विचार

किन टिकेनन् पृथ्वीनारायण अघिका एकीकरण?

असफलतामा सफलता खोज्‍ने वीर पुरुष

पुस २८, २०७६

    प्राकृतिक दुर्घटनाको कारण राजा बनेका पृथ्वी नारायण शाह अगाडि पनि नेपाल तथा विश्व  एकीकरण्कको प्रयास भएको थियो। पृथ्वीपूर्वका  एकीकरणहरू कहिल्यै टिकाउ र दिगो हुन सकेनन्। अर्थात् सबैले राज्यहरू  जिते मात्र त्यसलाई टिकाएर राख्न सकेका थिएनन्। पृथ्वी पूर्वका एकीकरण  जुवाको धन जस्तै भए।

    केही क्षणिक समयका लागि जितियो  छिनमै जिताउरीझैँ  बाँडियो सकियो।  पृथ्वीनारायण र उनका छोरा र बुहारीले जे जति भूभाग जिते अर्थात् बाहादुर शाहको पालासम्ममा पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध, पश्चिममा सतलज नदीसम्म नेपाल राज्यको विस्तार भयो।

    यो सबै भूभाग सधैँ नेपाल रहन सकेन। बडामहाराज पृथ्वीनारायण शाहका छोरासम्मको फैलावटीय विजययात्रा  नाति गिर्वाणयुद्धका पालामा भएको सन् १८१६ मा भएको सुगौली सन्धिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभागमा संकुचित गरिदियो। त्यसपछि देश  अविभाज्य, अहरणीय भएर रहन सक्यो र सन् १९५५ मा यो संयुक्त राष्ट्रसंघमा दर्ता भई विश्वको एक स्वतन्त्र राज्यको रूपमा स्थापित भयो।

    महान् तथा बडा  शब्दको परिभाषा बडो विचित्रको छ, महान् हुनु र महान् रही रहनु २ अलग कुरा र अलग घटना हुन्। जस्तै सिकन्दर माहान् वीर थिए उनले ३२ वर्षको उमेरमा अफ्रिका, युरोप र एशियाका केही भूभाग जिते तर त्यसमा उनले राज गर्न सकेनन्।

    नेपालमा पृथ्वीनारायण शाहको शासन सुरु हुने समय १७९९  भन्दा अगाडि पनि ३ राजाहरूले नेपाल एकीकरण प्रयास गरेको पाइन्छ। उनीहरूले राज्य जितेपछि त्यसलाई सुक्‍खा रोटी बाँडेझैँ बाँडेर फेरि टुक्रा पारेका थिए।

    अर्थात् उनले जित्दै गएपछि उनी फर्किंदासम्म ती राज्य अरूका भइसकेका थिए। नेपोलीयन जसले  कुनै बेला 'असफलता भन्ने शब्द मुर्खको डायरीमा मात्र हुन्छ' भनेका थिए उनी आफैँ १९१५ वाटर लुको लडाइँ बन्दी भए  अर्थात् असफल भए। तर पृथ्वीनारायण शाह मात्र त्यस्ता व्यक्ति थिए जो शुरुमा हारे पटकपटक हारेर पनि हार खाएनन् अन्तमा  अविछिन्न  एउटा देशको जग  दिएर गए। उनको जीवन र विजयबारे केही घटना तथा परिघटना उनलाई महान् मान्ने वा नमान्ने दुवैका लागि अनुकरणीय छन्।

    पृथ्वीनारायण पहिलो एकीकरणकर्ता थिएनन्

    पृथ्वी नारायण शाहले एकीकरण गर्नुपूर्व  पहिला पनि नेपाललाई ३ राजाहरूले नेपालको ठूलै हिस्सामा विजय प्राप्त गरेका थिए जस्तै पाल्पाका मणि मुकुन्द सेन, जुम्लाका जीतारी मल्ल र उपत्यकाका राजा यक्ष मल्लले पनि नेपाल एकीकरण गरेका हुन्।

     तर उनीहरूले जित्ना साथ यसलाई अहिलेका हामीहरूले घडेरी बाँडे झै अंश लगाएर फेरि टुक्रा पारेका थिए। सायद विश्वमा कुनै देश एकीकरण गरेर त्यसलाई बचाई राख्ने मानिसमा जर्मनीका विस्मार्क र नेपालका पृथ्वी नारायण शाहबाहेक अरू कसैको इतिहास भेटिँदैन। अरूका के कुरा पृथ्वी नारायण शाहका बुवा नरभुपाल शाहले पनि एकीकरणको मनशायले नुवाकोट आक्रमण गरेका थिए। हारेपछि उनले फेरि प्रयास गर्न नै पाएनन्।

    यसको अर्थ नेपालमा पृथ्वीनारायण शाहको शासन सुरु हुने समय १७९९  भन्दा अगाडि पनि ३ राजाहरूले नेपाल एकीकरण प्रयास गरेको पाइन्छ। उनीहरूले राज्य जितेपछि त्यसलाई सुक्‍खा रोटी बाँडेझैँ बाँडेर फेरि टुक्रा पारेका थिए।  युद्ध जित्न विर मात्र भएर पनि हुँदैन, आत्तिएर पनि हुँदैन, हौसिएर पनि हुँदैन, हरेक युद्धकला बडो विचित्रको हुन्छ। सवै भन्दा ठूलो कुरा जितलाई दिगो राख्न सक्नुपर्छ।

    पृथ्वी नारायण शाहलाई लडेकोमा सम्राज्यवादी देख्नेहरूले उनी पहिलाको इतिहास पनि हेर्नुपर्छ नेपाल एकीकरण पहिला पनि भए र पहिला पनि सेना मारिएका थिए।

    रुसका स्टालीन  त्यस्ता व्यक्ति थिए जसले हिटलर जस्तो आधुनिक हतियारले सजिएको युद्धमनोवृत्तिका व्यक्तिलाई परास्त गरेका थिए। विश्वमा स्टालिनलाई नायक र खलनायक दुवै मान्ने समूह छन्। यदि स्टालिन नभएर अरू शासक भएको भए रुस कुनै पनि हालतमा हिटलरको कब्जामा हुने थियो। तसर्थ रुसका लागि उनी नायक हुन्। हिटलरले घेरी सकेपछि विजय प्राप्त नभएसम्म फर्किन पाइँदैन भनी सेनालाई युद्धमा पठाएर १० लाख रुसी सेनाको मृत्यु हुँदा सम्म युद्ध मैदानमा लड्ने लाई गलत भन्न मिल्छ।

     जब जाडो लाग्यो हिटलरको सेना कमजोर हुन थाल्यो रुसि सेनाले विजय प्राप्त गर्‍यो। त्यतिबेला धेरै सैनिक मरे भनेर फर्किएको भए रुस जर्मनी हुन्थ्यो। यसर्थ युद्ध योद्धाको सहयोगमा नेता लड्ने हो। आखिर लडाईमा ज्यान सिपाहीको जान्छ तर तर वास्तविक योद्धा त नेता नै हो, मानिसको ज्यान त दुर्घटनमा चालकले पिएको एक गिलास रक्सीले पनि लिन्छ तर त्यसले देश बनाउँदैन। यसर्थ नेपालका एक सर्वनिर्विवादित योग्य योद्धा नेता पृथ्वीनारायण हुन्।

    प्रकृतिले बनाएका राजा

    नरभूपाल शाहको पहिलो गर्भ पृथ्वी नारायण शाह होइनन्। उनी सात महिनामा जन्मेको हुनाले राजा बन्न पाएका थिए। अन्यथा १० महिनामा जन्मेको भए उनीभन्दा पहिला अर्को आमा तिरबाट अर्को भाइ जन्मने थिए। 

    त्यो सात महिनामा जन्मेको कारणले उनलाई प्रकृतिले नै नेपाल एकीकरण गर्न भनेर आमा कौशल्यावतिको गर्भमा पठाएको बुझिन्छ।  दरवारमा  उनलाई राजा नबनाउने उनीभन्दा गर्भका  जेठा दाजुलाई नै राजा बनाउन चर्चा पनि व्यापक रूपमा भएको हो। तर, सबैले जन्म प्रमुख हो गर्भ प्रमुख हुँदैन भनेकोले राजा बन्न पाए। त्यसै कारणले उनले नेपाल एकीकरण गर्न सके ।

    गोरख नाथको प्रसंग

    विभिन्न इतिहासकारहरूले उनमा बाबा गोरखनाथको आशीर्वाद रहेको बताउँदछ। उनलाई बाबाले जुठो दही खान दिए। उनले जुठो खान नचाहेर झुकिएझैँ गरेर पैतालामा पोखे। त्यतिबेला गोरखनाथ बाबाले भने यदि तिमीले दही खाएको भए तिमी बोलेको सबै पुग्ने थियो।  खाएनौ पैतालामा पोख्यौ अब तिमीले लडाइँ गर्न गएको जमिनबाट फर्किन पर्दैन भन्ने आशिर्वाद दिएका थिए भन्ने किम्वदन्ती पनि  छ।

    विजय अभियानको शुरुवात

    नेपाल एकीकरण को शुरुवात अर्थात् विजय शुरुवात उनले विसं १८०१  आश्विन १५ गते पहिलो पटक नुवाकोट विजय गरे। यो पहिलो कोशेढुंगा थियो  जसले नेपाल एकीकरण निव राख्यो। यही विजयले नेपाल बनायो।

    उनैको योगदानले दर्जनौँ राजा, दर्जनौँ प्रधानमन्त्री,  हजारौँ मन्त्रीहरू बन्न सफल भए। देश एउटा विन्दुमा विश्वभर फैलिन सफल भयो। अनुमानका फेहरिस्त धेरै छन् परन्तु यो लेखकलाई यो लाग्दैन कि पृथ्वीनारायण शाहले एकीकरण अभियान नचालेको भए नेपाल नामक कुनै राज्य विश्व मानचित्रमा अंकित हुन सकोस्।

    नेपाली एक गीतकारले एक युगमा एक दिन यस्तो आउँदछ जसले छुट्टै उथलपुथल ल्याउँदछ भनेका छन। सायद त्यो एउटा दिन थियो १७७९ पुष २७ को दिन। पृथ्वी नारयाण शाहलाई एउटा शासक, एउटा राजा को रुपमा मात्र गोचरित गरियो भन्ने त्यो इतिहास, वर्तमान भविष्‍यको ज्यादै असंवेदनशील सोच हुनेछ। गाउँमा एउटा पँधेरो बनाउनेले आफ्नो सहित बाबुबाजेको नाम लेख्छ।

    बुटवलको सिद्धबाबामा एउटा व्यक्तिले २ सयको ऐनामा आफनो ३ पुस्ताको नाम लेखेका छन्। भने जसले यत्रो देश निर्माण गर्न  सफल भयो उसको बारेमा इतिहासले गौरवान्वित हुन सकेन भने त्यो राम्रो हुने छैन।

    उनको अन्त

    विस. १८२५ मा जब उनी जयप्रकाश मल्ललाई हटाएर कान्तिपुरको राजगद्धिमा बसे १८२६ भित्र पाटनका श्रीनिवास मल्ल र भक्तपुरका राजा सबैलाई जितेर विशाल राज्यको राजा बने। त्यसपछि नेपाल दरबारमा उनका भाइहरूले राज्य जितियो यसमा हाम्रो पनि हात छ राज्य बाँडौँ भन्ने जस्ता कुरा पनि गरे तर उनले दिएनन्।

    राजा सिकार खेल्न जाने कुरालाई नकार्न सकिँदैन, बाघले आक्रमण गरेको होला सेनाहरूले तत्कालै बचाए तर बाघको नंग्राको विष तत्काल निको नहुने भएपछि त्यसैबाट घाउ बन्यो। त्यही विषको कारणले उनको १८३१ माघ १ गते देविघाटमा निधन भयो।

    उपत्यका विजयपछि पूर्वतिरको विजय ज्यादै सजिलोसँग गर्दै गए तर पश्चिमका बाइसे र चौबीसे राज्य विजय गर्न निकै कठीन थियो। पूर्वमा इलाम झापा ताप्लेजुङ अर्थात् अहिलेको मेचीसम्म पुगेपछि उनी पश्चिमतिर विजय गर्नका लागि नुवाकोट दरबारमा पुगेको बेलामा उनी अशक्त भएको भन्ने एउटा प्रमाण छ। अर्को प्रमाणले के भन्छ भने उनी नुवाकोट जाँदा बाटोमा बाघले आक्रमण गरेको थियो। त्यस कारणले उनी अशक्त भए।

    विस १९९२मा सूर्य विक्रम ज्ञवालीले दार्जिलिङमा  निकालेको पुस्तकअनुसार धेरै मानिसबाट सुनिएको थियो उनको जिउभरी फोकै फोका थिए। यसैगरी २००७ मा रामजी उपाध्यायले निकालेको किताबअनुसार पृथ्वीनारायण शाहलाई सिकार खेल्न जाँदा बाघले आक्रमण गरेको हो त्यसैले उनको मृत्यु भयो।

    मानिको स्मरण ज्यादै कमजोर हुन्छ । प्रमाण भन्ने कुरा अभिलेख मात्र  हो वा अझै गहिराइका लागि कार्वन टेष्ट हो। हामीलाई नेपाली पढाउने सर पद्यनाभ गौतमले पृथ्वीनारायण शाह लुतो भएर मर्नुभएको हो भन्नुहुन्थ्यो।  कुरा के हो थाहा भएन तर तथ्य जे भए पनि सत्य उनको मृत्यु भयो।

    माथिका सबै कुराको सिलसिला पनि  मिल्न आउँदछ। राजा सिकार खेल्न जाने कुरालाई नकार्न सकिँदैन, बाघले आक्रमण गरेको होला सेनाहरूले तत्कालै बचाए तर बाघको नंग्राको विष तत्काल निको नहुने भएपछि त्यसैबाट घाउ बन्यो। त्यही विषको कारणले उनको १८३१ माघ १ गते देविघाटमा निधन भयो।

    प्रकृति झुक्कियो र परिवेश सम्हालियो

    पृथ्वीनारायण शाहको जन्म नेपाल बनाउनका लागि भयो तर  काम पूरा नहुँदै मात्र ५२ वर्षमा उनको मृत्यु भयो। त्यो जिम्मा उनका छोरा बुहारीले लिए। उनका दुईमध्ये कान्छा छोरा बहादुर शाहले ९ वर्ष नायवी  पाउनु नोपलको लागि वरदान थियो र पश्चिमका कठिन लडाइँहरू उनको नेतृत्वमा लडिएको थियो। होइन भने पर्वतका राजाले उनका भारदारलाई लखेको एक पत्रमा गोरखाको राजा हामीलाई दागा गर्न आउन लागेका थिए तर भगवानको इच्छाले देविघाट आफैँ हेलिया( मरे) भनी लेखेको प्रमाण पनि छ।  उनको दिवा सपनालाई पृथ्वी वंशजले टिकाउ हुन दिएनन्।

    यसरी १८३१ पछि २००७ सम्म पृथ्वीनारायण शाहको पारिवारिक स्मरण मात्र हुने गरेकोमा संवत २००९ मा योगी नरहरिनाथको जोडबलमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आम नेपालीले मनाउँदछन्।

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]