फिचर

विदेशबाट फर्किएर कफी खेतीमा रमाए सापकोटा

सरकारले सक्कली किसान नचिनेको गुनासो

माघ ६, २०७६

    पर्वत : घरको करेसाबारीदेखि बारीका पाटासम्म, केराघारीका छेउछाउदेखि खेतका गरासम्म कफीका बोटले हरियाली बनाएको छ। घरअगाडि रहेका टनेलमा कफीका ३५ हजार भन्दा बढी विरुवा रोप्नका लागि तयार भएका छन्।

    यसअगाडि गाउँमा न त कसैले कफी खेती गरेको थियो। न त कसैले कफी खेती विकासको लागि परियोजना नै लगेका थिए। पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित रुग्दीका टुकनाथ सापकोटाले व्यावसायिक रूपमा सुरु गरेको कफी खेतीको विकास सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

    अहिलेसम्म गाउँका केही घरले सोखका लागि मात्र केही बोट कफी लगाएको भए पनि रुग्दीमा व्यावसायिक रूपमा खेती नगरिएको बेलामा सापकोटाले सुरु गरेको कफीको बिरुवा उत्पादन तथा नर्सरीले सबैलाई कफी खेतीमा हौसाएको छ। 

    यसरी थाले कफी खेती

    २०५७ सालदेखि वैदेशिक रोजगारीको लागि १० वर्षसम्म मालदिभ्स र साउदी अरेबियामा बसेका उनी स्वदेश आएपछि के गर्ने भन्ने बारेमा अलमलमा परेका थिए। त्यही बेलामा गैह्र सरकारी संस्था गुड नेवर्स इन्टरनेशनल र सेडेक नेपाल पर्वतका व्यक्तिहरूसँग उनको भेट भयो।

    विदेशमा रहँदा कफीको क्षेत्रमा नै काम गरेका टुकनाथमा यसको बरेमा केही जानकारी थियो। यही कारण आफूसँग भेट भएका संस्थाका प्रतिनिधिसँग आफूले कफीकै क्षेत्रमा काम गर्ने बताए। यही अवसरमा उनलाई ती संस्थाहरूबाट गुल्मी, पाल्पा, स्याङ्जालगायतका जिल्लामा भइरहेको कफी खतीको अवलोकन तथा भ्रमण गर्ने अवसर मिल्यो। उमेरले ४० वर्ष पुगेका टुकनाथलाई अब त सम्भव हुँदैन कि? भन्ने नलागेको पनि होइन। तर अवलोकनकै लागि पाल्पा पुगेपछि उनमा बल्ल केही गर्ने जोस आयो।

    उमेरले ८५ वर्ष पुगेका रेवन्तप्रसाद शर्माले चारैतिर हरियाली देखिने गरी लगाएको कफी खेती अनि खेतीको स्याहार गर्न आफैँ खटिएको देख्दा उमेरले होइन फरक पार्ने मन र सोचले भन्ने टुकनाथलाई लाग्यो।

    ‘अवलोकन गर्न धेरै ठाउँमा गएँ। जब पाल्पाका ८५ वर्षीय बाले जाँगर चलाएको देखेँ। मलाई असम्भव केही छैन भन्ने लाग्यो’ उनले सम्झिए, ‘त्यति बुढा बाले कफी उत्पादन गर्न सक्ने भए उहाँको भन्दा आधा उमेर कम भएकोले चाहिँ सक्दिनँ भन्ने ठान्ने?’ यही कारण नै टुकनाथले २०७५ सालबाट गुड नेवर्स इन्टरनेशनलको नेपाल कफी परियोजनाअन्तर्गत रहेर समूहगत कफी नर्सरी सुरु गरे। 

    वास्तविक किसानलाई देख्ने सरकारको चस्मा ठिक छैन

    जोसका साथ कफीमा हात हालेका टुकनाथले सरकारको चस्मा भने ठिक नभएको गुनासो गर्छन्। सरकारले युवालाई विदेश जान हुँदैन, यहीँ केही गर्नुपर्छ भाषण दिने गरेको भए पनि केही गर्छ भन्दा आवश्यक सहयोग नपाएको उनको भनाई छ।

    ‘यहाँ हालेका टनेल मेरै खर्चमा किनेको छु। सोडेक र गुड नेवर्सले सघाएका छन्। सरकारको एक रुपैयाँ पनि मैले लिएको छैन’ टुकनाथले भने, ‘असिनाले हानेर ४ लाखका विरुवा नष्ट भए, नगरपालिकाका मान्छे आएर हेरेर गए तर उनीहरूको तर्फबाट कुनै सहयोग भएन। सरकारको चस्माले नक्कली र सक्कली किसान चिन्नै सकेको छैन।’

    पालिकाबाट आर्थिक अनुदानको आसा नगरेको भए पनि टनेलसम्म पाउन सके बिरुवा जोगाउन सकिने उनको भनाई छ। स्थानीय सरकारले वास्तविक किसानको पहिचान नै नगरी कृषिका अनुदानहरू हात हातै बाँड्दा वास्तविक कृषकहरू भने सधैँ समस्यामा रहने गरेको उनले दाबी गरे।

    उनले भने, ‘गाउँका सिंहदरबारका मान्छेलाई अरुकै खेतको फोटो लगेर पेस गरेर बजेट निकालेका छन्। मेरो त आएर आफैले असिनाले खाएको देखेर गएका हुन्। खै मैले के पाएँ?’ सरकारले बाँड्ने सरसहयोगमा चल्तापुर्जाको हात भान्से बन्दा अहिले पनि कृषकले खेती नगरेर बारी बाँझै राख्नु परेको उनको गुनासो छ। 

    कफी खेतीले खाली ठाउँको सदुपयोग

    कृषक टुकनाथका अनुसार कफी खेती गर्नको लागि अरू नगदे बालीको जस्तो मरीहत्ते गर्नु पर्दैन। बाँदर, सिँचाइको अभावलगायतका कारणले बाँझा रहेका ठाउँहरूमा एक पटक बिरुवा रोपेपछि वर्षौसम्म त्यही बोटले काम गर्ने भएकोले हरेक कृषकले कफी खेती गर्नु उत्तम हुने उनी बताउँछन्। एउटा बोटबाट कम्तीमा पनि एक हजार रुपैयाँ बराबरको उत्पादन हुने भएकोले केही बोट मात्रै कफी लगाउने हो।

    चिनी किन्नका लागि के गर्ने? भनेर पैसाको चिन्ता गर्नु नपर्ने उनको अनुभव छ। अहिले बिरुवा उत्पादन गरेर जिल्लाका विभिन्न ठाउँमा बिक्री गर्दै आएका उनले छिमेकी जिल्लाहरू बागलुङ, म्याग्दी र स्याङ्जा पनि कफीका बिरुवा बिक्री गर्दै आएका छन्। यस पटक उनी आफैँले पनि कफी खेतीको लागि जमिन तयार गरेका छन्।

    पाकेको कफी (चेरी) लाई प्रति किलो ७० रुपैयाँमा किनबेच गर्ने भनेर सरकारले तोकेको भए पनि खरीदकर्ताले किसानलाई ८० रुपैयाँसम्म दिइरहेको बताउँदै सापकोटाले अबको खाली रहेको जमिनमा कटुस र चिलाउनेको रुख हुर्काउनु भन्दा तिनलाई ढालेर कफी लगाउन सुझाउँछन्।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]