समाज

जाडो तथा शीतलहरबाट ठोरी महोत्सव प्रभावित

पुस २९, २०७६

    बिरगञ्ज : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पश्चिमी पर्साको ठोरीमा आयोजित ‘हात्ती तथा जीप सफारी महोत्सव’ कठ्याङ्ग्रिँदो जाडो तथा शीतलहरका कारण प्रभावित भएको छ। 

    दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवको मंगलबार अन्तिम दिनसम्म करिब ३५ हजार पर्यटकले मात्र अवलोकन गरेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए।

    'दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले महोत्सव अवलोकन गर्ने हामीले अनुमान गरेका थियौँ', उनले भने, 'करिब ५० हजारभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्नुपर्नेमा खराब मौसम तथा शीतलहरका कारण मंगलबार अन्तिम दिनसम्म करिब ३५ हजार पर्यटकले मात्र सो महोत्सव अवलोकन गरेका छन्।' 

    ठोरीको धार्मिक, ऐतिहासिक तथा पुरातात्विकस्थलको पहिचान, लोककला तथा स्थानीय संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल भ्रमण वर्षको अवसरमा आयोजित सो महोत्सव अत्याधिक जाडो तथा शीतलहरका कारण प्रभावित हुन पुगेको प्रचारप्रसार समितिका संयोजक माधव तिमिल्सिनाले बताए। 

    महोत्सवमा ३० प्रतिशत भारतीय तथा ७० प्रतिशत नेपाली पर्यटकले अवलोकन गरेका छन्। ठोरी गाउँपालिका ५ सुवर्णपुरको गढवालाइनमा आयोजित सो महोत्सवमा २६ स्टल राखिएको थियो। महोत्सव अवधिभरि एक करोड मूल्य बरावरको आर्थिक कारोवार भएको बताइएको छ। 

    पुस २५ गतेदेखि २९ गतेसम्म अयोजित सो महोत्सवमा पर्यटनसँगसम्बन्धी सामग्री स्टल राखिएको थियो। महोत्सवले सोचे जस्तो पर्यटक आकर्षित गर्न नसके पनि ठोरीको भावी कार्ययोजना र पर्यटन विकासका सम्भाव्यता अध्ययनका लागि महत्वपूर्ण काम भएको ठोरी होम स्टेका अध्यक्ष शम्भुराम पौडेलले बताए। 

    पर्सा जिल्लाको ठोरी गाउँपालिकास्थित रामहरि भाठा, दुर्लभ जनावर आउने घाँसेमैदान, जंगली जनावर, दुग्देश्वर महादेव, पर्सा तथा चितवन राष्ट्रिय निकुञ्जको मनमोहक दृश्य, बाघमोर्चा माई, राईधारा, अमृतधारा, झोलुङ्गेपुल, सीता गुफा, सेतो पहाडजस्ता पर्यटकीयस्थल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आइरहेको छ। 

    महोत्सवको मुख्य आकर्षक भनेको हात्ती तथा जीप सफारी, मगर जातिको सांस्कृतिक पहिरन र स्थानीय खानाका परिकार रहेका थिए। महोत्सव सम्पन्न भए पनि हात्ती तथा जीप सफारी नियमित सञ्चालनमा रहने तथा सो सफारी गर्ने स्वदेशी पर्यटकलाई ६०० तथा विदेशी पर्यटकलाई एक हजार १०० शुल्क निर्धारण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]