विचार

अक्षय तृतीया, हजुरआमा र क्षय नभएको सम्झना

बैशाख १४, २०७७

    तनहुँ जिल्लाको पाउँदी खोला पार गर्नासाथ लमजुङ जिल्लाले स्वागत गर्दछ। पाउँदी पार गरेर ५ मिनेट पैदल नहिँड्दै बाटो छेउमै हजुररबुवाले लगाएको ठूलो बगैंचा हाम्रो थियो। बगैँचाकै बीचमा बरपीपलको ठूलो चौतारी पनि हजुरबुवा, हजुरआमाले बनाउनु भएको थियो।

    बगैंचामा आँप, रूख कटहर, भुइँकटहर, अम्बा लगायतका फलफूल पनि टन्न थिए। बाटो ओहोरदोहोर गर्ने बटुवाहरू चौतारीमा भारी बिसाउथे र  आराम लिन्थे। घर थोरै माथि थियो, पानीको कुवा भने बगैंचा नजिकै थियो। खेतको मूलमै कुवा थियो अर्थात् घर, बारी, खेत, बगैंचा सबै आफ्नै सेरोफेरोमा मिलेको थियो। 

    अक्षय तृतीयामा प्रयोग हुने जौको सातु स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ। 

    हजुरआमाले एउटा माटोको गाग्रोमा पानी पनि चौतारीमै राखिदिनुहुन्थ्यो छोपेर, एउटा अम्खोरासहित ताकि आउने जाने बटुवाले आराम गर्दा पानी प्यास पनि मेटून्। अक्षय तृतीयाको अरू दिनभन्दा विशेष हुन्थ्यो। अघिल्लो दिन राति नै हजुरआमाले अँगेनामा दाउरा बालेर हाँडीमा जौ भुट्नु हुन्थ्यो र भुटेको जौ जाँतोमा पिसेर तामाको आरीभरी सातु बनाएर राख्नुहुन्थ्यो।

    बारीमा उखु टन्न हुने भएकोले १५०-२०० टिन खुदो घरमै हुन्थ्यो। अक्षय तृतीयाको लागि हजुरआमाले २ वटा नयाँ माटोको गाग्रोमा चिसो पानीमा खुदो र अदुवा मिसाएर चिसो सर्वत र सातुसहित चौतारीमा आफैँ बस्नुहुथ्यो र ओहोरदोहोर गर्ने बटुवालाई आफैं एक फाँको सातु र आधा अम्‍खोरा सर्वत खुवाउनुहुन्थ्यो।

    अघिल्लो दिनदेखि नै हजुरआमाले हामीलाई पूजाको लागि फूल टिपेर तुलसी मोठमा राख्न, बिहान सबेरै उठेर कुवागई नुहाईधुवाई सकी चोखो पानी ल्याई पूजा सकेर चौतारीमा जान हतारिनु हुन्थ्यो। अक्षय- क्षय नहुने, वर्षमा एक वर्ष पर्ने तिथिलाई भन्दा पनि हजुरआमाले आफ्नो संस्कार, करूणा, मानवीयता, प्रेमभाव र सदभाव क्षय अर्थात् नाश नहोस् भनेर यति धेरै महत्व दिनुहुन्थ्यो यो पर्वलाई भन्ने मेरो स्मरणमा छ।

    आजका हामी जो शहरिया जीवन बाँच्न बाध्य छौँ आफ्ना पुर्खाका ती दिनहरू र उहाँका नि:स्वार्थ सेवाभावको स्मरण मात्र गर्दा पनि मनै आनन्द हुन्छ। त्यो नि:स्वार्थ सेवाभाव र प्रेमभाव सधैँ कायम राख्न आफूलाई पनि प्रेरणा मिल्छ। अनेक विधाबाट यो पर्वलाई महत्वका साथ हेर्न सकिन्छI

    वास्तवमा चैत वैशाखको गर्मीमा अहिले जस्तो यातायात नभएको प्राचीन समयमा मेलापात गर्ने र कैयौं दिन लगाएर एकठाउँबाट अर्को ठाउँ जाने पदयात्रीलाई सातु सर्वत छाता जुत्ताको कति महत्व हुन्थ्यो भन्ने कुरा अहिलेको पुस्ताका लागि अवर्णनीय हुन्छ। त्यसैले त अक्षय तृतीया साधनसुविधा र इतिहास एवं परम्परालाई गहिरिएर नहेर्ने परिपाटीले क्रमश: ओझेल पर्दै गएको छ। 

    संकल्पको महत्व

    हाम्रो हिन्दू शास्त्रहरूका अनुसार त वर्षभरिमा कैयौं विशेष योगहरू/ पर्वहरू पर्छन् तर तिनको महत्व र हामीलाई दिने सांस्कृतिक एवं सामाजिक महत्व र तिनलाई कसरी आफ्नो व्यवहारमा उतार्ने त्यो गर्न नसकिरहेको जस्तो भान हुन्छ। अक्षय तृतीया वर्षमा केवल एकपटक मात्र पर्ने महायोगको रूपमा मानिन्छ।

    ज्योतिषशास्त्रअनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ भनेर उल्लेख गरिएको पाइन्छ। वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘विघ्नविनाशक दिन’ पनि भनिन्छ। तर, सेवाभाव, करूणा, मानवीयता अरूलाई हानि नहुने परोपकारसहितको कर्म गर्‍यो भने हामीले गरेका सबै कर्मका फल सधैं नै अक्षय रूपमै प्राप्त हुन्छन्I हामी जस्तो सोच राखेर कर्म गर्छौं त्यही योग बन्ने हो र फल त्यसैअनुसार प्राप्त हुने होI

    हाम्रो मनस्थितिबाट उब्जेका विचारभन्दा हृदयबाट उब्जेका भावसहितको कर्मले सधैँ प्रेमपूर्ण र जिम्मेवारी बोध सहितको कर्म गर्ने प्रेरणा मिल्दछI जन्म र मरण बिचको दूरी/ यात्रा नै त जीवन होI यो यात्रामा परमार्थको पनि ख्याल गर्न सकियो भने कसरी भ्रष्ट आचरणको विकास हुन्छ र? आजको दिनमा आफ्नो आचरण पनि क्षय नहोस् भनेर संकल्प गर्न सके व्यक्तिगत, सामाजिक र राष्ट्रिय रूपमै आफ्ना जिम्मेवारीहरू र कर्महरू भ्रष्टाचाररहित हुनेछन्I

    आफ्ना संस्कार र संस्कृति पनि बिर्संदै जाने, दायित्वबोध नगर्ने, परहित नसोची आफ्नो मात्र फाइदाको लागि कर्ममा लागेको कारण त आज राष्ट्रका नेतृत्वहरूको नेतृत्वले सार्थकता पाउन सकेको छैनI आफ्ना उद्देश्य, निर्णय, संकल्प केही पनि क्षय नहुन्I परिणाम अक्षय रूपमै प्राप्त होस् भन्ने सद्बुद्धि सबैमा आउन सके यो दिनको स्मरण र महत्ता पूर्ण हुने थियोI

    परोपकारको महत्व

    अक्षय तृतीया अर्थात् वैशाखको गर्मी महिना, यसदिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ।

    हाम्रा पुर्खाहरूको संस्कार, पाटीपौवा, चौतारो, बाटोघाटो बनाएर बटुवालाई गर्ने सेवा, अक्षय तृतीयामा मात्र नभई अरू दिनमा पनि पानी खान पाऊन् भन्ने हेतुले कुवा खन्ने लगायतका सबै काम परोपकारका  काम थिएI जबर्जस्त थिएनन्, स्वभाव (आफ्नो भावना) बाट निस्केका नि:स्वार्थ कर्म थिएI  

    यो जीवनका लागि मात्र होइन परमार्थको लागिसमेत सोचेर गरिएका कर्म थिएI आफूले गरेका कर्मको अक्षय फल आफ्ना सन्तान दर-सन्तानले समेत पाऊन् भन्ने सकारात्मक र दीर्घकालीन सोच थियोI

    आजका हामीले बिर्स्यौं आफ्नै पुर्खाको सदभावनाI परोपकारको नाममा व्यक्तिगत स्वार्थ मिसिएका उदाहरण देख्‍न र सुन्न पाइन्छ जुन कल्पना पनि गर्न सकिन्नI  

    वर्तमान कोरोना कहरमै विपन्न र असहायलाई बाँडिएको राहत, कुहिएका र काम नलाग्ने वस्तुहरू, अनाजहरू! ओहो, धर्म के हो, पाप के हो, न्याय छ कि छैन, अन्याय भाव कहाँबाट आउँछ, किन आउँछ? आजको दिनमा भए पनि स्मरण गर्ने हो कि?

    कृषि कर्म र जौ

    कुनै पनि पर्व कृषि उत्पादनविना कल्पना पनि गर्न सकिन्नI पूजा सामग्रीमा प्रयोग गर्ने अक्षतामा जौ, तेल, फलफूल, पकवान्न प्रसाद लगायतका हरेक चिज कृषि उत्पादन नै हुन्I कर्म, विधि, पोषण, भोजन  र स्वास्थ्य सबै क्षेत्रलाई कृषिले प्रतिनिधित्व गर्दछI यो कोरोनाको कहरमा बन्दाबन्दीमा घरभित्र सहज बाँच्न पनि कृषि उत्पादनविना सम्भव छैनI

    सबैभन्दा टड्कारो आवश्यकता कृषि उत्पादन रहेछ भन्ने अहिले सबैलाई बोध भएको छI नेपालको बन्दाबन्दी र विश्व अर्थतन्त्रको संकट, रोजगारीको क्रममा विदेशिएका नेपालीहरू अब फर्केर स्वदेश आउँदा पनि उनीहरूको लागि रोजगारी सृजनाको एकमात्र अवसर कृषि उत्पादन, कृषि उद्योग र खाली जमिनको उपयोगको नीति र योजना नै प्रमुख हुनेछन्I हाम्रा पर्व र तिथिले कृषिको महत्वलाई अझै बढी उजागर गरिदिएको हुन्छI

    अक्षय तृतीयामा प्रयोग हुने जौको सातु स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ। यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि 'यवोसि धान्यश' भनेर जौलाई अन्नको राजा मानिएको छ।

    हाम्रा गाउँघरमा अझै पनि दशैँको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ। सक्खर वा खुदोको सर्वतले थकित व्यक्तिलाई तुरुन्तै शक्ति दिन्छ र स्फूर्त बनाउँछI 

    गीतामा भगवान् श्रीकृष्णले पनि 'औषधिनामहं यवः' अर्थात् औषधिहरूमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ। श्रीमद्भागवत् महापुराणमा पनि वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दू संस्कृतिमा जमराको महत्त्व परापूर्वकालदेखि नै थियो।

    आयुर्वेदिक ग्रन्थहरूमा जौ र अङ्कुरित जौ (जमरा) बाट गर्न सकिने उपचारहरूको व्यापक उल्लेख भएको पाइन्छ।

    चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ। जमराको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउँछ।

    यसैगरी, बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ ख्वाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन्।

    हाम्रा गाउँघरमा अझै पनि दशैँको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ। सक्खर वा खुदोको सर्वतले थकित व्यक्तिलाई तुरुन्तै शक्ति दिन्छ र स्फूर्त बनाउँछI यसमा पाइने क्यालोरी, प्रोटिन, स्टार्च, फाइबर लगायतका तत्वले रगत सफा गर्ने, पोषण प्रदान गर्ने लगायतका धेरै फाइदा छन्I

    त्यसैले, हाम्रा पर्व, तिथि र संस्कार आफैंमा बहुपयोगी र वैज्ञानिक छन्I यसको महत्तालाई आफ्नो जीवनशैली र व्यवहारमा उतार्न सके मात्र यी पर्वको मर्म झल्किन्छI

डा. नम्रता पाण्डे

लेखक, ध्यान प्रशिक्षक एवं स्वतन्त्र मनो-परामर्शदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]