कोभिड-१९ {अपडेट}

मन्त्री भट्टराईको दौडधुप, नगरकोटदेखि दुवाकोटसम्मको ‘फिल्ड भिजिट’

१ लाख ३० हजार क्‍वारेन्टाइन निर्माणको तयारी

फोटो : पर्यटन मन्त्रीको निजी सचिवालय
चैत १२, २०७६

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन निर्माणका लागि विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले बुधबार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरीक्षण गरेर सरोकारवालाहरूसँग छलफल गरेका हुन्।

    पर्यटनमन्त्री भट्टराई सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत हुन्। भट्टराईको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कोरोना भाइरस (कोभिड–१९०) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ यसअघि (१० चैत२०७६) नै स्वीकृत भइसकेको छ।

    नोभल कोभिड–१९ रोगको संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको हो।

    क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ तयार पारेर स्वीकृत भएलगत्तै मन्त्री क्वारेन्टाइन निर्माणका लागि दौडधुपमा छन्। मंगलबार पनि दिनभरजसो क्वारेन्टाइन निर्माणका लागि स्थलगत निरीक्षण र छलफलमा जुटेका मन्त्री भट्टराईले बुधबार बिहान ८ बजे नगरकोट पुगेका थिए। मन्त्री भट्टराईले नगरकोट पुगेर नगरकोटका होटल व्यवसायी र सरोकारवाला निकायका प्रमुखहरूसँग क्वारेन्टाइन निर्माणका लागि छलफल गरेका थिए।

    होटल व्‍यवसायीसँग छलफल

    मन्त्री भट्टराईले विश्व र मानव समाज नै गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यो संकटबाट मुक्‍ति पाउन सबैको सहकार्य, सहयोग र समन्वय भएको बताए। छलफलमा मन्त्री भट्टराईले नगरकोटका होटल व्यवसायीहरूलाई उयपुक्त होटलहरू क्वारेन्टाइन निर्माणका लागि दिन आग्रह गरे।

    मन्त्री भट्टराईसँगको छलफलपछि व्यवसायीहरूले होटललाई क्वारेन्टाइन निर्माणका लागि दिन तयार रहेको प्रतिबद्धता जनाए। नगरकोटमा करिब २ हजार कोठाहरू उपलब्ध रहेको छ। तीमध्ये पहिलो चरणमा ५ सय कोठाहरूलाई क्वारेन्टाइन निर्माण गरिने भएको छ।

    नगरकोटका होटलहरूमा क्वारेन्टाइन निर्माणका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू रहेको समिति बनाइएको छ।

    मेडिकल कलेजको पनि निरीक्षण

    यसैगरी बुधबार नै मन्त्री भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको पनि निरीक्षण गरेका छन्। त्यहाँ मन्त्री भट्टराईले दुवाकोटमा व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, चाँगुनारायण नगरपालिकाका मेयर र स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए। दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० बेड र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ।

    यसैगरी त्यस लगत्तै मन्त्री भट्टराईले पशुपति क्षेत्रमा धर्मशालाको पनि स्थलगत निरिक्षण गरे। धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ। मंगलबार मन्त्री भट्टराईले ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र ललितपुरकै हात्तीवनस्थित लिटिल एन्जल स्कुलको निरीक्षण गरेका थिए।

    १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी

    मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए। मन्त्री भट्टराईका अनुसार संघीय सरकारले ५ हजार क्वारेन्टाइन, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने गरी तयारी भइरहेको छ। यसैगरी ७७ जिल्ला मध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २/२ हजार क्वारेन्टाइन निर्माणको तयारी रहेको छ।

    ‘क्वारेन्टाइन प्रयोगको दिन नआओस्’ मन्त्री भट्टराईले क्वारेन्टाइन निर्माणका लागि तीव्र काम भइरहेको भए पनि क्वारेन्टाइन प्रयोगको अवस्था नआउने विश्वास समेत व्यक्त गरे। उनले भने, ‘मलाई विश्वास छ, हामी सबैको सचेतना, सुरक्षा र सहकार्यले यी क्वारेन्टाइनको प्रयोगको अवस्था आउने छैन।’

    मन्त्री भट्टराईले कोरोनाभाइरस संक्रमण रोक्ने प्रमुख आधार नागरिकहरूको ‘सेल्फ’ सुरक्षा, सचेतना र अनुशासन नै भएको उल्लेख गर्दै तोकिएको समयमा घरमै बस्न आह्‍वानसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]