स्वास्थ्य

उपप्रधानमन्त्री यादव फेरि विदेशतिर, पाँच दिनसम्म भारतमै रहने

राजनीतिक भेटघाट पनि गर्न सक्ने

मंसिर २, २०७६

    काठमाडौं :  उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव फेरि विदेश यात्रामा निस्केका छन्। उनी सोमबार दिउँसो भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका हुन्।

    समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन भन्दै दिल्लीतर्फ लागेका हुन्।

    पार्टीको केन्द्रीय समिति बैठक सकिएलगत्तै उनी दिल्लीतर्फ लागेका हुन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्थापनसम्बन्धी तीन दिने कार्यक्रमा भाग लिन भारततर्फ लागेका उनी आगामी शुक्रबारसम्म भारतमै रहने छन्।

    पाँच दिनसम्म दिल्लीमा रहँदा उनले त्यहाँ राजनीतिक भेटघाट पनि गर्ने स्रोतको दाबी छ। नेपालमा मन्त्रीहरु फेरिने चर्चा चलिरहेका बेला यादव दिल्ली लागेपछि राजनीतिक भेटघाटको आँकलन गरिएको हो। 

    संविधान संशोधनको विषयलाई लिएर यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बोलचाल बन्द रहेको अवस्था छ। ओलीले मन्त्री पदमै बसेर सरकारको आलोचना बन्द गर्न नत्र बाहिरिन भन्दै यसअघि नै यादवलाई कडा सन्देश दिएका थिए।

    तर केही दिनअघि बसेको समाजवादी पार्टीको बैठकले सरकार छाड्ने या नछाड्ने निर्णय यादवलाई नै दिएको थियो। प्रधानमन्त्रीसँग सम्बन्धन चिसिए पनि यादवले तत्काल सरकार नछाड्ने निर्णय लिएका छन्।

    भारतले मिचेको नेपाली भूमिबारे देशभर विरोधको स्वर चर्किरहेका बेला यादव दिल्लीतर्फ लाग्नुलाई केहीले अर्थपूर्ण भनेका छन्। उनको सचिवालय भने यादव विशुद्ध स्वास्थ्यसम्बन्धी कार्यक्रममा गएको दाबी गरेको छ।

    सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गरिरहेको सत्ता साझेदार दलका प्रमुख नेता यादवको भारत भ्रमणलाई समाजवादी पार्टी र बाहिर पनि अर्थपूर्ण रुपमा हेरिएको छ।

    यस अघि पनि अन्य मुलुकमा हुने स्वास्थ्यसम्बन्धी कार्यक्रमा यादव छानेर जाने गरेका थिए। तर भारतमा हुने स्वास्थ्यसम्बन्धी सानातिना कार्यक्रममा सहभागी हुन उनी आफैँ जाने गरेका छन्। ओली मन्त्रिपरिषद्मा सबैभन्दा धेरै विदेश भ्रमण गर्ने मन्त्रीमध्ये यादव एक हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]