फिचर

अशिक्षा र बाल विवाहले बढायो कर्णालीमा कुपोषण

फाइल फोटो
मंसिर २९, २०७६

    सुर्खेत : सुर्खेत गुर्भाकोट नगरपालिका मेहेलकुनाकी सुनिता बिकले गएको पौषमा विवाह गरिन्। उनी उमेरले अहिले १८ वर्ष मात्रै पुगिन्। तर, अहिले उनी एक बच्चाको आमा बनिसकेकी छन्। उनले जन्माएको बच्चाको तौल जम्मा १ किलो ७ सय ग्राम मात्रै छ।

    भर्खरै सुत्केरी भएर आएकी सुनिता राम्रोसँग बोल्न पनि सकिरहेकी थिइनन्। ‘व्यथाले पनि च्यापेर लामो रूप लियो, बच्चाको अवस्था कस्तो छ त्यो मलाई थाहा छैन,' उनले भनिन्, 'विवाह त लभ परेर गरेको हो। तर, आमा हुँदा के-के गर्नुपर्छ त्यो मलाई राम्रोसँग केही पनि थाहा छैन।'

    सुर्खेत वीरेनद्रनगर नगरपालिका ६ की तुलसरा सिंह यो वर्ष आफ्नो छोरी कुपोषण भएको हुनाले पोषण गृहमा गएकी छन्। उनको विवाह पनि १७ वर्षको उमेरमा भएको हो। १८ वर्षको हुँदा उनको पहिलो सन्तान जन्मिएको थियो। तर, त्यो सन्तान बाँचेन। 'सात महिनामा नै बच्चा जन्मेको हुनाले बचाउन गाह्रो भयो', उनले भनिन्।

    उनको पछिल्लो वर्ष एक छोरा भयो, छोरा भएको एक वर्षपछि अर्को छोरी जन्मिन्। तर, उनले त्यो छोरीलाई त्यो बेला पूरा दूध खुवाइनन्। त्यो दूध एक वर्षअघि जन्मिएको छोरालाई खुवाइन् र त्यो छोरीलाई कुपोषण भयो। उनले भनिन्, ‘छोराले यसले खाने दूध खाएर मोटाएको छ। तर, यसलाई कुपोषण भयो।'

    दैलेख पातिकाल्नाकी सुन्तली शर्माको पीडा अझ फरक छ। उनले  पनि १८ वर्षको हुँदा विवाह गरिन्, १९ वर्षको हुँदा पहिलो सन्तानलाई जन्म दिइन्। उनी आफैँ भन्छिन्, ‘एउटा त मेरो उमेर नपुगेर मैले विवाह गरेँ, बच्चा जन्माउने बेला धेरै पीडा भयो।  गाँउमा गाई भैँसी पालेको छन्। घाँस लिन जानको लागि धेरै टाढा जानुपथ्र्यो, मैले छोरीलाई समयमा दूध खुवाउन सकिनँ, त्यसैले मेरो छोरीलाई कुपोषण भयो।'

    उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन्। कर्णाली प्रदेशको पहाडी भू-भागमा अहिले पनि परिपक्क भएर विवाह गर्नुपर्छ भन्ने चेतना आउन सकेको छैन। सानै उमेरमै विवाह गरेर अपरिपक्क उमेरमा नै बच्चाको आमा हुनुले यहाँका अधिकांश बालबालिकाहरू कुपोषणको शिकार हुने गरेका छन्।

    कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण गृहमा उमेर नपुगेका १९ वर्ष मुनिका बच्चाको आमा प्रायः आउने गरेका छन्। पोषण गृहको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै एक सय तीनजना आएका थिए। तीमध्ये कोही पूरा बसेर जान्छन्, कोही घरको काम देखाएर बीचमै छाडेर पनि जाने गरेको पोषण गृहकी ईन्चार्ज प्रभा सिंहले बताइन्।

    ‘कुपोषण गृहमा आएका आमा र बालबालिकालाई हामीले उनीहरूको अवस्थाअनुसार विभाजन गरेर राख्ने गरेका छौँ। अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ जना, र  मध्यम कुपोषण भएका ३८ जना आएका थिए। कोही पूर्णरूपमा निको भएर गए भने कोही बीचमै छाडेर गएका थिए,’ उनले भनिन् ‘हामीले यो वर्ष आमाहरूको रेकर्ड राखेका छैनौँ, तर, अघिल्लो वर्षको रेकर्डअनुसार प्राय: आमाहरू १९ वर्ष मूनिको थिए।'

    उमेर नपुगेर विवाह गर्ने क्रम कर्णालीमा पछिल्लो समय निकै बढेको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्का बताउँछन्। ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि अप्रेशनका माध्यमबाट धेरै डेलिभेरी गराएको छु, जुन १९ वर्षभन्दा मुनिका आमाहरू धेरै छन्' उनले भने, ‘बच्चाहरूको जन्मअन्तर पनि खासै फरक देखिँदैन।'

    उनले धेरै आमाहरूलाई जन्मअन्तर कम्तिमा पनि पाँच वर्षको फरक पार्नुपर्छ भनेर धेरै पटक भने पनि यो ठाँउको धेरै बच्चा जन्माउने संस्कारको रूपमा विकास भइसकेको उनले बताए। यसलाई राज्यस्तरबाट कानुनी बाटो नपनाए भविष्यमा ठूलो खतराको रूप लिने डा. खड्काको भनाइ छ।

    'यो क्षेत्रको लागि समान्य प्राइमेरी एजुकेशनको लागि सरकारले ध्यान दिनुपर्ने हो, तर अहिलेसम्म यो सरकारको तर्फबाट हुनसकेको छैन,' डा. अर्चना कार्की ले भनिन्, ‘म आफू एक डा. मात्रै होइन, म एक आमा पनि हो, त्यसैले अहिले गाँउ-गाँउमा युवकयुवतीलाई छिटो विवाह गरेपछि के हुन्छ, धेरै ढिलो विवाह गरे के हुन्छ, यसको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरी छ।'

    डा. कार्कीले सरकारले यो कर्णालीको यो अवस्थालाई ध्यान नदिने हो भने आउने भविष्यमा यो कुपोषणका कारण समाजले धेरै समस्याहरू झेल्नुपर्ने अवस्थाको सृजना हुने बताइन्।

    यता, बाल रोग विशेषज्ञ डा. नवराज केसीले कर्णालीको यो समस्यालाई राज्यस्तरबाट नसोच्ने हो भने आउने पिँढीले पूरै बौद्धिकता गुमाउने बताए। उनले भने, ‘त्यसैले यो समस्यालाई हामीले छिटो समाधानको बाटो खोज्न तिर लाग्नुपर्छ।’

    बच्चा कस्तो बनाउने र त्यसलाई कस्तो शिक्षा दिने, यी सबै कुरा आमाको हातमा भएकोले विशेष गरी आमाले धेरै कुराको ध्यान दिन जरुरी भएको उनको भनाइ छ। बच्चाहरू हुर्काउन क्रममा आमाबुवाले कर्णाली जस्तो ठाउँमा लैंगिक विभेद गर्नाले पनि कर्णालीका बच्चाहरूमा केटाभन्दा केटीमा धेरै कुपोषण देखिने गरेको डा. केसीले बताए। कुपोषण अन्त्यको लागि सरकारको तर्फबाट प्राइमेरी शिक्षाको जरुरी भएको उनको भनाइ छ।

धर्मराज जिसी

जिसी थाहा खबरका सुर्खेत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]