समाज

आहा ! पर्वत र बागलुङ जोड्ने एसियाकै लामो झोलुङ्गे पुल (फोटो फिचर)

फागुन १, २०७६

    पर्वत : नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा यसमा एउटा इँटा थप्ने आशा गरिएको पर्यटकीय गन्तव्यको रूपमा पर्वत र बागलुङ जिल्लालाई जोड्ने झोलुङ्गे पुल मानिएको छ।

    ५ सय ६७ मिटर लम्बाई र १ सय २२ मिटरको उचाइमा पर्वतको कुस्मा नगरपालिका-१ पाङको अदुवा बारी र बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी शालिग्राम शिला पाइने नेपालकै एक मात्र नदी कालीगण्डकीमाथि यो पुलको निर्माण भइरहेको छ। पुलको निर्माण कार्य २०७७ सालको असार महिनासम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको र तोकिएको समयअगावै काम सकिने पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए।

    ‘पुलको काम धमाधम भइरहेको छ, निर्धारित मिति भन्दा पहिले नै सकिन्छ। अब करिब १० प्रतिशत जति काम बाँकी होला,’ उनले भने, ‘अब छेउमा जाली र ठाडो डन्डी राख्ने, पुललाई हल्लिन नदिन 'एङ्कर प्लक'बाट 'साइड लट्ठा' कस्ने र उज्यालोको लागि सोलार बत्तीहरू जडान गर्ने काम बाँकी रहेको छ।’ निर्माणका क्रममा सस्पेन्सन ब्रिज महाशाखा, बागलुङ नगरपालिका र कुस्मा नगरपालिकाले विशेष चासो र निगरानी गरेका कारण पनि तोकिएको समय भन्दा पहिले नै गुणस्तरीय रूपमा पुलको काम सकिने सुवेदीको भनाई छ। 

    दुई जिल्ला जोड्ने गरी बनेको यो पुलमार्फत कृषि तथा पर्यटकीय गतिविधि बढाउँदै स्थानीयको आर्थिक स्तर बलियो पार्न पनि उपयोगी हुने अपेक्षा गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल बताउँछन्। कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी कोरिडोरमाथि बनेको पुलले सोही बाटो हुँदै हिमाल पारीको जिल्ला मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्वत र बागलुङ जिल्लामा बास नै बस्ने गरी अड्याउन सक्छ भन्ने धेरैको आशा छ।

    झोलुङ्गे पुलको नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, पार्वती जन्मिएको भनी विश्वास गरिएको पाङ, पार्वती गुफा, सहस्र धारा, कालीगण्डकी नदीको बहाव लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन्। पुलकै छेउबाट धौलागिरी हिमालको सुन्दर दृश्य अवलोकन गर्ने सकिने र सो दृश्य हेर्न पनि पर्यटक आकर्षित हुने स्थानीयले अपेक्षा राखेका छन्।

    पुल निर्माणपछि पर्वतको कुस्मा नगरपालिकाको पाङ्ग र बाग्लुङ्गको सदरमुकाम बाग्लुङ्गबजारबीच आवतजावतमा समेत सहज हुनेछ। बागलुङ बजारबाट पाङ्ग पुग्न पैदल मार्ग मार्फत डेढ घण्टा लाग्ने गरेकोमा पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ। पर्यटकीय र कृषिको उर्वर भूमि मानिएको पाङ्गलगायत अन्य वडाहरूको विकासमा पनि यो झोलुङ्गे पुलले टेवा पुर्‍याउने छ।  

    पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जोड्ने पुल निर्माणका लागि पटक-पटक प्रयास भए पनि पुल लामो दुरीको हुने भएकाले लट्ठा तान्ने प्रविधि नेपालमै नभएको भनेर रोकिँदै आएको थियो।

    तर पर्वतबाट राष्ट्रिय सभाको अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिनाको विशेष पहल तथा पाङ र बागलुङवासीहरूको पटक-पटकको दबाबमा नेपाल सरकारले चिनियाँ प्रविधिको लट्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट दिएपछि पुल निर्माणको काम अगाडि बढेको थियो।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]