विश्व

सीमा विवादले मोदीको मुड खराब : ट्रम्प

जेठ १६, २०७७

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सीमा विवादका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको बताएका छन्।

     बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित मिडिया साक्षात्कारमा ट्रम्पले यस्तो बताएका हुन्। 'भारत–चीनबीच देखिएको ठूलो विवादका कारण मोदी सहज मनस्थितिमा छैनन्', ट्रम्पले भने।

    ट्रम्पले यसअघि दुई देशले चाहेको खण्डमा आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए।

    'मलाई भारतीयहरूले रुचाउँछन्। उनीहरू मलाई मेरो आफ्नै देशका मिडियाले भन्दा अधिक मन पराउँछन् भन्ने ठान्दछु', भारतीय मूलका पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भने, 'मलाई मोदी पनि राम्रो लाग्छन्। म उनलाई धेरै रुचाउँछु। उनी महान् र असल छन्।'

    'भारत र चीनबीच अहिले ठूलो तनाव देखिएको छ। दुवै देशमा डेढ अर्ब हाराहारीको जनसंख्या छ। दुवैसँग शक्तिशाली सेना छन्', ट्रम्पले भने, 'पछिल्लो समय विकसित परिस्थितिले भारत खुसी छैन, र सायद चीन पनि!' पत्रकारहरूले भारत–चीन तनावबारे उनको धारणा जान्न खोजेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। 'मैले मोदीसँग फोनमा बात मारेको थिएँ', उनले भने, 'त्यसैले म भन्न सक्छु, चीनसँग उत्पन्न तनावका कारण उनको मुड ठीक छैन।'

    'म अवश्य मध्यस्थता गर्नेछु। तर, पहिले उनीहरूले मेरो मध्यस्थता सहयोगी हुनेछ भन्ने ठान्नुपर्‍यो', ट्रम्पले भने।

    बुधबार एउटा ट्वीटमार्फत उनले अमेरिका दुई देशबीच मध्यस्थता गर्न 'इच्छुक र सक्षम' रहेको बताएका थिए। तर, भारत–चीनले दुवैले ट्रम्पको मध्यस्थताको प्रस्तावलाई घुमाउरो शैलीले नकारेका छन्। दुवै देशका अधिकारीहरूले आपसी छलफलमार्फत विवाद सुल्झाउन आँफूहरू सक्षम रहेको बताएका छन्।

    पूर्वी लद्दाख सहितका स्थानमा भारत–चीनबीच सीमा विवाद छ। केही सातायाता सीमा क्षेत्रमा दुई देशका सेनाबीच धक्कामुक्की समेत हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]