समाज

चेपाङ गाउँमा पुगेन राहत, मजदुरी गर्न नपाउँदा हातमुख जोड्नै धौधौ

वडाध्यक्ष भन्छन्- चेपाङ गाउँमा नपुग्दै सिद्धियो राहत

जेठ १२, २०७७

    गोरखा : गण्डकी गाउँपालिका–७ छतिवनगैराका भवानीसी चेपाङ काममा जान नपाएको दुई महिना पुग्यो। अझै कति दिन काम नपाउने हो निश्चित छैन। दिनहुँ ज्याला मजदुरी गरेर हात पारेको कमाइले साँझ बिहान छाक टार्ने उनको चुल्हो बल्न अहिले मुस्किल हुन थालेको छ।

    ‘आधा पोका नून र एक गिलास तेल तल्लो घरबाट पैँचो ल्याएको छु,’ भवानीसीकी पत्नी यममायाले सुनाइन्, ‘मल बोक्न, मकै गोड्न मलाई पनि बोलाऊ है भनेको, बाहुनले पाँचजना भन्दा बढी नलाने भन्यो। अब त घरमा न पैसा, न खानेकुरा। हातमुख जोड्नै गाह्रो भइसक्यो।’

    काम गरेर खान्छु भन्दा पनि नपाएको भवानीसीको दुखेसो छ। ‘जोत्न, खन्न सक्छु, ढुंगा उचाल्न सक्छु,’ उनी भन्छन्, ‘मान्छे धेरै फाल्टु छन्। काम थोरै छ। काममा बोलाओ भन्दा पनि कसैले बोलाउँदैनन्।’ आउने बाटो नहुँदा चार छोरी, दुई छोराको हातमुख जोड्न पनि मुस्किल परेको उनको भनाइ छ।

    ‘ढिडो खाँदाखाँदा नि हैरान भइयो। छोराछोरी सेतो भात खान मन लागेको छ भन्छन् तर खै?’, उनले दुःख सुनाए ‘आफ्नो खोरियाडालोमा ३०, ४० भारी मकै आउँछ। सरासर खायो भने तीन महिनालाई धान्छ। बाँकी सबै ज्यालामजुरीले चलाउने हो।’

    तातोपानी मात्र खाएर छाकटार्नु पर्ने अवस्थामा पुगेको अर्की स्थानीय श्रीमाया चेपाङ बताउँछिन्। ‘अस्तिनै छाकै बस्ला भइसकेको थियो। छोराले कहाँबाट ५०० रुपैयाँको चामल ल्याएछ र अहिलेसम्म धानिराछ। अल्लिखेरमा हामी भोकै बस्ने दिन आइसकेको छ,’ उनी भन्छिन्, ‘कमाउन जान पनि पाउँदैन। तरकारी पनि बिक्दैन। साह्रै गाह्रो भएको छ।’

    पहिले प्रतिकिलो ७०, ८० रुपैयाँमा बिक्ने तरकारी अहिले ११, १२ रुपैयाँमा पनि बिक्न छाडेको श्रीमायाको गुनासो छ। ‘काम गरेर साँझ बिहानको छाक टारेको थियो, तरकारी बेचेर भुराभुरी पढाएको थिया,े’, उनले भनिन्, ‘अहिले त तरकारी बेचेको पैसाले भात खान पनि पुग्दैन। कसरी ब्यबहार चलाउने हो।’ एक रोपनी तीन आना जग्गाको उब्जनीले एक दुई महिनालाई पनि नपुग्ने उनले बताइन्।

    जोत्न जान पाए बिहानको ३००, दिउँसोको ३०० रुपैयाँ आम्दानी हुने अर्का स्थानीय अन्तबहादुर चेपाङ बताउँछन्। ‘भर्खर मकै रोपेको छ। साउन, भदौ नभै मकै पाक्दैन। अब कसौँडीमा पानी मात्र तताउने हो, हामीसँग केही छैन,’ उनले भने, ‘अब गिट्ठाभ्याकुर, तिगुना र टाँकीको मुण्टाले छाक टार्नु पर्ने अवस्था आयो।’

    चेपाङगाउँमा राहत वितरण नभएको अर्का भीमलाल चेपाङले बताए। ‘अरु गाउँमा त राहत बाँडेको छ रे भन्ने सुनेको मात्र हो, यहाँ राहत बाँड्न आएका छैनन्’ उनले भने, ‘राहत आउँछ रे भनेर सबै लोभिएका थिए। तर अहिले बाँडिसक्यो रे यहाँ त नआउने रे भन्ने हल्ला पो सुन्यो।’

    चेपाङ गाउँमा नपुग्दै राहत सिद्धियो ः वडा अध्यक्ष रेग्मी

    चेपाङ गाउँमा राहत वितरण नभएको वडाध्यक्ष तुलसी रेग्मी स्वीकारे। थोरै बजेटले खरिद गरेको राहत सामग्री चेपाङ गाउँमा नपुग्दै सिद्धिएको उनले बताए।

    ‘प्रत्येक वडाहरुमा एकेक लाखको राहत कार्यक्रम ल्यायौँ’, अध्यक्ष रेग्मीले भने, ‘५० बोरा चामल ल्याएका थियौँ। हामीले ७४ जनालाई मात्र बाँड्न सक्यौं। त्योभन्दा धेरै बाँड्न सकेनौं। चेपाङ सीमान्तकृत भएर पनि, असहाय भएर पनि गरिब भएर पनि राहत पाउन सकेका छैनन्। हामीलाई समेत अप्ठ्यारोे परेको छ।’ गरिब चेपाङको हातमा राहत पार्न नसक्दा दुःख लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]