फिचर

मोडलिङ र ग्ल्यामरका पायोनियर अर्थात प्रशान्त

टेष्टी चियाको विज्ञापनदेखि 'ऐश्वर्या'सम्मको यात्रा

माघ ६, २०७६

    दमक : पत्रिकामा छापिने विज्ञापनमा सम्बन्धित उत्पादनसहित देखिने अनुहार पनि मोडल। टेलिभिजनका पर्दामा कुनै वस्तु वा सेवाको प्रवद्धन गर्ने विज्ञापनमा देखिने पनि मोडल। सडकका किनारामा ठूला होडिङ बोर्डमा आकर्षक अनुहारसहित कुनै कुरामा ध्यान तान्‍न टाँसिएको अनुहार पनि त मोडल। कुनै गीतलाई पृष्ठभूमिमा राखेर अभिनय गर्ने पनि मोडल।

    सौन्दर्य प्रतियोगिता वा प्रदर्शनका लागि र्‍याम्पमा उत्रिने पनि मोडल। मेराअघि उभिएको त्यो अनुहार पनि मोडल। कुराको थालनी कहाँबाट गर्ने? नेपालमा मोडलिङ क्षेत्रलाई व्यवसायका रुपमा स्थापित गराउनेमध्येका एक ‘पायोनियर’ हुन्, प्रशान्त ताम्राकार। जुन समयमा नेपालमा मोडल र मोडलिङमा अभ्यस्त भएको थिएन, त्यही बेलादेखि सुरु भएको यात्राले उनको अनुभूति सुन्‍न तयार पार्‍यो मलाई।

    मोडलिङमा प्रवेश

    उनीसँगको कुराकानीमा अधिकांश साल–सम्बतका कुरा सन् भए, वि.सं.मा भएनन्। सन् १९९१ मा एउटा पत्रिकामा मोडल चाहिएको आशयको विज्ञापन छापियो। त्यसबेला नेपाली समाजमा मोडल र मोडलिङको अभ्यास भएकै थिएन।

    तर मोडल र मोडलिङबारे केही थाह नभएका उनलाई त्यही विज्ञापनले तान्यो। तत्कालै आवेदन दिए। उमेर केटौले थियो, भविष्य केलाई बनाउने कुनै निधो भएकै थिएन। हलडमै चल्दै थियो जीवन, लहडमै दिए निवेदन। उनको आवेदन पनि स्वीकृत भयो अनि छानिए तालिमका लागि।

    उनले भने, ‘सायद यो विज्ञापन मोडल हन्टको सुरुवाती विज्ञापन पनि हुन सक्छ।’ त्यहाँ छानिएका केही मोडलहरुले नर्वेजियन प्रशिक्षकबाट तालिम पाए। आफुलाई कसरी अरुसामू प्रस्तुत गर्ने, कसरी अरु भन्दा फरक र आकर्ष देखिने लगायतका कुरा सिकाइए।

    नेपालमा मोडलिङ क्षेत्रलाई व्यवसायकारुपमा स्थापित गराउनेमध्येका एक ‘पायोनियर’ हुन्, प्रशान्त ताम्रकार।

    परिवार, समाज भन्दा बिल्कुलै नयाँ क्षेत्रको थियो, उनले सिक्न सिकेका कुरा। रुचिपूर्वक सिके। त्यसको एक वर्षपछि सन् १९९२ मा पहिलो पटक र्‍याममा उत्रिने अवसर पनि मिल्यो, त्यही तालिमको माध्यमबाट। सयौं दर्शकसामू उनले आफुलाई बिरालो चालमा प्रस्तुत गरे।

    त्यसबेला टेलिभिजनका लागि लक्षित गरेर विज्ञापन तयार पार्ने क्रम भर्खर सुरु हुँदै थियो। त्यही बेला उनलाई अवसर मिल्यो, टेष्टी चियाको विज्ञापनमा झुल्कने, जुन उनको पहिलो टेलिभिजन विज्ञापन थियो। त्यसपछि उनी टेलिभिजन विज्ञापनको पनि मोडलको रुपमा चिनिए।

    त्यसको एक वर्षपछि सन् १९९३ मा नाङ्लो रेष्टुरेन्टको प्रवर्द्धनका लागि फोटोसुटको अवसर आयो। त्यो पनि गुमाएनन्। अनि उनी बने छापा सञ्चारमाध्यमका लागि पनि मोडल। यसरी सुरु भएको उनको मोडलिङ यात्रा। अढाई दशकअघि मोडलिङबाट सुरु भएको यात्रा अहिले चलचित्रको खलपात्रका रुपमा पनि स्थापित भएको छ।

    खुबसुरतदेखि म्यान हण्टसम्म

    मोडलिङ, फेसन र ग्ल्यामर क्षेत्रलाई नेपाली समाजले निको नमानेको बेला पनि पनि उनको प्रवेश एउटा अग्‍नि परीक्षा थियो। उनले भने,‘यो क्षेत्रबारे नेपाली समाज प्राय अनभिज्ञ थियो, तर म त प्रवेश गरिहालेँ, निस्कन पनि सकिनँ नि। एक हिसाबले मैले नै मेरा लागि पटक पटक परीक्षा दिँदै यो अवधि पार गरेको छु।’

    आफुले आफुलाई परीक्षा दिन पनि उनका लागि अवसरको खाँचो परेन। सन् १९९३ मा त्यसबेलाको चर्चित टेलिभिजन शो ‘खुबसुरत’ मा सहभागी हुने अवसर पाए। त्यसबाट उनले मोडल अफ त विकको उपाधि पनि पाए।

    उनकै शव्दमा, जुन नेपाली मोडलका लागि पहिलो अवसर र एक्सपोजर थियो। तर त्यस बेला मोडलिङ क्षेत्र र त्यसमा पनि पुरुषहरुको उपस्थिति ज्यादै न्यून थियो।

    त्यही समयको कुरा हो, सन् १९९५ मा पुरुषहरुको सौन्दर्य र व्यक्तित्वको विश्‍वव्यापी प्रतिष्पर्धामा सहभागी हुने अवसर पाए उनले। त्यो पनि नेपाली मोडलका लागि पहिलो अवसर थियो। यस्ता अन्तर्राष्ट्रिय मैदान र प्लेटफर्महरुमा उडान भर्दै उनले हालेको नेपाली फेसन तथा मोडलिङको जग अहिले धेरै युवाहरुको रोजाई र आकर्षणको क्षेत्र बनेको छ।

    जुन दिन आफैँसँग झण्डै हारे

    टेलिभिजनका लागि लक्षित गरेर विज्ञापन तयार पार्ने क्रम भर्खर सुरु हुँदै थियो। त्यही बेला उनलाई अवसर मिल्यो, टेष्टी चियाको विज्ञापनमा झुल्कने, जुन उनको पहिलो टेलिभिजन विज्ञापन थियो। त्यसपछि उनी टेलिभिजन विज्ञापनको पनि मोडलको रुपमा चिनिए।

    उनले म्यान हण्टमा पाएको मौका विश्‍वव्यापी ‘एक्पोजर’ का लागि ठूलो अवसर थियो। तर यो अवसर उनका लागि चरम निराशाको कारण पनि बन्यो। फेसन र मोडलिङमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेका ३६ राष्ट्रका प्रतियोगीहरु सहभागी थिए। तर उनलाई खास अनुभव र जानकारी थिएन। त्यसैले केही साथीहरुका लुगा मागेर उनी भाग लिन पुगे।

    'जब म त्यस प्रतिष्पर्धाका लागि सिंगापुर पुगेँ, तब म जीवनकै सबैभन्दा बढी अत्यासको अवस्थामा गएँ। फेसन र मोडलिङबारे थाहै नपाएको नेपालबाट पुगेको मैले कस्तो लुगा लाउने, के खाने, कसरी हिँड्ने केही जानेको रहेनछु भन्‍ने महसुस भयो', उनले सुनाए, 'म किन यहाँ भाग लिन आएँ भन्‍ने लाग्यो। जीवनकै सबैभन्दा बढी निराशाको क्षण थियो त्यो मेरा लागि।’

    त्यो अवसर उनका लागि अनुभव र सिकाई मात्र बनेन, आफुभन्दा पछि आउने मोडलहरुका लागि यस्ता अवस्थाको सामाना गर्ने अवस्था आउन नदिने प्रण गर्ने मैदान पनि बन्यो। त्यसपछि नै हो, उनले मोडलिङ र फेसनका क्षेत्रमा प्रशिक्षण दिन र सिकाउन थालेको।

    प्लेगबाट बच्न फर्कदाँको पछुतो

    निरन्तरको ग्ल्यामर जीवनका उनले निराशा, सफलता तथा पछुतोका विभिन्‍न कालखण्ड पार गर्नु पर्‍यो। यो यात्रामा अझै पनि उनलाई एउटा घटनाले पिरोलिरहन्छ। पछुतो मानिरहनुपर्ने घटना भारतको चर्चित मोडल हण्ट ‘ग्राभिएरा म्यान अफ अडोनिस’ को अवसर गुमाउनु हो।

    सन् १९९४ मा आवेदन खुलेपछि उनले पनि त्यो प्लेटफर्मको उपयोगका लागि आवेदन दिए। करिब १६ हजार आवेदनबाट उनको पनि नाम उत्कृष्ट २५० जनामा पर्‍यो। त्यसपछि उनी बाँकी चरणको प्रतिष्पर्धाका लागि भारत पुगे। ती मध्येबाट उनको यात्रा उत्कृष्ट १५ मा पुग्यो।

    त्यही बेला भारतभर ‘प्लेग’ रोग फैलियो। प्लेगबाट बच्न उनी नेपाल फर्किए। नेपाल फिरेर पनि थप चरणको प्रतिष्पर्धाका लागि छनोट भए। खबर आयोजकले हुलाकमार्फत पठायो। तर खबर पाउँदा सहभागी हुन पुग्नुपर्ने समय गुज्रिसकेको थियो।

    ‘त्यसबेला अहिले जस्तो सूचना-सञ्चारका यति धेरै विकल्प थिएनन्, चिठ्ठी हुलाकमा हालिएछ तर ढिलो आएकाले म उत्कृष्ट १५ पछिको प्रतिष्पर्धामा भाग लिनबाट चुकेँ', उनले सुनाए, 'म उपाधि दाबेदारमध्ये थिएँ भन्‍ने लाग्छ। यदि उपाधि पाएको भए त्यो मेरो जीवनको नयाँ मोड बन्‍ने थियो, तर मैले अवसर गुमाएँ।’ प्लेग रोगबाट बच्‍न नेपाल फर्कनुको पछुतो अझै उनको जीवनमा खिल बनेर गढेको छ।

    अझैसम्म टिक्नुको रहस्य

    मोडलिङको जग नै नबसेको समयदेखि शुरु भएको यात्रा अझै अनवरत छ। एउटै क्षेत्रमा यति लामो समय टिक्नु चानचुने कुरा होइन। उनी पनि त्यसै यसक्षेत्रमा टिकेका होइनन्।

    त्यही बेला भारतभर ‘प्लेग’ रोग फैलियो। प्लेगबाट बच्न उनी नेपाल फर्किए। नेपाल फिरेर पनि थप चरणको प्रतिष्पर्धाका लागि छनोट भए। खबर आयोजकले हुलाकमार्फत पठायो। तर खबर पाउँदा सहभागी हुन पुग्नुपर्ने समय गुज्रिसकेको थियो।

    ‘हार मानेको भए उहिल्यै यस क्षेत्रबाट बिदा भइसकेको हुन्थेँ तर मोडलिङसँगै जोडिएर अन्य क्षेत्रमा पनि हात हालेँ। जसका कारण अझै यो क्षेत्र गुमाउने सोच पाल्नु परेको छैन,’ उनले खुसी हुँदै सुनाए।

    उनी अहिले कोरीयोग्राफी, इभेन्ट मेनेजमेन्ट, मोडलिङ प्रशिक्षका रुपमा सक्रिय छन्। सन् १९९४ देखि कोरीयाग्राफीलाई पनि व्यवसायको अंग बनाएका उनले त्यही बेला फोपवे नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी दर्ता गरे। तर त्यो क्षण सहज थिएन।

    यस प्रकारका कुनै कम्पनी नै दर्ता नभएको समयमा त्यसबारेमा सरकारी अधिकारी अन्योलमा परे। ‘इभेन्ट म्यानेजमेन्टका लागि मेरो कम्पनी पहिलो थियो, त्यसैले कानूनी व्यवस्था पनि प्रष्ट थिएन,’ उनले सुनाए, ‘त्यही बेला हो, इभेन्ट मेनेजमेन्टलाई के नेपाली शब्द प्रयोग गरौं भनेर समस्या भएको। अनि मैले सरकारी कर्मचारीसँग मिलेर 'समारोह व्यवस्थापन व्यवसाय' भनेर शब्द चयन गरेँ। अनि पहिलो कम्पनीको रुपमा दर्ता गर्‍यौं।’

    यसरी संस्थागत रुपमा फेसन, इभेन्ट म्योनजमेन्ट र मोडलिङको जग हाल्दै आएका उनी अहिले विगवेल एडुटेन्मेन्ट नामक कम्पनी चलाएर व्यवसायिक उडान भरि रहेका छन्। 'सायद र्‍याम्प, फोटोसुट र विज्ञापनमा मात्र सीमित रहेको भए आफुलाई यहाँसम्म आएर टिकि रहन सजिलो पक्कै हुने थिएन', उनले सुनाए। 

    चलचित्रमा पुरानो तर नयाँ

    पछिल्लो समय उनी चलचित्र क्षेत्रमा जोडिएका छन्। व्यवसायिक रुपमा उनको पहिलो फिल्म ऐश्वर्या हो। ऐश्वर्याको ‘राघव’ पात्र दर्शकले मात्रै रुचाएनन्, विभिन्‍न अवार्ड आयोजकका नजरमा पनि पर्‍यो। पछिल्ला केही वर्षमै चलचित्र क्षेत्रमा स्थापित उनका लागि यो नयाँ क्षेत्र भने होइन।

    एक दशक अघि नै उनले ‘टाटाबाईबाई’ नामको नेपाली चलचित्रमा पनि अभिनय गरेका थिए। तर त्यसले अझै सिनेमा घरको पर्दा उघारेको छैन। त्यसैले पनि नयाँ दर्शकका लागि उनी नयाँ अनुहार भए पनि चलचित्रका लागि उनी नयाँ थिएनन्।

    ‘त्यही बेला हो, इभेन्ट मेनेजमेन्टलाई के नेपाली शब्द प्रयोग गरौं भनेर समस्या भएको। अनि मैले सरकारी कर्मचारीसँग मिलेर 'समारोह व्यवस्थापन व्यवसाय' भनेर शब्द चयन गरेँ। अनि पहिलो कम्पनीको रुपमा दर्ता गर्‍यौं।’

    त्यसभन्दा अघिसमेत सन् १९९२ मा उनले हलिउडको पनि अनुभव संगालिसकेका थिए। लियोनार्दो वोर्दोलुजीको निर्देशनमा बनेको ‘लिटिल बुद्ध’ नामको अंग्रेजी चलचित्र चाहिँ उनको जीवनको पहिलो चलचत्रि अनुभव थियो।

    यसको डेढ दशकपछि नेपाली सिनेमाका दर्शकका लागि प्रस्तुत भइरहँदा पनि सिनेमा क्षेत्रका दिग्गजहरुबाट पाएको हार्दिकताले चलचित्र मोह बढाएको छ।

    ‘म त नेपाली सिने क्षेत्रका त्रिदेवी भन्छु, चैतुदेवी, भुवन चन्द र वसुन्धरा भुषाललाई उहाँहरुबाट मैले अत्यन्तै हार्दिकता पाएको छु’, उनले अनुभव सुनाए, ‘नीर शादेखि सरोज खनाल, सुनिल थापा, करिश्मा मानन्धर, निरुता सिंह मात्रै नभइ भुवन केसीदेखि अनमोल केसीसम्मको सम्बन्धले मलाई सिनेमा क्षेत्र नौलो लागेन।’

    उनलाई चलचित्रमा स्थापित गरिदियो–ऐश्वर्याले। त्यसबाहेक पनि उनी अन्य चलचित्रमा पनि छाइरहेका छन्। आफ्नो पुरानो रुची भएका कारण लामो समयको ‘ग्याप’ पछि चलचित्रमा ‘कमव्याक’ हुँदा अभ्यस्त हुन गाह्रो नभएको उनी सुनाउँछन्। 

    अबको यात्रा

    परिवार काठमाडौंको रैथाने नेवार। बुवा शंकररत्न ताम्रकार लेखापरीक्षक। आमा निरकमला पनि लेखा क्षेत्रमै। उनको चेतना विकास भएपछि बुवाकै सहयोगीका रुपमा लामो समय काम गरे। सुखसयलमै बित्यो बाल्यकाल।

    २०४७ सालमा एसएलसी दिएका उनकी एक बहिनीले पनि सानैदेखि बोर्डिङमा पढ्न पाए। तर छोराले बुवा आमाको रुचीको क्षेत्र चार्टर्ड एकाउन्टेन नहुने लक्षण देखाएपछि अवरोध पनि खास गरेनन्।

    त्यसैले उनको रुचीले क्रमश प्वाँख हाल्यो र स्वतन्त्रतापूर्वक उडान भर्ने अवसर पायो। कयौँ असफलता र निराशाका दिन गुजारे पनि झण्डै ५ हजार युवालाई मोडल र फेसनको तालिम दिएर यस क्षेत्रमा स्वागत गर्न पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो सफलता मान्छन् उनी।

    मोडलिङ र फेसन क्षेत्र व्यवसायिक बन्दै गएकाले धेरैले यहीँबाट आफ्नो भविष्यसमेत सुखद बनाउन सक्ने अवस्था बनेको उनको ठम्याई छ। त्यसैले शरीरले साथ दिएसम्म, दर्शकले रुचाए सम्म यही क्षेत्रमा रहने अठोट उनीसँग छ।

    नयाँ पुस्तालाई सुझाव

    कानमा मुन्द्रा, लट्टे कपाल, सेतो र कालो छ्यास्मिसे–झ्याप्प दाह्री। मोडलिङ् क्षेत्रमा यस्तै अरु भन्दा पृथक स्वरुप र पहिरन जरुरी हो? उनले अर्थ्याए,‘मोडल भनेकै नमूना, त्यसैले नमूना त हुनै पर्‍यो। तर के गर्दा आफुलाई राम्रो र अरुलाई प्रभावित पार्ने ‘आउटलुक’ मा ढाल्न सकिन्छ त्यो त गर्नै पनि पर्छ नि। प्रतिभा अन्तरनिहीत हुने भए पनि स्वरुप पनि पत्यार लाग्दो त बनाउनु पर्‍यो। तर जबरजस्ती होइन, सुहाउने गरि।’

    आफ्नो स्वरुपबारे पनि वर्णन गरे उनले, ‘मैले कपाल र दाह्री त्यसै पालेको होइन, यो मेरो एउटा ऊर्जको श्रोत हो। यहाँबाट पनि शक्ति पाइरहेको हुन्छु। दाह्री कपाल पालेका हरेक व्यक्तिलाई सोध्नुस्, तपाईंलाई यही उत्तर मिल्छ। उत्तरमा विश्वास नलागे आफैं गरेर हेर्नुस् महसुस गर्नुहुने छ।’

    समाजका कुनै पनि क्षेत्रमा अरुको आदर्श पात्र बन्‍न सक्नु नै एउटा ‘मोडल’ को आदर्श र सफलता ठहरिने उनी बताउँछन्। त्यही अर्थमा उनी आफूलाई सफल ठान्छन्। 

    ‘मैले कपाल र दाह्री त्यसै पालेको होइन, यो मेरो एउटा ऊर्जको श्रोत हो। यहाँबाट पनि शक्ति पाइरहेको हुन्छु। दाह्री कपाल पालेका हरेक व्यक्तिलाई सोध्नुस्, तपाईंलाई यही उत्तर मिल्छ। उत्तरमा विश्वास नलागे आफैं गरेर हेर्नुस् महसुस गर्नुहुने छ।’

    यस क्षेत्रलाई नकारात्मक दृष्टिकोणबाट हेरिने समयदेखि अहिलेको आकर्षक समयसम्म गुजारेका उनी भन्छन्,‘मोडलिङ र ग्ल्यामरमा टिक्न समय अनुसार अपडेट हुनै पर्छ, अपडेट हुँदै नयाँ कामका लागि आफुलाई तयार पार्नेलाई अवसरका प्रशस्तै ढोका खुल्छन्।’

    मोडलिङमा मात्रै टिकिरहने भन्दा पनि यहाँ आएपछि देखिने सम्भावना र उघ्रिने ढोकाको उपयोग गर्दै आफ्नो ‘करियर’ बनाउन सकिने सुझाव उनी दिन्छन्। 

गोपाल झापाली

झापाली थाहा खबरका झापाको दमकस्थित समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]