राजनीति

स्वास्थ्य सामग्री प्रचलित कानुनअनुसार नै खरिद गरिनेछ : नेपाली सेना

चैत २३, २०७६

    –भीष्मराज ओझा

    काठमाडौं : नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानुनबमोजिम हुने र गुणस्तरमा कुुनै सम्झौता नहुने स्पष्ट पारेको छ।

    नेपाल सरकारले यही चैत १६ गते मन्त्रिपरिषद्बाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो।

    सरकारको निर्णयपछि नेपाली सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए। उनले नेपाली सेनाले आइतबार भिडियो कन्फरेन्समार्फत आयोजना गरेको पत्रकार अन्तरक्रियामा भने, 'खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त सामग्री मात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गरिने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गरिने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना रहेको छ।'

    सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन समिति गठन गर्ने योजनाअनुसार कार्य अघि बढाइएको प्रवक्ता पाण्डेले जानकारी दिए।

    खरिद गरिने सामग्रीको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीसहितको गुणस्तर नियन्त्रण समितिको गठन गरी कार्य सम्पादन गर्ने योजना रहेको सेनाले जनाएको छ। सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारीअनुरुप देश र जनताप्रति बफादार रही उच्च मनोबलका साथ विविध प्रकृतिका विपद् व्यवस्थापनको प्राथमिक दायित्व पूरा गर्दै आएको उनले बताए।

    'कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सेनाले शुरुदेखि नै नेपाल सरकारको निर्देशनबमोजिम अग्रपंत्तिमा रही योगदान दिँदै आइरहेको छ। मित्रराष्ट्र चीनको वुहानबाट नेपाली विद्यार्थीको उद्धार गरी क्वारेन्टाइनको व्यवस्थापन, प्रदेश तथा स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर अपरेशन (सिसिएमसी–ओप्स) मा समेत महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको जानकारी गराउँदछौं', प्रवक्ता पाण्डेले भने।

    नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिमा आमनागरिकका साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघ संस्था तथा नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाइँ पनि जित्न सकिनेमा नेपाली सेनाको विश्वास रहेको उनले बताए।

    कोरोना भाइरस प्रतिकार्यलगायत आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयमा भविष्यमा समेत नेपाल सरकारले अङ्गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोट कानुनसम्मत

    अन्तरक्रिया कार्यक्रममा काठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) परियोजनाको कार्य प्रगति विवरण र वर्तमान अवस्था, भावी योजना, डिजाइन तथा कन्सट्रक्शन सुपरीवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटलगायत सम्बन्धमा हालसम्म गरेका कार्यबारे जानकारी गराइएको थियो।

    नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग परियोजना २०७४ साल साउन २७ गते नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो।

    तोकिएको समयसीमाभित्र पारदर्शी र गुणस्तरीय रुपमा सम्पन्न  गर्ने गरी समष्टिगत योजनाअनुसार निर्माण कार्यलाई तदारुकताका साथ कार्य अगाडि बढाइएको आयोजना प्रमुख एवं प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले जानकारी दिए। पत्रकारका जिज्ञाषालाई स्पष्ट पार्दै उनले उक्त राष्ट्रिय गौरवको परियोजनाको कार्य प्रगति विवरण, भावी योजनालगायत डिजाइन तथा कन्सट्रक्शन सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटसम्बन्धी विस्तृत विवरणबारे बताएका थिए।

    द्रूतमार्ग सडक खण्डको कूल लम्बाइ ७२.५ किमीमध्ये सुरुङमार्ग ६.४१ किमी, विभिन्न पुल १०.५९ किमी र ढुंगा माटो कटान र भराइ गर्नुपर्ने सडकखण्ड ५५.५ किमी रहेको छ। आयोजनाको सडक खण्डको ‘सबग्रेडलेभल’सम्म तयार गर्न माटो काट्ने/पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको सहायक रथी श्रेष्ठले बताए।

    सेनाले द्रूतमार्ग सडक आयोजनाको डिजाइन तथा कन्सट्रक्शन सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोट प्रचलित कानुनअनुसार नियमसंगत र पारदर्शी रुपमा गरिएको स्पष्ट पारेको छ। हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको प्रभाव तथा लकडाउनका कारण आयोजनाको निर्माण कार्यसमेत हाल प्रभावित भए पनि आयोजना तोकिएको समयमा नै सम्पन्न हुने सहायक रथी श्रेष्ठले जानकारी गराए।

    यस आयोजनाको समष्टिगत कार्ययोजनाअनुसार आयोजनाको कार्य क्षेत्रलाई ११ वटा विभिन्न क्लस्टरमा विभाजन गरी आर्थिक वर्ष २०८०/०८१ सम्म कार्य सम्पन्न गर्ने गरी विभिन्न क्षेत्रका काम अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]