थाहा संवाद : प्रदेश सरकार

'परीक्षण बढाएर कोरोनासँगको लडाइँ जितेरै छाड्छौँ'

संक्रमित बढ्दै गए यति तयारीले पुग्दैन

बैशाख २५, २०७७

    रुपन्देही : उदयपुरको भुल्केलाई बिर्साउने गरी बाँकेको नेपालगञ्ज, कपिलवस्तु र रुपन्देहीको कोटहीमाईमा गरेर प्रदेश ५ मा २६ जना कोरोना संक्रमित फेला परेका छन्।  

    देश लकडाउनको डेढ महिनामा एकैपटक संक्रमित फेला परेका थिए। प्रदेश ५ मा १२ जिल्लामध्ये भारतसँग ६ वटा जिल्ला जोडिएका कारण उच्च जोखिम छँदै छ। सम्भावित जोखिमको आंकलन गर्दै संक्रमण फैलिनुअगावै प्रदेश ५  सरकार आवश्यक स्वास्थ्य संरचना निर्माण, सूचना प्रणालीको विकास र आर्थिक स्रोतको तयारीमा जुटेको थियो।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका यस्ता योजना कत्तिको प्रभावकारी भएका छन् भनेर थाहाखबरकर्मी जीवराज चालिसेले प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग गरेको कुराकानीको सम्पादित अंश :

    लकडाउनको डेढ महिना भइसक्दा प्रदेशमा संक्रमित देखिए नि। कारण के होला?

    हामीले यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा छ भनेर भन्दै आएका थियौं। प्रदेश ५ को बर्दियादेखि बर्दघाट–सुस्ता पश्चिमसम्म ४ सय ८ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ। सिमानाका धेरै स्थानमा खेत र जंगल छ। यस्ता स्थानमा सुरक्षाकर्मी परिचालन गर्न गाह्रो परिरहेको छ।

    केही त सामान्यतया प्रयोगमा नआउने खालका गोप्य बाटाहरू पनि छन्। ती बाटालाई प्रयोग गरेर आवतजावत भइरहेको छ। त्यसकारणले हाम्रो प्रदेश उच्च जोखिममा रहेको प्रदेश हो भन्ने हाम्रो आँकलन थियो। अहिले त्यही कुरा प्रमाणित भएको हो। योजनाअनुरूप नै हामी कोरोनासँगको लडाइँमा होमिएका छौँ।

    संक्रमण सामुदायिकस्तरमा पुगिसकेको छ। अब पहिलेकै तयारीले त पुग्दैन होला नि?

    यहाँ मानिसहरू विभिन्न वैध/अवैध बाटोबाट प्रवेश गर्न सक्ने ठाउँ छ। भारतमा संक्रमण सुरु भएदेखि नै सीमा नाका तथा शंकास्पद स्थानहरूमा आवतजावत गर्नेहरूको स्‍क्रिनिङ र टेस्टिङ गर्न सुरु गरेका थियौँ।

    हालसम्म रुपन्देही, बाँके र कपिलवस्तुमा मा २६ वटा केस देखापरेको छ। यो जोखिमको हामीले पहिले नै अनुमान गरेका छौं। लकडाउनकै समयमा भारतबाट मानिस आउने क्रम रोकिँदैन भन्ने कुरालाई मध्यनजर गरेरै हामीले रोकथामको तयारी थालेका थियौं। सबै जोखिमहरूको आँकलन गरेर नै योजना तयार पारेका छौँ।

    कस्ता योजना भन्न खोज्नुभएको हो, सबैले बुझ्‍ने भाषामा बताइदिनु न?  

    प्रदेश सरकारले हालसम्म प्रदेशमा ४ वटा आइसोलेसन अस्पताल निर्माण गरेको छ। त्यसमा २ सय ७० बेड छन्। गम्भीर प्रकृतिका समस्या व्यवस्थापनका लागि हामीसँग आइसियु र जनशक्ति प्रयाप्त छन्। 

    संक्रमण पुष्टि हुनासाथै संक्रमितका सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’लाई तीव्र पारेका छौं। नेपालगञ्जका पहिलो संक्रमितको सम्पर्कमा आएका ९४ जनाको परीक्षण गरिसकेका छौँ। रुपन्देहीका संक्रमितसँग सम्पर्कमा आएका १४ जनाको परीक्षण गरिसक्यौं। पूर्व-योजनाअनुरूप नै यसो गरिएको हो।

    त्यसपछि पोजेटिभ देखिएका २२ जनाहरूसँग सम्पर्कमा आएकाहरूको पनि ट्रेसिङ गर्दै छौं। आज र भोलिमै बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा संक्रमतिसँग सम्पर्कमा आएका व्यक्तिहरूको पिसिआर परीक्षण गर्नेछौं। परीक्षणपछि आवश्यक परेमा अस्पतालमा भर्ना गरेर उपचार गर्ने काम अगाडि बढाउने छौं।

    प्रत्यक्ष सम्पर्कमा आएकाको पिसिआर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरिरहेको छ। त्यति मात्रै होइन खासगरी भारतबाट आएकाहरू जो जो क्वारेन्‍इनमा हुनुहुन्छ उहाँहरूको स्वाब लिने र आवश्यकता हेरेर आरडीटी र पीसीआर परीक्षण गर्ने भनेका छौं।

    दाङ र नेपालगञ्जमा मेसिनको क्षमताअनुसार परीक्षण भएको छैन। भैरहवामा त परीक्षण नै रोकिएको छ। प्रदेशमा कोरोना परीक्षण दर निकै कम भयो भन्ने गुनासो आएको छ नि?

    सुरुवाती चरणमा नेपालगञ्जमा केही समस्या देखिए पनि अहिले मेसिनको पूर्ण-क्षमताअनुसार नै पिसिआर परीक्षण भइरहेको छ। दाङमा ‘स्याम्पल’ नभएका कारण परीक्षण हुन पाएको थिएन। तर, आजबाट त्यहाँका विभिन्न क्वारेण्टाइनमा संकलन गरिएका स्वाब स्याम्पलहरू ल्याबमा जाँदै छन्। अब त्यहाँ पनि मेसिनले पूर्ण क्षमतामा काम गर्नेछ।

    जहाँ भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कुरा छ त्यहाँ पनि केही दिन अगाडिसम्म पूर्ण क्षमतामा नै परीक्षण भइरहेको थियो। तर, अहिले आरएनए एक्ट्रयाक्सन किटको अभावका कारणले गर्दा परीक्षण रोकिएको छ। संघीय सरकारसँग किट मागेका छौं। त्यताबाट प्राप्त हुनेबित्तिकै ‘फुल क्यापासिटी’मा परीक्षण हुनेछ।

    त्यो भनेको कहिलेसम्म?

    मेरो अनुमानमा भोलि या पर्सिबाट सुरु हुन्छ। सकेसम्म आजै संघले किट उपलब्ध गराउने भनेको छ।

    संक्रमित बढेपछि उनीहरूलाई गहन उपचार आवश्यक हुन्छ। श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमण भएकाले भेन्टिलेटर र आइसियु त झनै पहिलो शर्त हो। सरकारले उपकरणको पर्याप्त जोहो गरेको छ?

    हामीसँग चारवटा आइसोलेसन अस्पतालमा १५ वटा भेन्टिलेटरसहितका २७ वटा आइसियु बेड रहेका छन्। अनि हालसम्म जति हामीसँग संक्रमितहरू आउनुभएको छ, उहाँहरू सबैलाई कुनै पनि प्रकारको सपोर्टिङ मेडिकल सप्लाई (बाह्य मेडिकल उपकरण) आवश्यक परेको छैन।

    त्यसैले अहिले समस्या छैन। उहाँहरूमा सामान्य लक्षणहरू पनि देखापरेका छैनन्। यसलाई हेर्दा अहिले नै हामीलाई ‘क्रिटीकल केयर’को समस्या छैन। 

    तर, संक्रमितको संख्या बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दा बेडको आवश्यकता पनि बढ्न सक्ने देखेका छौं।  त्यसको लागि उपकरण उपलब्ध भएका केही अस्पतालहरूलाई आइसोलेशन अस्पतालका रुपमा विकास गर्न सकिन्छ कि भनेर गृहकार्य गरेका छौं। नेपालगञ्जमा रहेका सेना र प्रहरीका अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरिसकेका छौँ।

    त्यसो त जनशक्तिको पनि खाँचो पर्ला नि?

    अस्पताल मात्रै होइन संक्रमित बढ्दै गए भने हाम्रो चिकित्सकको जनशक्तिले पनि नपुग्न सक्छ। त्यसका लागि कहाँबाट जनशक्ति तान्ने र परिचालन गर्ने भनेर  भनेर गृहकार्य गरेका छौं। त्यसको पनि छिट्टै नै निर्णय हुनेछ।

    अहिलेकै अवस्थामा संक्रमित बढ्दै गएमा हामीसँग भएका पिपिई र उपकहरण अपर्याप्त हुन सक्छन्। त्यसो हुन नदिन खरिद लगायतको प्रक्रिया अगाडि बढाइरहेका छौं।

    कोरोना संक्रमण रोक्ने कार्यमा स्थानीय तह र संघ सरकारले प्रदेशलाई एक्लै पारेका त छैनन्?

    अहिलेसम्म सापेक्षीत रूपमा दुवै तहका सरकारहरूसँग राम्रो समन्वय भइरहेको छ भन्ने हाम्रो बुझाइ छ।

    स्थानीय सकारले क्वारेन्‍टाइनको व्यवस्थापन र आधारभूत स्वास्थ्य सेवा प्रदान गरेका छन्। उनीहरूले खोप तथा फिभर क्लिनिकहरू पनि सञ्चालन गरेका छन्। क्वारेन्‍टाइनमा रहेका मानिसहरूलाई खाना र वासस्थानको सम्पूर्ण जिम्मेवारी उनीहरूकै  छ। क्वारेण्टाइनमा रहेका व्यक्तिहरूलाई आधारभूत स्वास्थ्य सेवा दिई उनीहरूमा देखिनसक्ने लक्षणमाथि निगरानी गर्ने काम गरेका छन्। शंकास्पद व्यक्तिहरूलाई अस्पताल रिफर गर्ने काम गरेका छन्।

    ‘ट्रेसिङ’ र ‘ट्रयाकिङ’मा स्थानीय सरकार र सुरक्षा निकायसँग हामीले समन्वय गरेका छौं। स्याम्पल लिने बेलामा स्थानीय सरकारहरूले रहेका स्वास्थ्य कर्मचारीहरूलाई परिचालन गरेका छन्।

    उनीहरूसँगै प्रदेशबाट समेत गरेर ७० जनाभन्दा धेरै ल्याब टेक्निसियनहरूलाई स्याम्पल कलेक्सनको लागि ट्रेनिङ दिएर फिल्डमा खटाएका हौँ। यसमा जिल्ला स्वास्थ्य कार्यालयले पनि समन्वय गरेको छ। हामीसँग ‘फ्रन्टलाइन’मा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि छन्। यसरी मुख्यतः क्वारेन्‍टाइनको व्यवस्थापन र स्याम्पल कलेक्सनमा स्थानीय तहले ठूलो भूमिका निभाएका छन्।

    संघले पनि उपकरणमा सहयोग गरेको छ। संघले हालसम्म एनएसआईको सहयोगमा २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ। हामीलाई परीक्षणका क्रममा रिएजेन्टहरू आवश्यक परेको सन्दर्भमा संघको सहयोग पाएका छौं। संघले आरडिटी र  पिसिआर परीक्षणमा किटहरू उपलब्ध गराएको छ।  

जीवराज चालिसे

चालिसे थाहा खबरका रुपन्देही समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]