विचार

अध्यात्मको छलाङ र अर्को बुद्धको खोजी

बैशाख २५, २०७७

    मस्तिष्क र  हृदय दुबै पाएर पनि मस्तिष्कबाट मात्र चल्ने मानिसलाई पनि बुद्धले अन्तरचेतना सम्म कसरी पुग्ने सरल सूत्रहरु दिएर जागृत गराउने प्रयास गर्नुभयो। विचारप्रति सजगता अपनाई आफ्नो निजी सत्ताको पहिचान गर्ने कला बताउनुभयो। करीव २५८७ वर्ष अगाडि उहाँले बताउनु भएका सूत्रहरु आजसम्म पनि सान्दर्भिक र सार्थक छन्। त्यसैले बुद्धले के भनेर जानुभयो भनेर शब्दमा अल्झिनु भन्दा पनि के कुरालाई साक्षी भएर हेर्ने इशारा गर्नुभयो ? बुद्धको आँखामा के झल्केको छ त्यो खोज्नु जरुरी छ।

    बुद्धले आफ्नो जीवनको अन्तिम क्षणसम्म भन्नुभयो आफ्ना चेलाहरूलाई-मैले बताएका कुराहरु शब्दमा मात्र रटेर नबस। तिम्रो आफ्नो भित्र रहेको परम चेतनालाई जान्ने कोशिस गर र तिमी आफैं बुद्धत्वमा उपलब्ध बन, बुद्ध चेतनाको अनुभव गर भनेर जानुभएको छ। कसैको पछिपछि लागेर गयौ भने तिमी उसकै घर पुग्छौ। तिमीलाई आफ्नै घर भित्र जानुछ त्यसैले आफ्नै मार्गमा हिंड।

    रुमालको गाँठो जस्तै जीवन

    सधैं झैँ बुद्धले आफ्ना चेलाहरूलाई जम्मा गरेर चौतारीमा बस्नुभयो। आफ्नो गोजीबाट एउटा रूमाल निकाल्नुभयो र अनुहारमा मन्द मुस्कान छर्दै आफ्ना चेलाहरूतिर आँखा डुलाउनुभयो। अनि रूमाल देखाउँदै सबैलाई सोध्नुभयो- यो के हो ? चेलाहरू पनि हाँसे र जवाफ दिए- रूमाल हो नि गुरूदेव ! बुद्ध मुस्कुराउँदै त्यो रूमाललाई ठाउँ ठाउँमा गाँठा पार्न थाल्नुभयो। 

    बुद्धले एकछिन सबैलाई आँखा बन्द गरेर मौन रहन भन्नुभयो I दुइ मिनेट पछि आँखा खोल्न लगाएर चेलाहरूलाई सोध्नुभयो- त्यो रूमालको फरकपनाले तिमीहरूलाई केहि ज्ञान दियो ? चेलाहरू केहि बोलेनन् सायद उनीहरुले के फरक छ बुझ्न सकेनन्। बुद्धले आफैं जवाफ दिनुभयो- जन्मँदा सबै मानिस सादा, खुल्ला रूमाल जस्तै जन्मन्छ तर बिस्तारै बिस्तारै उसको जीवनमा सम्बन्ध, कर्म, लोभ, मोह, अपेक्षाका गाँठाहरू बन्दै जान्छन्।

    करिव ४ वटा जति ठाउँमा गाँठा पार्नुभयो र फेरि सोध्नुभयो- यो के हो ? चेलाहरू फेरि हाँस्दै भने- त्यहि रूमाल नै हो नि गुरूदेव ! बुद्ध मुस्कुराउँदै फेरि सोध्नुभयो- त्यहि रूमाल हो तर केहि फरक छ ? चेलाहरू एकसाथमा जवाफ दिन थाले- फरक छ नि गुरूदेव, अघि रूमाल सग्लो, खुल्ला थियो अहिले ठाउँठाउँमा गाँठा परेको छ।

    त्यसबेला चेलाहरूले टाउको हल्लाएर मौन समर्थन जनाए। त्यो सन्देश आजका हामी मानिसलाई पनि हो। हाम्रो जीवनमा, व्यवहारमा, जीवनशैलीमा, सोचमा, कर्म गर्ने तरिका र सम्बन्धमा कहाँकहाँ किन गाँठा परेको छ ? कसरी खोल्ने ति गाँठा बुद्धकै देशनातिर फर्किनुपर्ने हुन्छ।

    धार्मिक क्रान्ति

    सौभाग्यशाली थियौं हामी त्यसैले त हाम्रै जन्मभूमि शाश्वत, आफ्नो लौकिक सत्ता,शुन्यता,मौनता र अहिंसाको रुपमा एउटा बुद्ध चेतनाले जन्म पाएको थियो। जसलाई सिद्धार्थ गौतमबाट भगवान बुद्ध मात्र बनाएन यो भूमिले सांसारिक लोभलालच र हिंसाबाट मुक्त भएर परम भगवत्तामा उपलब्ध हुने सुवर्ण अवसर प्रदान गरेको थियो । अध्यात्ममा यो एउटा ठूलो छलाङ्ग र क्रान्ति नै थियो। अचेल भन्छन् नि पाराडाइम सिफ्ट यो पाराडाइम सिफ्टको उच्चतम् रुप थियो । परम्पराबाट आधुनिकता तिरको संसारको यात्राको शुरुवात थियो ।

    बुद्ध जन्मेका देशका नागरीक हामीले सधैं उनको प्रचार प्रसार र बुद्ध पूर्णिमालाई वार्षिक एउटा पर्व बनाएर मात्र कर्तव्य पूरा होला त ? उनका सार्थक सन्देशलाई आत्मसात गरेर आफैंमा बुद्ध चेतनाको अवतरण कहिले गराउने हामीले ? हामी भित्रको बुद्धत्वलाई फक्रन दिने कहिले ? कुनै 'वारेन्टी' नभएको यो जीवनलाई सतही जानकारी र प्रचारमा मात्र सिमित राख्ने कहिलेसम्म ? बुद्ध पूर्णिमालाई राष्ट्रिय पर्व र ध्यान दिवसको रुपमा मात्र मनाएर हामी भित्रको चेतना जागृत हुने छैन।

    बुद्ध को हुन् ? बुद्ध चेतना के हो ? हामी आफैंमा बुद्धत्वको बोध गर्ने खुबी राख्छौं कि राख्दैनौं ? यदि राख्दैनौं भने किन ? अब हामीले त्यतातिरको बोधलाई साक्षीपूर्वक नहेरी सुखै छैनबुद्ध भन्नुहुन्छ -"तिमी जस्तो सोच्छौ त्यस्तै बन्छौ, जस्तो बन्छौ त्यस्तै कुराप्रति आकर्षित हुन्छौं जे कल्पना गर्छौ त्यसकै सृजना गर्छौ।"

    अध्यात्मलाई अंगाल्न छोडेर धर्मको मात्र बयान गर्ने समाजका पाखण्डको उछित्तो काड्ने सामाजिक वक्ता, रहस्यवादी एवं अध्यात्मका सर्वोत्कृष्ट आध्यात्मिक गुरु ओशोले समेत भगवान बुद्धलाई हिमालयमा पनि स्वच्छ टल्केको, सेतो र पवित्र हिमालको उपमा दिएर सर्वोत्कृष्ट चेतनाको एउटा अतुलनीय उदाहरणको रुपमा प्रस्तुत गर्नुभएको छ। बुद्ध जस्तो महिमापूर्ण नाम र काम मानव इतिहासमा कसैले नगरेको उहाँको दावी छ।

    बुद्ध र ओशो 

    बुद्धले जति हृदयका विणा बजाउनु भयो त्यो अरुले बजाउन नसकेको ओशो उल्लेख गर्नुहुन्छ। बुद्धको माध्यमबाट जति व्यक्तिहरु भगवत्तामा उपलब्ध हुनसके त्यो अरुबाट हुन नसकेको भन्नुहुन्छ किनकी बुद्धले आफ्ना मधुर बाणीबाट यस्ता व्यक्तिहरुलाई चेताउनु भयो जुन कठिन थियो। बुद्धि, तर्क र विचारले भरिएका, हृदयमा कुनै झन्कार नभएका, बुद्धिवादी व्यक्तिलाई बुद्धले जागृत गराउन सफल हुनुभयो। हृदयले भरिएको व्यक्ति त स्वयंमा जागृत र समर्पित हुन्छ, उसलाई जगाउन कुनै  कठिन उपाय लगाउनुपर्दैन।

    ध्यान एक मात्र मार्ग हो जसले तिमीलाई तिम्रो अन्तस्करणमा लैजान मद्धत गर्दछ। एक द्रष्टा झैं आफैंले आफैंलाई हेर्ने एक मूलमंत्र हो ध्यान। आफूले गरिने कर्महरु जस्तै -हिंड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, स्वास लिंदा -छोड्दा समेत सबै कामहरुमा भित्रबाट आफैं द्रष्टा भएर हेर्ने जागृत अवस्था हो ध्यान।

    कसरी, के, किन, कसको लागि गरिरहेछु र यसले आफूलाई या अरुलाई सकारात्मक ऊर्जा दिन्छ या नकारात्मक त्यो जान्न सक्नु जागृती हो। जागृतीको कला जानेपछि जीवनमा चाहेको सबै कुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो त्यसको मात्र चाहना हुन्छ।

    ध्यान घटित हुनासाथ तिमीमा प्रेम जागृत हुन्छ। प्रेम जागृत हुनासाथ तिम्रा हरेक कर्म पूजा बन्दछन्। ध्यान र प्रेम जागृत हुनासाथ व्यक्तिले गर्ने कर्म सकारात्मक र फल पनि सकारात्मक नै आउँछन्।

    बुद्ध आफ्ना शिष्यलाई कल्याणमित्र भनेर सम्बोधन गर्नुहुन्थ्यो। कल्याणमित्र जो संगत गर्न लायक छ, जो चेतनाको स्तरबाट उत्कृष्ट छ र जसको मार्ग ध्यानको छ। हरेक कर्ममा ध्यान, हरेक सम्बन्धमा ध्यान, हरेक परिणाममा साक्षी भएर हेर्छ।

     

    जसको भाव सुन्दर , जोसँग अन्तरंग मिल्छ, जो अन्तर्मुखी हुने खुबी राख्दछ त्यही कल्याणमित्र होत्यसैले तिमीहरु मेरा कल्याणमित्र हौ तिमीहरुको मार्ग पनि कल्याणकारी हुनुपर्दछ भने कुरालाई बुद्धले बहुत मार्मिक तरिकाले बुझाउने प्रयास गर्नुभयोउहाँका यिनै अनुभूतिहरु/बाणीहरु संग्रहित भएर धम्मपद बन्योधम्मपदको पाठले मात्र हाम्रो चेतनाको स्तर उक्सिनेवाला छैनउहाँले गर्न सकेको बोध हामीले पनि गर्न सकेको क्षण नै बुद्धको सम्मान भएको मानिने

    ओशोले बुद्धकै सार्थक सन्देश र अनुभूतिलाई आफ्नो जीवनमा उतार्नको लागि जोरबा दी बुद्धको माध्यमबाट भोग र योग दुबैमा निपुर्णता पाउन सक्ने सूत्रहरु बताउनु भएको छ। बाहिरको सम्पन्नतालाई सुखपूर्वक भोग गर तर भित्र योगलाई सतत स्मरणमा राख भन्ने कलालाई ओशोले जोड दिनुभयो। जोरबा शुरुवातको अवस्था हो।

    फेरि बुद्ध जन्मिने छन !

    बुद्धले पनि सिद्धार्थ गौतम राजकुमारको रुपमा सारा भोग बिलासको उपभोग गरिसकेपछि यो मात्रै जीवनको उद्देश्य होइन। यो मात्रै जीवनको खोज होइन र यो संसारमा मात्र सुख र आनन्द छैन भन्ने बोध पाउनु भएको थियो।

    जीवनमै रहेर, सांसारिक आवश्यकताको पूर्ति र भोगविलासको साथमा, त्यो भन्दा माथि पनि जुन कुरा जान्न र थाहा पाउन लायक छ त्यसको खोजी गर्नुभयो। बाहिर हेर्दा सबै छ जस्तो लागेपनि भित्रबाट खाली र खोक्रो अनुभूति गर्ने मानिसलाई परम आनन्दको खजाना प्राप्त गर्ने स्रोत खुलासा गरिदिनुभयो।

    स्वतन्त्र एक पंछीको रुपमा अस्तित्वमा विचरण गर्दै आफ्नो बासस्थान जहाँ शान्ति, आनन्द र प्रेम मात्र बाँकी छ त्यो मार्ग बताउनुभयो बुद्धले। बाहिर कर्म, भित्र ध्यानको मन्त्र दिनुभयो। थोरै सजगता, करुणा र प्रेम जगाउनु छ। जीवनलाई नयाँ आयामबाट रुपान्तरित गर्नुछ। बुद्धका सन्देशलाई सार्थक पार्नुछ। प्रत्येक वर्ष एक दिन बुद्ध पूर्णिमालाई पर्वको रुपमा मात्र मनाउंदा बुद्धलाई र बुद्ध चेतनालाई जान्नबाट बन्चित हुनेछौं।

    अब अर्को बुद्ध कतै खोज्ने होइन। आफैं भित्र बुद्ध खोजौं। आफैं भित्रको बुद्ध अन्वेषण गरेर कोलाहल पृथ्वीमा शान्त बुद्ध निकालौं र विश्व शान्ति र कल्याणमा लगाउँ। हाम्रो पालो आएको छ। फेरि बुद्ध जन्मेलान् नजन्मेलान् हामीमै त्यो बुद्धत्वको कमल फुलाउनु छ। हामी भित्रको बुद्ध जगाउनु छ। बुद्ध जन्माउनु छ।

डा. नम्रता पाण्डे

लेखक, ध्यान प्रशिक्षक एवं स्वतन्त्र मनो-परामर्शदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]