फिचर

थारू समुदायमा सुरु भयो माघीको रौनक

पुस २९, २०७६

    विमला ढकाल

    बर्दिया : माघीको रौनकले पश्चिम तराईका थारू बस्तीलाई छोइसकेको छ। ठाकुरबाबा नगरपालिका-२ सत्घरुवाकी आरती थारू यसपटक माघी मनाउन निकै उत्साहित छिन्। एक महिना पहिलेदेखि नै माघीको चहलपहल सुरु भएको उनले बताइन्।

    'माघीको रौनक सुरु भइसकेको छ' उनले भनिन्। थारू बस्तीका स्थानीयहरू माघी मनाउन निकै उत्साहित देखिएका छन्। थारू समुदायका व्यक्तीहरुले धान कुटाउने, पीठो पिसाउने, तरुल खन्ने, ढिक्री र जाँड बनाउने तथा सुँगुर खोज्ने काममा हरेक थारू जुटिसकेका छन्।

    'पीठो कुट्ने काम सकियो' ठाकुरबाबा नगरपालिका-२ की अर्की स्थानिय शान्ति थारूले भनिन्। 'पहिले पहिले ढिकीमा चामलको पीठो कुटिन्थ्यो, आजभोलि ढिकीहरु सबै लोप भइसके। ढिक्री बनाउनका लागि मिलमा पीठो पीसायौँ' उनले भनिन्। अब ढिक्री पकाउने तयारी छ। यस्तै माघीमा अन्दीको चामलको रोटीसमेत पकाउने गरिन्छ।

    हराउँदै मघौटा नाच  

    हिजोआज पहिलाको जस्तो माघी नहुने बुढापाका स्थानीय बताउँछन्। स्थानीय खुसीलाल थारूले भने, 'पहिलेको भन्दा चहलपहल निकै घटिसकेको छ। पहिलेपहिले माघीमा हरेक घरमा पुगेर माघी नाच नाच्ने चलन थियो। अहिले त्यो चलन हराइसकेको त छैन तर निकै कम भइसकेको छ।'

    माघी पर्व महतवाकै वरिपरि केन्द्रित हुन्छ । महतवाकै घरमा जुट्ने, टीका थाप्ने, नाचगान गर्ने र अन्त्यमा महतवाको कामको समीक्षा गरी नयाँ महतवा चुन्ने चलन छ।

    थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउने गरेका छन्। माघीमा महतवा छान्ने र नयाँ योजना बनाउने काम सम्पन्न गरिन्छ । बेलुकापख महतवाको घरमा नाचगानको सुरुवात गरी हरेक घरमा नाच्न गइन्छ ।

    यसपालि भने ठाकुरबाबा नगरपालिका-२ का स्थानीयले डफ नाच नाच्ने तयारी गरेका छन्। सिर्जना थारूले भनिन्, 'महिला पुरुष मिलेर नाचिने यो नाच २९ गते राति नाचिन्छ।'

    थारू गाउँमा बडघरबारे चर्चा सुरु

    माघी पर्व नजिकिँदै गर्दा पश्चिम तराईका थारू गाउँमा बडघरबारे चर्चा सुरु भएको छ। गाउँको अगुवा मानिने बडघर पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन्। बडघर बन्नका लागि दुई जनाले इच्छा गरे निर्वाचनसमेत हुन्छ।

    बडघर बनाउने बेलामा वर्षभरि गरेका कामहरूको मूल्यांकन गरिन्छ। बडघरले आफूले गरेका कामको प्रतिवेदन तयार गरिसकेका छन् । ठाकुरबाबा नगरपालिका सत्घरुवा गाउँका बडघर कालीबहादुर थारूले नयाँ बडघर चयनबारे गाउँमा छलफल भइरहेको बताए । गाउँको विकासका लागि बडघरले नै अगुवाइ गर्ने चलन छ ।

    सिँचाइका लागि कुलो मर्मत तथा सडक निर्माण लगायतका सार्वजनिक कामका लागि उनीहरूले नै अगुवाइ गर्नुपर्छ । त्यस्तै, गाउँघरमा हुने सानातिना विवाद बडघरले नै मिलाउने गर्छन्। बडघर चयन गर्दा उनीहरूले गरेको कामको मूल्यांकन अनिवार्य गरिन्छ।

    गाउँको सार्वजनिक कार्यमा रातदिन खटिने बडघरले कुनै पारिश्रमिक लिँदैनन्। त्यसैले पछिल्लो समयमा सरकारले नै पारिश्रमिक दिनुपर्ने आवाज उठ्न थालेको छ।

    पहाडी समुदायमा पनि माघीको रौनक

    थारू समुदाय सँगसँगै पहाडी समुदायमा पनि माघीको रौनक सुरु भएका छन्। पहाडी समुदायका व्यक्तिहरू पनि माघीलाई स्वागत गर्न तम्तयार भएका छन्। बर्दिया विशेष गरी थारू समुदायको बाहुल्यता भएको जिल्ला भए पनि पहाडी जिल्लाहरू दैलेख, अछाम, कालीकोट, जुम्लालगायत स्थानबाट बसाइँ सरी आएकाहरूको बाक्लो बसाइ छ।

    पहाडी समुदायले पनि माघीलाई आफ्नै तरिकाले मनाउने गरेका छन्। 'सबै स्थानीयहरू माघीको तयारीमा जुटेका छन्', ठाकुरबाबा नगरपालिकाका टीकाराम आचार्यले भने, 'सबैलाई माघीको तयारी गर्न भ्याई नभ्याई छ।'

    माघीका लागि तरुल खन्ने, गन्जी ल्याउने लगायतका काम सुरु भइसकेका छन्। माघीले छोइसकेको छ उनले भने त्यसैले सबैलाई भ्याईनभ्याई छ।

    'माघीका समयमा पहिले तिलको दाउराको आगो बालेर ताप्ने चलन थियो' ठाकुरबाबा नगरपालिका-६ का भास्कर उपाध्यायले भने, 'अहिले त्यो चलन भने हटिसकेको छ। तिलको दाउराको आगो ताप्नाले सबै पाप नाश हुन्छ भन्ने धार्मिक मान्यता छ।' अहिले पनि बुढापाकाले तिलको दाउरा नबाले पनि आगोमा तिलका दाना भने हाल्ने गरेका छन्।

    यस्तै, युवायुवतीलगायत सबै समुदायले माघीको अघिल्लो रात बालिने आगो ताप्ने दाउराका सामुदायिक वनबाट जोहो गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]