विचार

स्वच्छ, शान्ति र सिर्जनाको नयाँ वर्ष

बैशाख १०, २०७७

    कोरोनाको कहरका समाचार सुन्दासुन्दै र घरभित्र करिब १ महिनाको बन्दाबन्दीमा रहँदा-रहँदै विसं २०७६ ले बिदा लिँदै २०७७ लाई स्वागत गरिसक्यौँ। वैशाख १० भइसक्यो। वसन्त ऋतुको आगमनसँगै सुरु हुने नेपाली नयाँ वर्षकै आसपास अरू धेरै देशका नयाँ वर्ष पनि पर्दछन्।

    आजको विश्व एक-अर्कासँग धेरै नजिक छ। त्यसैले त चीनबाट फैलिएको कोभिड-१९ अमेरिका, युरोप हुँदै हामीलाई झस्काउँदै छ। हामी बन्दाबन्दीमा बस्न बाध्य छौँ। यही नै सुरक्षित रहने सबैभन्दा उपयुक्त उपाय पनि हो। विश्व स्वास्थ्य संगठनले नै संसारलाई विश्वव्यापी संकटकालको घोषणा गरेको छ। 

    नयाँ वर्षमा विदेश घुमौंला, देशका विभिन्न ठाउँ जाउँला, परिवारसँग वनभोज या कतै कुनै कार्यक्रम आयोजना गरौँला भनेर २-३ महिना अघिदेखि योजना बन्ने गर्दथ्यो। तर, अहिलेको नयाँवर्षमा संसारका मानिस बाँच्नको लागि युद्धरत छन्।

    चीनमा पनि आफ्नो नयाँ वर्ष शुरुवातीको संध्यामै कोरोनाले आक्रमण गरेको थियो। पात्रोअनुसार फेरिने नयाँ वर्षले वर्षभरिका क्रियाकलाप, सफलता, असफलतालाई साक्षी राख्दै नयाँ वर्ष, नयाँ संकल्प र नयाँ योजनाहरूको संकेत गर्दछ।

    गएका नयाँ वर्षहरूले खासै नयाँ परिवर्तन र नयाँपन दिन सकेका थिएनन् भने यसपटकको नयाँ वर्षले धेरै नै नयाँपनको आभाष गराउनेछ।

    विज्ञानलाई चुनौतीस्वरूप कोरोना संक्रमणले उत्पन्न कोभिड-१९ ले आजको दिनसम्म विश्वका केही देशलाई छोडेर सबैलाई आतंकित बनाएको छ। सम्भवत: हाम्रो पालाको, हाम्रो शताब्दीका लागि पहिलो कहालीलाग्दो महामारी हो।

    नयाँ वर्षमा विदेश घुमौंला, देशका विभिन्न ठाउँ जाउँला, परिवारसँग वनभोज या कतै कुनै कार्यक्रम आयोजना गरौँला भनेर २-३ महिना अघिदेखि योजना बन्ने गर्दथ्यो। तर, अहिलेको नयाँवर्षमा संसारका मानिस बाँच्नको लागि युद्धरत छन्।

    सोच्दै, समाचार हेर्दै घरभित्र समय बिताउँदै छौँ। विज्ञानलाई चुनौती दिएको मानिस आज कोरोनासँग त्रसित भएर घरभित्र बन्दी छ। सम्पन्न देशहरू पनि आज स्तब्ध छन्, टक्क रोकिएका छन्। आर्थिक, सामाजिक हरेक क्षेत्रमा, हरेक दृष्टिले प्रभाव पारिरहेको छ। योभन्दा अगाडि पनि धेरै किसिमका डरलाग्दा रोगहरूको नाम नसुनिएको होइन तर विज्ञानलाई नै चुनौती दिँदै प्रवेश गरेको कोरोना भाइरसले सबै देशलाई एकसाथ बन्दाबन्दीमा पारेर विज्ञानलाई पछि पार्दै आफू अघि सरेको छ।

    शक्तिशाली राष्ट्रको तुलनामा हाम्रो भौतिक पूर्वाधार र तयारीको अवस्था हेरेर बोल्न र अभिव्यक्त गर्न सक्ने अवस्था छैन। तर, विश्वव्यापी परिवेशबाट हामी पनि अछुतो हुन नसक्ने हुँदा हाम्रो सोच पनि त्यहि जिज्ञासा र कौतुहलतामा मानव संकटलाई नियालिरहेका छौँ।

    तर वास्तवमा, यो २०७७ साल हामीलाई विज्ञान, मानव संकट र महामारीको नयाँपन अनुभूति दिलाउँदै शुरु भएको छ। अप्रत्यक्ष रुपमा हामीलाई टक्क अडिएर जीवन र जगतका बारेमा सोच्ने मौका मिलेको छ। गर्न चाहेर पनि नसकिएका काम गर्ने समय पाएका छौं।

    स्वच्छ प्रकृतिको दर्शन

    मानिसका आधुनिक जीवनशैलीले गर्दा विश्वमै वातावरण झण्डै तहसनहस नै भइसकेको थियो। विश्वव्यापीकरण, बढ्दो कलकारखाना, सवारीसाधन, शहरीकरण र जीवनशैलीले गर्दा वातावरण आफैंमा निसास्सिन पुगेको थियो। वन्यजन्तु र चराचर जगत मानिसका क्रियाकलापदेखि दिक्क भइसकेका थिए। पशुपन्छीको स्वतन्त्रता समेत मानिसकै कारण खोसिएका थिए।

    अहिलेको बन्दाबन्दीले नेपालका बाटोघाटो, वनजंगल, डाँडापाखा, हिमाल, आकाश स्वच्छन्द रूपमा खुलेका छन् र आफैंमा स्वतन्त्र महसुस गरेका छन्।

    घरको ढोकाबाट बाहिर चियाउँदा प्रकृति खुसीले हाँसेको देख्न पाइन्छ। चराचुरुंगीको चिर्विरमा खुसियाली महसुस गर्न सकिन्छ। सडकमा हिँडेका चौपायाले मानिस नदेख्दा आश्चर्य चकित भएका छन्। जताततै हरियाली र फक्रेका रंगीचंगी फूलहरूले वसन्तको सुवास छरेका छन्। धुवाँधुलो र प्रदुषण मुक्त प्रकृतिको नजिकबाट दर्शन गर्ने अवसर मिलेको छ। धेरै वर्षको अन्तरालमा, अकल्पनीय रूपमा हामीले यो नयाँपनको अनुभूति गर्ने अवसर पाएका छौं।

    सिर्जनशीलतालाई समय

    सधैं हामी घर बाहिर मात्रै होइन, देशविदेश गरेर आफ्नो कर्म योगमा व्यस्त थियौँ। आफ्नो नोकरी, व्यवसाय, राजनीति र समाजसेवाबाहेक पनि आफ्नो निजतामा रमाउने इच्छालाई समय अभावको कारण थाती राखेर बाहिरै दौडेका थियौँ।

    मानिसका न्यूनतम आवश्यकता गास, बास, कपास हुन् तर त्यतिमा मात्र मानिसका इच्छा सीमित हुँदैनन्। हामी त्योभन्दा माथि प्रेम, अपनत्व, सम्मान र सुरक्षा पनि चाहन्छौँ। यी कुराहरूको पूर्णताको लागि हामीलाई एकान्त, आफ्नोपन र आफ्नो घरमा समय बिताउने इच्छा हुन्थ्यो। बन्दाबन्दी अगाडि यो एकान्तबास, आत्मएकान्त, आफ्नो घरमा समय बिताउने अवसर आएको थिएन।

    यसपटक नयाँवर्षको शुरूवातसँगै समय प्राप्त भएको छ। पढ्न मन लागेको पुस्तक पढ्ने, हेर्न मनलागेको चलचित्र हेर्ने, कोर्न मन लागेको चित्र कोर्ने र बजाउन मन लागेको गितार बजाउने समय प्राप्त छ। अधुरो रहेको कविताले पूर्णता पाउने छ, गाउँदागाउँदै रोकिएको गीत अब गुन्जिनेछ।

    खाली क्यानभासले मनका भावहरूलाई सजाएर एउटा पूर्णता दिन सक्नेछ। झोलामा थन्क्याएको सारंगी र बाँसुरीले नयाँ धुन छर्न सक्नेछन्। बाँकी रहेको किताब लेखनको कामले निरन्तरता पाउनेछ। जति पनि स्वान्तसुखायका सिर्जनशील कामहरू थाती रहेका थिए तिनले जीवन्तता भेट्नेछन्। यो जस्तो नयाँपनको अनुभूति अरू के होला यो नयाँ वर्षमा?

    परिवारसँगको समय

    हामीले कति कोसिस गर्दा पनि आफ्नो काम धन्दालाई चटक्कै छोडेर परिवारलाई समय दिन नसकेका थुप्रै क्षण छन्। कतिपय ती क्षणले अहिले पनि पश्चात्तापमा लैजान्छन्।

    परिवारका सदस्यको महत्वपूर्ण कार्यक्रम र समारोहमा उपस्थित हुन छोडेर आफ्नो कार्यालयको काममा व्यस्त हुनुपरेको थियो। विविध बाध्यताले गर्दा बिरामी बा-आमाको छेउमा गएर बस्न र भलाकुसारी गर्ने अवसर मिलेको थिएन।

    कामकाजी महिलाहरूलाई २-४ दिन छुट्टी लिएर भए पनि आफ्नो घर सफा गर्ने, घरमै रमाउने र साना नानीलाई समय दिने इच्छा थियो। आफ्नो करेसाबारीका विरूवाहरूसँग भलाकुसारी गर्ने इच्छा थियो। गमलामा फुलेका फूलहरूलाई स्पर्श गरेर प्रेम साट्ने मन थियो।

    गृहिणी महिलाहरूलाई कुनै दिन त श्रीमान र छोराछोरीहरू दिनभर घरमा सँगै बसिदिएपनि हुने नि, पाक्दै गरेको तातोतातो खाना पस्केर खुवाउने चाहना थियो।

    केटाकेटीलाई दैनिक विद्यालयको जावतजावतले लामो छुट्टि पाएर बिहानभरी सुत्न पाएपनि हुन्थ्यो भन्ने कल्पना थियो। अहिले त्यो सबै समय हामीलाई प्राप्त छ। परिवारका सबै सदस्य एकैठाउँ, कसैलाई हतार छैन, एक आपसमा सहकार्य, भलाकुसारी, हाँसोमजाक गर्ने अवसर छ। के यो नयाँपन होइन?

    ध्यान र योगलाई समय

    हामी जति बाहिरै कुदेपनि स्वयंमा स्थिर हुन सकेनौँ भने आन्तरिक शान्ति र पूर्णता मिल्दैन। भौतिक सम्पत्ति जति आर्जन गरे पनि अपूर्णता नै लाग्छ, मनले सन्तोष मान्दैन। यसको एक मात्र कारण हो हामीले ध्यानको अभ्यास गरेर भित्रको आन्तरिक सम्पदालाई पहिचान गर्ने समय पाएका छैनौं।

    विडम्बना! सबैतिर डुल्न र सबै काम भ्याउने हामीले योग र ध्यानलाई समय दिन पाएका थिएनौँ र आफूलाई बचाउने कोशिस गर्दै आइरह्यौँ समय नै छैन। बन्दाबन्दीको समयले पनि खुलस्त पारिदियो कि ध्यानको कला जान्ने व्यक्तिले घरभित्र सजिलै समय बिताउन सक्दोरहेछ।

    आत्मएकान्तमा बस्नुको अर्थ नै स्वयंमा स्थित हुनु र स्वयंको स्वभावमा जिउनु रहेछ। यो मानिसको स्वभाव नै हो र यही नै योगको मर्म पनि। योग एक शारीरिक क्रिया मात्र नभएर सम्पूर्ण स्वास्थ्यको परम विज्ञान र कला पनि हो। योगले हाम्रो पूर्ण स्वास्थ्यको रक्षा गर्छ र जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन मद्धत गर्दछ। पूर्ण स्वास्थ्य अर्थात् योग।

    योगासन प्राणायाम र ध्यानको संगम योग हो। मन सधैं अरूमाथि ध्यान लगाउँछ भने ध्यान आफूप्रति ध्यान लगाउने कला हो। स्वयंको स्वभावमा फर्कने कला हो। जतिसुकै भौतिक सम्पन्नता आर्जन गरे पनि, जति प्रतिष्ठा हासिल गरे पनि एकाधबाहेक आजको मानिस समस्या नै समस्याले जेलिएको पाइन्छ।

    क्रोध आउनु, रिस उठ्नु, बिर्सने बानी, खराब संगत अर्थात् कुलतमा फस्नु, तनावमा जानु सबै ध्यानको अभाव हो। त्यसैले योग र ध्यान नै सबै समस्याको समाधान हो। पतञ्‍जली योग सूत्रमा भनिएको छ “भवतापेंन तप्तानाम योगो हि परमौषधम्” अर्थात् सांसारिक दु:ख कष्टहरुको एक मात्र औषधि योग हो।

    हाम्रो जीवनमा यदि समस्या छन् भने ति सबको कारण हो ध्यान नहुनु। ध्यानको अभ्यास नगरिनु र ध्यानलाई समय नछुट्टयाउनु। यो नयाँ वर्षमा दैनिक १-२ घण्टा ध्यान र योगलाई समय दिन सक्यौँ भने हामीमा नयाँ ऊर्जा प्राप्त हुँदैन त?

डा. नम्रता पाण्डे

लेखक, ध्यान प्रशिक्षक एवं स्वतन्त्र मनो-परामर्शदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]