साहित्य

प्रेम, आर्यघाट र प्रेमवर्षा

फागुन २, २०७६

    म प्यारीलाई आर्यघाटमा पर्खिरहेको थिएँ। उसले भनेकी थिई, ‘बिकेश, म तिमीलाई भेट्न आर्यघाट आउँछु।’

    मैले उसलाई भेटघाटको निम्ति कुनै सुन्दर बगैँचामा अथवा कतै कुनै पार्कमा बोलाउँनुपथ्र्यो होला। उसलाई जीवन बाँचिरहेकाहरूमाझ बोलाउँनुपथ्र्यो होला। अथवा उसलाई मनपर्ने कुनै प्रेमिल स्थलमा बोलाउँनुपथ्र्यो। तर, सबै ठाउँहरूलाई बिर्सिदिएर अनि उसलाई पनि केही नसोधेर मैले उसलाई बोलाएँ, ‘प्यारी, आर्यघाट आऊ न।’

    आर्यघाट मलाई कुनै सत्य स्थल लाग्छ जहाँ कमसेकम हामी झुटको जिब्रोको सहयोग लिँदैनौँ। आज सारा वसुन्धरा नै मिथ्या भइरहेको बेला मलाई आर्यघाट चाहिँ अझैसम्म मिथ्या भएको छैन कि जस्तो लाग्छ। भोलि आर्यघाटको अस्तित्वमा दाग लागेर आजको सत्यवादी आर्यघाट, मिथ्या आर्यघाट बन्ला कि नबन्ला भन्ने कुराचाहिँ मलाई थाहा छैन।

    जीवनमा सबै कुरा थाहा हुनैपर्छ भन्ने पनि छैन। फेरि वर्तमानको सिँढीमा आफ्ना पाइलाहरू नचालेर आगतको सिँढीमा आफ्ना पाइलाहरू चाल्न खोज्‍नु महामूर्खताभन्दा माथिको महामूर्खता हो।

    ‘प्रेम र प्यारीमाथि लेखिरहँदा आर्यघाटमाथि चाहिँ प्रवचन किन?’,तपाईंहरूका मनमा प्रश्न जन्मिनसक्ला। अथवा नजन्मेला। म जति प्रेम प्यारीलाई गर्छु, त्योभन्दा बढी प्रेम आर्यघाटलाई गर्छु। आर्यघाटमा मृत्युलाई देखिरहँदा, मैलेचाहिँ नयाँ–नयाँ जीवनहरू देखिरहेजस्तो लाग्छ।

    आर्यघाटले मलाई अरूलाई प्रेम गर्ने बनायो। अर्थात् आर्यघाटले मलाई प्यारीलाई प्रेम गर्ने बनायो। म आर्यघाटलाई प्रेम गर्छु। म प्यारीलाई बहुत प्रेम गर्छु।

    मध्याह्‍न भइसकेको थियो। आर्यघाटमाथिको आकाश निराश निराश बनिरहेको थियो। निराश त म हुनुपर्ने। किनकि प्यारीको प्रतीक्षामा घन्टौ‌ंदेखि म आर्यघाटमा बसिरहेको थिएँ ठीक लास जलाउने ठाउँको अगाडि।

    आँखाअगाडि लासहरू थिए, मनभरी भने प्यारी थिई। म आर्यघाटमा हराइरहेको थिएँ। प्यारी अनिश्चितताको घाटमा हराइरहेकी थिई।

    एउटा नुतन लास मेरा आँखाअगाडि आइपुग्यो आर्यघाटमा। एकछिनको निम्ति मैले मेरो मुटुबाट प्यारीको मुटुलाई निकालेर छेउकै आर्यघाटमय फूलको मुटुमा राखिदिएँ। अनि त्यही लासको मुटु सापटी मागेर आफ्नो मुटुमा केही समयको निम्ति सजाइदिएँ।

    एकैछिनमा मेरो मन बोल्न थाल्यो। अर्थात् त्यो लासको मुटु बोल्न थाल्यो जसको अगाडि मेरो कमजोर मुटुको केही पनि दादागिरी चल्नसकेन, ‘अबुझ मानुष, तिमी आफ्नी प्यारीको प्रतीक्षा गरिहेका छौ यहाँ बसेर घन्टौँदेखि। के तिमी जीवन प्रेमको प्रतीक्षा गरिरहेका छौ कि मृत्यु प्रेमको? के प्रेमको पनि प्रतीक्षा भन्ने कुरा हुन्छ? के हो प्रेम भनेको? तिमी जसलाई प्रेम गर्छु भनेर यहाँ मृत्युघाटमा बसेर सारहीन बनिरहेका छौं के तिमी उसलाई साँच्चिकै प्रेम गर्छौ? यदि तिमी उसलाई प्रेम गर्छौ भने उसलाई किन पर्खिन्छौ? तिमीहरू यदि परस्पर प्रेम गर्छौ भने अलौकिक प्रेम किन गर्न सक्दैनौ जुन प्रेमको आयु अनन्तसम्म रहनेछ। किन प्रेमको क्षणभङ्गुरतामा रमाइरहेका छौ अबुझ प्रेमी?’

    एक्कासि मेरो मुटुबाट त्यो महालासको मुटु फुत्त बाहिर निस्किन्छ अनि आफ्नो पखेटाले चराजस्तै उडेर आफ्नो मूलशरीरमा गएर प्रवेश गर्छ। केही निमेषमा नै त्यो महालास र उसको महामुटु जसले मलाई केहीक्षणअघि नै प्रेम र जीवन सिकाएर गएको थियो, महाशून्यतामा विलीन हुन्छ। एक्कासि त्यही अघिको मुटुको क्षणिक आवाज सुनिन्छ, ‘प्रिय मानुष, मैले तिमीलाई मृत्यु सिकाएको छु। जुन मृत्युलाई तिमी जीवन भनिरहेका छौं। जसरी अब म जीवनको मृत्यु हुँदै मृत्युको जीवनबाट महाजीवनतर्फ महायात्रारात भएँ, त्यसैगरी तिमी पनि मैले सिकाएको मृत्युबाट महाजीवनतर्फ यात्रारत हुनेछौँ कुनै दिन।’

    मैले प्यारीलाई आफ्नो मोबाइलबाट फोन गरेँ। फोन उठेन। पुनः फोन गरेँ। पुनः उठेन। मलाई फोन गरेर प्यारीलाई भन्न मन थियो, मेरी प्यारी, ‘तिमी जहाँ आइपुग्यौ, त्यहीँबाट फर्क। मलाई भेट्न नआऊ। अब हामी महाप्रेम गर्नेछौँ जसको निम्ति हामी भेटिनु भनेको हाम्रो प्रेम क्षीण हुँदै जानु हो। हाम्रो प्रेम समाप्त हुँदै जानु हो। हामी जति अलौकिक प्रेम गर्नेछौँ, त्यति नै हाम्रो प्रेम महाप्रेमको पथमा अग्रसर हुनेछ।

    जुन दिन हाम्रो महाप्रेमको आकाशबाट संसारभरी प्रेम, अपनत्व, निच्छलता, निश्चलता, शीतलता, पवित्रता आदि इत्यादिको वर्षा हुनेछ, त्यो दिन हामी सफल प्रेमी-प्रेमिका हुनेछौँ। हाम्रो प्रेम सफल हुनेछ। प्यारी, तिमीलाई पर्न गएको कष्टप्रति म क्षमाप्रार्थी छु। कृपया, अबदेखि हामी हाम्रो अन्तर्मनको अतिरिक्त अन्य कुनै पनि ठाउँमा भेट्ने आशा पनि नराखौँ।’

    आकाशबाट उड्दैउड्दै जोडी ढुकुर मेरैछेउ आइपुगे। एउटा ढुकुर मेरो दायाँतर्फ आएर बस्यो। अर्को ढुकुर मेरो बायाँतर्फ आएर बस्यो। म बीचमा परेँ। हामी तीनैजना मौन थियौँ। यस संसारमा हाम्रो भौतिक शरीर रहे तापनि त्यो क्षण हाम्रो भौतिक शरीरको अतिरिक्त केही पनि यो संसारमा थिएन। हामी एउटा अज्ञात संसारतर्फ अलप भयौँ। एकैछिनमा मेरो दायाँतर्फ बसिरहेको ढुकुर महामानुष बन्यो। मेरो बायाँतर्फ बसेरहेको अर्को ढुकुरचाहिँ महामानुषी बन्यो। महामानुषले परिचय दिए, ‘म यो ब्रह्‍माण्ड साथसाथै अनन्तताको महाप्रेमी हुँ। मेरै कारणले संसारभरी प्रेमका फूलहरू फुल्छन्।’

    महामानुषीले परिचय दिइन्, ‘म यो ब्रह्‍माण्ड साथसाथै अनन्तताकी महाप्रेमिका हुँ। मेरै कारणले संसारभरी प्रेमका इन्द्रेणीहरू सजिन्छन्।’ 

    म टोलाइरहेको थिएँ। लासहरू आइरहेका थिए। मलामीहरू आइरहेका थिए। गइरहेका थिए। कोही रोइरहेका थिए। कोही हाँसिरहेका थिए। आर्यघाट भने भावनाविहीन थियो। उसलाई कसैसँग मतलव थिएन। केही लिनुपर्ने थिएन। केही दिनुपर्ने थिएन।

    हामी केका निम्ति बाँच्छौँ? प्रेमका निम्ति? परिवारका निम्ति? जीवनका निम्ति? खुसीका निम्ति? कि अन्य केही कुराको निम्ति? हामीलाई जे कुरा थाहा छ, जे कुराबारे अलिकति भए पनि ज्ञान छ, हामी त्यसकै निम्ति बाँच्छौँ भनेर छाती फुलाएर भन्छौँ। यसरी त हामी निज र निजको आत्मालाई नै ठगिरहेका छैनौँ र? हामीभित्र जे कुराको अवशेष छैन, जे कुराबारे हामी पूर्णरूपमा अनभिज्ञ छौँ, के हामी त्यो कुराको निम्ति बाँच्दैनौँ? के बाँच्नु मात्र जीवन हो। फेरि बाँच्नुको खास अर्थचाहिँ के?

    आर्यघाटमा आएर म घनचक्कर भइसकेको थिएँ। मेरो साँघुरो अवधारणालाई त्यो महामुटुले नै तहसनहस गरिदिएको थियो। मेरो मनमस्तिष्क घनचक्कर भइसकेको थियो। मेरा घनचक्कर नुतन विचारधारा म स्वयं नै बुझिरहेको थिइनँ।

    केही समयपछि बल्ल अलिअलि बुझेँ, ‘यो समाज, परिवार, समुदाय, राष्ट्र र विश्वले बनाइदिएका विविध वाद, विचारधारा, सिद्धान्‍त आदि इत्यादिभन्दा माथि गएर केही नौलो विचार सोच्नु भनेको घनचक्कर हुनु रहेछ। पागल हुनु रहेछ।’ वैचारिक रूपमा बौलाहा भएकाहरूलाई म बहुत प्रेम गर्छु। म मेरो घनचक्कर मनका घनचक्कर विचारहरूलाई औधीऔधी प्रेम गर्छु। मेरो मनभित्रको घनचक्कर प्रेमी र मेरी घनचक्कर प्यारीलाई म बहुत बहुत प्रेम गर्छु।

    म आर्यघाटमै हुन्छु तर अहिलेचाहिँ म प्यारीको प्रतीक्षा गरिरहेको छैन। अब त म नै चाहन्छु, ऊ यहाँ नआओस्। ऊ यहाँ आए पनि उसको भेट मसँग कदापि नहोस्। अब हाम्रो भेट किमार्थ नहोस्।

    मेरो परम मनोकामनालाई आकाशको गुञ्जनले स्वागत गर्छ। मेरो परम मनोकामनालाई हार्दिकतासाथ स्वागत गर्दै आकाशबाट मेरी प्यारीको अनुपम प्रेमको प्रेमवर्षा हुन थाल्छ। म आफ्नी प्यारीलाई सम्पूर्णतामा पुगेर महसुस गर्छु। उसको अनुपम प्रेमको प्रेमवर्षाका एकएक थोपाले मलाई पूर्ण प्रेमसाथ रुझाउँछ। हरेक थोपाले मलाई प्यारीको प्रेमिल सन्देश दिन्छ। सबै कुरा बिर्सेर म मस्तसँग रुझ्छु। आफूलाई पूरै प्रेमले भर्न खोज्छु। 

    आर्यघाटमा प्रेम र प्यारीलाई बुझ्‍न र भेट्न गएको थिएँ। आर्यघाटले महाप्रेम बुझाइदियो। मेरी प्यारीको वास्तविक वासस्थान देखाइदियो। म जे थिएँ, त्योभन्दा फरक बनाइदियो। म जे सोच्थेँ, त्योभन्दा बृहत् सोच्ने बनाइदियो। म प्रेमको नाममा मिथ्या प्रेम गरिरहेको थिएँ। आर्यघाटले अलिकति भए पनि मलाई वास्तविक प्रेमसँग साक्षात्कार गराइदियो।

    डायरीबाट एउटा पाना च्यातेर लेखेँ, ‘प्रिय आर्यघाट, प्यारी आई भने विकेश गयो भनिदिनू।’ त्यो पानाको जिम्मा आर्यघाटलाई नै दिएर म त्यहाँबाट अलप भएँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]