फिचर

सडक बालबालिका भन्छन् : पढ्‍न पाए हामी पनि इञ्‍जिनियर बन्थ्यौँ

शिक्षाबाट वञ्चित भए १५० सडक बालबालिका

रातमा बास बस्‍न बौद्धको सटरअगाडि बसेका सडक बालक।
मंसिर २५, २०७६

    काठमाडौं : रातको ठिक ८ : ०० बजेको समय। फाट्टफुट्ट सवारीसाधन गुडिरहेका थिए। रात परिसकेकोले सोमबार बेलुका बौद्धस्थित बौद्ध फूलबारी स्कुल अगाडिको सटर बन्द भइसकेको थियो। कुनै सटर बन्द हुने क्रममा थिए।

    केही सर्वसाधारण गुनगुन गर्दे आफ्नो गन्तव्यतर्फ लागिरहेका थिए। त्यही ठाउँको अँध्यारो सटर अगाडिबाट आवाज आयो,‘दाइ पैसा दिनुस् न भोक लाग्यो।’ यी आवाज थियो मिने मगरको। उनले ओडेको तन्‍ना विस्तारै निकाल्दै बाहिर टाउको निकालेर पैसा मागे। 

    सिन्धुली घर भएका १० वर्षीय मगर यसरी सडकमा बसेको ३ वर्ष भइसक्यो। विद्यालय गएर पढ्ने उमेरमा उनको सडकमै बास छ। उनले भने,‘आरुबारीमा बसेर अरुणद्वय स्कुलको कक्षा दुईमा पढ्दापढ्दै पढाइ छोडेर सडकमा आइपुगेँ। घर फर्किने मन छ। पढ्‍न पाए इन्जिनियर बन्‍ने थिएँ।’ 

    सडकमा आइपुग्नु पनि उनको बाध्यता छ। ‘बुबा हुनुहुन्न। आमाले सधैँ हेला गरेपछि घरमा बस्न मान लागेन,’ मगरले थाहा खबरसँग भने,‘त्यस्तो कलह घरमा को बस्छ। त्यसैले म घरबाट अलग्गिएँ।’ उनका अनुसार मगर सानै छँदा बुबाको मृत्यु भयो। त्यसपछि आमाले उनलाई हेला गरे।

    कसैले उद्धार गर्छ कि भन्ने आश लिएर सडक बस्दै आएको उनले सुनाए। उनी एक प्रतिनिधि पात्र मात्रै हुन्। काठमाडौं उपत्यकाका धेरै सडक बालबालिका पढाइबाट वञ्चित छन्। अहिले पनि बौद्ध, पशुपति,रत्नपार्कलगायत ठाउँमा मागेर बालबालिकाले आफ्नो गुजारा चलाइरहेका देखिन्छन्। तर, उनीहरूको व्यवस्थापन गरी शिक्षा प्रदान गर्नेमा सरकारको ध्यान पुगेको देखिँदैन। 

    अधिकार छ कार्यान्वयन छैन

    बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा  (४) मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यको लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुने व्यवस्था छ। तर, उक्त अधिकार बालबालिकाले पाएको अनुभूति गर्न सकेका  छैनन्। 

    बालबालिका खोजतलास समन्वय केन्द्रका इन्सपेक्टर मोहन विक्रम दाहालले उपत्यकामा १५० सडक बालबालिका शिक्षाबाट वञ्चित भएको बताए। ‘उपत्यकामा अहिले एक सय पचास बालबालिका छन्,’उनले भने,‘कहिले योभन्दा बढी पनि हुन्छन्।

    कहिले घटी पनि हुन्छन्। फरकफरक क्षमता भएका बालबालिका पढाइबाट वञ्चित छन्।’  उनका अनुसार सडकमा बस्ने कोही बालबालिका चित्र कार्ने,मेकानिकल काम गर्ने जस्ता फरक क्षमताका बालबालिका छन्।

    सडकमै फर्केर जाने समस्या

    केन्द्रीय बालकल्याण समितिका बालसंरक्षण अधिकृत सुनिता राणाले उपत्यकामा बालबालिका उद्धार गरेर शिक्षा प्रदान गरे पनि फेरि फर्केर सडकमै जाने गरेको बताइन्।

    ‘सडकका बालबालिका जति उद्धार गरे पनि सडकमा आउनेजाने क्रम हुन्छ,’उनले भनिन्,‘उपत्यकाको सडकमा १५०को हाराहारीमा बालबालिका छन। उद्धार गरेर पालनपोषण, शिक्षा र विभिन्न तालिम दिँदै आएका  छौँ।’ उनका अनुसार  उद्धार गरेर विभिन्न संघसंस्थामा लगे पनि एक/दुई दिन बसेर फेरि भागेर त्यही सडकमै आउने गर्छन्। 

    तीन वर्षमा १२ सय सडक बालबालिकाको उद्धार  

    बालसंरक्षण अधिकृत राणाले तीन वर्षभित्रमा सडकबाट १२ सय बालबालिकाको उद्धार गरेको बताइन्। उनका अनुसार बालबालिका भागेर गएकाले अहिले विभिन्न संस्थामा भने दुई सय ५० जना मात्रै बालबालिका छन्।  ६ वर्षदेखि १८ वर्ष उमेरका सडक बालबालिका छन्। सडकमा बालिकाभन्दा बालक बढी छन्। 

    ३० जना सडक बालबालिकालाई शिक्षा

    सडकबाट उद्धार गरिएका ३० जना बालबालिका अहिले शिक्षा लिइरहेको राणाले बताइन्। उनले भनिन्,‘विभिन्न संघसंस्था मिलेर धेरै सडकबाट बालबालिका उद्धार गरिसकेका छौँ। तर, संस्थाबाट भागेर सडकमै जाने गरेकाले धेरैलाई शिक्षा दिनै सकिएन। उपत्यको विभिन्न स्कूलमा ३० जना सडक बालबालिका अहिले पढ्दै छन्।’ 

    उपत्यकामा बर्सेनि सडक बालबालिका बढ्दो 

    उपत्यकामा बर्सेनि सडक बालबालिकाको संख्या बढ्ने गरेको पाइएको छ। बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांंकअनुसार गत वर्ष एक सय बालबालिकाको उद्धार गरिएको थियो। आर्थिक वर्षको अहिलेसम्म दुई सय ३९ जनाको उद्धार भइसकेको छ।

    इन्सपेक्टर दाहालले भने,‘सडकमा बालबालिका बढ्दै गएको उद्धारबाट थाहा पाइन्छ। तुरुन्तै खबर गर्ने, टेक्नोलोजीले गर्दा यस्तो देखिएको हुनुपर्छ। हामीले उद्धारमा खटिरहेका छौँ।’ 

    कसरी सडकमा आउँछन् बालबालिका?

    बालसंरक्षण अधिकृत राणाका अनुसार परिवारबाट अपहेलित भएर, साथीको लहैलहैमा लागेर बालबालिका सडकमा आउने गरेका छन्। उनले जाडोयाममा सडकमा बस्‍न गाह्रो हुने गरेको सुनाइन्।

    'सडकमा शुस्त मनिस्थित भएका र मानशिकता गुमाएका बालबालिका पनि हुन्छन्। चेतनामूलक काउन्सिलिङ गराउँछौँ,' उनले भनिन्। जाडोले गर्दा अहिले बालबालिका सडकमा कम मात्र आउने गरेको उनको अनुमान छ।

    बाल वातावरण केन्द्र नेपालका कार्यकारी निर्देशक अशोक सिवाकोटी पनि स्थानीय सरकारको सहकार्यमा संस्थाले सडक बालहिंसा कम गर्नका लागि चेतनामूलक कार्यक्रम गर्दै आएको बताउँछन्।

    'हिंसा नसकेपछि सडकमा बालबालिका आउने गर्दछन,’उनले भने,‘उनीहरूलाई घरका अभिभावकहरूले माया,ममता दिएर राख्नुपर्छ।’ उनका अनुसार सडकमा सुकुम्बासी बालबालिका,२४ सै घण्टा सडकमा बिताउने बालबालिका र सडकमै बस्ने अभिभावकका सन्तान गरी तीन प्रकारका बालबालिका सडकमा बस्ने गरेका छन्। 

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]