राजनीति

सुर्खेत जेल ब्रेकको १८ वर्ष : नेताले यसरी सम्झिए ती दिन

माघ २, २०७६

    सुर्खेत : देशमा संकटकालको घोषणा भइसकेको थियो। तत्कालीन माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो। माओवादीको जनयुद्धविरुद्ध सरकारका सबै सुरक्षा अंग परिचालित थिए। कतिबेला कुन ठाउँमा के हुने भन्ने कसैलाई पनि अनुमान नै हुँदैनथ्यो।

    २०५८ साल माघ दुई गते माघ २ गते। सुर्खेतको जिल्ला कारागार। माघे झरी परिरहेको थियो। माघको २ गते बिहान साढे एकबजे सुर्खेत कारागारमा रहेका १५ जना माओवादी राजनैतिक आस्थाका बन्दी तथा अन्य १५ जना बन्दीहरूसहित ‘जेलब्रेक’ को लागि तम्तयार थिए।  

    कात्तिक २३ गतेबाट खन्न सुरु गरेको सुरुङबाट बाहिर निस्कन बन्दीहरू आतुर थिए। बन्द पर्खालबाट खुला आकाशमा उड्नका लागी उनीहरू तयारी अवस्थामा रहेका थिए। एकएक गरि ३० जना बन्दीहरू सुरुङबाट बाहिर निस्केर पर्खालमा टाँसिएर लाम लागे, अनि लामो सुस्केरा हाल्दै तय भयो खुला आकाशको दौड। 
    संकाटकालको त्यो कडा सुरक्षा घेरा सहज रुपमा तोडियो। तानाशाही निरंकूश सरकारको सुरक्षा योजना असफल भयो।

    नेपालमा राजनैतिक बन्दीको जेलब्रेकले विश्वमा सनसनी फैलियो। सुर्खेत जेल ब्रेक भएको आज ठिक १८ वर्ष पुगेको छ। विभिन्न ठाँउबाट गिरफ्तार गरिएका तत्कालीन माओवादी नेता कार्याकर्ताहरूको नेतृत्वमा त्यो जेलब्रेक भएको थियो। हाल नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज झक बहादुर मल्लले सबैलाई जेलब्रेक गर्नलाई उक्साएका थिए। 

    अरू नेताहरूमा बिष्णु प्रसाद चौधरी, पुष्पराज चौधरी, बिकास गुरुङ, विन्दमान विष्ट, गणेश भण्डारी, देविराम देवकोटा, लोकजङग शाही, लोकबहादुर चलाउने, कृष्ण बडुवाल, रामबहादुर रसाइली, गोपाल शर्मा, नवराज खड्का, रबिन्द्र बयक र उपेन्द्र बिक हुन। पछि पुष्पराज चौधरी र दलबहादुर घर्ती मगर बिकास गुरुङको सहादत भयो।

    विन्दमान विष्टको अनुभूति 

    २०५७ भदौ १८ गते झकबहादुर मल्ल सुदीपको घरमा बसेको बेला हामी २ जनालाई प्रहरीले गिरफ्तार गर्‍यो। अन्य ३ जना साथीलाई छिन्चुबाट ल्यायो, हामी ५ जना भयौँ।बाहिर आन्दोलल व्यापक बन्दै थियो। हामी गिरफ्तार भएपछि बाह्य आन्दोलनमा हाम्रो अभाव थियो। हामीलाई ३५ दिन हिरासतमा राखेर जेल लगियो। विभिन्न ठाँउबाट गिरफ्तार भएर ल्याइएका गरी हामी माओवादी आस्थाका १५ जना साथी थियौ।

    जसमा केही महिला साथी थिए। हामी जेलमा प्रवेश गरे देखिनै बाहिर निस्कने योजना बनाउन थाल्याैं । तत्कालीन अवस्थामा राज्यले हामीलाई अदालती प्रक्रियाबाट छोड्ने सम्भावना थिएन। जेलबाट भाग्ने थुप्रै योजनाहरू बने र ति विफल पनि भए।

    राज्यको दमन गर्ने नीति त्यसमाथी कडा सुरक्षा निगरानीमा थियौ हामी। अति चुनौती पुर्ण थियो। अहिले सम्झदा आफैलाई विश्वास लाग्दैन। विभिन्न प्रयास र योजना पछि अन्तिम बन्यो। सुरुङ खनेर जेल ब्रेक गर्ने। चुनौतीपूर्ण र धेरै समय लाग्ने साथै, गोपनियता भंग हुने डर पनि त्यत्तिकै थियो। जेलमा विभिन्न किसिमका मानीसहरू भएकोले हाम्रो योजना जेल प्रशासन सम्म पुग्छ कि भन्ने चुनौती र डर दुवै थियो। 

    कात्तिक २३ बाट सुरुङ खन्न सुरु गरियो। बार्ता चलिरहेको थियो। बार्ता भंग भयो। बिचमा केही समस्याले गर्दा सुरुङ खन्ने काम पनि बन्द भयो। युद्घ विराम भंग भएपछि छुट्ने आशा पनि म¥यो। फेरी मंसिर २३ बाट सुरुङ खन्न थाल्यौँ। पुस २ गते सुरुङ पुरा भयो। करिब ९ दिनमा ३३ फिटको सुरुङ  तयार भयो।

    जेल माथीको निगरानी बढ्दै गयो। सुरक्षा निकायका कर्मचारीहरू परिवर्तन हुन थाले। पहिले ३ ठाँउबाट मात्रै हुने ड्यूटीमा पछि २ ठाँउमा थप भयो। एउटा अस्थायी सेन्ट्री पोष्ट हामीले खनेको सुरुङ निस्कने ठाउँमै राख्यो। यदि पानी पर्‍यो भने अस्थाई सेन्ट्री पोष्टमा बस्दैनथ्यो।

    पार्टीलाई पनि खवर गरियो। माघे संक्रान्तिमा पनि पर्न शुरु भयो। माग १ गतेको विहान देखीनै ठूलो पानि पर्ने संकेत देखियो। सबै तयारी अवस्थामा बस्यौं। साझ पर्दै गयो ठूलो पानी पनि पर्दै गयो। पानीका कारण प्रहरी पोष्टबाट प्रहरी ओछ्यान ल्याएर पोष्ट खाली गरियो। प्रायः समय हामी गेटमै वातावारण बुझ्न खटिरहन्थ्याैं। 
    हाम्रै कारण त्यतीबेला जेलको बातावरण पनि परिवर्तन भएको थियो। त्यो बेलामा करिब ५० बन्दी थिए। सुधार गृह जस्तो बनेको थियो। बौद्घिक बहस हुन्थ्यो।

     ब्रेकको योजना ५० जनालाई थाहा थियो। ३० जना निस्क्यौँ र २० जना कैदी जेलमै थिए। विभिन्न सवाल उठाएर जेललाई सुधार गृह बनाउने पहल गरेका थियौँ। जेलब्रेक गर्ने कुरा सबैले थाहा पाएर पनि उनीहरूले भनेका थिएनन्।हामी सुरुङबाट निस्केको १० मिनेट पछि पुलिसले थाहा पायो। हामी चिसापानी खोला पार गरेपछि प्रहरीले फाएर खोलेको थियो। हामी उकालो लागी सकेका थियौ। हाम्रो संकल्प भने जेलमा मर्नु भन्दा बाहिर मरे हुन्थ्यो भन्ने थियो। हामी बाहिर मरे पछि राज्यलाई थप चुनौति हुन्छ भन्ने हाम्रो विश्वास थियो। 

    खुला युद्घको मैदानमा बलिदान भए पनि हुन्छ भन्ने सबै साथीहरूको सोँच बनिसकेको थियो। यदि त्यो योजना जेल प्रशासनले थाहा पाएको खण्डमा भित्र नै माथ्र्यो। तर हामीमा त्यो मर्ने डर थिएन। केही मरेर भए पनि बाहिर निस्कने हाम्रो प्रण थियो।सहज पूर्वक पार्टी गतिविधिमा समावेश भयौ। कतिपय समयमा अब मरिन्छ कि भन्ने सम्मको अवस्था पनि आयो तरे त्यसलाई चलाखी पूर्ण र सुझबुझका साथ पार गरियो। 

    एकजना बन्दी चरिफाई (मृगी) को बिरामी हुनुहुन्थ्यो। उहाँको ओछ्यानबाट सेफ्टी ट्याङ्कीको ढकनको आकारमा जमिनलाई काटीयो। त्यस कोठामा कोही जादैनथ्यो। निस्कने दिनमा ठुलो पानी परे पछि राति १० बजे नै निस्कने योजना १ बजे मात्रै सफल भयो। पानीले माटोलाई भत्काएर सुरुङ पुर्न थालेपछि  केही ढिला भएको थियो। 

    विष्टसँगको कुराकानीमा आधारित 

धर्मराज जिसी

जिसी थाहा खबरका सुर्खेत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]