साहित्य

कोरोना कथा : मानवता मार्ने महामारी

जेठ १९, २०७७

    नेपालमा कोरोना महामारीको पारो चढिरहेका बेला प्रिमनसुनको डिग्री पनि चढिरहेको थियो। कोरोना नियन्त्रण गर्न सरकारले आव्हान गरेको लकडाउन तथा प्रदेश र जिल्ला सिल गर्ने निर्णयले गण्डकी प्रदेश प्रवेश गर्ने मुग्लिन पुलजीपमा संयुक्त सुरक्षा चेकपोष्ट खडा गरिएको थियो।

    मध्यान्ह १२ बजिसकेको थियो। पुल पार गर्न पाऊँ भनी तिलकुमारीले धेरै पुकारा गरिन्। पुल जीपमा खटिरहेको असिनपसिन सिपाहीले सुन्दै सुनेन।

    पुलको क्षमताभन्दा गह्रुङ्गा १० चक्के, १२ चक्के ट्रक, कन्टेनर, लरीका ताँती थिए। तल बहुलाइरहेको त्रिशूली, माथि राँकिइरहेको घाम, साथमा सस्ता ड्राइभरको सस्ता व्यवहार र महंगा गाडीवालाहरुको रवाफ सामना गरिरहेको सिपाहीले उसको काँपिरहेको आवाज सुनोस् पनि कसरी। 

    बाटोमा गाडी पाएर राम्रै भयो, नपाए पैदल हिँड्ने मनसुवाले तिलकुमारीहरु नारायणगढबाट बिहान चार बजे निस्किएका थिए। नौ वर्षकी सुनकुमारी र तीन वर्षकी तीर्थकुमारी साथमा थिए। तीर्थकुमारी आमाको काँधमा थिई।

    उँधो धमिलो त्रिशूली, माथि मध्यन्हीको घाम। काँधको छोरीको पसिना तिलकुमारीको खुट्टाबाटे पुलको कालोपत्रसम्म बगिरहेको थियो। आफ्नै शरीरबाट छुटेको पसिनाले पुल छेउमा थुप्रिएको धुलो हिलो भएको थियो। पसिनाले चिप्लो बनाएपछि उसले तीन घण्टाअघि नै काँधमा छोरी समाएको हातले चप्पल पनि समातेकी थिई। 

    अर्की छोरी सुनकुमारी पनि थकाइ र घामले लखतरान थिई। टाउकोमा गहकिलो झोला थियो। थाप्लोमा परेको झोलाको गाँठोले टाउको टनटनी दुखिरहेको थियो। दुखाइ कम गराउन चप्पल सापेकी थिई।

    चेकजाँच कटेर पुलको बीचमा आएपछि अब फर्केर मुग्लिनतिर जाने बाटो पनि बन्द भयो। किनभने उता पनि संयुक्त चेकपोष्ट छ। तनहुँतिर पनि पास हुन नसकेपछि पुलमा उभिएको एकघण्टा भइसकेको थियो। 

    ‘यहाँ घामले पोल्यो। पारि तर्न मात्र दिनू, ऊ त्यहाँ सियाँलमा बस्छौं’ कुनातिर देखाउँदै तिलकुमारीले सिपाहीसँग बिन्तीभाउ गरी।

    ‘अहँ, मिल्दैन। पारि तर्न त मिल्दैमिल्दैन।’

    ‘छोरी मर्ने भई।’

    ‘किन निस्केर आइथी त ?’

    ‘त्यहाँ पनि बस्न नसकेर आको।’

    ‘बसेर खान पनि नसक्ने हुन्छ ? मातेर आएका।’

    ‘होइन।’

    ‘किन होइन? हामीजस्तो रातदिन, घामपानी नभनी खट्नु परेको भए थाहा पाउँथ्यौ’, फुर्सद लिएरै सिपाही वादविवाद गर्न थाल्यो।

    ‘होइन के। हामी दिनमा कमाएर साँझ र बिहान खाने मान्छे। काम नपाएपछि थुकतेल गरेर साँचेको खर्चले कतिदिन धान्छ र? लकडाउन भएको साढे दुई महिना भइसक्यो। अनि के खाएर बस्ने? के खुवाएर यी दुईटीलाई पाल्ने?’

    ‘ल ल जे भने पनि यहाँबाट छोड्न मिल्दैन। जे जे भन्‍ने हो माथि भन।’ 

    सिपाही गयो। अब दुख कहन पनि नपाइने भयो। माथि भनेको कहाँ हो, उसले बुझिन।

    बिचरो सिपाहीले गन्थन सुनेर पनि के गरोस्। हरेक दिन यस्ता दु:खीआत्मा दर्जनौं देख्नुपथ्र्यो। उनीहरुको बह सुनेर बस्ने फुर्सद पनि कहाँ पाउनु, बह सुनेर उसको निर्णय पनि चल्दैनथ्यो।

    दुईघण्टा उभिई। सानी तीर्थकुमारी भोकाई। सुनकुमारी तिर्खाई। भोक तिर्खा मेटाउने केही पनि थिएन।

    तीन घण्टा उभिई। 

    फेरि एकफेर मुग्लिनपट्टि तर्ने प्रयास गरी। सिपाही झक्र्यो। कुटुँला झै गर्यो। धपायो।

    ‘छोरीहरु मर्ने भए।’

    ‘मरे मरुन्।’

    ‘त्यसो नभन्नू न।’‘देखिहाल्नु भा’छ दिनभरको ठाडो घाममा पुलमा उभिएको उभियै। कि यहीँबाट हाम्फालेर मर् भन्नुभा’हो ?’

    ‘हाम्रो टाउको न खा। उता जा।’ 

    सिपाही पनि मान्छे हो। उसले पनि देखेको छ, बुझेको छ र लागेको छ, यस्तो दुख दिनुहुन्न भनेर तर के गरोस्, उसको निर्णय चल्दैन।

    ‘माथि भन्। पास ले, बल्ला छोड्न मिल्छ।’

    यसले पनि माथि भन्, उसले पनि माथि भन् भन्यो तर माथि के छ ? उसले हेरी पुलको दुवैतर्फ माथि ठूला ठूला पहाड थिए। सोची, त्यहाँ भन्न जान पनि सिपाहीहरुले बाटो खुलाइदिनु पर्‍थ्यो

    सोची, ‘मान्छेभित्रको हरि पनि मरिसकेछ।’

    चार घण्टा उभिई। 

    अब पानी पर्न थाल्यो। ठूलो थोप्ले पानी। दुई मिनेटमै तीनै जान निथु्रक्कै भए। सानीले तालुबाट बगेर आएको पानी घुटुघुटु पिई। दिनभर तातेको शरीरमा पानीले राहत दिए जस्तो लाग्यो तर छिनमै सम्झी, ‘अब झुङालो हुन्छ। केटाकेटी बिरामी पर्छन्।’ अर्को डरले सताउन थाल्यो। 

    फेरि तनहूँपट्टिको पुलजीपतर्फ गई। त्रिपाल टाँगेर बसेका सुरक्षाकर्मीहरु बीच सल्लाह भयो, ‘जान दिऊँ।’

    उ पुलबाट पास हुँदा साँझ छ बजेको थियो। 

    आधाघण्टादेखि मुसलधारे बर्षा भइरहेको छ। तिलकुमारीहरु रोडको कुनापट्टिको किनारै किनार हिडिरहेका छन्। मोटेल डु मुग्लिन पार हुँदा आकासले धरतीभरि गाढा अँध्यारो खन्याइरहेको थियो। 

    राजमार्गमा उनीहरु जानेतिरै हरर्र हुइँक्किएर ट्रक आउँछ चेपुँला झैँ गरेर जान्छ।  एम्बुलेन्स आउँछ, कार आउँछ। जे आउँछ, तिलकुमारीहरु टिठ लाग्दो आँखाले हेर्छन्। हात दिन्छन् तर कसैले साथ नदिएपछि फेरि निरिह, निरुपाय भएर हिँडिरहन्छन्।

    डेराबाट निस्कँदा थैलीमा तीनसय रुपैयाँ बाँधेकी थिई। डेढसय रुपैयाँ अझै बाँकी थियो। चाउचाउ किनेर दिन पाए तीर्थकुमारीहरु खान्थे। एकदुई फाँको आफू पनि खान पाइन्थ्यो। थाप्लोबाट निधार हुदै झरेको पानीले प्यास मेट्न पाइन्थ्यो। तर पसल कतै पनि खुलेको छैन। सडक र पसलको बीचमा डोरी टाँगेर छेकाबार लगाइएको थियो।

    तिलकुमारीको मनले भन्छ, ‘मान्छेभित्रको हरि मरिसकेछ।’

    जम्मादेवी स्कूलको घुम्ती पास हुन्छ। 

    ‘बिचरा, कहाँ जान हिडेका होलान्’, कालो रङको कारमा बत्तिदै गरेका चालकले सहयात्रीसँग दयाभाव देखायो।

    ‘त्यही त, हेर बिचरा।  यस्तो पानीमा छाता पनि ओढेका छैनन्’, घुँडादेखि सेतो पिँडुलासम्म देखिने गरी कट्टु लगाएर अगाडिको सिटमा बसेकी युवतीले समभाव दर्शाई। 

    ‘यति बेला भइसकेको छ। यस्तो पानीपानी, हेर बिचरा।’

    ‘के गर्नु, लिफ्ट दिन पनि नमिल्ने। कस्तो समय आयो।’

    ‘लिफ्ट त दिन सकिएन, छाता किनिदिउँ भने पनि पसलहरु खुलेका छैनन्।’ 

    संवाद गरिरहँदा उनीहरु मर्स्याङ्दी पावरहाउस कटिसकेका हुन्छन्।

    गाडीहरु आइरहे, उनीहरुले दिएको हात छोडेर गइरहे।

    सोची, ‘कस्तो, समय आएछ। मान्छेभित्रको हरि पनि मरिसकेछ।’

    छेउमा मर्‍स्याङ्दी गड्गढाएर बगिरहेको थियो। पानीको थोप्लोको आकार घट्दै गए पनि बताससँग बत्तिएर आएको लहरे पानीले ठिहिर्‍याउँदै थियो। तीर्थकुमारीहरु लग्लग् काप्न थाले। उनीहरुलाई लगाइदिने ओभानो कपडा थिएन। भोकले सुनकुमारी हिड्न छोडी। तिलकुमारी उसलाई घचेट्दै घचेट्दै अघि बढिरहेकी थिई।

    कोरोना कहाँ थियो, कहाँ तर दिनभरिको राप, बेलुकीको झरी र स्याँठले भिजेर तीर्थकुमारीहरुलाई निमोनिया हुने डर यहीँ थियो।
     
    अँध्यारोले गर्दा अब धेरै पर नदेखिने भइसकेको थियो। बास बस्ने कहाँ ? मर्स्याङ्दीको झोलुङ्गे पुल तरेर आजको रात काट्न सिलिङतिर पो जाउँ कि ?

    सडक छोडेर बुटा पन्छ्याउँदै सुनकुमारीहरु झोलुङ्गे पुलतिर झरे। पुलको आधाआधी के पुगेका थिए, देखे, पुलमा बार लगाएर चाबी ठोेकिएको रहेछ। अगाडि, पछाडि, दायाँ, बायाँ सबैतिर हेरी। कोही थिएन। 

    फेरि सोची, कस्तो समय आएछ। मान्छेभित्रको हरि मरिसकेछ कि के हो?

    दिन नसोचेको फन्दामा बित्यो। खाएका केही थिएनन्।  निर्जन रोडको छेउमा भोको पेट सुत्ने कल्पना गर्न सकेनन्। फेरि फर्किएर सडकमा उक्लिए। 

    केही हिडेपछि वारि भित्तामा गाउँ छ कि जस्तो देखियो। रोडबाट माथिल्लो गरामा उक्लिने बाटो पनि थियो। तर उक्लिन मात्र के लागेका थिए, ‘प्रवेश निषेध’ लेखेको साइनबोर्ड टाँगेर बार बाँधिएको थियो। निधारमै ठोक्कियो। फेरि सडकमै झरे। 

    ‘यता बास बस्न पाइन्छ ?’, चाइनाक्याम्पनेरको टहरे बस्तीलाई तिलकुमारीले सोधी।

    भर्खर घरभित्र बोलिरहेकाहरु पनि चुपचाप भए।

    ‘ए, दिदीबहिनीहरु, यता कतै बास बस्न पाइन्छ ?’

    डिलमुनिको मर्स्याङ्दी मात्र सुसाइरह्यो।

    ‘ए बुबा आमा, मेरो छोरीहरु भोक, तिर्खा र थकाइले मर्न लागिसके। यता कतै बास बस्न पाइदैन ?’

    भर्खरसम्म बजिरहेको टिभी पनि बन्द भयो। घरभित्रको बत्ति एकाएक निभ्यो।

    ‘यो भन्दा टाढा जान सकिदैन। यहीँ बस्नुपर्छ अब’, तिलकुमारीले छोरीहरुले मात्र सुन्ने गरी सुस्तरी भनी।

    ‘कहाँ, यहीँ कि ?’ फुटपाथतिर देखाउँदै सुनकुमारीले सोधी।

    ‘उम्, ल झोला राख्।’

    ‘बाटोमै कि ?’ उसले पत्याइन।
    ‘उम्।’

    ‘के मा सुत्ने त ?’ ‘यही झोलाको सिरानी हालेर सुत्ने।’

    ‘अनि के खाने नि ?’

    मर्स्याङ्दीको एकोहोरो स्वाँ आवाज आइरह्यो।

    ‘भनन के खाने ?’

    ‘खै के खै के।’

    ‘भोक लाग्यो।’ 

    बस्तीको आँगनमा डोरीको घेराबार छ। डोरी र सडकको बीचभागतिर तीनै जना टक्य्राटुक्रुक्क बसेका छन्। तिलकुमारीले तीर्थकुमारीलाई नाङ्गै पारेर लुगा निचोर्न थाल्छे। ओभानो भन्‍ने केही पनि थिएन। तीर्थकुमारीलाई तताउन आफ्नै खोकिलो पनि चिसो भइसकेको थियो।

    अब उ सुनकुमारीको लुगा निचोर्न थाल्छे।

    आमा हुन्, केही न केही जोहो गरिहाल्छिन् नि, भन्ने अन्तिम आशा थियो।

    ‘हैन, यिनीहरु त यहाँ बस्न खोजेका छन् कि के हो ?’ एक्कासी एउटा पुरुषको कठोर आवाज आयो।

    ‘हो। ओत लाग्ने ठाउँ पाइएन। मान्छे नभएको ठाउँमा कसरी रात काट्न सकिन्छ र ? आजको रात अब यहीँ बिताउँ कि भनेर।’

    ‘कहाँ पाइन्छ यहाँ बस्न। जाऊ अन्तै जाऊ।’

    ‘त्यसो नभन्नू न। कहाँ अन्त जाने फेरि ?’

    ‘कहाँकहाँबाट के के रोग बोकेर आएका हुन्छन्। यहाँ बस्तीमा सर्छ। हुदैन, हुदैहुदैन। यहाँ त हामी बस्न दिने होइनौं।’

    ‘छैन हजुर। केही रोग बोकेर ल्याएका छैनौं। दुख पाएर आएका हौं। यहाँभन्दा अन्त हिड्नै नसक्ने भएर बसेको।’

    ‘तिमीहरु यहाँबाट गइहाल। यहाँ बस्न दिदैनौं’, अर्को महिलाको आवाज।

    ‘भनेको मान्छौ कि ढुङ्गामुढा गरौं?’ अर्को युवाको आवाज।

    ‘तिमीहरु दुख नमान। यो बेला यस्तै हो। रोग फैलिनसक्छ। हामी नि घरभित्रको भित्रै बसिरहेका छौं, त्यही भएर यहाँ हामीलाई खतरामा पारेर तिमीहरु यहाँ वरिपरि बस्दै नबस। जाओ’, एउटी बुढी आमाको आवाज।

    तीर्थकुमारी भोक, तिर्खा, निद्रा, डर र जाडोले निटेक भएर आमाको काखमा पल्टिरहेकी छे। गाउँलेको गाली सुनेर सुनकुमारी आमालाई चिसो हुनेगरी लिपिक्क टाँसिन्छे। तिलकुमारी ‘अब के गरुँ’को अबस्थामा छे।

    उताबाट निरन्तर निष्ठुर आवाज आइरहेको छ, ‘वरिपरि बस्न पाइन्न है, भन्दिएका छौं।’

    सोची, ‘कस्तो, जमाना आएछ। मान्छेभित्रको हरि पनि मार्ने महामारी आएछ।’

    वारितिर आकाशै नदेख्नेगरी ठूलो पहाड छ। पारितिर देखुञ्जेल जंगलैजंगल। तलतिर गड्गढाइरहेको मर्स्याङ्दी। अगाडि चुक पोखेको जस्तो निस्पट्ट अँध्यारो। यही निर्जन अँधेरोबाटो लखरलखर हिडिरहेका छन् तिलकुमारीहरु। रातभरि हिडिरहने कि कतै बस्ने ? निरुत्तर छन्। दिउँसो सिपाहीले पुलमा रोकेको। फेरि सम्झिन्छे सिपाहीको रुखो शव्द, ‘किन हिडिरहन्छौं? खैरेनीको पुलमा पनि यसरी नै छेक्छन्।’

    दिनभरिको सास्ती, अहिलेको यातना, फेरि भोलिको दिन कस्तो हुने हो ? पक्कै खैरेनी पुलमा छेक्छन्। 

    लाग्यो, यी तीनैजनालाई काखी च्यापेर यही मर्स्याङ्दीमै बिलाइदिऊँ। सम्झँदै डरलाग्दो कुराले उसका पाइला टक्क रोकिन्छन्। 

    सुनकुमारी आमातिर हेर्छे ‘किन रोक्किइन् आमा यसरी ?’ 

    ‘हिँड्दाहिँड्दै यो रातमा आमा किन रोडको डिलमा बनाइएको पर्खाल समातेर अडिएको अडियै छिन्?’

    छोरी तर्सिएको देखेर तिलकुमारी छोरीतिर झम्टिन्छे, ‘यता आइज।’

    ‘नाइँ’, तर्सिएर सुनकुमारी झन् टाढा जान्छे। उ आमासँग तर्सिएको यो पहिलोचोटी हो। थाहा छैन किन आमाको नजिक जान डर लागिरहेको छ आज उसलाई। 

    gorkhasamachar@gmail.com 

शिव उप्रेती

लेखक, गोरखाका क्रियाशील पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]