गाउँमै जुडो स्कुल चलाउने सपना

|

इलाम: पितृसत्तात्मक नेपाली समाजले चुल्हो चौको भन्दा  बाहिर छोरी निस्केको अझै रुचाउँदैन। अझ खेलकुद र मनोरञ्जन क्षेत्रमा लागेकी छोरी बिग्रिने चिन्ता लिइरहन्छन् अभिभावक। पितृसत्तात्मक सामाजिक मान्यतालाई चिर्दै कयौँ छोरीहरुले आफ्नै परिचय स्थापित गरिरहेका छन्। 

आफ्नै भूमिमा भएको १३औँ साग खेलकुदमा संघर्षको भूमरिमा रहेका तिनै छोरीहरु चम्किएका छन्। अवसर दिएमा छोरीहरु छोरा भन्दा अब्बल सावित हुने पुष्टि यो सागबाट छोरीहरुले दिइसकेका छन्। नेपालका लागि छोराले भन्दा छोरीहरुले धेरै स्वर्ण पदक जितेपछि छोरीलाई घरैमा सीमित गर्न चाहने धेरै अभिभावकको भ्रम तोडिएको छ। 

१३औँ सागमा चम्किएका अनेक छोरीमध्ये एक हुन् देविका खड्का। पहिलो सहभागितामै देविकाले आफुलाई अब्बल प्रमाणित गर्दै देशका लागि स्वर्ण पदक दिलाएकी छन्। 

कुमरखोद क्षेत्र झापा पुरानो सदरमुकामका रुपमा परिचित छ। तर त्यही कुमरखोद २०५३ सालतर जिल्लाको कर्णाली जस्तै थियो। हालको झापा गाउँपालिका-२ अहिले पनि झापाको पिछडिएको भूगोलमा पर्छ।

जिल्लाको दुर्गम भूगोल कुमरखोदमा जन्मिएकी उनै देविकाका लागि जुडो खेल्नु कम्ता चुनौतीपूर्ण थिए। भर्खरै मात्र झापामा सुरु भएको यो खेलमा बलसमेत प्रयोग गर्नुपर्ने भएकाले कमै छोरीहरु अघि सर्थे। जुडोलाई पुरुषहरुको खेलका रुपमा बुझिने गरेकाले देविकामाथि यसबाट अब्बल सावित हुन कहाँ सजिलो थियो र?

उनै देविकालाई अनेक चुनौतीबीच परिवारको भने बलियो साथ थियो। परिवारमा खेलको पक्षमा माहोल भएकाले अघि बढ्न सहज भयो। झापामा सर्वप्रथम् वि.सं. २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक हरि श्रेष्ठले जुडो भित्र्याएका थिए। देविकाका काका हरि पनि जुडो खेलाडी भएकाले ७ वर्षमै अवसर पाइन्। गंगाबहादुरले सुरुमा प्रशिक्षण दिएपछि देविकाको खेललाई काका गंगाले निखारे। तर आमालाई भने छोरीले जुडो खेलेको मन परेको थिएन्। 

आमा हुन् त्यसै पनि अरुलाई भन्दा बढी छोरीको चिन्ता हुनु स्वभाविक थियो । ‘आमाले भविष्यमा मलाई केही समस्या हुन्छ कि भनेर काकालाई नसिकाउनु पनि भन्‍नुहुन्थ्यो’, उनी भन्छिन्, ‘काकाले मेरो क्षमता बुझेकाले छोरीले यही खेलबाट देशको नाम चिनाउने आशा देखाउनुहुन्थ्यो। तर आमाले नमान्‍ने श्रृंखला पटक पटक दोहोरियो।'

जुडो सिक्दा बगरको बालुवा र कुर्ता सुरुवाल नै देविकाका लागि म्याट र गी बने।

श्रुतीले दिएको मेडल र सर्टिफिकेट

सन् १९९९ मा काठमाडौंमा भएको स्कुलस्तरीय अन्तराष्ट्रिय प्रतियोगिताको विजेता बन्दै राजा वीरेन्द्रकी छोरी श्रुती शाहले स्वर्ण पदक दिएको उनलाई अहिलेझैँ लाग्छ।

‘खोई कसलाई हराएको याद भएन तर तत्कालीन राजकुमारी श्रुतीले मेडल र सर्टिफिकेट दिएको अझै याद छ,’ उनी सुनाउँछिन्। त्यसबीचमा उनले कयौँ विद्यालयस्तरीय प्रतियोगिता जित्दै झापामा जुडो खेलको सम्भावनालाई थप मजबुत बनाइन्। उनको याद अझै ताजा छ, विद्यालयको प्रतियोगिता जितेर जिल्लामा म्याट भित्र्याएको। ‘विद्यालयस्तरीय प्रतियोगिता जितेर झापामा म्याट भित्र्याएकी थिएँ', उनले भनिन्। 

सम्भावना भएपनि चुनौतीबीच उनले धेरै संर्घष गर्दै अगाडि बढिन्। अन्ततः २०६२ सालमा काठमाडौंमा भएको छैटौँ राष्ट्रिय जुडो प्रतियोगितामा झापालाई रजत पदक दिलाइन्। 

२०६४ सालमा गृहजिल्लामा भएको नवौँ जुडोमा रजत र २०६५ को दशौँमा कास्य पदक जितिन्। २०६५ सालमा पूर्वाञ्चलबाट स्वर्ण जित्दै पाँचौ राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर पाइन् । 

त्यहाँ आफूलाई प्रमाणित गर्दै रजत पदक चुमिन्। उनको खेलकौशलबाट प्रभावित भएर विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले आफनो टिममा लियो। छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफबाट ५२ केजीमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरिन्। गृह जिल्लामै एको सातौँ राष्ट्रिय खेलकुदको जुडोमा स्वर्ण जित्‍ने उनका धोको अधुरो रह्यो। 

‘मैले पाएको अंक नदिएपछि रजत पदकमा चित्त बुझाउन बाध्य हुनुपरेको थियो । खेलपछि निर्णायकहरुले आफनो गल्ती महसुस पनि गर्नुभयो, तर के गर्नु समय बितिसकेको थियो’ उनी सम्झन्छिन् । त्यही खेलमा पाउनुपर्ने पदक नपाएपछि देशका लागि स्वर्ण जित्ने प्रवल इच्छा जाग्यो उनमा । त्यसयता उनको स्वर्ण जित्ने लक्ष्यमाथि अरुले धावा बोल्न सकेका छैनन्।  

सन् २०१४ को इन्चोङ एसियाडमा भारतकी कल्पना देवी र जर्कातमा भएको २०१८ को एसियाडमा जापानकी नतसमी तासुनोदासँग १ मिनेट २० सेकेन्ड भन्दा बढी टिक्न सकिनन् । 

साग यात्रा 

छनोट खेलमा मनिता श्रेष्ठसँग पराजित भएपछि १२औँ सागमा उनले सहभागिता जनाउन पाइनन्। आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि साग खेल्ने उनको इच्छा पनि पूरा भयो। आफुलाई प्रमाणित गर्दै देशका लागि ४५औँ स्वर्ण जुडोबाट दिलाइन्। 

‘दक्षिण एसियामा भारत बलियो टोली हो । तर दोस्रो चरणमा भारतीय खेलाडीलाई पराजित गरिसकेपछि स्वर्ण जित्‍ने कन्फिडेन्ट बढेर आयो', देविकाले भनिन्, 'अन्तिममा बंगलादेशी खेलाडीलाई हराएर लक्ष्य भेटाएँ, जसको खुशी शव्दमा भन्‍नै सक्दिनँ।’ 

नेपालका लागि ४५औं र जुडोका लागि पहिलो स्वर्ण जितेपछि उनको आँसु थामिएन। जब बंगलादेशी खेलाडीलाई पराजित गरेर स्वर्ण जितिन्, खुसीले उफ्रिइन, प्रशिक्षक देबु खड्काको अगाँलोमा बाँधिइन्।

विभिन्‍न देशमा भएका प्रतियोगिताको अनुभव सँगालेकी उनले स्वर्ण जित्न सकेकी थिइनन्। यही नै उनको खेल जीवनको पहिलो स्वर्ण बन्यो । जुनियर खेलाडीलाई लिएर एसियन क्याडेट र एसियन जुनियर जुडोमा प्रशिक्षण दिएको अनुभव पनि छ देविकासँग। 

सागअघि मंगोलियामा भएको प्रशिक्षणले उनको खेलकौशल निर्खान थप सहयोग पुग्यो । ‘मंगोलियामा राम्रो ट्रेनिङ भयो। ओलम्पियनहरुसँग सिक्ने मौका पाएँ। जसले स्वर्ण जित्ने विश्वासलाई अझै मजबुत बनायो,’उनले भनिन्, ‘नेपाली खेलाडीले माइनस तापक्रम हुने मंगोलियामा प्रशिक्षण गर्न पाउनु आफैँमा ठूलो कुरा हो । जुन म्याटमा भन्दा पनि कठिन थियो।’

प्रशिक्षण केन्द्र छैन

नौ वर्षयता सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट जुडो करिअरलाई अगाडि बढाउँदैछिन् देविका सशस्त्र प्रहरीमा उनीसँगै १० जना जुडो खेलाडी छन्। तर राष्ट्रिय टिममा पर्ने उनी एक्ली हुन्। 

सधैँ प्रशिक्षकको समस्या भोग्‍ने जुडोले अहिले प्रशिक्षण केन्द्रको समस्या भोग्दै छ। जसको साक्षी देविका पनि हुन्। ‘अहिले ५ जना प्रशिक्षक हुनुहुन्छ तर प्रशिक्षण केन्द्रकै अभाव छ', उनले सुनाइन्, 'हामी एमएमसी (बहुउद्धेश्यीय मार्सल आर्ट्स केन्द्र) र दशरथ रंगशालामा तालिम गरिरहेका छौँ।'

ओलम्पिक खेल्ने लक्ष्य

सागमा स्वर्ण जितेपछि अब उनको लक्ष्य बढेको छ। उनी अब देशका लागि ओलम्पिक खेल्न चाहन्छिन्। तर लक्ष्य पूरा हुनेमा उनी धेरै विश्वस्त छैनन्। 

‘अभावबीच सम्भावना खोज्दै यहाँसम्म पुगेँ, ओलम्पिकमा देशको चन्द्रसूर्य  झण्डा फहराउँदै मेडल ल्याउने इच्छा पुरा होला नहोला,' उनी भन्छिन, 'किसानकी छोरी हुँ, गोबर पन्छाउँदै धुलो माटोबाट खारिएँ। आमालाई दिएको बचन र काकाको विश्वास मर्न दिएको छैन। यसमा नै खुशी छु।’

अब छोडन सक्दिनँ

खेलेरै जीवन धान्‍न सक्ने अवस्था भइनसकेको देविका बताउँछिन्। तर खेल्नै पर्ने बाध्यता पनि उनी देख्छिन्। ‘खेलेरै जीवन धान्‍न गाह्रो छ। अवसर र सम्भावना छ तर व्यसायिकता छैन', उनी भन्छिन्, 'अझै पनि धेरैलाई यो खेलबारेमा जानकारी छैन। जुडोमा आधा जिन्दगी बिताइयो, अब छोड्न सकिन्‍न।’ 

सरकारले ओलम्पियन र मेडललिष्टलाई दिएको सुविधाले मात्रै नहुने उनी बताउँछिन्। खेलाडीको बिमासमेत गरिनुपर्ने उनको जोड छ। ‘जुडो त्यसै पनि जोखिमको खेल हो', उनले भनिन्, 'स्वास्थ्य बिमा भएमा घाइते हुँदा उपचारमा सहज हुन्थ्यो।

गाउँमा जुडो स्कुल

देविकाको जन्मथलोमा जुडो आधारभूत विद्यालय छ। यो खेलको नामबाट स्थापित झापाको एक मात्र विद्यालय हो । यो विद्यालय उनका काका गंगाबहादुर खड्काको पहलमा २०६७ सालमा खुलेको हो।

हाल खड्का परिवारमा तीनजना जुडोका राष्ट्रिय खेलाडी र प्रशिक्षक छन्। जुडोबारे पठनपाठन गराउने उद्धेश्यका साथ विद्यालय खोलिएको थियो। तर आर्थिक अभावले उक्त लक्ष्य पूरा नहुँदा देविका चिन्तित छिन्। 

‘जुन लक्ष्य राखेर स्थापना गरिएको छ, त्यसलाई पुरा गर्न दिलोज्यान दिएर लाग्छु,’ उनले सुनाइन्। नेपाल खेलकुद पत्रकार मञ्‍च समन्वय शाखा झापाले हरेक वर्ष वितरण गर्ने झापा स्पोर्टस अवार्ड २०७४ को विजेता पनि हुन् देविका। गत वर्षमात्रै विवाह बन्धनमा बाँधिएकी २९ वर्षीया देविकालाई श्रीमानको राम्रो साथ छ। परिवारबाट खेलमा कुनै बाधा नभएकाले अझै ५-७ वर्ष जुडोमै रमाउने अठोट रहेको उनले सुनाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.