विचार

कोरोना समय : तातेको राजनीति र पाकेको दिमाग

बैशाख २०, २०७७

    चीनको वुहान शहरबाट करिब ४ महिना अगाडि शुरु भएर विश्व भ्रमणमा निस्किएको कोरोना भाइरस; (कोभिड-१९) ले रोगको रूपमा संसारका राष्ट्रपतिदेखि मजदुरसम्मलाई आक्रमण गरी समान व्यवहार गरेर देखाइरहेको छI

    यो महामारीको भाइरसले आफ्नो सामर्थ्य दर्शाउँदै समाजमा ठूलो सानो भनिएका वा के सम्पन्न के गरिब संसारका प्राय सबै मुलुकका सबै मानिसलाई समान हिसाबले घरभित्र राख्‍न सफल पनि भयोI महामारीमा ज्यान जोगाउनु अन्तिम अस्त्र र अन्तिम उपायका लागि हुनेखाने, गुजारा चल्ने मानिसले सहजै लिए।

    बाँच्नु नै यो समयमा ठूलो कुरा हो भनेर आफ्नो स्वास्थ्यको ख्याल गर्दै लकडाउनको पूर्णत: पालना गरिरहेका छनI विश्वका कतिपय मुलुकमा रोग र महामारीकै बिचमा पनि शरीर बचाउन खाना नपाएर दैनिक मृत्यूवरण गर्नेहरूको समाचार भने आएनI कोरोनाको प्रभाव अगाडि पनि विश्वमा भोकमरी थियो। जसका कारण कोरोनाले भन्दा बढि मानिस दैनिक आफ्नो ज्यान गुमाउनेहरू थिएI

    कोरोना प्राथमिकता

    कोरोना किन उच्च स्थानमा पर्यो र भोकमरी किन पछि पर्यो? किनकि, कोरोनाले शुरूमै धनीलाई, उच्च पदस्थलाई अनि शक्तिशाली राष्ट्रलाई आक्रमण गर्यो त्यसैले यसको समाचार छिट्टो भन्दा छिटो फैलियो। उच्च तहका व्यक्ति नै आफू सचेत, स्वस्थ र सुरक्षित हुनमा ध्यान दिए यसलाई धेरै बुद्धिमानी पनि मानियोI 

    आफ्नो परिवारका सबै सँगै हुन पाए मरे पनि केही थिएन बरू भन्ने प्रार्थना गरे धेरैलेI त्यसो त एकआपसमा नमिल्ने, मनमुटाव र झगडामै जीवन बिताउन रहर गर्ने, प्रेमले परिवारलाई आफ्नो बनाउन नसक्नेहरूलाई एकै छतमुनि बस्दा सजायको महसुस भएका जस्ता कुरा पनि सुन्नमा आएI

    यो जायज थियो, परिस्थिति अनुसार आफैंमा सजग रहने, स्वस्थ रहने, सम्भव भएसम्म खाद्यान्न, औषधि र आवश्यक उपभोग्य वस्तु संग्रह गरेर राख्ने काम आ-आफ्नो हैसियत, पहुँच र स्थिति अनुसारको जोगाड भयोI कोरोना कहर र लकडाउनले धेरैलाई असहज महसुस हुनै पाएनI बरू, घरमै बसी परिवारलाई समय दिएर, बाँकी रहेका कामहरू पूरा गर्ने अवसर दियोI आफ्नो घरमा रमाउने अवसर बन्योI

    रोग कि भोक?

    रोग कि भोक भन्ने वर्गलाई कोरोनाले खासै असर गरेन किनकी भोको पेटमा रोगको के डर? बाँच्नको लागि कोरोनाबाट सावधानी होइन पेट भर्न पाए त बाँचिथ्यो होला भन्ने ध्यान, खोजी र चिन्ता भोकमै सिमित रहयोI विश्वका धेरै मुलुकका मानिसको अवस्था हो यो भने नेपालमा पनि भोकमरीले नै मृत्युवरण गर्नुपर्ने अवस्था नआएको भएपनि खाना पाइन्छ कि पाइन्न। आज कसले खाना खुवाउला भन्ने चिन्तामा पटकपटक खानाको चिन्ताले जिउँदै मरे सरहको असहजता गर्नेहरू धेरै छन्I

    जसले रोगको चिन्ता गरेको छ उसलाई भोक के हो थाहा छैन। जसले भोकको चिन्तामा मर्नुपर्दछ उसलाई रोगको फिटिक्कै डर छैनI महामारीले मर्नेहरूको समाचार बन्यो, बनिरहेछ, बनिरहनेछ। तर भोकमरीको समाचार यही मात्रामा बन्दैन, बनेको पनि थिएनI विश्वभर कोरोनाको उपचारका लागि नयाँ अनुसन्धान र सम्भावना खोज्ने शक्ति सम्पन्न र विकसित राष्ट्रहरूले समेत भोकमरीलाई वेवास्ता गरिरहेका छन्I

    नेपालको सन्दर्भमा सुदूरपश्चिम, कर्णाली भेगका पहाडी भेगमा कुपोषणले ग्रस्त बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाको आँकडा लिने हो भने डरलाग्दो स्थिति देख्न सकिनेछI विश्व खाद्य तथा कृषि संगठनको सन् २०१९ को प्रतिवेदन अनुसार करिव २५ लाख (८.७प्रतिशत) नेपालीहरु कुपोषित छन् भनेर उल्लेख गरेको पाइन्छ।

    नेपालको आफ्नो तथ्यांक; नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०१६, ले भने ४६ लाख जनता खाद्य अपर्याप्तताको चपेटामा रहेको जनाएकोछ जसमध्ये १० प्रतिशत घरपरिवार त चरम खाद्य संकटमा रहेका छन् भन्ने उल्लेख थियो। त्यस्तै पाँच वर्ष मुनिका बालबालिकाहरुमा करिव १० लाख (३६ प्रतिशत) चरम कुपोषणमा छन् भन्ने तथ्यांक छ।

    त्यस क्षेत्रकोलागि खाद्यान्न, शिक्षा एवम् स्वास्थ्यको क्षेत्रमा वर्षेनी सरकारी बजेट छुट्टयाइएको पनि हुन्छI तर राज्यको दूरदर्शिता, रणनीति र योजना अनि सर्वेक्षण र पुनरावलोकन नहुनुको परिणाम हो योI अन्यथा, नेपाल जस्तो सानो भूगोल भएको, थोरै जनसंख्या र प्रचुर मात्रामा खेतीयोग्य जमिन अनि जरिबुटी र कृषिजन्य उत्पादनको सम्भावना रहेको मुलुकमा खाद्यान्न अभाव, कुपोषण र भोकमरीको तथ्यांक खोज्नुपर्ने जरूरत नै पर्दैनI

    घर परिवार र पलाएको माया

    अर्कोतिर, जो परिवारका सदस्य सँगै थिए तिनलाई घरभित्रको लकडाउन अति नै सुरक्षित र सुखद बन्योI जसका परिवारसँगै थिएनन् उनीहरुलाई कोरोनाको भन्दा बढी मानसिक चिन्ताले सतायोI जहाँ भएपनि घर कहिले पुगौं भन्ने र परिवार कहिले भेटौं भन्ने चाहना परिवार बाहिर भएकालाई उत्कट अभिलाषा बढाई दियो ।

    आफ्नो परिवारका सबै सँगै हुन पाए मरे पनि केही थिएन बरू भन्ने प्रार्थना गरे धेरैलेI त्यसो त एकआपसमा नमिल्ने, मनमुटाव र झगडामै जीवन बिताउन रहर गर्ने, प्रेमले परिवारलाई आफ्नो बनाउन नसक्नेहरूलाई एकै छतमुनि बस्दा सजायको महसुस भएका जस्ता कुरा पनि सुन्नमा आएI

    घरेलु हिँसाका समाचार जोडिएर आएI त्यसैगरी, संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार दैनिक घर बाहिर निस्केर जनसेवामा हाजिर हुनुपर्दा घरभित्र रहने परिवारले खुसी र सुरक्षित महसुस गर्न पाएनन्I

    उनीहरूलाई पनि कोरोनाको भाइरससँग भन्दा बढी आफ्नो परिवारको सुरक्षासँग डर लाग्दथ्योI सम्पन्न र विकसित अनि व्यवस्थित मुलुकका सञ्‍चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले आवश्यक सुरक्षा उपकरण पाएर सेवामा तल्लिन भएI कतिपय आवश्यक सुरक्षा उपकरण विना नै जनसेवामा खटेका छन्I

    तर, चिन्ताको डिग्री सबैमा उत्ति नै थियो आफ्ना परिवारको लागिI खुसी के हो? चिन्ता के हो? अवसर के हो? सुरक्षा के हो ? सबैलाई आफ्नो-आफ्नो परिस्थितिले अर्थ लगाइदियोI

    सफा शहर र मास्कको कुरा

    कोरोनाले सम्पन्न र विकासोन्मुख राष्ट्र, त्यहाँका जनताको जीवनशैली, आत्मविश्वास, रोगप्रतिरोधात्मक क्षमता र आनीबानीलाई पनि नजिकबाट जान्ने अवसर मिलाइदियोI

    सन् २०१० तिर मेरा एकजना मित्र जापान भ्रमणमा आएको बेला स्वच्छ, सफा सहरमा पनि प्रायजसो मानिसहरू मुखमा मास्क लगाएर हिँडेको देखेर आश्चर्य मान्दै सोध्नुभएको थियो किन यिनीहरू सबैले मास्क लगाएका? यति सफा, स्वच्छ छ तैपनि, उहाँको जिज्ञासा स्वाभाविक थियोI

    मैले जापानमा ६ वर्ष बिताई सकेको अनुभवको आधारमा भनेँ- जापानीहरू चिसो हावाबाट बच्न, रुघाखोकी लाग्दा, हाच्छ्युं गर्दा अरूलाई किटाणु नफैलियोस् भनी सचेत रहने र वसन्त ऋतु आगमन अगाडि भने  रूखविरुवाका सुकेका फूलहरु, पातहरू, धुलो अर्थात् पोलेन नसरोस् भनी मास्क लगाउँछन्I

    रेस्टुरेन्ट एवम् खाना बनाउने कारखानामा त एप्रोन, मास्क, कपाल ढाक्ने टोपी, काम शुरू गर्नु र ढोकाभित्र प्रवेश गर्नुअघि स्यानीटाईजर प्रयोग गर्ने, फ्रिज नजिक काम गर्नेले मानौँ अहिलेको पिपिई जस्तै कपडा पहिरेर सरसफाई तथा सुरक्षामा ध्यान दिने प्रचलन सामान्य नै होI

    विश्वका अरू विकसित मुलुकमा पनि यस्तै नै प्रचलन छ, मास्क, स्यानीटाईजर, पन्जा प्रयोग गर्नु भनेको हामीले पकेटमा रूमाल बोकेर हिँडेजस्तै सामान्य नै होI विदेशमा रहने सबै नेपालीहरू समेत यसमा अभ्यस्त भईसकेका छन्I कोरोना कहरमा धेरै नेपालीहरू त्यसमा पनि मास्क, स्यानीटाईजर, पिपिई सुन्दै नसुनेकाले समेत यसबारेमा जान्न, सुन्न र प्रयोग गर्न पाउनु भनेको एउटा अवसर र हामी कहाँ रहेछौँ भनेर पुनर्मुल्यांकन गर्ने अवस्था पनि सिर्जना भयोI

    सबैभन्दा सस्तो चिज मास्क र स्यानीटाईजर रातारात लुकाएर धनी बन्ने प्रयासस्वरूप कालोबजारीको प्रदर्शन पनि यहि महामारीकै बखतमा भयोI सानातिना व्यापारीको मास्क र स्यानीटाईजरको त के कुरा भयो र जब सरकारको तर्फबाट स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचारको बृहत खेल रच्न समेत भ्याईयोI

    राजनीति र अभाव

    आजकल तातेका घृणित राजनीतिक बखेडाले कोरोना भन्दा बढी प्रचारप्रसार भईरहेको देख्दा लज्जास्पद हुनुपर्ने अवस्था छँदैछI राजनीतिमा उल्लेख हुने गरेको नयाँ नेपाल कसरी सावित गरेर देखाउने अवसर र चुनौती दुबै सरकारको सामु भएकाले राजनीतिक खिचातानी र पदीय स्वार्थमा रुमल्लिन यसबेला पटक्कै सुहाउँदैनI

    त्यसो त, सम्पन्न मुलुकमा समेत ट्वाइलेटपेपर सकिएपछिको हाहाकार, ठूलाठूला सेलिब्रेटीले समेत पसलबाट ट्वाइलेट पेपर चोरेको समाचार समेत सुन्न पाइयोI तिनै विकसित मुलुकका दाताहरूले अनेकौँ आयोजना मार्फत बजेट ल्याएर हामीलाई साबुन पानीले हात धुन सिकाई रहँदा, उनीहरूले ट्वाइलेट पेपरको अभावलाई सहन गर्न नसकेको उदाहरण हामीले कल्पना पनि गरेका थिएनौंI

    ठूलाठूला विदेशी आयोजना र विदेशीहरूसँग काम गर्नेले मात्र कम्प्युटर, ट्याबको सहायताले सेमिनार, मिटिङ्ग गर्छन् भन्ने धारणा रहेकालाई आज सबै स्तरका व्यक्तिले घरबाटै काम गर्ने परिस्थिति आइलाग्योI समय अनुसारको प्रविधिको उपयोग, नयाँ सिकाई र अनुभव धेरैलाई मिल्योI

    राजनीति जतिसुकै तात्दै गरोस् आममानिसको दिमागमा फरक कुरा पाकिरहेको छ। साँच्चे नै मानवसभ्यतामा क्रमभंग भएको छ। यसबेला बुद्ध र शिवको योग भूमिमा शिवको शक्ति र बुद्धको ध्यानको महत्ता उजागर हुँदै आएको छ।

    सम्पन्नता के हो र गरिवी के हो भन्ने असमानतालाई महामारीले फरक उदाहरणले प्रष्ट पारिदियोI इटाली, अमेरिका लगायतका सडक र अस्पतालमा लासका लस्कर, लासमाथि लास र सद्गत गर्ने ठाउँको अभाव रहेको समाचार हेर्दै र सुन्दै गर्दा हामीकहाँ आइसोलेसन बेड, सेल्फ क्वारिन्टिन, पिपिई लगायतका सुरक्षा सामग्रीको अभाव, यसबारेको अनभिज्ञता र पर्याप्त व्यवस्था नभएको अवस्थालाई साक्षीपूर्वक हेर्नुको विकल्प थिएनI

    कोरोना नै कृत्रिम हो कि? नियतवश फैलाईएको भाइरस हो कि? भनेर बहस गर्ने र एक राष्ट्रले अर्को राष्ट्रलाई आरोप मेत लगाउने परिस्थिति सिर्जना भईसकेको भए पनि यसलाई कतिले जाने, सम्झे, बुझे, कतिले कयौं वर्षसम्म पनि जान्ने जिज्ञासा नराख्लान्I

    कल्पना बाहिरको परिस्थिति भोग्नुपरेको भए पनि जसलाई केवल भोकमरीको चिन्ता छ उसलाई यि सबै जानकारी कागलाई बेल पाकेसरह नै हुनेछI

    कोरोनालाई जित्नु विना हतियारको तेस्रो विश्वयुद्ध जित्नु बराबर हो भनेर अन्तर्राष्ट्रिय रूपमै अभिव्यक्तिहरू नआएका पनि होइनन्I यी सबैका बाबजुद पनि नेपालले भने अबको समय कसरी सामना गर्ने ? अर्थतन्त्र उकास्ने देखि लिएर रोजगारी सृजनाका उपायहरूलाई कसरी व्यवहारिकता दिने, विदेशबाट फर्किने युवालाई कसरी परिचालन गर्ने ? उद्योगधन्दा, पर्यटन, होटेल व्यवसाय, कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र हरेक क्षेत्रमा नयाँ नीति र कार्यक्रमका योजना अगाडि सारिएन भने समय अगाडि पुग्ने छ र समस्याले घेर्ने सम्भावना रहन्छI

    राजनीति जतिसुकै तात्दै गरोस आममानिसको दिमागमा फरक कुरा पाकिरहेको छ। साँच्चे नै मानवसभ्यतामा क्रमभंग भएको छ। यसबेला बुद्ध र शिवको योग भूमिमा शिवको शक्ति र बुद्धको ध्यानको महत्ता उजागर हुँदै आएको छ। जीवनशैली र प्रकृतिमा आएको परिवर्तनले मानिसले जीवन र जगतलाई नयाँ ढंगले सोच्नुपर्ने भएको छ।

डा. नम्रता पाण्डे

लेखक, ध्यान प्रशिक्षक एवं स्वतन्त्र मनो-परामर्शदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]