विचार

कोरोनामा जमाती संकट र सरकारको अकर्मण्यता

राहतको कच्ची बाँध र आश्वासनले मात्रै विद्रोह छेक्दैन

बैशाख २४, २०७७

      पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट विश्व त्रस्त छ। साना गरिब र विकाशका कमजोर पूर्वाधार भएका देशहरुको के कुरा विश्वका शक्तिशाली राष्ट्र मानिएका अमेरिका र युरोपेली देशहरु सबैभन्दा पीडित भएका छन्।

      दक्षिण एशियाली देश भारत पाकिस्तानलगायत देशहरु सतर्क र सावधान देखिएका छन्। नेपालमा पनि विदेशबाट आउनेहरुबाट यसको संक्रमण फैलिएको छ। यस क्रममा युरोप र खाडी मुलुकबाट आएका केही व्यक्तिमा संक्रमण देखियो भने सबैभन्दा धेरै मुस्लिम तिब्लिगी जमातीका सदश्यहरुमा र उनिहरुको सम्पर्कमा आएकाहरुमा बढी देखियो। यस अर्थमा उनिहरु जानीनजानी कोरोना संक्रमण बाहकका रुपमा देखिए।

      घटना नं १

      ५ वैशाखको दिउँसो १ बजे रुपन्देहीको  कोटहीमाई गाउँपालिका वडा नं १ पुर्निहवा गाऊँका २५ वर्षीय धर्वेन्द्र पासी (पासवान) सोही जिल्लाको मर्चबार क्षेत्रबाट सजिलै नेपाल छिरे। त्यसपछि उनलाई परिवारले मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखे। त्यहीँबाट उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाइयो। उनलाई कोरोना पोजेटिभ देखियो।

      घटना नं २

      रौतहट जिल्लाको इशानाथ न.पा. ८ का २४ वर्षिय मो. बच्चा अन्सारी भारतको कोलकाताबाट लकडाउनपछि फर्केका थिए उनी चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किए। क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‌यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणपछि पीसीआर पोजेटिभ देखिएपछि वीरगञ्जस्थित नारायणी क्षेत्रिय अस्पतालको आइसोलेशनमा राखिएको थियो। केही दिनपछि पीसीआर परीक्षणगर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज भइ घर गए। तर, परिवार र समुदायमा १० दिन बिताइसकेपछि फेरि उनमा संक्रमण भएको पुष्टि भइदियो। 

      घटना नं ३

      झापामा थपिएका ६२ वर्षे पुरुष पनि लकडाउनपछि नै नेपाल छिरेका थिए। दिल्ली मर्कशमा भाग लिएर फर्केका यी मानिस सोनवर्षी गाउँपालिका चकचकीमा रहेको मस्जिदका जमाती हुन्। उनी नेपाल आएर क्वारेन्टाइनमा बस्नुको सट्टा मुस्लिम विद्यार्थीलाई पढाउने र राहत वितरणमा सक्रिय रहे। पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार उनका कोरोना पोजेटिभ देखियो। 

      घटना नं ४

      प्रदेश नं ५, बाँकेको नेपालगञ्जमा एकमहिना अघि दिल्लीको मर्कसबाट तीनजना जमातीहरु उत्तर प्रदेश बहराइच जिल्लाको नानपाराबाट छिरेका थिए। एकजना ६० वर्षीय जमाती क्वारेन्टाइनमा नबसी घर भागेपछि घर–परिवारका सदस्यलगायत समूदायमा कोरोना संक्रमण फैलियो। ती संक्रमित जमातीले लकडाउनकै बीचमा विभिन्न मस्जिद–मदर्शा र घर–घरमा पढाउँदै हिडेका थिए। जसकाकारण हालसम्म थप २० भन्दा बढीलाई उनैले संक्रमित बनाएको पुष्टि भइसकेको छ। यो संख्या अझ बढ्ने अवस्था रहेको समाचार आइरहेका छन्।

      घटना नं ५

      दिल्लीको निजामुद्धिन मर्कसबाट फर्किएर पर्साको छपकैया मस्जिद र मदर्शामा तीनजना जमातीहरु संक्रमित भएपछि पुन एकजनामा संक्रमण फैलिनु र छिमेकी जिल्ला बाराको सिमरा जीतपुर नपा. ७ मा समेत दुईजना संक्रमित भेटिनुले महामारीको तेस्रो चरणमा प्रवेश गरेको देखाउँछ।

      घटना नं ६

      वीरगञ्जको पीसीआर मेसिन काम नलाग्ने अवस्थामा पुगेपछि हेटौँडासँग सहायता मागियो। तर, हेटौडाले २ नं प्रदेशको काममा आनाकानी गर्न थाल्यो। उता २ नं प्रदेशको जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा सुरुदेखि नै पीसीआर मेसिन विश्वसनीय हुन सकेको थिएन। अर्थात जनकपुर र वीरगञ्ज अस्पतालकै मेसिन काम लाग्ने अवस्थामा थिएनन् र छैनन्।

      लथालिंग सरकार

      माथि उल्लेखित घटनाहरुले के स्पष्ट पार्छ भने नेपालमा कोरोना भाइरसको महामारी वा खतराको दोषी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आफैं हुन्। सीमामा कडाइ नगर्नु, चोरबाटोबाट आएकाहरुलाई क्वारेनटाइनमा कडाइकासाथ नराखिनु, प्रादेशिक अस्पतालहरुलाई लथालिंग बनाइराख्नु र महामारीसँग भिड्नेगरी कुनै तयारीनगर्नु जस्ता कारणहरुले तीन तहका सरकारमा नै गम्भीरता देखिँदैन।

      यति मात्र होइन नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएकाहरुको समेत यकिन विवरण नराखेर क्वारेन्टाइनमा राख्न नसकि पछि खोज्दै हिँड्नुपर्ने अवस्था आयो। यो अव्यवस्था र लापरबाहीको नमुना नै थियो।

      लकडाउनबाहेक कोरोना भाइरस सावधानीसम्बन्धी कुनैपनि कार्यक्रम सरकारसँग रहेको पाइँदैन। अन्य राजनीतिक दलसमेत रमिते मात्र देखिएका छन्।

      प्रदेश सरकारहरु ‘बाँदरको पुच्छर, लौरो न हतियार’को अवस्थामा छन्। सत्तारूढ दल त झनै आफैंभित्र सत्ता संघर्षको दलदलमा अड्किएको छ। अस्वस्थ्य प्रधानमन्त्री बालुवाटारको चारघेराभित्र सीमित छन्। यस्तो अवस्थामा सरकारबाट ‘प्रिकसन’मा ध्यान जाने अवस्था न्यून छ। तर, अर्को विकल्प नभएकाले सरकार नै सक्रिय हुन जरुरी छ। प्रधानमन्त्री पूर्णकालीन रूपमा सक्रिय हुनैपर्ने अवस्था छ किनभने हरेक मन्त्रीले उनलाई नसोधी कुनै गतिला निर्णय गर्न सक्दैनन्।  

      खासगरी भारतको दिल्लीस्थित निजामुद्धिन मर्कसमा आयोजित धार्मिक भेलामा भाग लिनेहरुमा कोरोना संक्रमित पाइएपछि भारत सरकारले धरपकड सुरु गर्‍यो। उक्त भेलाका आयोजकहरूमाथि ‘वारेन्ट’ समेत जारी गरियो। भारत सरकारले उनीहरुलाई अपराधी मान्दै खेद्न थालेपछि नेपालमा हाम्रो संगठनले २०७६ चैत २६ देखि पटक–पटक लेख र विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराइरहेको छ।

      नेपालका मस्जिद र मदर्शाहरुमा सयौं जमातीहरु लुकेर बसेका छन् भनेर हामीले खुलासा गर्दै तत्काल मस्जिद र मदर्शाहरु सिल्ड गरेर पिसिआर टेस्टकालागि अनुरोध गरेका थियौं। तर, सरकारले हाम्रो भनाइलाई सुनेन। आज त्यही यथार्थ सूचना नसुन्दा कोरोना भाइरसको माहामारी तेस्रो चरणमा फैलिएको यथार्थ हो।  

      नेपालमा जमातीहरुको कोरोना कनेक्सन

      कोरोना संक्रमितहरूको संख्या नेपालमा ८० नाघीसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। दु:खको कुरा त के छ भने ५० भन्दा बढी मुस्लिम समुदायका मानिसहरु रहेका छन् भने धेरैजसो भारतको दिल्लीस्थित निजामुद्धिन मर्कसमा भाग लिएर आएकाहरु छन्। यी जमातिको जिल्लागत अवस्था यस्तो रहेको छ।

      झापामा – १, उदयपुरमा २८,  रौतहटमा – १, बारामा – २, पर्सामा ५ र बाँकेमा २३ जना मुस्लिम समुदायका मानिसमा कोरोना पोजेटिभ देखिएको छ। र, यो बढ्दो क्रममा रहेको छ। सरकारले समयमा नै स्वास्थ्य परीक्षणहरु नगर्दा लक्षण नदेखिएकाहरुवाट धेरैमा सर्ने सम्भावना रहेको छ।

      भारतको राजधानी नयाँ दिल्लीमा रहेको निजामुद्धिन मर्कसमा कट्टरपन्थी जमातीहरूको बृहत्तभेलाबाट निस्केका धेरैमा कोरोना पोजेटिभ देखिएको थियो। केही समय अघिसम्म भारतमा कोरोना पोजेटिभ देखिएका मध्ये २५ प्रतिशत संक्रमित सोही मर्कसमा सहभागीहरु थिए। यस्तो अवस्था भएपछि भारतीय सरकारले उनीहरुलाई धरपकड गर्नेदेखि ‘वारेन्ट’ जारी गर्ने कार्य गर्न थाल्यो। यहीक्रममा धेरै जमातीहरु सुरक्षित बास खोज्नेक्रममा खुला सीमानाका कारण चोरबाटो हुँदै नेपालका मस्जिद र मदर्शामा आइपुगेका हुन्।

      त्यसैगरी धेरै नेपाली जमातीहरु पनि सोही दिल्ली मर्कसमा सहभागी भएर फर्के। एउटा महत्वपूर्ण पक्ष भनेको दिल्ली मर्कसअघि नै नेपालमा भएको अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन ‘इस्तिमा’ को आयोजना र यसको विवादास्पद सहभागिता पनि हो। घटनाक्रमले पुष्टि गरेको विषय के हो भने, दिल्ली मर्कस भेलाको योजना र रणनीति नेपालको सप्तरीमा आयोजीत अन्तर्राष्ट्रिय धार्मिक सम्मेलनले गरेको थियो। 

      नेपालमा कोरोना भित्रिने जग

      नेपालको सप्तरी जिल्लामा पर्ने बोदे बर्साइन नगरपालिकाको वार्ड नं ५ जाँजर स्थित भाटिन गाऊँको खड्ग नदी किनारामा अन्तर्राट्रिय इस्लामिक सम्मेलन ‘इस्तिमा’ आयोजना गरिएको थियो।

      गत फागुन ३,४ र ५ गते आयोजित उक्त ‘इस्तिमा’मा नेपाल लगायत विश्वका १८ देशका तब्लिगी जमातीहरुको सहभागिता रहेको थियो। मुस्लिम समुदाय भित्रको पनि सुन्नी समुदायसँग सम्बन्धित तब्लिगी जमाती थियो, त्यो।

      उनीहरु संसारमा नै कट्टरपन्थी मुस्लिम भनेर चिनिन्छन्। उनीहरुको संगठन विश्वका १ सय ९४ देशमा फैलिसकेको छ। सप्तरीको त्यस भेलामा उक्त जमातीका अन्तराष्ट्रिय अध्यक्ष हजरत मौलान साद साहेब (हाल भारतमा पक्राऊ परेका) प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

      मुस्लिम कट्टरपन्थीहरुको सो सम्मेलनलाई शुरुमा गृह मन्त्रालयले भारतबाहेक अन्यदेशका नागरिक अबैधरुपमा सप्तरी आएको भन्दै दुई पटक रोक लगाएको थियो। तर, पछि बालुवाटारको निर्देशनमा सम्मेलन संचालन गरिएको थियो। बालुवाटारलाई दवाव दिएर सभा शुरु गराउनमा मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारी र २ नं प्रदेशका मूख्यमन्त्री मो.लालाबाबु राउत गद्धी लगायत सफल भएको बताइन्छ। समिम र लालबाबु मात्र होइन बालुवाटारलाई मनाउन भारतीय खुफिया एजेन्सीको पनि मध्यस्थता रहेको बताइएको छ।

      स्मरणीय कुरा के छ भने त्यसवेलासम्ममा चिनमा कोरोनाको प्रभाव तीव्र हुँदै युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियाका देशहरूमा छिरिसकेको थियो। यिनै कट्टरपन्थी धार्मिक व्‍यक्तिहरू केही समयपछि दिल्लीको निजामुद्धिन मर्कस पुगेका थिए। दिल्ली मर्कसको भेला गर्ने डिजाईन सप्तरीको त्यही सम्मेलनले गरेको पनि पुष्टि भइसकेको छ। अर्को पक्ष, सोही मर्कसबाट भागेर नेपाल भित्रने जग सप्तरीको त्यही सम्मेलनले तयार गरेको थियो।

      विचारणीय पक्ष के हो भने भारतमा हिन्दू कट्टरपन्थी भाजपा सरकारले अल्पसंख्यक मुस्लिम धार्मिक समुदाय लगायतका विरुद्ध सीएए र एनआरसी जस्ता कानुनहरु लागू गरेपछि भारतभरी मुस्लिम र अन्य समुदायहरु सो कानुनका विरुद्ध आन्दोलनरत थिए। जारी आन्दोलनलाई थप उचाईमा लाने उद्धेश्यले भाजपा सरकार एवं संस्थापनलाई अस्तव्‍यस्त र कमजोर पार्ने रणनीतिअन्तर्गत कट्टरपन्थी तब्लिगी जमातीहरु ‘इस्तिमा’ र अन्तर्राष्ट्रिय धार्मिक सम्मेलनगरी भारत सरकारलाई घुँडा टेकाउने गुरु योजना अनुसार क्रियाशील भएको घटना क्रमले बताउँछ।

      नेपालले गर्न सक्ने काम

      अझै बेला बितेको छैन। नेपालले ‘रेडजोन’मा परेका जिल्ला वा स्थानहरुमा लक डाउनलाई अझ कडा पार्नुपर्छ। सीमाक्षेत्रमा कडाई, गृहप्रशासनको अझ क्रियाशीलता र सबैतहका सरकारको सक्रियता बढाउन जरुरी छ।

      अझ झापा, भोजपुर, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, धादिङ, काठमाडौं, बाग्लुङ, रुपन्देही, बाँके, कैलाली, कन्चनपुर वैतडी डडेल्धुरा र दार्चुलामा विशेष ध्यान दिनुपर्छ।

      लकडाउनका बाबजुद पनि नेपाल छिरेका जमाती वा अन्य सबैलाई स्क्रिनिङ, टेष्टिङ र ट्रयाकिङ गरेर कडाभन्दा कडा क्वारेन्टाइनमा राखिनु पर्दछ। लक्षण नदेखिने हुनाले उनीहरुले अरूहरूलाई सार्ने सम्‍भावनालाई ध्यानमा राखेर काम गरिनु जरुरी छ।

      तराईको कञ्चनपुरदेखि झापासम्म र उदयपुर, मकवानपुर, काठमाडौं उपत्यका, धादिङ, गोर्खा, कास्की, तनहुँ लगायतका मस्जद र मदर्शाहरु  ‘सिल्ड’ गरी आशंकित मौलाना र जमातीहरुलाई सरकारी क्वारेन्टाइनमा अनिवार्य राखिनु पर्दछ। सामूहिक रुपमा नमाज पढ्ने कार्यलाई रोकी घर–घरमा नै पढ्ने व्‍यवस्था मिलाउनु पर्दछ।

      क्वारेन्टाइन र आइसोलेशन मात्र होइन सम्पूर्ण स्वास्थ्य सामग्रीहरु अनिवार्यरुपमा ‘डब्लुएचओ’को मापदण्ड अनुसार हुनुपर्छ। संक्रमितहरुको संख्या जुनसुकैबेला पनि बढेर जानसक्ने भएकाले पर्याप्त मात्रमा आइसीयू र भेन्टिलेटर मेसिनको व्‍यवस्था गर्नुपर्दछ। पीसीआर टेष्टिङलाई व्‍यापक र विश्वसनीय बनाउनुपर्छ। काठमाडौंको टेकु केन्द्रित यो विधिलाई ७ प्रदेशमा अबिलम्ब स्थापित गर्नुपर्दछ। स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्छ। उनीहरुको सुरक्षाकालागि आवश्यक स्वास्थ्य सामग्री र उपकरणमा कन्जुस्याइँ गर्नुहुँदैन।

      नेपालमा आजसम्म देखिएका कोरोना संक्रमितहरुमध्ये धेरैजसो सप्तरीको बोदेबर्साइन्मा रहेको ‘इस्तिमा’ र दिल्ली मर्कसमा आयोजित सभामा भागलिएकाहरु छन्। त्यसैले नेपालमा महामारी फैलाउने यसका योजनाकार, मतियार, संरक्षणकर्ताहरु, रणनीतिकारहरु लगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।

      बालुवाटार र काठमाडौंमा बसेर सत्ताको बाँडफाँट, पार्टी जुटाउने फुटाउने, प्रधानमन्त्री बन्ने–बनाउने लगायतका कार्य बन्द गरेर सबैले एकैठाउँ उभिएर कोरोना नियन्त्रणमा एक ढिक्का हुनुपर्छ। किनभने संक्रमणले कुनै जात धर्म, वर्ग, वर्ण उमेर वा पद केही पनि भन्दैन। सरकार अहिले जस्तै एकमुष्ठ लकडाउनको मात्र भर परेर बस्नु हुँदैन। लकडाउनलाई भूगोल, क्षेत्र र संक्रमणका आधारमा वर्गीकरण गर्ने, सुरक्षित रहेर गर्न सकिने कामहरूको पहिचान गर्नेलगायत नियन्त्रणका लागि योजनाहरू ल्याउनुपर्छ।

      भोको पेट लिएर मानिस सधैँ बस्दैन। यसमा उद्योगी व्यापारी समेत संलग्न हुनसक्छन्। यसरी लकडाउन उल्लंघनका घटना शुरु भए भने सरकारले थाम्न सक्दैन नत कथित राहतको कच्ची बाँधले नै छेक्न सक्छ न सरकारका आश्वासनले नै चित्त बुझाउन सक्छ। तसर्थ यसतर्फ कदम नचाल्ने हो भने स्थिति भयावह हुन नदिन समयमै सोच्नुपर्छ।

    किशोर विश्वास

    विश्वास, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् । 

    तपाईको प्रतिक्रिया दिनुहोस्

    यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

    सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: mkt.thahakhabar@gmail.com

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]