फिचर : फोटो फिचर

सुदूरपश्चिमको प्रसिद्ध ‘देहिजात’ (फोटो फिचर)

कात्तिक २६, २०७६

    डडेल्धुरा : स्थानीय भाषामा ‘देहिजात’ नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला सम्पन्न भएको छ। सोमबार साँझदेखि सुरु भएको मेला मंगलबार बेलुकी सम्पन्न भएको हो।

    हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको थियो।

    चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु भएको थियो। पूजाआजापछि प्रसादका रूपमा ‘तिलाख’ ग्रहण गरियो। बिहानको पूजाआजापछि दिउँसो दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदनमा गाँज नचाइएको थियो।

    देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। विगतका वर्ष झै यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजनाले मेला भरेको उनको भनाइ छ।

    डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुगेका थिए।

    उग्रतारा मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका मेला हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा रोक लगाइएको थियो।

    किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भइ दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।

    देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःखसुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्थ्यो। 

    वर्षमा एकपटक भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्तप्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको थियो।

    उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रुपमा प्रख्यात छ।  हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरा लगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ।

    स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्रीवितरण गर्ने गर्दछन्। मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाइ बिक्री गर्छन्। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]