थाहा संवाद

बुवाको छहारीमा आफ्नो परिचय खोज्दैछु

अमेरिकाको सुखसयल त्यागेर नेपाल फर्किएँ

मंसिर १३, २०७६

    काठमाडौं :  नेपाली हास्यव्यंग्य र कलाकारिता क्षेत्रमा आबद्ध छन् यमन श्रेष्ठ। लामो समय अमेरिका बसेका उनी नेपालमा कलाकारितामा आफूलाई स्थापित गर्न लागिपरेका छन्।

    टेलिसिरियल लेखन तथा अभिनयबाट चर्चामा आएका यमनको केही दिनअघि मात्र आँखा दानसम्बन्धी सचेतनामूलक छोटो चलचित्र 'देखेँ देखेँ' सार्वजनिक गरे। उनी कलाकार मदनकृष्ण श्रेष्ठका छोरासमेत हुन्। कलाकारितामा यमनको आगमन, मदनकृष्णसँग उनका रोचक प्रसंगबारे थाहाखबरकर्मी राजु पौडेलले बुझ्‍ने प्रयास गरेका छन्।

    अहिले  के मा व्यस्त हुनुहुन्छ? 

    केही दिनअघि आँखादानसम्बन्धी 'देखेँ देखेँ' भन्ने सामाजिक सचेतनामूलक भिडियो निर्माण गरि सार्वजनिक गरेको छु। पहिले महसञ्‍चारले गर्ने सचेतनामूलक भिडियो जस्तै नयाँ सामाजिक चेतनामूलक फिल्म बनाउने योजनासहित केही काम हुँदैछन्। 

    सामाजिक सचेतनासम्बन्धी फिल्म बनाउँछु भन्नु भएको छ। यो महसञ्‍चारकै बाटो हो?

    महसञ्‍चारको सिको हो। म महसञ्‍चार जस्तो हुन सक्दिनँ तर मेहनत चाहिँ महसञ्‍चारको गोरेटोमा हिँड्ने प्रयास हो। 

    बुबा मदनकृष्ण श्रेष्ठको पाइला पच्छ्याउँदै हुनुहुन्छ। बच्चैदेखिको लक्ष्य कलाकार बन्ने नै थियो? 

    हरेक सन्तानले बुबाआमाको राम्रो कामलाई पछ्याउँछन्। बुबाले फिल्मका स्क्रिप्टहरू घरमा लेखेको कहिल्यै थाहा भएन। तर, घरमा हुँदा गीत गाउनुहुन्थ्यो। मलाई गायक बन्ने शोख थियो।

    रहर गायकको थियो। तर, अभिनयतिर पनि लाग्नुभयो है? 

    म १३ वर्ष अमेरिकाको बसाइपछि पाँच वर्षअघि नेपाल फर्किएको थिएँ। एकदिन बुवाले मलाई सोल्टी होटलमा पार्टीमा लिएर जानुभएको थियो। त्यहाँ बुबातर्फ तेर्सिएको क्यामरा र दर्शकले  म अच्चमित भएँ। खुसी पनि। बुवातर्फ त्यति धेरै मान्छे बोल्न चाहँदा आफूसँग कोही पनि बोल्न नचाहने। आफूले जिन्दगीमा केही गर्न नसकेको पीरले मन भारी भयो।

    त्यसपछि अभिनयका लागि धेरै ठाउँमा भौतारिएँ। एक दिन केदार घिमिरेसँग भेट भयो। उहाँलाई एउटा भिडियोको लागि गीत आवश्यक परेको रहेछ। त्यो गीत म आफैँले बनाइदिएँ। त्यहीबेला केदारजीसँग आफूले अभिनय गर्न चाहेको बताएँ। उहाँले सुरुसुरुमा सानो रोलमा काम दिनुभयो।

    मदनकृष्णको छोरालाई अभिनय गर्ने प्लाटफर्म अफ्ठ्यारो? बुबाको ज्याक लगाउनुभएन?

    बुबाले मेरो अभिनय कलालाई पत्याउनु हुन्थेन कि सायद। उहाँले कोही कसैलाई पनि भन्नुभएन। न त मैले बुबालाई कसैलाई भनिदिनुस् भनेर भन्न नै सकेँ।

    त्यसपछि केदार घिमिरेसँग मिलेर खासखुस टेलिसिरियल निर्माण गर्नुभयो। तर,  लामोसमय टिकेन नि?

    यो ६८ भागसम्म प्रसारण भयो। त्यो एकदम पपुलर भएको थियो। तर, विडम्बवना केदार घिमिरे फिल्मतिर लाग्नुभयो। आफू एक्लै परियो। टेलिसिरियल एक्लै निर्माण गर्न सकिँदैन। सामूहिक काम हो।

    तपाईंको काममा बुबाको प्रतिक्रिया कस्तो थियो?

    सुरुमा त  बुबाले हौसला दिनुभएन। सायद गर्न सक्दैन कि भन्ने लाग्दो हो। तर, ममीले भने असाध्यै हौसला दिनुहुन्थ्यो। ममीले दिएको हौसलाले म हौसिन्थे। आफैँलाई पनि के लाग्यो भने काम लगातार गर्दै गएपछि चाहिँ खुबीमा परिणत हुँदोरहेछ। पूर्ण नभए पनि पूर्णताको नजिक पुगिन्छ कि भनेर लागिरहेको छु।

    सरकारी पदमा बसेका मान्छे पनि अमेरिका पुग्न दौडधूप गरिरहेको यो अवस्थामा तपाईं फर्किनुभयो। कारण?

    जिन्दगीमा दु:खहरू उमेरअनुसार प्याकेज-प्याकेजमा आउने रहेछन्। म २२ वर्षको उमेरमा अमेरिका गएको हुँ। अमेरिकामा विलासी जीवन बाँच्न पनि सक्थेँ हुँला। तर, घरमा बुबाआमा एक्लै हुनुभयो। बिरामी बुबाआमा हेरचाह गर्न म नेपाल फर्किएँ। बिरामी बुबाआमा छोडेर अमेरिका बस्न मन लागेन।

    एउटा सेलिब्रिटीको सन्तानले कस्तो कठिनाइ भोग्छ? 

    घरभित्र बस्दा म एउटा साधारण जीवन बाँच्न रुचाउने मदनकृष्णको छोरा हुँ। कार्यक्रममा जाँदा म सेलिब्रिटी मदनकृष्णको छोरा हुँ। बच्चा बेलामा भने स्कुल र कलेजमा भने अधिक पीडा हुन्थ्यो। उनीहरूले बुबाको नामले बोलाउँथे। मलाई मेरै नामले बलाइदिए हुन्थ्यो नि भन्ने सोच्थेँ। चिनी धेरै खायो भने तीतो हुन्छ भने जस्तो। सधैँ बुबाको नामबाट चिनिनु सन्तानलाई भन्दा धेरै स्वयम् बुबालाई पीडा हुन्छ जस्तो लाग्थ्यो।

    अहिले पनि त तपाईंलाई मान्छेहरू मदन कृष्णकै छोरा भनेर चिन्छन् नि?

    सन्तान त म नै हुँ नि। (हाहा)  पहिले म काम गर्दिनथें। तर, अहिले म आफैँ पनि अभिनयको क्षेत्रमा काम गरिरहेको छु। के लाग्न थालेको छ भने एकबारको जूनीमा चिनिनु नै ठूलो कुरा हो। बुबाको छहारी पाएको छु।

    ठूलो छहारीमा बस्दा शीतलता प्राप्त हुन्छ। झरीमा पनि ओत लाग्न सकिन्छ। यद्यपि, वरिपरिका साना नयाँ पालुवा मासिने डर पनि त हुन्छ नि होइन र?

    हो। यो मलाई बच्चा बेलामा हुन्थ्यो। म गीत लेख्थेँ। नाटक लेख्थेँ। ती लेखेका चिज राम्रा हुन्थे कि हुँदैनथे मलाई थाहा छैन। तर, सबै जनाले पक्कै बुबाले लेखिदिएको होला भनेर सोच्थे। भन्थे। यस्ता कुरा सुन्दा क्षमता विकासमा ह्रास आउन सक्छ। यसमा भन्नेले सोच्नुपर्छ।

    साधारण जीवन बाँच्न रुचाउने बुवा मदनकृष्णको रिस चाहिँ कस्तो छ? 

    बुबा कडा हुनुहुन्‍न। मैले जीवनमा बुबाको स्वरमा कडा र कठोर सुनिन। बरु केही काम बिग्रियो अथवा मेरो काम मन परेन भने राइमिङ मिलाएर सटाएर हान्नुहुन्थ्यो। व्यंग्य गरिदिने टाइपको भनौँ न। जब बुबाको बोलीमा अकस्मात व्यंग्य आउन थाल्थ्यो म बुझ्थे। बुबा रिसाइरहनुभएको छ। 

    भनेपछि तपाईंलाई केही आवश्यक पर्‍यो भने पनि राइमिङ मिलाएर नै  माग गर्नुहुन्थ्यो होला?

    हो। सबै भनेर साध्य हुँदैन। एकपटक सानोमा घडी आवश्यक परेको थियो। मैले भन्थेँ, 'तराई हेर कति राम्रो हरियो वन हुनाले, ए दाइ कति बज्यो भन्नुपर्छ घडी नहुनेले।' बुबाले जवाफ फर्काउनुहुन्थ्यो, ' 'तराई हेर कति राम्रो हरियो वन हुनाले, घडी पाउने आस नगर बेलामा नपढ्नेले।' कहिलेकाहीँ हाम्रो दोहोरी यस्तो हुन्थ्यो।

    बुबाको मन पर्ने बानी?

    आफू हारेर अरूले जितोस् भन्ने चाहनुहुन्छ।

    मन नपर्ने बानी?

    सधैँ हार्न खोज्न राम्रो होइन। कहिलेकाहीँ जित्न खोजे पनि हुने जस्तो लाग्छ।

    बुबाबाट सिकेको पाठ?

    इमान्दार बन। धैर्यता कायम गर। एकअर्कालाई विश्वास गर। आपसी समझदारीबिना कुनै काम सफल हुँदैन।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]