थाहा संवाद

कोरोना नियन्त्रण ठीक दिशामा छ, डराउनु पर्दैन

उदयपुर पूरै जिल्ला संक्रमित भएको छैन

बैशाख १७, २०७७

    काठमाडौं : नेपालमा पनि संक्रमितको संख्या दिनदिनै बढेसँगै जनमानसमा त्रासको अवस्था देखिन थालेको छ।  प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। उदयपुरमा सबैभन्दा बढी संक्रमित देखिएपछि यतिखेर प्रदेश सरकारले परीक्षणको गति तीव्र पारेको छ।

    कोरोना रोकथामको लागि स्थानीय तथा प्रदेश सरकारले एकसाथ काम गरिरहेका छन्। प्रदेश १ मा चार हजारको क्षमतामा क्‍वारेन्टाइन निर्माण गरिएको छ। कोरोना शंकास्पदको परीक्षणदेखि आइसोलेसन, उपचारलगायत तथा कोरोना अस्पताल निर्माणको लागि प्रदेश सरकार गम्भीर भएर लागिरहेको छ।

    प्रदेश १ मा लगातार संक्रमितको संख्या बढेपछि सरकारको तयारी कस्तो छ? यसै सन्दर्भमा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

    कोरोनाको महामारीबाट बच्न प्रदेश सरकारले कस्तो तयारी गरिरहेको छ?

    प्रदेशवासीलाई कोरोनाबाट बचाउन सरकार कठिबद्ध भएर लागेको छ। सातै प्रदेशमध्ये सबैभन्दा धेरै प्रकोप एक नम्बर प्रदेशमा देखिएको छ। कोरोना संक्रमित व्यक्तिहरू सबै उपचार गरिरहनु भएको छ। तर, पनि आत्तिएर डराइहाल्नुपर्ने अवस्था छैन।

    यो संक्रमित रोग निश्चित रुटबाट सर्ने हो। जोसुकैलाई जहाँबाट पनि सर्न सक्ने होइन। मुलत: संक्रमित भएका व्यक्तिहरूको सबैको ट्रयाकिङ गरिसकेका छौँ। ट्रयाकिङ सँगसँगै परीक्षण पनि गरिरहेका छौँ। परीक्षणपछि पोजिटिभ आएकाहरूलाई  उपचारका लागि लगिसकेका छौँ।

    उदयपुर पूरै जिल्ला संक्रमित भएको छैन। त्रियुगा नगरपालिकाको भुल्केमा २८ जनाको संक्रमण एकै थलोमा एउटै बस्तीको र एउटै समुदायको भएकोले बाँकीहरूलाई हामीले परीक्षणको दायरामा ल्याइसकेका छौँ। कोरोनाको क्षेत्र भएको ठाउँलाई घेराबन्दी गर्दै कोरोना खोजिरहेको छौँ।

    यसरी हेर्दा उदयपुरमा हामीले १६ जनाको परीक्षण गर्‍यौँ जसमा १६ जनामै पोजेटिभ भेटियो। पुनः ६९ लाई गर्‍यौँ त्यसबाट पनि ८ जना निस्कियो, २५१ गर्‍यौँ त्यसबाट पनि ४ जना निस्किए। निरन्तर हामीले ७८ र ३२ जनाको गर्‍यौँ त्यसबाट शून्य देखियो।

    हामीले क्रमिक रुपमा परीक्षणको दायरालाई एकदमै बढाएका छौँ। जसअनुसार उदयपुरको भुल्केबाट उत्पन्‍न भएको कोरोना नियन्त्रण उन्मुख भएको छ र त्यसलाई पनि हामीले नियन्त्रण गर्न सक्छौँ भन्‍ने आत्मविश्‍वासको साथ काम गरिरहेका छौँ।

    भोजपुर र झापामा पनि देखिइसकेको छ जहाँ हामीले परीक्षण, ट्रयाकिङ तथा उपचारको प्रक्रिया अगाडि बढाइसकेको छौँ। अबको १-२ दिनमा ट्रयाकिङ र टेस्टिङको काम सक्छौँ। हामी अब सतहमै गएर परीक्षण गर्नेछौँ।

    प्रदेश १ मा स्वाभाविक रुपमा कोरोना संक्रमित बढी देखिएको छ। यसको अझ व्यापक परीक्षण गर्नुपर्ने हुन्छ तर परीक्षणको दायरा कसरी बढाइरहनु भएको छ?

    हामीले जहाँ देखियो, त्यहाँ बढीभन्दा बढी स्वाब परीक्षण गर्‍यौँ। जस्तो उदयपुरमा मात्र ४ सयदेखि ५ सयसम्मको परीक्षण गरिसकेका छौँ। धेरै देखिएका ठाउँमा अब शून्यमा झर्न थालिसकेका छन्। यो भनेको त राम्रो कुरा हो। हामी ठीक दिशातर्फ गइरहेका छौँ र सही ढंगले ट्रयाकिङ गरिरहेका छौँ भन्‍ने हो।

    र्‍यापिड टेस्टमा शंका उत्पन्‍न भएको छ। किटको अभाव छ भन्‍नुभएको थियो। पिसिआर परीक्षणलाई कसरी अगाडि बढाइरहेको छ प्रदेश सरकारले?

    सात प्रदेशमध्ये १ नम्बर प्रदेशले परीक्षण धेरै गरिरहेको छ। दैनिक १५-२० वटा मात्र परीक्षण हुने धरानमा अब भने २ सयको परीक्षण गर्ने क्षमता विकास गरिसकेको छ। कोशीमा १ सय ५० भन्दा बढीको परीक्षण गर्नको लागि विकास गरिसकेका छौँ।

    २-४ दिन भित्रमा विराटनगरमा नयाँ ल्याब पनि ल्याउनेछौँ। दैनिक ३ सय देखि ५ सयको स्वाब परीक्षण गर्ने ल्याबको विकास गरिरहेका छौँ। हामीले बनाउने जस्तो अब र यहाँ भएको भनेको काठमाडौंमा पनि छैन।

    धेरै संक्रमित भेटिएको भुल्के आसपासमा राम्रोसँग परीक्षण हुन नसकेको आरोप छ नि?

    परीक्षण भन्नेबित्तिकै सबैको गर्ने होइन। मन्त्रालयको एउटा प्रोटोकल छ त्यसअनुसार काम गरिरहेका छौँ। जसमा रहेको आधारमा कोही पनि नागरिक छुट्ने छैन। परीक्षण सबैलाई गर्न सम्भव पनि छैन।

    देशभरमा सबैभन्दा परीक्षण गर्ने क्षमता प्रदेश एकमा छ। यो सबैभन्दा खुसीको क्षणको हो। कमसेकम हामीले परीक्षण त गरिरहेका छौँ र उपचारको विधिलाई निरन्तर अगाडि बढाइरहेका छौँ।

    हामीसँग २ वटा ल्याब छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि सुरु गरिसकेका छौँ। यहाँ ल्याबको क्षमता बढाएर २ सयमा पुर्‍याएका छौँ। विराटनगरमा १ सय छ र पुन १ सय थप्ने तयारी गरिरहेका छौँ। स्वाबको परीक्षण गर्ने क्षमता यहीँ प्रदेश सरकारसँग नै छ। तर, पनि यो अत्यन्तै खर्चिलो छ। यो किट हामीसँग उपलब्ध छैन। विदेशबाट ल्याउनुपर्छ त्यसको लागि सहज छैन। स्वास्थ्य सामग्रीको अभाव छ। परीक्षण गर्नुपर्ने व्यक्तिलाई हामीले छुटाएका छैनौँ।

    अनावश्यक रुपमा हाम्रो जनशक्ति र परीक्षण नहोस् भन्‍नका लागि हामी उत्तिकै सजग छौँ। हाम्रो दायराभित्र परेका सबैलाई परीक्षण गरेका छौँ र यसमा चिन्ता लिनुपर्ने अवस्था केही पनि छैन।

    उदयपुर देशको कोरोनाको केन्द्र बनेको जस्तो देखियो। त्यहाँको समुदायमा कोरोना फैलिन नदिन सरकारले रोकथामको व्यवस्थापनमा के कसरी लागेको छ?

    परीक्षण भएपछि मात्र संक्रमित भए/नभएको थाहा हुन्छ। सरकारले भुल्के क्षेत्रको निरीक्षण गरी परीक्षणको संख्या र दायरा पनि बढाइसकेको छ। संक्रमित नफैलियोस् भन्नका लागि सिलबन्दी गरेर  सरकारले त्यस क्षेत्रलाई विशेष निगरानीमा राखेर काम गरिरहेको छ।

    स्थानीय र प्रदेश सरकारबीच समन्वयको अवस्था कस्तो छ?

    प्रदेश सरकार र स्थानीय सरकाबीच समन्वयमै परीक्षण र रोकथामका कामहरू भइरहेका छन्। समन्वय बिना उदयपुरमा मात्रै त्यति धेरै मानिसहरूको परीक्षण सम्भव थिएन। अहिलेको अवस्थामा केही प्राविधिक त्रुटि हुन सक्छन तर पनि सबैभन्दा बढी तालमेल यस प्रदेशमा स्थानीय सरकार र प्रदेश सरकारबीच छ।

    भोजपुरका संक्रमितलाई विराटनगर ल्याउन ४५ घण्टा पर्खिनुपर्‍यो। यसले त सरकारको तयारीमा प्रश्न उठयो नि होइन र?

    भोजपुर भौगोलिक विकटताका हिसाबले पनि कठिन अवस्थामा छ। त्यहाँ साधन स्रोतको अभाव छ, बाटोको अवस्था पनि राम्रो छैन। हरेक कुराले प्रभाव पारेको छ। बिरामीको घर सहज ठाउँमा छैन। तराईको जस्तो सजिलो ठाउँ हुन्‍न घर पहाडको आफ्नै स्वरूपमा घर बनाएर बसेका हुन्छन्। मौसमले पनि साथ नदिन सक्छ त्यसै कारणले पनि ढिलो भएको हुन सक्छ।

    उदयपुरमा संक्रमण फैलनुमा मस्जिदमा भएका जमातीलाई दोष दिन पनि खोजियो। तर, तपाईंले नै कतार/साउदीबाट आएका स्थानीय युवकले फैल्याएको बताउनुभयो। यो संकटको बेलामा सामाजिक सदभाव बचाउनका लागि के गर्नुपर्ला?

    जमतीहरू भारतबाट आएका हुनाले स्वाभाविक रुपमा तिनीहरूले ल्याएका हुनसक्ने भनेर शंका भयो। अनुसन्धान र परीक्षण नभइन्जेल त यताबाट आयो कि उताबाट आयो भनेर प्रश्न र शंका उब्जनु त स्वाभाविक हो। परीक्षण भएपछि जमातीले कोरोना बोकेर आएको होइन रहेछन् भनेर प्रमाणित भएपछि त यसको अध्याय सकियो। पुष्टि नभइन्जेल मानिसले विभिन्‍न अड्कलबाजी गर्छन् त्यसलाई हामीले स्वाभाविक ठान्नुपर्छ। यसमा अहिले त्यस्तो कुरा उठेको छैन।

    सामाजिक सदभाव बचाउनका लागि प्रदेश सरकारको तर्फबाट कस्तो काम भइरहेको छ?

    यसमा प्रदेश सरकारले गम्भीर रूपमा लिएको छ। अहिले जहाँबाट यस्तो कुरा उठेको छ त्यहाँको जनप्रतिनिधहरू सक्रिय रुपमा सामाजिक सन्तुलन मिलाउन  लाग्नुभएको छ। त्यस्तो नराम्रो हल्ला वा केही खराब कुराहरू बाहिर आएको पनि छैन। स्थानीय सरकार र स्थानीय प्रशासन र प्रहरीहरू सुरक्षाको लागि लागिरहनु भएको छ। भुल्के एकै जातिको बाहुल्य भएको ठाउँ पनि होइन। सबै जातिका मानिस बसेका छन्। यसमा सबै जिम्मेवार छन्। सामाजिक सञ्जालले मानिसको सदभाव खल्बल्याउन सक्दैन।

    लकडाउनमा काठमाडौंबाट जिल्ला-जिल्लामा गएका मानिसहरूबाट थप जोखिम हुन नदिन र उनीहरूलाई क्‍वारेन्टाइनमा राख्‍नलाई कस्तो तयारी गर्नुभएको छ?

    प्रदेश १ सरकारले ४ हजार नागरिकलाई क्‍वारेन्टाइनमा राख्‍न सक्ने क्षमता निर्माण गरेको छ। त्यसका लागि नागरिकलाई कसरी राख्‍ने भनेर व्यवस्थापन गरिरहेका छौँ। स्थानीय जनप्रतिनिधिलाई बाटोमा अलपत्र परेको मानिसलाई नल्याएको भनेर पनि विभिन्‍न आरोप-प्रत्यारोप पनि लाग्ने गरेको छ।

    ल्याउँदा पनि किन ल्यायौँ भनेर उहाँहरूलाई सास्ती दिएका छन्। उहाँहरूले पनि आफ्नो पीडा हामीलाई बताइरहनु भएको छ। व्यावहारिक रुपले हामीले बुझाउने कोसिस गरिरहेका छौँ। सबैले व्यावहारिक ढंगले बुझिदिए सबैलाई सहज हुनेछ। समस्या समाधानका लागि पनि व्यावाहारिक तरिका नै छनोट गर्नुपर्छ। प्रदेश सरकारले जति क्‍वारेन्टाइन बनाएको छ ती सबै डब्लुएचओको मापदण्डअनुरूप बनाइएको छ।

    धरानमा किन ढिलो गरेर कोरोना अस्पताल निर्माण गरियो? सरकारले चाहेको भए यसलाई सुरुमै बनाउन सकिन्थ्यो होला नि?

    कोरोनाको उपचार भइरहेको ठाउँमा अन्य बिरामीको उपचारको सेवा दिन सकिँदैन। कतिपय अस्पतालले सेवा दिइरहेका छैनन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले अन्य बिरामीको पनि उपचार सेवा गरिरहेको छ।

    यस्तो बेलामा अन्य रोगका बिरामीका लागि पनि त अस्पताल चाहियो। त्यसकारण विराटनगरलाई बनाइएको हो। यहाँ सकिन्जेल यहाँ गर्ने हो। नसकेमा धरान लानका लागि धरानमा कोरोना केन्द्र बनाइएको छ। धरानमा पनि सबै सेवा बन्द गर्ने होइन कि त्यहाँ पनि आइसोलेटेड भवन छुट्टै छ। त्यत्ले पनि नभ्याउने अवस्था आएमा धरानको स्वास्थ्य विज्ञान प्रतिषठानका सबै सेवा बन्द गरेर १ हजार देखि १५ सयसम्मको कोरोना अस्पतालका रूपमा परिणत गर्ने योजनामा छौँ।

    सरकारले निजी अस्पतालले पनि कोरोनाका बिरामीको उपचार गर्नुपर्ने बताएको छ। तर, प्रदेश १ का केही निजी अस्पतालहरूले साधारण रुघाखोकीका बिरामीको पनि उपचार नगरी फर्काइरहेका छन्। उनीहरूलाई कसरी जिम्मेवार बनाउनुहुन्छ? 

    यस्ता कुराहरू सुन्‍नमा आएका छन्। निजी अस्पतालले सामान्य फिबरको बिरामीको उपचार नगर्ने र अन्य सेवाहरू समेत बन्द गर्ने गरेको जनगुनासो आएको छ। त्यसप्रति प्रदेश सरकारले उनीहरूलाई सचेत गराउने र ध्यानाकर्षण गराउने काम गरिरहेको छ। अस्पतालले त्यस्ता काम गरिरहेको भए त्यो गलत हो।

    प्रदेशवासीलाई कोरोनाबाट सुरक्षित रहन के सुझाव दिन चाहनुहुन्छ?

    यो संकटको घडीमा सबैले धैर्यता देखाउनु हुन अनुरोध छ। १ नम्बर प्रदेशमा कोरोना संक्रमण बढी देखिएको छ। योसँग डराउनुपर्ने वा आत्तिनुपर्ने अवस्था छैन। कोरोनासँग नडराउनुहोस्, नआतिनुहोस् र उच्च सतर्कता लिइदिनुहोस्। लकडाउनको पूर्णपालना  गरेर सरकारको निर्णय र अनुरोधलाई नियमसंगत मानिदिनुहुन प्रदेशवासीहरूलाई अनुरोध गर्दछु।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]