थाहा संवाद

महिला हिंसा अन्त्यका लागि पुरुषको साथ आवश्यक

मंसिर १४, २०७६

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ। ‘लैंगिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको  छ। स्थानीय तहका वडा, विद्यालय, सामाजिक संघ-संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गरी डडेल्धुरामा मनाइँदैछ।

    जिल्ला सदमुकामको अमरगढी नगरपालिकाले विभिन्न संस्थाहरूसँगको सहकार्यमा १६ दिनसम्म अभियान संञ्चालन गर्ने निर्णय गरेको छ। सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि सुरु भइ डिसेम्बर १० तारिखका दिन सम्पन्न हुने गरेको छ।

    नेपालमा भने २०५४ सालदेखि मात्रै लैंगिक हिंसाविरुद्धको विभिन्न कार्यक्रम गरी मनाउन थालिएको हो। लैंगिक हिंसा, महिला हिंसाविरुद्धका अभियानहरू, महिलामाथि किन हिंसा हुन्छ? महिलाले कस्ता किसिमका हिंसा भगिरहेका छन्? लगायतका विविध विषयकेन्द्रित रहेर डडेल्धुराको अमरगढी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक संगीता भण्डारीसँग थाहा खबरकर्मी प्रकाश पार्कीले गरेको कुराकानीको सम्पादित अंशः

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ। यो अभियानमा अमरगढी नगरपालिकाले के-के कार्यक्रम गर्दैछ?

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत हामी विभिन्न कार्यक्रमहरू गर्दैछौँ। सोमबार हामीले विभिन्न ठाउँमा संयुक्तरूपमा व्यानर राखेका छौँ। १५ औं दिनमा हामी महिलाका हक अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्ने कार्यक्रमको आयोजना गरेका छौँ।

    त्यसमा हामी कार्यपत्र प्रस्तुत गर्नेछौँ। महिला हिंसा न्यूनीकरण गर्न हामीले कसरी अगाडि बढ्न सक्छौँ त्यसबारे पनि विभिन्न बृहत् अन्तरक्रिया गरिनेछ। १६औं दिनमा र्‍यालीसहित समापन गर्ने छौँ।

    १६ दिनसम्म विभिन्न कार्यक्रम गर्छौ भन्नुभयो ती कार्यक्रमले ग्रामीण बस्तीका महिलालाई छुन्छ कि छुँदैन?

    हो, हामी जहिले पनि सदरमुकामकेन्द्रीत हुने भयौं। हामीले भन्न खोजेको कुरा कसरी गाउँका दिदी-बहिनी माँझ पुर्‍याउने भन्ने विषयमा हामीले छलफल समेत गरेका छौँ। बजेट पनि न्यून छ। गाउँघरका महिलाले अहिले पनि रेडियो सुन्छन्।

    रेडियो सुन्ने भएकाले १६ दिनसम्म यहाँका ४ वटै रेडियोलाई सन्देशमूलक जिङ्गल प्रशासरण गर्न भनेका छौँ। साथै हामीले सबै रेडियोहरूलाई अन्तरक्रिया कार्यक्रमका लागि पनि अनुरोध गरेका छौँ। हामीले भन्न खोजेको कुरा रेडियोमार्फत एकै धेरै दिदी-बहिनी माँझ पुग्छ। कार्यपत्र प्रस्तुत हुने दिनमा गाउँको प्रतिनिधित्व गर्दै महिला दिदी-बहिनी आउनुहुन्छ। त्यसमा हामी उहाँहरूले भोगिरहेका समस्या, हिंसालगायतका कुराहरू सुन्छौँ।

    अमरगढी सरकारले दिवसहरू आउनुअघि लैंगिक हिंसा, महिला हिंसाविरुद्धका अभियानहरू संचालन गरेको छ?

    हामीले दिवसका अवसरमा कार्यक्रमहरू गर्ने नै भयौं। यो त हाम्रो नियमित कार्यक्रमअन्तर्गत पर्‍यो। यसभन्दा बाहेक पनि हामीले विभिन्न समितिमार्फत जनचेतनामूलक कार्यक्रम पनि गरेका छौँ। न्यायिक समितिकै कुरा गर्दा हामीले प्रत्येक वडाहरूमा हिंसात्कम गतिविधि के हुन सक्छन्? त्यसका सजाय के हुन सक्छन् ? हिंसात्मक गतिविधि न्यूनीकरण गर्न हामीले के गर्न सक्छौँ भनेर प्रत्येक वडामा कार्यक्रमहरू गरेका छौँ।

    यसका साथै हामीले अन्य कार्यक्रमहरू पनि गरेका छौँ। यो वर्ष हामीलाई के लाग्यो भने उहाँलाई सन्देश मात्रै दिएर यो अधिकार हो भनेर सिकाएर मात्रै हिंसा न्यूनीकरणमा धेरै ठूलो सहयोग पुग्लाजस्तो लाग्दैन। किन भने जब मान्छे आर्थिकरूपले माथि उठ्न सक्दैन।

     तबसम्म उ मान्छेले हिंसा भोग्नुपर्छ भन्ने हाम्रो बुझाइ हो। त्यसकारण यो वर्ष अमरगढी भित्रका ३२० जना मध्ये १५० जना महिलालाई केन्द्रीत गरेर सीपमूलक तालिम संचालन गर्ने र तालिममात्रै संचालन गर्ने होइन कि निजी संघ-संस्थाहरूसँग पनि समान्वय गरेर साना उद्योग नै स्थापना गरेर उहाँहरूलाई आय-आर्जनसँग जोड्नुपर्छ भनेर यो वर्ष बजेट पनि विनियोजना भएको छ। 

    तपाईं न्यायिक समितिको पनि संयोजक हुनुहुन्छ। महिला हिंसाका घटनाहरू पछिल्लो समय बढे वा घटेका छन्?

    अमरगढी नगरपालिकाको तथ्यांकनमा त महिला हिंसाका घटनाहरू त्यति धेरै बढेको देखिएको छैन। किन भने हामीसँगै नजिकै प्रहरी कार्यालय छ। विभिन्न महिलासँग सम्बन्धित भएर काम गर्ने विभिन्न संघ-संस्थाहरू छन्। यी विभिन्न कारण गर्दा अमरगढीमा महिला हिंसाका घटना बढेका त छैनन्। तर हामीले जिल्ला प्रहरी कार्यालयसँग बुझ्दा डडेल्धुरा जिल्लामा महिला हिंसाका घटनाहरू बढी नै राखेका छन्।

    किन भने जब-जब महिला यो कुरा चाहिँ हिंसा रहेछ भनेर जानकार हुन्छन् तब-तब उनीहरू प्रतिकारमा उत्रिरहेको अवस्था भएका कारण घटना हिजोका दिनमा पनि हुन्थे। हिजोका दिनमा दबाएर राखिन्थे। तर आजभोलि महिला हिंसा हो भनेर बुझिसकेपछि धेरै दबाएर राख्न नसकिने अवस्था र ती घटनाहरू बाहिर आइरहेकाले जिल्लामा बढेकै देखिन्छ महिला हिंसा।

    बेलाबेलामा तपाईं अमरगढीका विभिन्न बस्तीमा पुग्नुहुन्छ। यहाँका महिलाले कस्ता किसिमका हिंसा भगिरहेका छन्?

    गाउँघरमा जाँदा एक किसिमको खुसी हुन्छ किन भने हामी कुनै कार्यक्रममा जान्छौँ। त्यहाँनेर महिलाको उपस्थिति बढी हुन्छ। यस्तो देख्दा हामी विकासको गतिमा गइरहेका आभास त हुन्छ। तर पनि हाम्रो समाज हिजोका दिनदेखि पितृसतात्मक सोच भएको समाज भएका कारणले महिला त्यो ठाउँमा पुग्दा महिलाको मातहतमा रहेका काम गर्दा समस्या मान्ने कुरा अझैं छन्।

    छोरालाई राम्रो शिक्षा दिने राम्रो विद्यालयमा पढाउने, छोरी अर्काको घर जाने हुन्, आफ्नो घरको काम गर्ने हुन् भन्ने सोच अहिले छ गाउँघरतिर। शहरबजार तिर यो केही हदसम्म कम भएको छ। विभिन्न किमिसका हिंसा हुनुको मुख्य कारण ‘मदिरा’ छ। मदिरा सेवन गर्ने अनि त्यसपछि घरमा हिंसा हुन्छ।

    अर्को कुरा महिलाको आर्थिक सक्षमता नभएका कारणले पनि हिंसा भइरको छ। किनकि उहाँहरूलाई ससाना आवश्यक कुराहरू परिपूर्ति श्रीमानसँग भन्नुपर्ने, घरपरिवारसँग भन्नुपर्ने, छोरालाई भन्नुपर्ने अवस्था भएका कारणले पनि ‘डोमिनेट’ भएको कुरा हामीले महसुस गरेका छौँ।

    महिलामाथि हिंसा हुनुको मुख्य कारण ‘मदिरा’ हो भन्नुभयो। मदिरा न्यूनीकरण गर्न केही पहल गर्नुभएको छ?

    यो सदरमुकामको नगरपालिका हो। पूर्णरूपमा हामी नियन्त्रण गर्न त नसकौँला तर यसलाई व्यवस्थापन सक्छौं कि भनेर म आफैं राजश्व परामर्श समितिको संयोजक हुँदा सुझाव र मरामर्श गर्दा त्यसको राजश्व दोब्बर गर्दा पनि मान्छेहरू पसल दर्ता र खोल्नेक्रम काम भएको छैन।

    मदिरालाई व्यवस्थित गर्नका लागि के गर्न सकिन्छ भनेर हामीले पनि एउटा कार्यविधि बनाएका छौँ। नगरपालिकामा जनशक्ति पूर्ण हुने बेलामा त्यो कार्यविधिलाई अलि कडाइका साथ लागू गर्न सक्यौ र योसम्बन्धी हामीले डिएसपी र सिडियोसा ‘पसँग बसेर यसलाई निश्चित समयमा खोल्ने र बन्द गर्ने व्यवस्था गर्न सके भने राम्रो हुनसक्छ।

    हरेक निकायमा विगतभन्दा महिलाको सहभागिता बढेको छ। तर पनि आफ्नाे अधिकारीको लागि लड्न सकिराखेका छैनन् किन?

    हिजोका दिनमा आमाले के गर्नुभयो त्यो कुरा मैले सिकेँ। हिजो मेरो हजुरआमाले जे गर्नुभयो त्यो मेरो आमाले सिक्नुभयो। हाम्रो समाज यसरी नै चलिरह्यो। यो समाज चलाउने, यस समाजको अगुवाइ गर्ने जिम्मा त पुरुषले हो महिलाको होइन भन्ने मानसिकता छ। जस्तो कि घरमा एउटा छोराछोरी छ। छोराले अंशका लागि लड्नु पर्दैन तर छोरीले अंश चाहिन्छ भन्दा हाम्रो समाज अझैं झस्किन्छ। छोरा र छोरीमा जसरी विभेद भइरहेको छ।

    त्यही कुरा हरेक क्षेत्रमा दोहोरिरहेको छ। नियम कानुनले महिला नै हुनुपर्छ भन्ने ठाउँमा महिलाको अनिवार्य सहभागिता छ। कानुनले कडाइँ नगरेको ठाउँमा महिलालाई हस्ताक्षर गर्नको लागि मात्रै भए पनि ल्याउने गरिएको छ।

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका छ। अन्त्यमा यस अवसरमा महिला दिदीबहिनीलाई के भन्नुहुन्छ?

    हामी जुन ठाउँमा भए पनि हामी पढेलेखेका छैनौं भन्ने बुझाइ किनकि हामी पढेलेखेका छैनौं भने हामी महिला दैनिकरूपमा पुरुषभन्दा बढी श्रम खर्चिरहेका छौँ। पढेलेखेका दिदी-बहिनी हुनुहुन्न भने उहाँहरूले कृषिकाे काम गरी राख्नुभएको छ। त्यसै कृषिलाई आधुनिकीकरण गरेर व्यवसायिक बनाऔं। हामीले यसो गर्‍याै भने हाम्रो आर्थिक अवस्था बालियो हुँदै जान्छ। आर्थिक अवस्था बलियो हुँदै गएपछि हिंसा पनि कम हुन्छ।

    जुन यो अभियान चलिरहेको छ। यो अभियान महिलाको मात्रै होइन। लैंगिक हिंसा न्यूनीकरण गर्नका लागि पुरुष दाजुभाइको पनि त्यत्तिकै भूमिका छ। उहाँहरूको सकारात्मक सहयोग र सकारात्मक विचारबिना महिला हिंसा अथवा लैंगिक हिंसा अन्त्य हुने अवस्थाको कल्पना हामी गर्न सक्दैनौं।

    घरमा हुने दाजु-भाइ, बुबाआमाहरूले छोराछोरीलाई समान किसिमको व्यवहार गरिदिए।महिलालाई पनि पुरुष समान काम गर्ने अधिकारलाई बडावा दिए। मलाई लाग्छमहिला हिंसा हुन्न। हामी छोरा र छोरी लिंगका आधारमा फरक हौंला। तर सामाजिक भने फरक हुने अवस्था आउँदैन।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]