समाज

फेरियो आलमदेवी, फेरिएन किसान घिलेको अवस्था

मासिक १५ सय तलबमा दैनिक १२ घण्टाको जागिर

कात्तिक २६, २०७६

    पाल्पा : एउटा अग्लो डाँडो। त्यहि डाँडाको टाकुरोमा पर्खालले चारैतीर घेरिएको हेर्दा घरजस्तो। त्यो पर्खालभित्र पनि अर्को पर्खालले घेरिएको छ। माथि छानो छैन्। जसको भित्रपट्टी एउटा रूख छ। त्यहि रूखको फेदमा धजा बाँधएिको छ। रातो अविरले रंगाइएको सानो आकारको मूर्ति छ। त्यो मूर्तिमा पूजाआजा गरिन्छ। जहाँ पूजाआज गर्न मुलुकका उच्चपदस्थ व्यक्तित्वसमेत आउने गर्छन्।

    हो, त्यहि ठाउँ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ स्थीत आलमदेवीको मन्दिर हो। इसं. १३५० तिर यो मन्दिरको स्थापना भएको किंवदन्ती छ। स्थापनाकालदेखि ठूलावडाले विशेष पूजा गर्दै आएको यो मन्दिरमा तत्कालीन राज परिवारले कुलाइनकै रूपमा पूजा गर्दथे। राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपछि पनि बेलाबखत नेपाल सरकारका उच्च ओहोदाका व्यक्ति यहाँ पूजाआजा गर्न आउछन्।

    यहि कात्तिक २२ गते अर्थात् गत शुक्रबार आलमदेवीको मन्दिर प्रांगणमा आलमदेवी मन्दिर अंकित टिकट प्रकाशन कार्यक्रम थियो। जुन कार्यक्रममा नेपाल सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याल, मुख्य सचिव लोकदर्शन रेग्मीसहित उच्च ओहोदाका व्यक्तिको उपस्थिति थियो। उनीहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आएका थिए। साथमा सयौँ सर्वसाधरणको सहभागिता रहेको थियो।

    मन्दिरको दाँयातर्फ कार्यक्रमको स्टेज थियो। ठ्याक्कै अगाडितर्फ एउटा सानो घर। त्यहि घरमा सानो कोठा। त्यो कोठामा ठूलो एउटा दमाहा थियो। त्यहि दमाहा बजाइरहेका थिए स्थानीय किसान घिले। जब मन्त्रीसहितका ठूलावडाले मन्दिरमा पूजा गर्न थाले, घिलेले दमाहा पिटेर बढाइ लगाउन सुरु गरे।

    जसलाई स्थानीय भाषामा नगरा लगाउने भनिन्छ। त्यसैले किसानको 'नगर्जी' उपनाम रहेछ। 'नगरा लगाउने मानिसलाई नगर्जी भनिन्छ' मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले स्पष्ट पारे।

    ४८ वर्षीय घिलेले यहाँ नगरा लगाउन थालेको झण्डै २० वर्ष पुग्न थालिसकेछ। 'पहिले बुवाले लगाउनुहुन्थ्यो। उहाँको मृत्युपछि मैले लगाउन थालेको हुँ,' उनले भने, 'ठ्याक्कै वर्ष यकिन भएन लगभग २० वर्ष पुग्यो होला। सरकारी जागिर भए पेन्सन पाक्थ्यो होला। अहिले पनि मासिक १५ सय तलबमा काम गर्नु परेको छ।'

    'उमेर छँदासम्म देश बाहिर बसिन्' मलिन देखिएका घिलेको दुखेसो थियो 'उमेर पनि गयो अब केहि गर्न सक्दिन्। जति दिए पनि यहि मन्दिरमा काम गर्नुको विकल्प छैन्।'

    बिहान ५ बजे घरनजिकै रहेको मन्दिरमा नगरा लगाउन उनी पुग्छन्। त्यसपछि केहि समयका लागि घर आएका उनी सामान्य काम गरेपछि ८ बजे पुनः मन्दिरमा पुग्छन्। दिउँसो २ बजेसम्म मन्दिरमा नै बसिरहन्छन्।

    पूजा नआएको खण्डमा २ बजेपछि घर जान्छन्। तर घाम अस्ताउने बेलामा भने नगरा लगाउन मन्दिरमा पुग्नै पर्छ। यो बीचमा पूजा आयो भने पनि उनी मन्दिरमा जानुपर्छ। मन्दिरमा दैनिक बिहान र साँझको समयमा आरती गरिन्छ। त्यहि समयमा अनिवार्य नगरा लगाउनै पर्छ। 

    'आफन्तको बिहे, ब्रतबन्ध, मर्दापर्दासमेत जान पाउँदिनँ' घिलेले भने 'कुनै दिन छुट्टी हुँदैन्।' निम्ता वा जानै पर्ने ठाउँमा एक दिनको समय मिलाएर जाने गरेको उनले बताए।

    'तल्लो घरको भाइलाई एक दिनलाई सहयोग गर्न आग्रह गरेर जाने गर्छु यदि उसले मानेन भने जान पाउँदिन' उनले सुनाए 'प्रायः निम्ता तथा आफन्तको घरमा केही परेको बेला श्रीमती जाने गर्छिन्।'

    बिहान उज्यालो भएदेखि घाम अस्ताउँदासम्म मन्दिरकै पेरिफेरीमा बसिरहने घिलेले दैनिक ५० रुपैयाँको हिसाबले मासिक १५ सय तलब पाउछन्। लगभग १२ घण्टाको समय मन्दिरको लागि बित्ने गर्छ। 'यो जमानामा यति रकमले के गर्न पुग्छर!' उनले भने 'बाबुबाजेको परम्परा धानेको हो। मन्दिर व्यवस्थापन समिति र स्थानीय ठूलाबडाले काम गर्न भनेपछि बुबाले गर्दै आएको काम सम्हालेको छु।'

    उनका अनुसार मन भएका भक्तालुहरूले कहिलेकाँही ५०/६० रुपयाँ दिने गर्छन्। यसैमा चित्त बुझाउनु परेको छ। तर तलब बढाइदिए आफूलाई राहत मिल्ने उनको आशा छ। महिनाको कम्तिमा ५ हजार तलब भए आफू र श्रीमती जेनतेन पालिन पुग्ने उनले बताए।

    घिलेको परिवारमा श्रीमती र एक छोरा छन्। गरिबीको कारण राम्रोसँग अध्ययन गर्न नसकेका छोरा अहिले रोजगारको लागि साउदी अरबमा छन्।

    विगत केहि वर्ष अघिसम्म मन्दिरमा बलि चढाएको मूल मेडोको केहि भाग मासुमा उनले काम गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिं रानाले बताउँछन्। उनका अनुसार राम्रो मासु उनलाई दिन नहुने भन्दै स्थानीयले विरोध गरेपछि तलब दिने निर्णय भएको हो। 'नगद तलब खान थालेको केही वर्ष भएको छ' अध्यक्ष रानाले भने 'मन्दिरको अवस्था मजबुत बनेपछि तलब वृद्धि हुनेछ।'

    आलमदेवी मन्दिर राज्यको नजरमा उत्कृष्ट एकसय गन्तव्य स्थलको रूपमा परेको छ। जहाँ अहिले पनि पूजाआजा गर्ने भक्तालुहरू निकै आउने गर्छन्। यहाँ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत पछिल्लो समयमा आर्थिक तथा भौतिक सहयोग गर्न थालेका छन्। यहाँको भौतिक विकास विगत वर्षहरूमा भन्दा बढी भएको छ।

    ऐतिहासिक महत्त्व बोकेको मन्दिरको परम्परा बचाइरहेका घिलेलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने स्थानीय भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक घिलेले बताए। 'पहिले पाउँदै आएको अधिकार पनि कटौती भएको छ' उनले भने 'परम्परा धान्ने बहानामा श्रमशोषण भएको छ।'

    कम्तिमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। 'यहि अवस्थामा घिलेपछि नगरा लगाउने मान्छेको अभाव हुने देखिएको छ। मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकारको यसतर्फ ध्यान जान आवश्यक छ' उनले भने।

    'मन्दिरको अवस्था फेरिदै जाने तर त्यहि मन्दिरको परम्परा धानेका घिलेको अवस्थामा परिवर्तन नहुँनु दु:खद् कुरा हो' भक्तालु विष्णु प्रसाद पाण्डेले भने।

    आलमदेवी मन्दिरममा उठेको भेटीलाई वार्षिक २ लाख ३० हजारमा ठेक्का  दिइएको छ। ठेकेदारले त्योभन्दा बढी नाफा भएको रकम आफैँ लिने गर्छन्। भेटीको रूपमा आएको पैसा, बलि दिएका पशुपंक्षीको टाउको, चामललगायतका सामग्री बिक्री गरेर ठेकेदारले २ लाख ३० हजार वार्षिक मन्दिर व्यवस्थापन समितिलाई दिने गरेका छन्।

    यस्तै, आलमदेवी मन्दिरको नाममा रहेको गुठीको जग्गासमेत खोजिनुपर्ने स्थानीयले माग गरेका छन्। पूर्व राजपरिवारको कुल देवतासमेत रहेको आलमदेवी मन्दिरको गुठीको जग्गा सयौँ रोपनी भएको सहायक प्रधानाध्यापक घिलेको अनुमान छ।

मिलन विश्‍वकर्मा

 विश्‍वकर्मा थाहा खबरका पाल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]