विचार

पुँजीवाद एक्लै आउँदैन, भ्रष्टाचार पनि बोकेर ल्याउँछ

दायित्वबोधको शुभकामना दिनुस्

पुस २८, २०७६

    आज बिहान पाँच बजेपछि म ६७ वर्ष लागें। वि.सं. २०१० साल पुस २८ गते मेरो जन्म भएको हो। आज सबै मित्रहरूले मलाई शुभकामना दिनुहुन्छ। म आभारी हुनेछु। तर, मेरा प्यारा साथीहरू-हामी जति बाँच्छौं, कुर्सीमा रमाएर बस्छौं भन्‍ने सोच राख्‍न हो भने हामी कसरी क्रान्तिकारी परिवर्तनका संवाहक बन्‍न सकौंला? यस्तो सोचले हामीलाई लोभी, जड र राजनीति विकासविरोधी बनाउँछ।

    अध्ययन र लेखनमा लाग्‍नुस्‌, जनताको बहुदलीय जनवादको व्याख्या विश्लेषणमा लाग्नुस, संगठनको कार्यकारी नेता, आफूले तयार गरेका कार्यकर्तालाई दिनुस र असल सल्लाहकारको भूमिका निभाउनुस् भन्‍ने शुभकामना दिनुस्।

    अहिले पाएको जिम्मा पूरा गर्न म सक्छु। जीवनपर्यन्त नै सक्छु। तर, यसभन्दा बढी भार बोकाउनुभयो भने म पनि पार्टीको जड नेता हुनेछु। यद्यपि, यति सजिलो गरी आफ्नो कुरा इमानदारीपूर्वक राख्‍न सक्ने पहिलो तहका नेताहरू अरू कति हुनुहुन्छ मलाई थाहा छैन। 

    राजनीतिमा उमेरको हद राख्न मिल्दैन। यो भारतका असफल नेताहरूबाट नेपालमा सरुवा भएर आएको बिमारी हो। तर, जीवनलाई पनि प्रकृतिबाट अलग्याएर हेर्न मिल्दैन। धर्तीमा आएपछि जो कोहीले पनि जानैपर्छ।

    हिजो हामी नेकपा एमाले हुँदाखेरि हामीले एउटा विधि बनाएका थियौं-नेतृत्वको अन्तिम उमेर ७० वर्षसम्म मात्र हुने, ८० वर्षसम्म सल्लाहकार हुने। ८० भन्दा माथि आरामको ज्येष्ठ कम्युनिस्ट हुने र पार्टी सम्मानित नेता हुने। सके केही गर्ने, नसके ढुक्कले आराम गरेर बस्‍ने।

    तर, एमाले, एकीकरणपछि नेकपा हुँदा त्यो ७० वर्षे प्रावधानलाई हटाइएछ। ७० वर्षमाथिका सल्लाकारका कारण नेतृत्वले निरन्तरता पाइरहने सम्‍भावना थियो, अब के हुने हो, केही भन्‍न सकिन्‍न।

    राजनीतिमा उमेरको हद राख्‍न मिल्दैन। यो भारतका असफल नेताहरूबाट नेपालमा सरुवा भएर आएको बिमारी हो। तर, जीवनलाई पनि प्रकृतिबाट अलग्याएर हेर्न मिल्दैन। धर्तीमा आएपछि जो कोहीले पनि जानैपर्छ।

    धर्तीमा जन्मिएपछि बाल्य अवस्था वर्गीय हैसियतको लाडप्यारमा बित्ला। धनीले आफ्नो सन्तानले जे माग्यो त्यही पुर्‍याइदेलान्। गरिबले पनि आफ्नो गच्छेअनुसारको माया ममता नै दिन्छन्। युवावस्था शारीरिक, मानसिक  काममा बित्छ।

    अधवैंशे भएपछि यस्सो आराम गर्न मन लाग्छ। वृद्धावस्था त आरामको आयु हो। यो नै प्रकृति हो र प्रकृतिलाई वरपर गर्नु भनेको विनाश हो। हिजोका धेरै उदाहरण हामीले पढेका छौं र अहिले देखिरहेका छौं, भोगिरहेका छौं। चीनका मुक्तिनायक माओचतुङले बुढेसकालमा लिएको सांस्कृतिक क्रान्तिको निर्णयले चीनमा विनाश निम्त्याउने काम मात्र गर्‍यो।

    चिनियाँ कम्युनिस्ट पार्टीको यो निष्कर्षलाई नमान्‍ने विश्वभरिका पछुवा कम्युनिष्ट पार्टीका नेताहरूले आफ्नो पार्टीलाई पनि ध्वस्त पारेको दर्जनौं उदाहरण छन्। झण्डै सत्ता पल्टाउन आँटेका फिलिपिन्स कम्युनिस्ट पार्टी तथा मलया र थाइल्याण्डका कम्युनिस्ट पार्टीलाई सिध्याउने त्यही सांस्कृतिक क्रान्तिको माओचतुङ विचारधारा हो।

    भारतको कम्युनिस्‍ट पार्टीको विकासमा अवरोध पुर्‍याउने चाहिँ नेताहरूले ८० वर्षसम्म पनि पद नछोड्नु नै हो। नेपालमा, नेपाली कांग्रेसमा विकासको बाधक पनि वृद्ध नेतृत्व नै हो।

    सबै प्रकारका कर्मचारीहरू ६०-६५ वर्षमा अनिवार्य अवकाशमा जानैपर्ने, अनि शासन प्रणालीका नेता चाहिँ सदाबहार नेतृत्वमा रहिरहने स्वभावले परिवर्तन भइरहने समयलाई कसरी नेतृत्व गर्न सक्छ? अहिलेसम्म नेकपाले जेनतेन ज्यान  धानेको छ। तर, बेलैमा नसोच्ने हो यो पनि नेपाली कांग्रेस जस्तै सिद्धान्तहीन पार्टीमा परिणत हुन्छ। ढिलो चाँडो नेकपाको पनि महाधिवेशन होला।

    दशौँ महाधिवेशनमा नेतृत्वको पुस्ता परिवर्तन भएन भने हामी पनि ‘नेपाली क्रान्तिका सिद्धान्तकार मदन भण्डारी’ भन्दै उहाँलाई पनि बिपी कोइरालालाई जस्तै देवत्वकरण गरेर पार्टीलाई विचल्लीमा पार्ने नेता कार्यकर्ता जस्तो हुनेछौं। 

    राजतन्त्रबाट संघीय गणतन्त्र राजनीतिको निकै ठूलो फड्को हो। हिजो हामी सिंहदरबारलाई स्वस्ती गर्ने ठाउँमा थियौं भने अहिले नेपालका शासन गर्ने क्षमता पाल्ने पार्टीका नेताहरू सिंहदरबारमा निहित अधिकारलाई पालिका सरकारको जिम्मा लगाएको भाषण गरिरहनु भएको छ।

    प्रधानमन्त्री केपी ओलीलाई अहिले आलोचना गर्न मिल्दैन। उहाँले गरेका दर्जनौँ कामहरूले नेपाललाई अग्रगमन दिएका छन्। कहिल्यै भन्दा धेरै विकास निर्माणको काम भएको छ। ठूला भ्रष्टाचारी भकाभक समातिँदा हामीले पुँजीवादमा पनि छलाङ मार्‍यौं कि जस्तो लाग्छ। तर, यस्‍तो लाग्‍नु सत्य होइन।

    जहिलेसम्म भ्रष्ट कर्मचारीतन्त्र जनताका प्रतिनिधिभन्दा माथि हुन्छ त्यतिन्जेलसम्म पुँजीवाद अलिकति पनि हल्लिन सक्दैन। समाज विकासको क्रममा पुँजीवाद एक्लै जन्मिँदैन। त्यसले आफूसँग जुम्ल्याहा भाइका रूपमा भ्रष्टाचारको सालनाल पनि बोकेर आएको हुन्छ।

    विगतमा हामी गरेको गल्ती, प्रणाली फेरिने तर जंगबहादुर राणाले स्थापित गरेको, २००७ सालको ‘कथित परिवर्तन’ले निरन्ता दिएको, पञ्‍चायतले मलजल गरेर बलियो बनाएको स्थायी सरकार भनिने प्रशासनिक संरचना चाहिँ जस्ताको त्यस्तै राखिने कामले अहिले राजीनिति र प्रशासनको नेतृत्व गरिरहेका हाम्रा नेताहरूलाई अप्ठ्यारोमा पारेको हो।

    राजतन्त्रबाट संघीय गणतन्त्र राजनीतिको निकै ठूलो फड्को हो। हिजो हामी सिंहदरबारलाई स्वस्ती गर्ने ठाउँमा थियौं भने अहिले नेपालका शासन गर्ने क्षमता पाल्ने पार्टीका नेताहरू सिंहदरबारमा निहित अधिकारलाई पालिका सरकारको जिम्मा लगाएको भाषण गरिरहनु भएको छ। यो भाषणलाई व्‍यवहारमा नउतारेसम्म नेताहरूले बोल्नुको कुनै अर्थ हुँदैन। तर, सिंहदरबारको अधिकार पालिकामा सार्ने काम अहिलेसम्म भएको छैन र वार्धक्यको भारी बोकेका नेताहरूबाट यो काम हुन पनि सक्दैन।

    जहिलेसम्म भ्रष्ट कर्मचारीतन्त्र जनताका प्रतिनिधिभन्दा माथि हुन्छ त्यतिन्जेलसम्म पुँजीवाद अलिकति पनि हल्लिन सक्दैन। समाज विकासको क्रममा पुँजीवाद एक्लै जन्मिँदैन। त्यसले आफूसँग जुम्ल्याहा भाइका रूपमा भ्रष्टाचारको सालनाल पनि बोकेर आएको हुन्छ।

    मेरो पुस्ताले नेपाललाई गणतन्त्रको उपहार दिएको हो। अब त युवाहरूले यसको जिम्मेवारी लिनुपर्छ नि! ‘१२ छोरा १३ नाति,, बुढाको धोक्रो काँधै माथि’ भन्‍ने उखानलाई चरितार्थ गर्नुभएन नि ! हाम्रो पालामा राजनीति भनेको मर्ने बाँच्ने ठेगान नभएको जिम्मेवारी थियो।

    अहिले राजनीति त्यस्तो भयावह छैन। इमान र स्वार्थत्याग त अहिले पनि चाहिन्छ। तर, भरे एउटा बुलेटले ढाल्ने हो कि, लाठीले टाउको फुटाएर मार्ने पो हुन् कि भन्‍ने सन्त्रासबाट निराश हुनु पर्दैन।

    हामीले जे गर्‍यौं स्वेच्छाले गर्‍यौं। मेरै कुरा गरौं, मलाई कसैले मई दिवस मनाऔं भनेर आदेश दिएको थिएन। नक्खु जेलबाट सुरुङ खनेर बाहिर जा पनि कसैले भनेको थिएन। नक्खु जेलबाट निस्किएपछि केही साथीहरू पलायन हुनुभयो। क्रान्तिको आँधीबेहरीलाई महसुस गरेरै होला, उहाँहरू गुमनाम यात्रामा लाग्‍नु भयो। तर, नभागेका हामी इतिहास रच्यौं। फर्केर हेर्दा अहिले लाग्छ, त्यस्ता कामहरू मैले कसरी गर्न सकें हुला! यो प्रश्‍न नै बुढौतीको परिचायक हो।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]