

    सरकारले साँचो नदिँदा ३० वर्ष अघिसम्म नेपालको पूर्ण स्वामित्वमा रहेको पुनर्वास नगरपालिका ९ बीचफाटास्थित प्यारा ताल अहिले भारतीय पक्षबाट अतिक्रमण भइरहेको छ। ‘उनीहरू प्यारा ताल हाम्रो हो भन्छन्’ स्थानीय हरि शर्मा जोशीले भने,'३०र३५ वर्ष पहिले यो ताल पूर्ण हाम्रो स्वामित्वमा थियो। अहिले क्रमशः भारतले हाम्रो हो भन्दै छ।’ २०४६ साल अघिसम्म जिल्ला विकास समितिले प्यारा तालमा एकलौटी रूपमा ठेक्का दिने गरेको स्थानीय बताउँछन्।

    २०४७ सालपछि भारतीय पक्षले आधा उनीहरूको हिस्सा भएको दाबी गरेका हुन्। शर्माले भने, ‘नेपाल सरकारले साँचो दिएन। त्यो बेलादेखि प्यारा ताल आधा उनीहरूको आधा हाम्रो भयो। तर,अहिले पूरै हाम्रो हो भन्दै उनीहरूले माछा मार्न जाने नेपालीहरू पक्राउ गर्ने गरेका छन्।’ 

    विवाद सुल्झाउन गठित टोली पनि निरीह

    नेपाल भारत सीमा क्षेत्रको विवाद सुल्झाउन गठन गरिएको सीमा सर्वे टोलीले विवादित क्षेत्रमा प्रवेश नै नगरी काम सम्पन्न गरेको थियो। झन्डै दुई वर्ष पहिले गत नेपाल-भारतको संयुक्त सीमा सर्वे टोलीले कैलाली कञ्चनपुरका सीमा पिलरको अवलोकन मर्मत तथा निर्माणको काम थालनी गरेको थियो। यो अवधिमा कैलाली कञ्चनपुरमा रहेको ६५९ वटा सीमा पिलरको अवलोकन गरिएको छ भने १०१ वटा पिलरको मर्मत तथा ३१ वटा नयाँ पिलर निर्माण गरिएको छ। 

    मर्मत तथा निर्माण गरिएकामध्ये अधिकांश कैलालीका सीमा पिलर छन्। १०१ वटा पिलरको मर्मत गरिएकोमा कैलालीमा मात्रै ९८ वटा र कञ्चनपुरमा ३ वटा छन्। तर, जुन क्षेत्रको विवादले सरकारले नेपाल भारत सीमा सर्वे टोली निर्माण गरेको हो। त्यही क्षेत्रका सीमा पिलरबारे दुवै देशका सर्वेक्षकहरूले खासै महत्त्व दिएनन्। 

    सीमा सर्वेको काम प्रभावकारी भएको दुवै देशका अधिकारीले बताएका थिए। तर, कैलालीको काला कुन्डा, कुसुम घाट र फूलवारीस्थित मोहना नदीको दक्षिणी क्षेत्रमा सीमा विवादका कारण कुनै काम हुन सकेन। त्यस्तै, कञ्चनपुरको डोके बजारभन्दा पश्चिमी क्षेत्रमा सीमा विवाद अन्त्यको कुनै पहल भएन। 

    कैलालीको ७०० सीमा स्तम्भदेखि कञ्चनपुरको ८११ सीमा स्तम्भसम्म अध्ययन भए पनि विवादित क्षेत्रहरूमा भने सीमा सर्वे टोलीले विवाद निरूपणका लागि कुनै पहल गरेन।

भानुभक्त आचार्य

आचार्य थाहा खबरका कैलाली समाचारदाता हुन् । इमेल : bhanuavenues@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]