थाहा संवाद

मान्छेको जीवन पढ्‍न सके कहिल्‍यै एक्लो फिल हुँदैन

रमिता हेरेर निदाएको छ, स्वार्थी काठमाडौं

पुस १९, २०७६

    काठमाडौं : रोहित दाहाल रिचमन्ड बुक्स पसल सञ्चालक हुन्। शब्द पढ्ने मोहले महाराजगञ्‍जको सडकमा ६ वर्ष पसल सञ्‍चालन गरे। भाटभटेनी र नारायण थानमा पुस्तक पसल छ। सडकको पसलमा सटरमा विकास भयो।

    सडकले उनलाई दुई ठाउँमा पसल सञ्‍चालन गर्न मात्र सहयोग गरेन। असल पाठक पनि बनाएको छ। पाठक घटे, हेडलाइन हेरेर पत्रिका पढेजस्तो गर्ने पाठक बढिरहेका छन्।प्रविधिको विकास भइसकेको छ। समयलाई प्रविधिले कब्जा गर्ने बेला भइसकेको छ काठमाडौंको समाजले समग्र देशको समाजलाई नेतृत्व गरोस् भन्ने चाहना छ उनलाई।

    'मौलिक समाज पलायन भइसकेको छ,' उनले भने। आयातित समाजले काठमाडौं बनेको उनको धारणा रहेको छ। उनै व्‍यवसायी दाहालसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानीको अंश :

    के गर्दै हुनुहुन्छ?

    दैनिकी कर्म गरिरहेको छु। पत्रिकाको माध्यमले समाचार बेचिरहेको छु।

    तपाईंले बेच्ने पत्रिकामा कस्ता समाचार हुन्छन् त?

    पत्रिकामा जस्तो समाचार आउँछ त्यस्तै बेचिरहेको छु। मेरो इ्च्छाको समाचार आएको हुन्न। आक्रोश र भ्रष्टाचारको समाचार बढी छन्। समाचारको हेडलाइन पढेर समाचार बुझ्ने पाठक बढे। विकासको समाचार आउनुपर्ने हो तर आउँदैन। अगाडिको पेजमा खुसी बनाउने समाचार त महिनामा चार दिन मात्र हुन्छ।

    कुनै समय सडकमा बसेर पत्रिका बेच्नुहुन्थ्यो अहिले सटरमा हुनुहुन्छ कस्तो फरक पाउनुभयो?

    सडकमा हुँदा सार्वजनिक यातायातको सहचालकले पत्रिका किन्थे। पढ्ने र चाहना सबैमा हुँदोरहेछ। सडक साझा थियो अहिले त निजी जस्तो भएको छ। सडकबाट धेरै छुट्याएको जस्तो लाग्छ। कुलिन वर्गका देखि निम्नवर्गका मानिसहरूले पत्रिका खरिद गर्थे। सटरमा आए निश्चित ग्राहक छन्। पत्रिकाका पनि वर्गीय ग्राहक पाए। यहाँ त कार्यालयका ग्राहक र धनाढ्य मानिस बढी ग्राहक छन्।

    पुस्तक पसल नै छनोट गर्नुको कारण?

    विद्यालयको पुस्तकालयमा पुस्तक पढेको थिए। त्यस पुस्तकको केही लाइनले छोएको थियो। पुस्तकको लाइनले छोएको कारणले पुस्तक पसल सञ्‍चालन गरेको हुँ।पुस्तक पसल गर्दा केही फाइदा नभए पनि पढ्न पाइन्छ भन्ने लागेर हो। पढेर केही सिकेँ, विद्यालयमा नपढेका पुस्तक पसलमा बसेर पढेँ।

    पत्रिका पढ्ने पाठक कतिको आउँछन्?

    पाठक घटे। प्रविधिको विकास भएको छ। मानिसका हातहातमा समाचार आउन थाले। पत्रिका पढ्ने पाठक पनि घटिसकेका छन्। 

    पत्रिका किन्न कस्ता ग्राहक आउँछन्?

    सबै प्रकारका मानिस आउँछन्। विद्यार्थी, शिक्षक र राजनीति गर्ने मानिस पनि आउँछन्। 

    पत्रिका बेच्ने मानिस तपाईंआफू चाहिँ पत्रिका कतिको पढ्नुहुन्छ?

    पढछु, आँखा अगाडि हुन्छन्। मुख्य समाचार हेर्छु, पत्रिका किन्नेले त्यहीँ समाचारको बारेमा एकछिन गफ गर्छन्, त्यसैबाट पनि जानिन्छ। आजको समाचार के रहेछ भनेर पुरापुर बुझिन्छ।

    समाचार मात्र बेच्नुहुन्छ वा मानिसले के पढिरहेका छन् भनेर विचार गर्नु्हुन्छ?

    मानिसलाई बढी के मा चिन्ता रहेछ भनेर त्यो थाहा पाएको छु। मानिस सबैभन्दा बढी बाच्न खोजिरहेको छन्। कस्तो रोजगारीको विज्ञापन आएको छ भनेर पत्रिका हेर्छन्। किन विज्ञापनमा बढी लालयित छन् यो गम्भीर विषय हो। अब सधैँभरी पत्रिकाको विज्ञापन खोज्ने होइन जस्तो लाग्छ।

    पुस्तक, पत्रिकाको व्यापार गर्ने व्यापारी भएको नाताले ग्राहकलाई कसरी हेर्नुहुन्छ?

    मानव जाति जिज्ञासु स्वभावको हुन्छ। सधैँ केही न केही खोजिरहेको हुन्छन्। नयाँ खोज्ने बानी भएकोले नै अरुभन्दा फरक बन्नको लागि उनीहरू यसरी सहरमा अक्षरभित्र कथा  र समाचार खोजिरहेको छन्। हरेक दिन केही नयाँ कुरा खोज्न र पाउनको लागि हिँडिरहेका छन्।

    कस्ता-कस्ता पुस्तक पाइन्छ पसलमा?

    विद्यार्थीका,लोकसेवा तयारीका पुस्तक, आख्यान, गैरख्यान सबै खालका पुस्तक पाइन्छ।

    पाठकको रोजाइ कस्तो भेट्नुहुन्छ?

    समाज बुझ्ने पुस्तकहरूको बढी माग छ। लेखकभन्दा पाठक गम्भीर हुन थाले। पाठक लेखकभन्दा उत्कृष्ट भइसके।

    पुस्तक बिक्रेता पनि हुनुहुन्छ। पुस्तक कत्तिको पढनुहुन्छ?

    पढछु।

    कुन पुस्तक पढनु हुँदै छ?

    सन्दुक रुइतको पुस्तक पढिरहेको छु।

    कस्ता पुस्तक पढ्नमा रुचि छ?

    ऐतिहासिक घटनामा आधारित पुस्तक बढी पढ्छु। प्रसिद्ब व्यक्तिका जीवनी मेरो रोजाइमा पर्छ।

    मनपरेका  लेखक?

    बिपी कोइराला। उनका पुस्तकमा सारा कुराहरू छन्। एउटा मानवको लागि जे कुराको आवश्यक पर्छ त्यो सायद बिपीको लेखनमा छ। सामाजिक,राजनीतिक, यौन मनोविज्ञान र सांस्कृतिक सम्पूर्ण कुराहरू पाइन्छ। उनी राजनीतिज्ञ मात्र थिएनन कुशल स्रष्टा र द्रष्टा पनि थिए।

    कुन समयमा बढी पुस्तक पढनु भयो?

    २९ वर्षअघि अर्थात् काठमाडौं आएको वर्ष बढी पढेँ। त्यो समय म काठमाडौं पुस्तक पढ्ने लालचले नै छिरेको थिएँ। पत्रपत्रिकाको पसल  शब्दसँग प्रेम भएर सुरुवाती गरेको हुँ।

    पसलमा बस्नुको रोचक पक्ष केही छ?

    मानिस आउँछन् जान्छन्। भाव भंगीले मलाई केही असर गर्दैन। हरेक मानिस केही न केही बोलिरहेका हुन्छन्। शब्द सिक्छु त्यहाँ शब्द मात्र सिकेको हुन्‍नँ तिनीहरूको बाँचेको जीवन हेर्छु। त्यो मेरो सिकाइको महत्वपूर्ण पक्ष हो। सबैभन्दा मनपरेको कुरा कमसेकम पुस्तकको बीचमा हुन्छु, मलाई कहिले एक्लो महसुस हुँदैन मेरो लागि रमाइलो पक्ष नै यही हो। 

    पुस्तक पढनु भनेको के रहेछ?

    सन्तुष्ट प्राप्त गर्छु। अर्को कुरा,पाठक पुस्तक किन्न चाहन्छ भने कस्तो छ भनेर सोध्छन् अनि मात्र किन्छन्, त्यसबेला पुस्तकको बारेमा केही भनिदिन्छु। पुस्तक केही होइन तर पनि मैले जे गरे त्यो एकदमै राम्रो काम गरिरहेको छु। मानिस यति धेरै आउँछन्। तिनका अनुहार हेर्छु। पढ्न त धेरै बाँकी धेरै रहेछ। पढ्ने काम छोडेर किन मानिस यसरी बरालिएका छन् भन्ने लाग्छ। पढ्दा नौलोपन भएको आभास हुन्छ।

    काठमाडौं बसेको धेरै भएछ। कस्तो लाग्छ यहाँको समाज?

    यहाँको समाज बुझिनसक्नुको छ। कहिले बुझेर सकिँदैन। यो समाज आयातित हो। मौलिकता हुने समाजबाहिर पलायन भइसकेका छन्। बाहिरी जिल्लाबाट आएका बढी छन्।

    काठमाडौंको समाजले झ्यालबाट चियाइरहेको छ। देखिनुपर्ने कुराहरू यो समाजले देख्न सकेको छैन। आखिर यहीँबाट मुलुक चलिरहेको छ। काठमाडौले समग्र समाजको नेतृत्व लिनुपर्छ। यहाँ शिक्षित वर्ग उदाहरणीय समाजका व्यक्तिहरूको बसोबास छ। बोल्नुपर्ने समाज बोलेको छैन। बोल्नेले लय बिनाको आवाज निकालेको छन्।

    काठमाडौं के गरेर बसेको छ?

    निदाएको छ। रमिता हेरेर बसेको छ। स्वार्थीहरूको जमात छ। मानिस भनेको स्वार्थको खानी हो। यहाँँ कोही मानिस पनि नि:स्वार्थ भावनाले बसेका छैनन्। यदि त्यस्तो हुन्थ्यो भने काठमाडौ अनुकरणीय समाज हुन्थ्यो।

    खोटाङमा प्रायः सबै सुविधा छ फेरि, किन काठमाडौंमा बसिरहनु भएको छ ?

    सुविधा वृद्बि हुँदैछ, प्रसिद्ब धार्मिक स्थल पनि छन्। तर, काठमाडौंको जस्तो फ्लेभर पाइन्न खोटाङमा यहाँ कमसेकम पत्रपत्रिका समयमा पढन पाइन्छ। घटनाको छिटो जानकारी पाइन्छ। यहीँ हो काठमाडौंको सुविधा हो।

    खोटाङ र काठमाडौंको समाजमा के फरक पाउनु भयो ?

    खोटाङ उठ्दै छ,काठमाडौं सुत्दै छ। खोटाङले पाइला चालेको छ। अगाडि बढनको लागि समाज बन्दैछ। नयाँ आयाम थपिएको छ। दायरा बढयो खोटाङको। शिक्षित समुहको मानिस बढे, घर बढे। सबैथोक यहीँ भएको ठाउँमा काठमाडौंले सबैलाई नेतृत्व गर्नुपर्ने हो तर, सकेन।

    बिल्डिङ बढे तर जीवन्त छैनन्। सहर हो।यहाँ त मानिसभन्दा बढी समाज सक्रिय हुनुपर्ने हो तर, भएन। काठमाडौंमा निर्जीव बाँचिरहेको छ। विवशताको जीवन मात्र छ। आफूखुसीको अर्थ मात्र दिन्छन्। अरुले बुझ्ने गरी अर्थ बनाउन सकेन यो काठमाडौंले। 

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]