थाहा संवाद

'नियत' : चम्किलो आवरणमा लुकेको अँध्यारो कथा

सपना पूरा गर्दा शोषित हुनु हुँदैन

पुस २६, २०७६

    लामो समयदेखि पत्रकारितामा सक्रिय छन् डिबी खड्का। उनले नेपाली मनोरञ्‍जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरे। पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको निष्कर्ष उनले निकालेका छन्।

    सीमित महिलाबाहेक यस क्षेत्रमा लागेका अधिकांशको अनुहारमा देखिने हाँसोभित्र छुट्टै पीडाको सागर देखेका छन् उनले। तिनै महिला कलाकारहरूमध्ये केहीले भोगेको हिंसालाई खड्काले पुस्तकका रूपमा आकार दिएका छन्। सोमबारदेखि बजारमा आउन लागेको पुस्तक 'नियत'माथि थाहाखबरकर्मी राजु पौडेलले लेखक डिबी खड्कासँग गरेको संवाद :

    'नियत' प्रकाशनमा ल्याउनुपर्ने कारण किन देख्नुभयो? 

    ग्लामर दुनियाँ चम्किलो छ भन्‍ने धेरैको मानसिकता छ। फिल्मी-कलाकारिता क्षेत्रमा देखिएको चम्किलो आवरणभित्रको अँध्यारो पाटोका कथा नियतभित्र छन्।

    यसमा उज्यालो क्षेत्रका अँध्यारो पाटो समेटिएको छ। नियतले अँध्यारो हुनुहुँदैन थियो भन्‍ने विषय उजागर गरेको छ।

    लेख्‍न बाँकी धेरै कथा हामीमाझ छन्? यही कथालाई उजागर गर्नुको  रहस्य?

    समाजमा लेखिन बाँकी धेरै कथा छन्। मेरो पेशा पत्रकारिता हो। मनोरञ्जन दुनियाँमा हुने हिंसा र घटनामाथि प्रश्‍न पनि गरेको छु। पत्रकारिताको सिद्धान्तमा बसेर  ती घटनाबारे समाचार बनाएँ।  तीमध्ये कतिपय घटना पत्रकारितामार्फत समाजमा प्रस्तुत गर्न मिल्दैन थियो। त्यसलाई पुस्तकमार्फत बाहिर ल्याउनु परेको हो। म परिबन्धमा परेर लेखक भएको हुँ।

    कसका कथा छन्

    ३५ नायिका‚ गायिका र मोडलका कथा छन्। जसले आफ्नो सपना पूरा गर्न रंगीन दुनियाँमा आए। उनीहरूले सपना पूरा गर्दा भोगेका हिंसा केलाउने कोसिस गरेको हुँ। ती महिलाहरू जो अहिले पनि कलाकारिता क्षेत्रमा छन्, उनीहरूले भोगेका हिंसाका अनुभूति छन्। रंगीन दुनियाँभित्र हुने बदमासीलाई पुस्तकमा देखाउन खोजिएको हो। 

    पुस्तकमार्फत अँध्यारा पाटोबारे बताइरहँदा उज्यालो पाटोबारे के अनुभव गर्नुभयो?

    मनोरञ्जन दुनियाँ यस्तो ठाउँ हो, जहाँ उज्यालोबाहेक केही देखिँदैन। १२ वर्षे पत्रकारिता जीवनमा कैयौं उज्यालो देखेको छु। तर, कम अँध्यारो देखेँ। मैले अँध्यारै अँध्यारो देखेर अँध्यारोको कथा लेखेको होइन। उज्यालोमा लुकेका अँध्यारो लेखेको हुँ। तथापि, ग्ल्यामर दुनियाँमा लागेर आफ्नो अस्तित्व स्थापित गर्ने पनि हुनुहुन्छ। पहिचान बनाउने पनि हुनुहुन्छ। सेलिब्रिटीहरू पनि हुनुहुन्छ। यो पाटोबारे पनि म जानकार छु। उज्यालो देख्नेहरूले अँध्यारो पाटोबारे पनि जानकार हुनुपर्छ। यही मेरो निचोड हो। 

    समाज र रंगीन दुनियाँभित्र भएका विसंगतिविरुद्ध सेलिब्रेटीहरू उभिए भने त्यसको प्रभाव झन् बढी हुने गर्थ्यो। के उनीहरू यो विषयमा सचेत छन्?

    उनीहरू सचेत छन्। तर, समस्या कहाँनेर हो भने बाहिर नखुल्नु आफ्नै बाध्यता छन्। आफैँमाथि भएका शोषणबारे बोल्दा भोलि काम नपाइने हो कि भन्‍ने डरले पनि  खुल्न सकेका छैनन्। सचेत हुँदाहुँदै आफ्नो हानि हुने डरले पनि कलाकारहरूको आवाज बाहिर आउन सकेको छैन। 

    सम्मानले बाँच्नुभन्दा ठूलो सपना होइन। काम पाइँदैन भन्‍ने डरले आफूमाथिको हिंसाबारे बोल्न नसक्नुले त  कलाकारको क्षमतामाथि पनि प्रश्‍नचिह्न खडा हुन्छ नि होइन र?

    सपना देखेबापत शोषण भएको हो। सपना देखेर कलाकारिता क्षेत्रमा आएका व्यक्तिको संरक्षण गर्नु दायित्व सबैको हो। सपनालाई मूर्तरूप दिन उनीहरूले चाहेरभन्दा बाध्यताले हिंसा भोग्नु परेको हो।

    उनीहरूले कस्ताकस्ता हिंसा व्यहोरे? तपाईंको पुस्तकले समेटेका हिंसाबारे केही बताउनुस् न?

    मैले पुस्तकमा यौनहिंसामा परेका महिलाको मात्र कथा समेटेको छैन। यौन हिंसाका त दुईवटा मात्रै कथा छन्। रंगीन दुनियाँमा लागेका महिलामाथि हेरिने दृष्टिकोणलाई पनि केलाएको छु। समाजले उनीहरूलाई हेर्ने दृष्टिकोणको विद्रुप पाटो  पनि छ। मेला, महोत्सवमा महिलालाई गरिने व्यवहार पनि पुस्तकले समेटेको छ। करिब सात दृष्टिकोणबाट महिलाले भोगेका हिंसा कथामा छन्।

    महिला हिंसाका कथा लेखिरहँदा  ग्ल्यामर दुनियाँमा पुरुषमाथि कुनै हिंसा भएका छैनन्? अथवा पुरुषसम्म तपाईं पुग्नु सक्नुभएन?

    पुरुष हिंसामा परेका होलान्। मलाई उनीहरूले पीडा सुनाएनन्। त्यति मात्रै होइन, यो समाजमा पुरुष हिंसामा पर्न धेरै तत्व मिलेको हुनुपर्छ। तर, महिला पीडित हुनका निम्ति महिला भए पुग्छ। फिल्मी वा कला क्षेत्रको पुरुषलाई प्रयोग गर्ने कम छन्। कलामा क्षेत्रमा लागेका पुरुषमाथि समाजको दृष्टिकोण महिलाको तुलनामा धेरै सकारात्मक छ।

    पत्रकारहरू साहित्य लेखनमा आइरहेका छन्। नेपाली साहित्यको स्तरवृद्धिमा पत्रकारको उपस्थितिले प्रभाव पार्ने आधार के छन्?

    यसमा दुई कुरा छन्। यसलाई फरकफरक पाटोबाट हेर्नुपर्छ। लेखकका रूपमा पत्रकाहरू आउनु खुशी हुनुपर्छ भन्‍ने मलाई लाग्ला। तर, त्यति धेरै खुसी हुनुपर्ने आधार छैनन्। कुनै दिन किशोर नेपालले भन्‍नुहुन्थ्यो, 'नेपाली पत्रकारसँग ६० वटा जति शब्द छन्। तिनै दोहोरिन्छन्।'  भन्‍नुको मतलब बिम्ब वा शब्द खेलाउने कुरामा हामी परांगत छैनौँ।

    तर, खुशी हुनुपर्ने कुरा के भने साहित्य भाषा मात्र होइन। साहित्य लेख्‍ने तरिका मात्र पनि होइन। साहित्य 'कन्टेन' पनि हो। कुनै पत्रकारहरूसँग 'कन्टेन' हुन्छ त कुनैसँग भाषा र शैली। साहित्य लेखनमा पत्रकारको आगमन सुखद् हो। दुःखी हुनुपर्ने कुनै कारण नै छैन। 

    लामो समय पत्रकारिता गर्नु भएको तपाईंले लेखकका रुपमा आफूलाई चाहिँ कसरी मूल्यांकन गर्नुहुन्छ? 

    सुरुवातमा लेख्‍न सक्छु भन्‍ने विश्वास थियो। तर, लेखक नै हुन्छु भन्‍ने विश्वास थिएन। लेख्‍न बस्दा पुस्तकनै लेख्छु भन्‍ने पनि थिएन। तर, पीडित महिलाले मलाई सुनाएका कथाहरूले एउटा तरंग ल्याइरह्‍यो। ती महिलामाथि अन्याय हुने कुराले चिमोटिरह्‍यो। ती आवाजलाई व्यवस्थित गर्न मैले लेख्‍न थालें। मेरो 'नियत'माथिको 'कन्फिडेन्स' भनेको कण्टेन हो। मेरो भाषालाई मान्छेले राम्रै मान्लान्।  कण्टेनमाथि मलाई विश्वास छ।

    विषयलाई कथाको रूप दिँदा कतिपय हकमा भावनात्मक र कल्पनाशील हुनुपर्छ। हदभन्दा बढी विद्रुप कथासँग जोडिएर त्यसलाई कल्पना गर्न  सकिने हदसम्म मात्रै प्रस्तुत गर्ने अवस्था आयो कि आएन?

    कुनै पनि काल्पनिक पात्र मसँग छैनन्। ती यथार्थ पात्रहहरू हुन्। पाठकहरूले यी कथा पढ्दा यस्ता घटना पनि हुन सक्छन् र भनेर देखाउन मसँग सीमा थियो। 'रियल पात्र'का अनुभूतिलाई कथा जसरी देखाउनु थियो। यसमा  मैले कल्पनालाई भन्दा प्रस्तुतिमा ध्यान दिएको छु।  

    हरेक पाठकलाई घटनाका दृश्य ल्याउनका निम्ति तिनलाई सरल रूपमा पाठकले बुझ्ने तरिकाले ठाउँ र अवस्थालाई पनि मध्यनजर गर्ने अवस्था आएको थियो। 

    सुरुमा नै लेखक बन्छु भन्‍ने विश्वास थिएन भन्‍नुभएको छ। के कुराले लेखक बन्‍ने आधार तय गर्‍यो?

    हो, मलाई  कुनै लेखक बन्छु भन्‍ने विश्वास थिएन। म लेखक बन्‍न किताब लेखेको होइन। मेरो पुस्तकले नेपाली वाङ्‍मयमा ठूलो भूमिका खेल्छ भन्‍ने कुरामा पनि म विश्वस्त छैन। मेरो एउटै स्वार्थ के हो भने म रंग दुनियाँको अँध्यारो पाटोबारे  बहसको आरम्भ गर्न चाहन्छु। यो नै मेरो लेखक बन्‍ने आधार हो।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]