कोभिड-१९ {अपडेट}

केन्द्र सरकारले सीमा नाकामा रोक्न नसक्दा नरैनापुर 'हटस्पट'

पाल टाँगेर क्‍वारेन्टाइन, संक्रमित राख्‍ने ठाउँ छैन

जेठ १२, २०७७

    काठमाडौं : बाँकेको पूर्वी क्षेत्रस्थित नरैनापुर कोरोनाको ‘हटस्पट’ बनिसकेको छ। नरैनापुर गाउँपालिकामा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ। नरैनापुरका विभिन्‍न क्‍वारेन्टाइनमा १ सय १३ पुरुष, १ महिला र सात महिनाका बच्चा बसिरहेका छन्। कोरोनाबाट मृत्यु भएका युवक पनि नरैनापुर गाउँपालिका हुन्।

    संक्रमितको संख्या थपिदै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि यतिखेर नेपाली सेना पनि परिचालन गरिएको छ। स्थानीय सरकारले घर बाहिर ननिस्कन आग्रह गरिसकेका छ।

    त्यहीकारण सबैजना यतिखेर घरमा बस्‍न बाध्य छन्। केही दिनयता भारतबाट नरैना गाउँपालिकामा धेरै जना भित्रिएका थिए। भारतको विभिन्‍न राज्यमा रोजगारीको शिलशिलामा पुगेका धेरै नेपाली नागरिक घर फर्किएपछि नरैनापुर कोरोनाको हटस्पट बनेको छ।

    विद्युत नहुँदा अफ्ठ्यारो

    स्थानीय सरकारले निर्माण गरेको क्‍वारेन्टाइन र आइसोलेसन भ्रमण गर्न जनप्रतिनिधिदेखि बाहेक अन्य व्यक्ति बाहिर निस्कन पाएका छैनन्। सबैलाई घरमा बस्‍न आग्रह गरिएको छ।

    जतिसक्दो स्थानीय सरकारले राहत पुर्‍याउन सहयोग गरिरहेको नरैनापुर गाउँपालिकाको अध्यक्ष इश्तियाक अहमद साहले बताए। उनका अनुसार यस गाउँपालिकामा १ सय १४ संक्रमित छन्। १ जना महिला र सबै पुरुष संक्रमित छन्।

    सेना परिचालन गरिएपछि अन्य दिनको जस्तो भीडभाड नहुने गरेको उनले सुनाए। यहाँका नागरिकमा अहिले रोग र सेनाले पक्डन्छ भनेर त्रास फैलिएकोले पनि बाहिर ओहोरदोहोर गर्नेको कमी आएको उनले बताए। सीमा पूरै सिल गरिएको छ। अहिले कोही पनि बाँकेमा प्रवेश नगरेको साहले जानकारी दिए। ‘केन्द्र सरकारले सीमामा कडाइ गर्न नसक्दा सबै भित्रिएर नरैनापुर हटस्पट बन्यो,’ उनले भने।

    ‘गाउँपालिकाको विद्यालयलाई क्‍वारेन्टाइन बनाइएको छ, जंगलको आसपासमा पाल बनाएर राखिएको छ,’ उनले भने,’ १३ क्‍वारेन्टाइनमा सात सयको हाराहारीमा राखिएको छ। स्कुलमा बनाएको क्‍वारेन्टाइनमा बस्‍नेलाई गर्मी मौसममा धेरै गाह्रो भएको छ।

    ‘चार दिनयता विद्यायलमा बनाइएका क्‍वारेन्टाइनमा विद्युत आपूर्ति नहुँदा बस्नेलाई गाह्रो भएको उनले थपे। 'कोठामा बत्ती छैन। बिजुलीको व्यवस्था जेनेरेटर बालेर मिलाइएको छ', उनले भने। बिजुलीको व्यवस्था नहुँदा क्‍वारेन्टाइनमा रहनेका लागि पर्याप्त मात्रामा बेड र सुत्‍ने व्यवस्था गर्न नसकेको उनले बताए।

    क्‍वारेन्टाइनमा रहेका सबैलाई खानाको व्यवस्था गरिएको तर सोचेजस्तो राम्रो सेवा दिन नसकेको उनले गुनासो गरे। बिहानको खाजामा चिया र बिस्कुट, दिउँसोको च्युरा र तरकारी दिइएको छ। गाउँपालिकाको बजेट सकिने अवस्थामा पुगिसकेको उनले जानकारी दिए। उनले भने,’ सुत्न तन्‍ना, झुल र तकिया दिएका छौँ, सात सय मानिसलाई बेड बनाएर दिन असम्भव छ।अहिले विद्यालयका भुइँमा सुत्न बाध्य छन्।‘

    संक्रमितलाई उपचार गर्न ठाउँ छैन

    बाँकेमा संक्रमितको संख्या बढ्दै गएपछि सबैलाई अस्पतालमा ल्याएर उपचार गर्न सम्भव छैन। स्थानीयस्तरमा क्‍वारेन्टाइन र आइसोलेसन निर्माण तयारी रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बताए।

    उनका अनुसार बाँकेका तीन ठाउँमा क्‍वारेन्टाइन निर्माण गर्न लागिएको छ। लायन्स डेन्टल कलेज, कोहलपुरको कृषि विकास तालिम केन्द्र र तालिम केन्द्रको अतिथि सदनलाई प्रयोगमा ल्याउन लागिएको छ।

    कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका संक्रमितलाई ती स्थानमा राखेर उपचार गर्ने तयारी गरिरहेको डा. थापाले बताए। बाँकेका स्थानीय सरकारले व्यवस्थित क्‍वारेन्टाइन निर्माण गर्ने कार्य पनि तत्काल सुरु गर्न लागिएको उनले बताए।

    खजुरा क्यान्सर अस्पताल कोभिड उपचार केन्द्रमा ८ जना संक्रमितको उपचार भइरहेको छ। २२ जना निको भएर घर गइसकेक छन्। अस्पतालमा कोरोना संक्रमितलाई विशेष उपचार गर्नुपर्नेलाई मात्र भर्ना गरिरहेको पनि उनले जानकारी दिए।

    दीर्घरोगी र महिलालाई मात्र केन्द्रमा भर्ना गरेर उपचार गरिएको उनको भनाइ छ। ‘मेरो अध्ययनमा संक्रमितमा देखिएको लक्षण एकदमै कमजोर खालको छ, तर, अहिले नै यो यस्तो भनेर भन्‍न सक्नदिन,’ उनले भने।

    ८ वटा आइसीयु र ४० वटा सामान्य बेड अस्पतालमा छन्। सयौँ संक्रमितलाई लक्षित गरी उपचार केन्द्र निर्माण नगरिएकाले ११३ संक्रमितलाई नै ल्याएमा धान्‍न नसक्ने उनले जानकारी दिए। ‘संक्रमितको उपचारका लागि तत्काल अन्य स्थानमा उपचार केन्द्र निर्माण गर्न सम्भव नभएको बताउँदै उले तत्कालीन र दीर्घकालीन रणनीति स्वास्थ्य मन्त्रालयले बनाइरहेको पनि उनले सुनाए। 

    सामान्य लक्षण देखिएकालाई बाहिर निर्माण गरिएको आइसोलेसन र क्‍वारेन्टाइनमा राखिने उनले प्रष्ट पारे। अन्तर्राष्ट्रियस्तरको अस्पताललाई ध्यान दिएर हेर्ने हो भने नेपाल पर्याप्त मात्रामा पूर्वाधार विकास नभएको उनले बताए। सामुदायिक आइसोलेसन बढी मात्रामा बनाएर त्यसमा बस्ने प्रबन्ध मिलाइने उनले जानकारी दिए।

    बाँकेको कन्ट्रयाक ट्रेसिङ गरेर संक्रमित भेट्दा समुदायमा सरिसकेको देखिए पनि स्वास्थ मन्त्रालयले प्रमाणित नगरी सकेको उनले बताए। संक्रमण समुदायमा नपुगेको भए पनि अब जान सक्ने सम्भावना रहेको थापाले औँल्याए। ‘भारतबाट ठूलो संख्यामा भित्रिएकालाई घर र गाउँमा सीधा प्रवेश नगरी क्‍वारेन्टाइनमा राख्नुपर्छ,’ उनले भने,’ क्‍वारेन्टाइनमा १५ सयको हाराहारीमा छन्। सबैले आतिइहाल्नुपर्ने अवस्था छैन। परीक्षणको दाययरा बढाइएको छ।‘

    प्रत्येक स्थानीय तहमा क्‍वारेन्टाइन

    भारतबाट आएकामा सबैभन्दा बढी संक्रमण देखिएको छ। ती सबै नागरिकलाई क्‍वारेन्टाइनमा राखिएको छ। अहिले कोरोना नियन्त्रणभन्दा बाहिर गइसकेको भन्‍न नमिल्ने बाँकेका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। समुदायमा संक्रमण फैलन सक्ने डरले त्यस क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकिएको उनले सुनाए।

    ‘भारतबाट आउनेको संख्या बढी भएकोले हरेक स्थानीय निकायले बनाएका छन,’ उपाध्यायले थाहाखबरसँग भने,’ जिल्लामा ६४ वटा क्‍वारेन्टाइन छन्। सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ।'

    बाहिरबाट आएका सबैलाई क्‍वारेन्टाइनमा राखिएको बताउँदै उनले समुदायमा हिँडडुल गर्न नदिएको जानकारी दिए। परीक्षणमा पोजेटिभ देखिएमा उपचार गर्न पठाउने र नेगेटिभ आएमा घर पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ।

    क्‍वारेन्टाइन बढी मात्रा निर्माण गर्ने योजना रहेको पनि उनले सुनाए। लक्षण कम देखिएमा सेल्फ आइलोसेनमा राखिने र गम्भीर देखिएमा अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था मिलाइने उनले बताए। हरेक स्थानीय तहमा ५० बेडको सुविद्यायुक्त आइसोलेसन निर्माण गर्ने तयारी रहेको जानकारी दिए। ‘मापदण्ड र एम्बुलेन्ससहितको क्‍वारेन्टाइन निर्माण गर्न लागिएको छ,’ उनले भने।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]