विचार

भविष्यको दर्शनशास्त्र : चिन्तनको तेस्रो पाटो

कात्तिक २७, २०७६

    यो लेखमा मैले दर्शनशास्त्रको भविष्य कस्तो होला भन्‍ने प्रश्नको उत्तर खोज्ने प्रयत्न गरेको छु। प्रश्न जति सरल छ, उत्तर त्यतिनै जटिल र प्राविधिक रूपमा अनुमानजन्य नै छ। तर न्यायदर्शनले अनुमिति कारणम् अनुमानम् भनेर पूर्वसाक्षको कुरा स्पष्टरूपले बोलिदिएको हुँदा मलाई दर्शनशास्त्रको इतिहास केलाउने स्वतन्त्रता प्राप्त भएको छ।

    विश्वको भविष्य कस्तो हुने छ-यो चुनौतीपूर्ण प्रश्न हो। किनभने मान्छेको बढ्दो भिड र महत्वाकांक्षाले विश्वलाई असुरक्षित तुल्याइसकेको छ। तैपनि भविष्यको चिन्ता र जिज्ञासा स्वाभाविक रूपमा हाम्रो मनमा आउँछ।

    एउटा दर्शनशास्त्रको विद्यार्थी भएको नाताले मेरो लागि दर्शनको भविष्य कस्तो हुनेछ भन्ने प्रश्न महत्वपूर्ण नै ठहरिन्छ। एउटा कुरा पक्का हो – म भविष्यवक्ता होइन, मैले दर्शनशास्त्रका विषयमा ज्योतिषीले झैं भविष्यवाणी गर्ने छैन। मैले यहाँहरू समक्ष राख्ने विषयवस्तुहरू प्राचीन दार्शनिक चिन्तनसहित दर्शनशास्त्रको वर्तमान प्रवृत्ति र प्राचीन तथा वर्तमानका प्रवृत्तिका आधारमा भविष्यको दर्शनशास्त्रीय प्रारूपबारे चर्चा गर्ने हो।

    इतिहासको कुरा

    इतिहासलाई हेर्दा उपरोक्त प्रश्नको पहिलोपटक उत्तर खोज्ने प्रयत्न जर्मन दार्शनिक इर्नस्ट ब्लोकले १९६३ मा "भविष्यको दर्शन” नामको किताब लेखेर दिने प्रयत्न गरेका थिए। दोस्रो प्रयत्न अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक ब्रायन लेटले विश्वविख्यात दार्शनिकहरूका विचारहरू समेटेर सन् २००४ मा “भविष्यका लागि दर्शनशास्त्र” नामको किताब प्रकाशित गरेका थिए। त्यसबाहेक धेरै अनुसन्धान मूलकलेख तथा विचारहरू पनि आएका छन्। 

    प्राचीन वैदिक तथा चिनियाँ दार्शनिकहरूले सधैँ आत्म-केन्द्रित भएर अध्यात्म मूल्यमान्यतासँग दार्शनिक प्रश्न उठाएका छन्। लक्ष्मीप्रसाद देवकोटाको पूर्वीय दार्शनिकहरूको बुझाईलाई “पाँचवटा चाहिने कुरा”का माध्यमबाट प्रष्ट पार्ने प्रयत्न गरेका छन् तर चार्वाक्-दर्शनले रोजेको बाटो पनि काम मूल्यवान छैन। सर्वसाधारणले बुझ्ने भएकोले यो विधालाई “लोकायत” भनिएको छ।

    जर्मन दार्शनिक कान्ट (१७२४-१८०४) ले पहिलोपटक “के तत्वशास्त्र विज्ञानझैं भविष्यमा स्थापित होला” भन्ने रचना लेखेर तत्कालीन अवस्थामा तत्वदर्शनका माध्यमबाट इसाई-एकेश्वरवादका विषयमा प्रश्न उठान गरेका थिए। उनको विश्वासले “तत्वविज्ञान विज्ञानसम्मत हुने” देखिन्छ।

    यी दार्शनिकहरूका वीचमा सन् १८३१ मा थोमस डिकले “भविष्य राष्ट्रहरूको दार्शनिकता” नामक किताब लेखेर भविष्यका राज्यहरूको चिन्तन कोर्ने प्रयत्न गरे। तर एस बीच दार्शनिक फेडेरिख नित्सेको (१८४४-१९००)  “शुभ अशुभ भन्दा परे” नामक कृतिलाई बिर्सन सकिन्न । उनले परम्परागत नैतिक दर्शनको मूल्यका विषयमा नै प्रश्न उठाएका छन्। नौ अध्यायमा विभाजित यो किताबले तत्कालीन धार्मिक चिन्तनका आधारमा स्थापित नीतिदार्शनिक पक्षमा प्रश्न उठान गरिएका छन्।

    जे एन्ड्रु ए कर्क, (२००७), ओलिभर ले म्यान (१९९८), पिटर हालवर्ड (२००४) जुलिट फ्लोएट तथा सेनफोर्ड शेख (२००४) बी.सी. हटचेन (२००७) एरडीन वरडोन (२०१४) र यी मध्ये कोलम्बिया विश्वविद्यालयका प्राध्यापक दम्मेटको अग्रसरतामा प्रकाशित “Neture and future of Philosophy” (२०१०) निकै महत्वपूर्ण छ। यसमा विद्वान दार्शनिकहरूले भविष्यको दार्शनिकता कस्तो हुने छ भन्ने विषयमा अनुमान गरेका छन्।

    गतवर्ष (१९१८) ब्लेकफोर्ड रसेलले लेखेको “Philosophy's future : the problem of philosophical progress” सार्वजनिक भएको छ, जसले पुन: भविष्यको दार्शनिकताका विषयमा अनुमान गरेको छ। उपरोक्त सबै दार्शनिकहरूको चासो भविष्यको “नैतिकता”सँग बढी गाँसिएको छ। एस्तो चासो “भविष्यको विज्ञान निकै विकसित भएको अवस्थामा मान्छेको “नैतिक चरित्र”लाई आजको परिवेशमा बुझ्ने प्रयत्न गरेका छन्।   

    प्राचीन वैदिक दर्शनशास्त्र विविधता पूर्ण थियो। दर्शनशास्त्रका विषयमा पश्चिमाहरू र पूर्वेली दार्शनिक (नेपाल, भारत, चीन, जापानआदि) हरूको बुझाई फरक छ। प्राचीन वैदिक तथा चिनियाँ दार्शनिकहरूले सधैँ आत्म-केन्द्रित भएर अध्यात्म मूल्यमान्यतासँग दार्शनिक प्रश्न उठाएका छन्। लक्ष्मीप्रसाद देवकोटाको पूर्वीय दार्शनिकहरूको बुझाईलाई “पाँचवटा चाहिने कुरा”का माध्यमबाट प्रष्ट पार्ने प्रयत्न गरेका छन् तर चार्वाक्-दर्शनले रोजेको बाटो पनि काम मूल्यवान छैन। सर्वसाधारणले बुझ्ने भएकोले यो विधालाई “लोकायत” भनिएको छ।

    यति हुँदाहुँदै पनि वैदिक दर्शनशास्त्र र त्यसको मूलमान्यतासँग असहमति राख्ने जैन, बौद्धले अध्यात्म तर व्यवहारिक प्रायोगिक दार्शनिकताको बाटो अवलम्वन गर्दै आजसम्म जीवन्त छन्। षड्दर्शन, जैन, बौद्ध, शिख, गाणपत्य, प्रत्याभिज्ञा, वीर शैव आदि दार्शनिक चिन्तनहरू छँदैछन्। तर पौराणिकहरूको विकाससँगै हरेक पुराणमा “भविष्यको समाज, राजनीति, चिन्तन, रहनसहन, व्यवहारिकता तथा  नैतिकता”को विषयमा भविष्यवाणी गर्ने चलन चल्यो। फलत: एसै सेरोफेरोमा “भविष्य-पुराण” समेत लेखियो।

    उदाहरणका लागि श्रीमद्भागवत महापुराणको बार्हौं स्कन्धको दोस्रो र तेस्रोअध्यायले भविष्यको “नैतिक जीवन, सामाजिक जीवन, धार्मिक जीवन, राजनैतिक जीवन तथा आध्यात्मिक जीवनका विषयमा बोलेको” पढ्न सकिन्छ। हरेक पुराणले विश्वको भविष्यका विषयमा केहीनकेही भविष्यवाणी गरेको छ। मेरो विचारमा, भविष्यको दार्शनिक, सामाजिक, राजनैतिक जीवन बारे प्रश्न गर्ने र ती प्रश्नहरूको उत्तर दिने काम सर्वप्रथम वैदिक दार्शनिकहरूले गरेका हुन्।

    विगतको दार्शनिक चिन्तन

    दर्शनशास्त्र समाजको “चिन्तन” इतिहास हो। वैदिककाल होस् वा ग्रीकेली, तत्कालीन समाजको वैचारिक चिन्तनको महत्व नाप्ने सबैभन्दा भरपर्दो स्रोत नै चिन्तनगत इतिहास हो। विगतका दार्शनिक चिन्तनहरू प्राथमिक अवस्थामा स्वतन्त्र, दोस्रो अवस्थामा धर्मसँग जोडिएर र पुन: धर्मसँग स्वतन्त्रता प्राप्त गर्ने वैचारिक द्वन्दको अवस्थामा छन्। पश्चिमा दार्शनिक रेने देकार्त (१५९६-१६५०) सर्वप्रथम बाइबललाई चुनौती दिँदै दर्शनशास्त्रमा “तर्क र जिज्ञासा”लाई अग्रस्थानमा राखेसँगै विश्वासमा आधारित प्राचीन दार्शनिकशैलीमा चिन्तन, मनन, स्वीकृति र अस्वीकृतिले महत्व प्राप्त गर्‍यो।

    जन लक (१६३२-१७०४) ले दर्शनशास्त्रको आन्तिरक प्रवृत्तिलाई परिवर्तन गरेर ज्ञानलाई “आगन्तुक” बनाउन र बुझ्न उत्प्रेरित गरे। कान्ट यी दुवै बीच समन्वय स्थापित गर्ने प्रयन्त गरे। तर उनके केवल “बौद्धिकता”लाई महत्व दिँदा समकालीन दार्शनिकहरू सन्तुष्ट भएनन्। उनका आफ्नै चेलाहरूले “दर्शनशास्त्र” विज्ञानसरह विश्वासिलो हुनुपर्छ भन्दै दर्शनशास्त्र र विज्ञान सँगै हिड्नुपर्छ पर्छ भन्ने सुझाव दिए।

    दर्शनशास्त्रका विषयहरू जति जटील हुन्छन् त्यतिनै सरल पनि हुन्छन्। मान्छेको चिन्तनगत विकास पनि सरलताबाट जटिलतातिर बढेको  बुझिन्छ। तर व्यवहारमा मान्छेले सधैँ सरलता तथा सहजता खोज्दछ। प्राथमिक दार्शनिक चिन्तन प्रकृतिसँग जोडिएको थियो। दोस्रो चरणमा दर्शनशास्त्र धर्मको अधिनमा पुग्यो भने।

    आज पुन: दर्शनशास्त्र विज्ञानको खटनपटनमा पुगेको छ। मुख्य कुरा के हो भने धर्म सधैँ विश्वास र आस्थामा आधारित हुन्छ र त्यसमा स्वीकृति हुनैपर्छ तर दर्शनशास्त्र तर्कमा आश्रित भएकाले अस्वीकृतिलाई समेत स्वागत गर्छ। वैचारिक अन्धश्रद्धा दर्शनशास्त्रको मौलिकता हुनैसक्दैन। मैले भन्नैपर्छ – प्राचीन दर्शनशास्त्रको।  

    वर्तमानको दार्शनिक प्रवृत्ति

    दार्शनिकहरूको नेतृत्वमा मनोवैज्ञानिक, समाजशास्त्री, कम्प्युटर वैज्ञानिक, भाषाविद तथा स्नायुविज्ञहरू मिलेर संज्ञानशास्त्र निकायको आरम्भ गरेर अध्ययन\अध्यापन गरिरहेका छन्। जसको मूल उद्देश्य मान्छेको संज्ञान-प्रणालीको रेखांकन गरेर "भौतिकरूपमा" बुझ्न सक्ने बनाउनु रहेको छ। अहिले यो विधाले दर्शनशास्त्रका अन्य विधाहरूलाई ओझेलमा पारेको छ। विज्ञान-सम्मत बन्ने दौडमा लागेको दर्शनशास्त्रले के-कस्तो उपलब्धि गर्छ? परिणामका लागि पर्खनुपर्छ।

    अहिलेको अवस्थामा विज्ञानले धर्मका वैचारिक सम्पदाहरूमा विजय प्राप्त गरेको छ। धर्म सम्मान विज्ञान होइन विज्ञानसम्मत धर्मको  रक्षात्मक आन्दोलन चलिरहेको छ। तर धर्म र धार्मिकता कमजोर भएका छैनन्। “पहिचान”को मुद्दासँग जोडिएर आफ्नो अस्तित्व बलियो बनाउने प्रयत्न गरिरहेका छन्। वैज्ञानिकहरू धार्मिक छन् भने धार्मिकहरू पनि वैज्ञानिक छन्। नितान्त निरपेक्ष थोरैमात्रामा छन् तर संख्या बढ्दो छ। हामीले एस्तो संख्यालाई नास्तिक भन्न सक्छौं।

    वर्तमान समयमा दर्शनशास्त्रबाट “व्यर्थ शब्द” हटाउँनु पर्छ भन्दै अस्ट्रियाली दार्शनिक लुदविंग विटगेनस्टाइन् (१८८९-१९५१) भाषा शुद्धिको आन्दोलन चलाएपछि अंग्रेज दार्शनिक बरट्रेन्ड रसेल र उनका साथी मूर पनि यसै आन्दोलनमा फरक तवरले सरिक भए। हिगलले खडा गरेको विज्ञानवादलाई कार्लमार्क्सले चुनौती दिएका थिए भने उपरोक्त रसेल-हर्सेलले फेनामोनालोजीको सिर्जना गरेर धर्म र आध्यात्म केन्द्रीत दर्शनशास्त्रलाई विज्ञान र गणितझैं विश्वासनीय बनाउनेतिर लागि परे।

    सन् १९५० पश्चिमा पछि दर्शनशास्त्रले विज्ञानसामु आत्मसमर्पण नै गर्‍यो। अहिले पश्चिमा दर्शनशास्त्रले विज्ञानले विकसित गरेका विभिन्न विधाहरूलाई दार्शनिक खोल ओढाएर आफ्नो अस्तित्व जोगाउने प्रयत्न गरिरहेको छ। बायोलोजीको दर्शन, अर्थशास्त्रको दर्शन, मनोविज्ञानको दर्शन, वातावारणको दर्शनआदि यसका नवीनतम विधाहरू हुन्। नेपाली दार्शनिक बालकृष्ण समले आफ्नो कृति नियमित आकस्मिकतामा भनेका छन् “त्यही सत्य हुनेछ जुन विज्ञानले सत्य भनेर प्रमाणित गर्ने छ।” यही अहिलेको दार्शनिक प्रवृत्ति वास्तविकता यही हो।

    तर माथिल्लो पश्चिमा प्रवृत्ति विरुद्ध नेपाल, भारत, चीनमा भने विज्ञानको बर्चस्व बढ्दै गए पनि आफ्ना “प्राचीन चिन्तनहरूमा पनि विज्ञान छ” भन्ने दिशातिर अगाडि बढिरहेको छ। अचम्मको कुरा नै भन्नुपर्छ कि आफूलाई नास्तिक ठान्ने पश्चिमाहरूले पनि आध्यात्मिकता “सेक्युलर” हुन्छ भने सिद्धान्त अभिनिर्माण गरेर पूर्वीय दार्शनिक, धार्मिक सिद्धान्त तथा व्यवहार (सम्प्रदाय)को पुनर्जागरणका लागि प्रेरित गरिरहेका छन्।

    यसको पछिल्लो उदाहरण “योग” दर्शन हो। “माइन्डफुलनेस”का अवतारको आवरणमा हिन्दू, जैन, बौद्ध ध्यान विधिहरू विश्वभरी नै लोकप्रिय हुँदैछन्। आफुलाई “नास्तिक” भन्न रुचाउने समुहले हिन्दू, बौद्ध, जैनका संस्कारहरू मात्र होइन कन्फुसियसआदि चिनियाँ संस्कारहरूलाई “सेक्युलरिटी”को आवरण दिएर स्वीकार गरिरहेका छन्।

    भविष्यको दर्शनशास्त्र

    मान्छेको भविष्यमा अस्तित्वशील रहन्छ कि रहँदैन भन्ने प्रश्नको उत्तर अहिले र निकट भविष्यमा पनि मान्छेकै हातमा रहने छ। मान्छेले आफ्नो “मान्छेपन जान्न थालेको” दिन देखि निरन्तर प्रगति गर्दै आएको छ। मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको आफ्नो ज्ञानमा आधारित क्षमताको प्रयोग सधैं भरहेको छ।

    विगतमा भोजन खोज्न र सुरक्षित रहन बुद्धिको प्रयोग हुन्थ्यो भने आज योसँगै शक्तिशाली बन्न, सबैभन्दा बुद्धिमान बन्न र सबैले चिन्नेजान्ने  बन्नतिर केन्द्रीत भएको छ। किनभने बुद्धिले कुनै बखत अस्तित्वमा रहनकै लागि प्रयोग गरेका विधाहरू पुराना भएका छन् वा नयाँभित्र अन्तरनिहित भएका छन्। त्यसैले आवश्यकताका प्राथमिकताहरू पनि परिवर्तित भएका छन्।  यदि मान्छेले बनाएका परमाणु बमहरू विस्फोटन भएनन् भने विज्ञान रोकिने छैन।

    भविष्यको दार्शनिक जीवन मूलत: विज्ञान केन्द्रीत हुनेछ। मान्छेले आफ्नो अस्तित्व सुरक्षित राख्न सक्यो भने विज्ञान रोकिने छैन। हिजोसम्म मान्छेको सोच प्रणाली (Conceptual frame) धर्म र धार्मिकतामा आधारित थियो भने भविष्यको मान्छेको चिन्तन विज्ञानसँग जोडिएर आउने छ। मान्छेको प्राकृतिक चिन्तन स्वतन्त्रतालाई हिजो धर्मले दास बनाएको थियो भने भविष्यमा विज्ञानको दास भन्ने सम्भावना छ। तर केही यस्ता प्रश्नहरू छन् जसको भविष्यमा पनि विज्ञानसँग उत्तर हुनेछैन।

    उदाहरणका लागि असल समाज के हो? मान्छेको वास्तिविक लक्ष के कहाँ छ? भाषाका शब्दहरूको प्रयोजन, प्रयोग र अर्थ के हो? सत्य हुन्छ कि हुँदैन? के विज्ञानमा सुन्दरता-असुन्दरता हुन्छ? मूल्यवत्ताको उपयोगिता कस्तो हुनुपर्छ? किनभने यी प्रश्नहरूको सवालमा आजको विज्ञान पनि त्यहीँ छ, जहाँ दर्शनशास्त्र आरम्भ हुँदा थियो।

    उपरोक्त प्रश्नहरू बाहेक दार्शनिकहरूले “कुन रोबोट असल छ र कुन रोबोटिक्स खराब छ”जस्ता प्रश्नहरूको उत्तर दिनुपर्ने छ। भविष्यको दार्शनिक समस्याहरू वारे चर्चा गर्दै क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जन आर सर्लेले निम्न छ वटा पक्षहरू वारे छलफल गरिने सम्भावना रहेको विचार प्रस्तुत गरेका छ – परम्परागत शरीर र आत्माको समस्या, समाजको चिन्तन-प्रकृति, नैतिकता तथा प्रायोगिक तर्क, संज्ञान विज्ञान र विज्ञानको दार्शनिक पहिचान, भाषा दर्शन र विज्ञानको दर्शन।

    विज्ञानको बर्चस्वले गर्दा दर्शनशास्त्रका परम्परागत विधाहरू – तत्वशास्त्र, ज्ञानशास्त्र, नीतिशास्त्र, तर्कशास्त्र र सौन्दर्यशास्त्रका परम्परागत प्रश्नहरूमा उपयोगितावाद हावी हुनेछ। तत्वशास्त्रबाट सृष्टिवाद इतिहासको विषय हुनेछ। सृष्टिको अर्थ – परमाणु र मोलेक्युल्सहरूको संघात्मकता र बिछोड हुनेछ। ईश्वरको चेतना रहे पनि संख्य-दर्शनको ईश्वर (पुरुषझैं) केवल मानसिक चिन्तनको विषयका रूपमा रहिरहने छ।

    कुनै पनि जीवधारीको पहिलो अस्तित्वको आधार उसको शरीर हुन्छ। शरीर नहुनेहरूको अस्तित्व हुँदैन। जसको शरीर छ र शरीर छ भन्ने चेतना छ – उसले ज्ञान, विज्ञान तथा दर्शनशास्त्र खोज्छ। तर उसको शरीर आजसम्म पृथ्वी, जल, आगो, हावा र आकाशमा निर्भर छ। मंगल ग्रहमा पुगे पनि उसलाई “पृथ्वी” अनिवार्य छ।

    त्यसैगरी, ज्ञानशास्त्रमा प्रत्यक्ष तथा अनुभववादको वर्चश्व बढ्ने छ तर यो सबैको लागि भने हुनेछैन। मूलत: विज्ञानप्रति बढ्दो अन्धविश्वासका कारण निरक्षण, प्रयोग र पुनप्रामाणिकरणमा प्राकृतिक बुद्धिको प्रयोग रोकिने छ। विज्ञान (रोबोट)ले गल्ती गर्ने सक्दैन भन्ने जडता बढ्ने छ।

    मान्छे प्राकृतिक रूपमा मर्ने छैन किनभने विज्ञानले हरेक “बिग्रेका वा आयु पुगेका” शरीरका अवयवहरूलाई नयाँ फेरेर स्थायी बनाइदिने छ। यसरी वस्तुहरूको प्राकृतिक मूल्य, जीवन प्रतिको बुझाई, असल-खराबको परिभाषा तथा कर्तव्यको चेतना बदलिने छ।

    यौनका मामिलामा धर्म, चालचलन तथा सभवत: पारिवारिकताका नियमहरू सिथिल हुनेछन् भने यौनबाट प्राप्त हुने सन्तोष, सुखका वैकल्पिक साधन हुनेछन्। अन्तत: “जन्म” भन्ने शब्दको अर्थ बदलिने छ। नैतिक मानकहरू बदलिने छन्। अन्तत: सामाजिक जीवनको मूल्य भन्दा व्यक्तिगत जीवनको मूल्य बढी महत्वपूर्ण हुनेछ जसले गर्दा एकांकीपन बढ्ने छ।

    कुनै पनि जीवधारीको पहिलो अस्तित्वको आधार उसको शरीर हुन्छ। शरीर नहुनेहरूको अस्तित्व हुँदैन। जसको शरीर छ र शरीर छ भन्ने चेतना छ – उसले ज्ञान, विज्ञान तथा दर्शनशास्त्र खोज्छ। तर उसको शरीर आजसम्म पृथ्वी, जल, आगो, हावा र आकाशमा निर्भर छ। मंगल ग्रहमा पुगे पनि उसलाई “पृथ्वी” अनिवार्य छ। आजसम्म विज्ञानले मान्छेलाई उपरोक्त अनिवार्यताबाट कत्तिपनि मुक्त गर्न सकेको छैन।

    जतिबेला प्राकृतिक मान्छे प्रकृतिको अनिवार्यताबाट मुक्त हुनेछ। प्राकृतिक मान्छे र मानव-निर्मित मान्छे बीच सत्ता संघर्ष चर्किने सम्भावना हुन्छ। जसरी मान्छेले अहिले दिमागको नक्सांकन (mind mapping)मा काम गरिरहेको छ, त्यसले निकट भविष्य मै (हामी जीवित रहँदा नै) मूर्तरूप लिने छ। त्यो समयले दर्शनशास्त्रको लागि दिशा परिवर्तन गर्नुपर्ने अवस्था सृजना गर्नेछ।  

डा. गोविन्दशरण उपाध्याय

डा. उपाध्याय त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]